कामरेड मोहनविक्रम सिंहको ‘देहावसान’ पछि मेरो ‘सुखी र सम्पन्न’ जीवनको भविष्यवाणी

  • दुर्गा पौडेल

कतिपय सामाजिक सञ्जालमा मेरो विषयमा तल लेखिए अनुसारको टिकाटिप्पणी गरिएको छ – ‘मैले पाएको सूचनाअनुसार माथि केन्द्रबाट नै दुर्गा दिदीमार्फत करोडौं रकमको चलखेल भएको हो रे । मोहनविक्रमज्युको देहावसान पछि वहाँको राजनैतिक जीवन पनि सकिने र व्यक्तिगत जीवन चलाउन बच्चालाई पढाइ लेखाइ लालनपालनका लागि भविष्य बनाइन रे भन्ने हल्ला व्यापक छ यता’

उक्त सामाजिक सञ्जालमा त्यस प्रकारको टिप्पणी गर्ने व्यक्तिको नाम पनि उल्लेख गरिएको छ तर म अहिले त्यो नाम उल्लेख गर्नपट्टि लाग्दिन ।

मेरा विषयमा त्यस प्रकारका आरोपहरू पहिले पनि धेरै लाग्ने गरेका छन् । त्यस प्रकारका आरोपहरूमा मैले कतिपय ठाउँमा घरहरू बनाएका वा करोडौँ रुपैयाँ चलखेल गरेका जस्ता आरोपहरू पनि सामेल छन् । यदि ती सबै आरोपहरूमा अलिकति पनि सत्यता भएको भए अहिलेसम्म मेरा कैयौँ घरहरु हुन्थे र मसँग अरब भन्दा बढी सम्पत्ति जम्मा भइसकेको हुन्थ्यो । तर त्यस प्रकारका आरोपहरू सबै झुट्टा सावित हुँदै गए त्यसैले अब मोहनजीको देहावसानपछि मेरो जीवन कस्तो हुनेछ त्यसबारे भविष्यवाणी गर्न थालिएको छ । भविष्यको कुरा भएपछि तत्काल त्यसलाई प्रमाणित गर्नुपर्ने आवश्यकता भएन । तर त्यो भनाइले के कुरा गरेको छ भने उहाँको देहावसानपछि मेरो र बच्चाहरूको सुखी र सम्पन्न जीवन हुनेछ । यस सन्दर्भमा मैले सुरुमा नै एउटा कुरा स्पष्ट गर्न चाहान्छु । मेरो पहिले कुनै घर थिएन, अहिले प्यूठानको ओखरकोटमा मेरो घर बन्न थालेको छ । त्यसरी अहिलेसम्म मेरा कैयौँ घरहरू बनाएको प्रचार झुट्टा भएपनि अब शायद छिट्टै मेरो एउटा घर हुनेछ । धेरै मानिसहरुले पहाडको टापुबाट वेशीमा र त्यहाँबाट सहरहरू र राजधानीमा समेत घरहरू बनाउने गर्दछन् । तर मैले पहाडको टापुमा घर बनाउन थालेकी छु । त्यसरी जे जस्तो भएपनि सायद छिट्टै मेरो एउटा घर हुनेछ । मेरा कैयौँ घरहरू भएका पहिलेका आरोपहरू झुट्टा भएपनि ओखरकोटको मेरो घर अब एउटा सत्य हुनेछ ।

‘मैले पाएको सूचनाअनुसार माथि केन्द्रबाट नै दुर्गा दिदीमार्फत करोडौं रकमको चलखेल भएको हो रे । मोहनविक्रमज्युको देहावसान पछि वहाँको राजनैतिक जीवन पनि सकिने र व्यक्तिगत जीवन चलाउन बच्चालाई पढाइ लेखाइ लालनपालनका लागि भविष्य बनाइन रे भन्ने हल्ला व्यापक छ यता’

मोहनजीको देहावसान र त्यसपछि मेरो सुखी र सम्पन्न जीवन भविष्यको कुरा भयो । तर करोडौँ रुपैयाँको चलखेलको जुन आरोप लागेको छ, त्यो भविष्यको कुरा नभएर वर्तमानको नै कुरा भयो । करोडौँ भनेपछि त्यो रकम कमसेकम पाँच-दश करोड वा त्यो भन्दा पनि धेरै हुनुपर्दछ । मैले त्यति ठुलो रकम कतैबाट लिएको भए त्यो रकम तत्काल खर्च गर्ने कुरा भएन र कतै सञ्चय गरेर राख्नुपर्ने हुन्छ । त्यो रकम मैले कहाँ राखेकी छु ? कतै बैंकमा, कतै जमिनमुनि खाल्टो खनेर, पुरेर वा विदेशको कुनै बैंकमा ? अनुसन्धान गरेमा त्यो कुरा पत्ता लाग्न सक्छ । सम्पत्ति शुद्धिकरणअन्तर्गत छानविन गरेपनि त्यति ठुलो रकमबारे जानकारी प्राप्त हुन गाह्रो पर्ने छैन ।

जुन व्यक्तिले ‘मैले पाएको सूचनाअनुसार’ मेरो विषयमा त्यो सूचना प्राप्त भएको बताएका छन्, उनले त्यो सूचना सम्बन्धित अधिकारीलाई जानकारी गराएमा मेराबारे तुरुन्तै छानविन हुन सक्दछ र सम्पत्ति शुद्धिकरण कानुनअनुसार मलाई सजाय पनि हुन सक्दछ । उनको लागि अहिले पनि अवसर छ, उनले प्राप्त गरेको सूचनाबारे उजूरी दिएर अहिले पनि मेरा विरुद्ध कारबाही चलाउन सक्दछन् । तर सम्बन्धित व्यक्तिले त्यस प्रकारको सूचना प्राप्त गरेको उल्लेख मात्र गरेका छन् र त्यसबारे कारबाही चलाउनेतर्फ लागेको देखिन्न । त्यसकारण उनले जुन कुरा लेखेका छन्, त्यो झुट्टा र निराधार भएको कुरामा कुनै शङ्का रहन्न । मेरा विषयमा त्यस प्रकारका झुट्टा आरोपहरू पहिले पनि धेरै लाग्ने गरेका छन् र तिनीहरूमा एउटा थपिएको छ ।

सामाजिक सञ्जालमा यो पनि लेखिएको छ : ‘मोहनजीले आफ्नी पत्नीलाई मन्त्री बनाउन नपाएको हुनाले गण्डकी प्रदेशको सरकारको विरोध गरेका हुन् ।’ मोहनजीले मलाई मन्त्री वा उपसभामुख बनाउन बालुवाटार र खुमलटार दौडधुप गरेको भन्ने प्रचार धेरै नै हुने गरेको छ । त्यो बाहेक त्यसबारे अनलाइन वा विभिन्न सामाजिक सञ्जालमा त्यसबारे कैयौँ समाचारहरू प्रकाशित हुने गरेका छन् । त्यस सिलसिलामा मोहनजीले एउटा विवाह भोजमा भारतीय राजदूतसित दुई घण्टा गोप्य वार्ता गरेर मलाई मन्त्री वा उपसभामुख बनाइदिन मदत गर्न अनुरोध गरेको समाचार पनि कतिपय अनलाइन पत्रिकाहरूले प्रकाशित गरेका थिए ।

अहिलेसम्म मेरा कैयौँ घरहरू बनाएको प्रचार झुट्टा भएपनि अब शायद छिट्टै मेरो एउटा घर हुनेछ । धेरै मानिसहरुले पहाडको टापुबाट वेशीमा र त्यहाँबाट सहरहरू र राजधानीमा समेत घरहरू बनाउने गर्दछन् । तर मैले पहाडको टापुमा घर बनाउन थालेकी छु । 

मैले प्रेस काउनसिलमा छानविनका लागि उजूरी दिएको थिएँ र पछि काठमाण्डौं जिल्ला अदालतमा पनि मानहानीको मुद्दा दिएकी छु । तर त्यसबारे प्रेस काउन्सिलले छानविन गरेर सत्य असत्य छुट्याउने काम गरेको छैन र काठमाडौँ अदालतमा पनि त्यो मुद्दाबारे अझै कुनै फैसला भएको छैन । त्यस प्रकारका मानहानीका आरोपहरू थुप्रै छन । अहिले पनि त्यस प्रकारका हल्लाहरू चलाएर मोहनजी वा मेरो चरित्र हत्या गर्ने प्रयत्न भइरहेको छ । सत्यता के हो भने कतिपयपल्ट उपसभामुख वा मन्त्रीको प्रस्ताव आउँदा मैले वा हाम्रो पार्टीको नेतृत्वले त्यस प्रकारका प्रस्तावहरूलाई अस्वीकार गर्ने गरेको छ ।

हाम्रो पार्टीले घोषित रुपमा नै यो स्पष्ट गरेको छ कि सरकारमा जाने हाम्रो नीति खुला छ तर कुनै सरकारमा सामेल हुने वा नहुने ? त्यो कुरा कुनै खास बेलाको राजनीतिक स्थिति वा सरकारको प्रकृतिअनुसार निर्णय गर्ने कुरा हो । पहिलेको खास राजनीतिक परिस्थिति तथा त्यो बेला ओली सरकारले खेलेको राष्ट्रवादी भूमिकामा समेत ध्यान दिँदै हाम्रो पार्टीले ओली सरकारमा सामेल हुने निर्णय गरेको थियो र का. चित्रबहादुर केसी ओली सरकारमा उपप्रधानमन्त्रीको रुपमा सामेल हुनुभएको थियो । सरकारमा जाने हाम्रो नीति खुला छ तर त्यसको अर्थ सबै सरकारहरूमा सामेल हुने भन्ने होइन । त्यसपछि धेरै सरकारहरू बनिसकेका छन् । तर तिनीहरू मध्ये कुनैमा पनि सामेल हुनका लागि हाम्रो पार्टीले कहिल्यै पहल वा निर्णय गरेको छैन । कुनैबेला पार्टीले त्यस प्रकारको निर्णय गरेमा हामीले खुला रूपले नै त्यो कुरालाई बाहिर ल्याउने छौँ । तर सरकारमा जान मिल्ने प्रकारको राजनीतिक परिस्थिति तयार नहुँदासम्म हाम्रो नीति सरकारमा नजाने नै हुनेछ । जस्तो कि अहिले गण्डकीमा बनेको नयाँ मन्त्रिमण्डलमा सामेल हुने कुरालाई हामीले अस्वीकार गरेका छौँ । का. चित्रबहादुर केसीले आफ्नो वक्तव्यमा त्यो कुरा सार्वजनिक गरिसक्नु भएको छ ।

ओलीले पछिल्लोपल्ट संसदको विघटन गरेपछि उनको मन्त्रिपरिषदका एकजना सदस्यले मोहनजीलाई भेटेर दुईवटा प्रस्तावहरू राखेका थिए । प्रथम, मलाई मन्त्रिपरिषदमा सामेल गर्ने र, द्वितीय, हामीले गण्डकीमा एमालेको सरकारलाई समर्थन गर्ने ।

उपसभामुख बन्ने विषयमा पनि नीतिगत रूपमा हाम्रो कुनै विरोध छैन । सरकारमा जाने तथा उपसभामुख बन्ने कुरा दुई बेग्लाबेग्लै बिषयहरू हुन् । कतिपय बेला सभामुखको अनुपस्थितिमा मैले सभामुखको काम पनि सञ्चालन गर्ने गरेकी छु । राष्ट्रिय जनमोर्चाका विभिन्न सभासद वा सांसदहरूले विभिन्न संसदीय समितिहरूमा रहेर काम गर्दै आउनु भएको छ । हाम्रो पार्टीका अध्यक्ष का. चित्रबहादुर केसीले लेखा समितिको सभापति भएर पनि काम गर्नु भएको थियो । विघटित सांसदमा पनि मैले कतिपय संसदीय समिति वा कतिपय उपसमितिहरूमा रहेर काम गर्ने गरेकी छु । त्यो अवस्थामा उपसभामुख बन्ने कुरासित नीतिगत रूपमा हाम्रो कुनै विरोध नभएको कुरा प्रष्ट छ । तर हाम्रो व्यवहारिक समस्या के हो भने हाम्रो पार्टीका तर्फबाट अहिले संसदमा म एकजना मात्र प्रतिनिधि छु, जस्तो कि सबैलाई थाहा छ, सभामुख वा उपसभामुखमा कुनै व्यक्तिले पार्टीबाट राजीनामा दिनुपर्दछ र उसलाई संसदमा कुनै राजनीतिक भूमिका खेल्ने अनुमति हुँदैन । त्यो अवस्थामा म उपसभामुख भएमा संसदमा हाम्रो राजनीतिक भूमिका समाप्त हुन्छ । पार्टीको यो स्थितिले गर्दा हामीले उपसभामुख बन्ने कुरालाई अस्वीकार गर्ने गरेका छौँ । अहिलेको अवस्थामा उपसभामुख बन्नुको अर्थ राजनीतिलाई भन्दा भत्ता, गाडी र सरकारी निवासलाई प्राथमिकता दिनु नै हुनेछ ।

मोहनजी वा ममाथि उपसभामुख वा मन्त्री बन्नका लागि खुमलटार, बालुवाटार वा भारतीय राजदूतको चाकरी गरेका कैयौँ आरोपहरू लाग्ने गरेका छन् र त्यसबारे व्यापक प्रचार गर्ने गरिएको छ । तर सत्य यो हो कि ती दुवै पदहरूका प्रस्तावहरू अगाडि आउँदा पनि हामीले तिनीहरूलाई अस्वीकार गर्ने गरेका छौँ । पूर्वमहाधिवक्ता अग्नि खरेलले मलाई भेटेर उपसभामुख बन्नको लागि प्रस्ताव राख्नुभएको थियो । तर मैले यो पार्टीले निर्णय गर्ने विषय हो भनेर जवाफ दिएकी थिएँ । त्यसपछि उहाँले हाम्रो पार्टीका अध्यक्ष का. चित्रबहादुर केसीलाई भेटेर त्यो प्रस्ताव दोहा¥याउनु भएको थियो । तर का. केसीले पनि संसदमा हाम्रो पार्टीको एकजना मात्र सदस्य भएको हुनाले उपसभामुखको पद स्वीकार गर्न नसकिने कुरा स्पष्ट गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले संसदमा दिएको एउटा भाषणको सिलसिलामा हाम्रो पार्टीले उपसभामुखको पदलाई अस्वीकार गरेको कुरा पनि घुमाउरो प्रकारले उल्लेख गरिएको थियो ।

मोहनजी वा ममाथि उपसभामुख वा मन्त्री बन्नका लागि खुमलटार, बालुवाटार वा भारतीय राजदूतको चाकरी गरेका कैयौँ आरोपहरू लाग्ने गरेका छन् र त्यसबारे व्यापक प्रचार गर्ने गरिएको छ । तर सत्य यो हो कि ती दुवै पदहरूका प्रस्तावहरू अगाडि आउँदा पनि हामीले तिनीहरूलाई अस्वीकार गर्ने गरेका छौँ ।

ओलीले पछिल्लोपल्ट संसदको विघटन गरेपछि उनको मन्त्रिपरिषदका एकजना सदस्यले मोहनजीलाई भेटेर दुईवटा प्रस्तावहरू राखेका थिए । प्रथम, मलाई मन्त्रिपरिषदमा सामेल गर्ने र, द्वितीय, हामीले गण्डकीमा एमालेको सरकारलाई समर्थन गर्ने । मोहनजीको जुन प्रकारको लामो राजनीतिक पृष्ठभूमि र व्यक्तित्व रहेको छ, त्यो अवस्थामा उहाँले आफ्नी पत्नीलाई मन्त्री बनाउनको लागि त्यस प्रकारको प्रस्तावलाई स्वीकार गर्ने कुरा आउदैनथ्यो र उहाँले गर्नु पनि भएन । त्यस प्रकारको प्रस्ताव स्वीकार गर्नु उहाँका लागि कल्पनाभन्दा बाहिरको कुरा थियो । पछि ओलीका एक जना सल्लाहकारले पनि मोहनजीलाई भेटेर पुनः ती प्रस्तावहरू राखेका थिए । यो सार्वजनिक रूपले नै थाहा भएको कुरा हो कि मोहनजीले ती दुवै प्रस्तावहरूलाई अस्वीकार गर्नु भएको थियो । जुन कुरा ओली सरकार वा गण्डकी सरकारबारे पार्टीले खेलेको सार्वजनिक भूमिकाबाट नै प्रष्ट हुन्छ । ती दुवै जना, एकजना मन्त्री र एकजना ओलीका सल्लाहकारले मोहनजीसित गरेको कुराकानीबारे उहाँले पार्टीमा त्यही बेला रिपोर्ट गर्नु भएको थियो । ती तथ्यहरूबाट मलाई मन्त्री नबनाएको हुनाले गण्डकी सरकारको विरोध गरेको भन्ने आरोप पनि कति निराधार र कपोलकल्पित रहेछ ? त्यो पनि प्रष्ट हुन्छ ।

वास्तवमा मेरा विरुद्ध दशकौँदेखि कैयौँ प्रकारका निराधार आरोपहरू सार्वजनिक रूपले नै लाग्दै आएका छन् । कुनै झुट्टा आरोप क्रमशः पुरानो हुँदै जान्छ र त्यो सेलाएर जान्छ । त्यसपछि नयाँ प्रसङ्गमा नयाँ आरोपहरूको सिर्जना गरेर ममाथि पुनः नयाँ आरोप लगाउने गरिन्छ । एउटा विवाहमा गएको बेलामा भारतीय राजदुतसँग देखाभेट भएको थियो । त्यसैलाई आधार बनाएर मलाई मन्त्री वा उपसभामुख बनाउनको लागि मदत गर्न उनीसित गोप्य वार्ता गरिएको आरोप तयार पारियो । गण्डकीको प्रसङ्ग अगाडि आएपछि मलाई मन्त्री नबनाएकाले गण्डकी सरकारको विरोध गरेको भन्ने आरोप लगाइयो । ओलीले संसदको विघटन गरेपछि हाम्रो पार्टीले त्यसको विरोध ग¥यो । त्यस सन्दर्भमा पनि ‘दुर्गा सांसद भएकोले’ संसदको विघटनको विरोध गरेको भनियो । त्यस प्रकारको सिलसिला लामो समयदेखि चल्दै आएको छ । आखिर ममाथि त्यस प्रकारका आरोपहरूको लामो सिलसिलाको कारण के हो ? दशकौँदेखि मेरा विरुद्ध त्यस प्रकारका झुट्टा आरोपहरू किन लगाउने गरिएको छ ? त्यसबारे पनि केही प्रकाश हाल्नुपर्ने आवश्यकता छ ।

वास्तविकता यो हो कि त्यस प्रकारका आरोपहरूको केन्द्रमा म रहने गरेकी छैन । मोहनजीको विरोध गर्न वा उहाँलाई राजनीतिक रूपले समाप्त गर्न नै ममाथि त्यस प्रकारका आरोपहरू लाग्ने गरेका छन् । म त्यसको एउटा माध्यम मात्र हुँ । ममाथि आक्षेपहरू लगाएर उनीहरुले वास्तवमा मोहनजीमाथि आक्रमण गर्न चाहान्छन् ।

यो सबैलाई थाहा भएको कुरा हो कि करिब ६ दशकदेखि मोहनजीमाथि कैयौँ पक्षहरूबाट लगातार आक्रमण हुने गरेको छ र धेरैले उहाँको राजनीतिक जीवनको अन्तको भविष्यवाणी गर्दै आएका छन् । उहाँमाथिको त्यस प्रकारको आक्रमणका लागि मलाई पनि माध्यम बनाएका छन् । तर यो सबैलाई थाहा भएको कुरा हो कि करिब ६ दशकदेखि त्यस प्रकारका आक्रमणहरू हुँदै आएको भएपनि आज पनि उहाँ राजनीतिक प्रकारले सशक्त रुपले उभिनु भएको छ । ६ दशकदेखि उहाँलाई राजनीतिक रूपले समाप्त गर्नको लागि लगातार प्रयत्न गरिएको भएपनि उनीहरूका प्रयत्नहरू किन असफल हुँदै गए ? त्यो एउटा बेग्लै र लामो अध्ययनको विषय हो र अहिले त्यो विषय चर्चा गर्नपट्टि म लाग्दिन । त्यो सिलसिला मेरो उहाँसित विवाह हुनुभन्दा करिब ४ दशक पहिलेदेखि सुरु भएको थियो । त्यसैले त्यसको पूरा विवरण दिनु वा विश्लेषण गर्नु मेरा लागि सम्भव पनि छैन ।

वास्तविकता यो हो कि त्यस प्रकारका आरोपहरूको केन्द्रमा म रहने गरेकी छैन । मोहनजीको विरोध गर्न वा उहाँलाई राजनीतिक रूपले समाप्त गर्न नै ममाथि त्यस प्रकारका आरोपहरू लाग्ने गरेका छन् । म त्यसको एउटा माध्यम मात्र हुँ । ममाथि आक्षेपहरू लगाएर उनीहरुले वास्तवमा मोहनजीमाथि आक्रमण गर्न चाहान्छन् ।

एउटा अर्काे पक्षतिर पनि मैले केही प्रकाश हाल्न चाहान्छु । यदि मेरो उहाँसित विवाह नभएको भए, विवाह गरेर पनि घर गृहस्थी गरेर वा कुनै पेसा गरेर बसेको मात्र भए सायद मेरो कुनै आलोचना गरिने थिएन वा मेरा विरुद्ध झुट्टा आरोपहरूको लगातार वर्षा पनि हुने थिएन । तर त्यसो गर्नुको सट्टा मैले पार्टीको उहाँले नेतृत्व गरेको लाइन र अनुशासनका पक्षमा म दृढतापूर्वक उभिने गरेकी छु । त्यसैले नै ममाथि आक्रमण हुँदै आएको छ । जुनजुन बेला उहाँमाथि आक्रमण तिव्र हुन्छ, ममाथि पनि आक्रमण बढेर जाने गरेको छ । खाली म मात्र होइन, पार्टीका जुन साथीहरू उहाँले नेतृत्व गरेको राजनीतिक लाइन र अनुशासनप्रति दृढ रहने गर्नु भएको छ,उहाँहरूमाथि पनि धेरै नै आक्रमण हुने गरेको छ । गत केही समय यताका अनलाइन पत्रपत्रिका वा सामाजिक सञ्जालहरूको अध्ययन गरेपनि त्यो कुरा प्रष्ट हुनेछ । त्यही प्रकारले अहिले ममाथि जुन आक्रमण भइरहेको छ वा ममाथि झुट्टा आरोपहरूको जुन वर्षा हुने गरेको छ त्यो वास्तवमा अहिलेको पार्टीको राजनीतिक लाइनका विरुद्धको आक्रमणको नै अङ्ग हो ।

यो बुझ्न गाह्रो पर्दैन कि मोहनजीमाथि ६ दशकदेखि जुन आक्रमण हुँदै आएको छ वा उहाँलाई राजनीतिक रूपले समाप्त गर्नका लागि बारम्बार जुन प्रयत्नहरू हुँदै आएका छन्, त्यसको कारण पनि व्यक्तिगत होइन भन्ने कुरा पनि प्रष्ट छ । वास्तवमा जुनजुन बेला जोसित उहाँको राजनीतिक मतभेद वा तिव्र राजनीतिक संघर्ष चल्ने गरेको छ, उनीहरूले नै उहाँमाथि आक्रमण गर्ने गरेका छन् । इतिहासका बेग्लाबेग्लै कालखण्डहरूमा उहाँले राजापरस्त, कांग्रेसपरस्त, दक्षिणपन्थी वा उग्र‘वामपन्थी’ भडकाव, ‘मध्यपन्थी’ अवसरवाद, रुसी वा चिनीयाँ संशोधनवाद, अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद, पार्टीभित्रका विभिन्न अराजकतावादी र अनुशासनविहीन प्रवृत्तिहरूका विरुद्ध सम्झौताहीन प्रकारको संघर्ष गर्दै आएको हुनाले नै उहाँमाथि आक्रमण हुने गरेको छ । व्यक्तिगत रुपमा उहाँको पक्ष लिएको हुनाले होइन, उहाँले नेतृत्व गरेका त्यस प्रकारका सबै संघर्षहरुमा अग्रिम पङ्क्तिमा रहेको हुनाले नै पार्टीका अरू पनि थुप्रै साथीहरुमाथि आक्रमण हुने गरेको छ । त्यस प्रकारका आक्रमणको सिकार म पनि हुने गरेकी छु । त्यसरी स्पष्ट छ कि त्यस प्रकारको आक्रमणको प्रकृति व्यक्तिगत नभएर राजनीतिक प्रकारको नै रहेको छ ।

त्यस प्रकारको आक्रमणको कारणले म आफ्नो सिद्धान्त, राजनीति, भूमिका वा पार्टीको अनुशासनबाट पछाडि हट्ने गरेकी छैन । तर यो स्पष्ट छ कि मप्रतिका झुट्टा आरोपहरू मैले देखाएको दृढताका कारणले नै हो । तर म आफ्नो जीवनको अन्तसम्म यही प्रकारले दृढ रहन सक्ने छु वा छैन कसैले पनि र त्यही प्रकारले मैले पनि आफ्नो भविष्यबारे केही बताउनु सम्भव हुने छैन । भविष्यमा कसैले कुन प्रकारले काम गर्दै जान्छ त्यो भविष्यका बेग्लाबेग्लै प्रकारका राजनीतिक घटनाक्रमहरु, परिस्थिति, कसैको व्यक्तिगत अवस्था, स्वास्थ्य, चिन्तन आदिमाथि निर्भर गर्ने कुरा हो ।

झुुट्टा र निराधार आरोपहरूको कुनै सिमा हुन्न । नयाँनयाँ कुराहरूको कल्पना गर्दै त्यस प्रकारका झुुट्टा आरोपहरूलाई बढाउँदै लैजान सकिन्छ । त्यस्तो गत दशकहरूमा धेरै पल्ट हुँदै आएको छ र सायद भविष्यमा पनि त्यो सिलसिला चलिरहने छ ।

कतिपय मानिसहरूले यो भन्न थालेका छन् कि मोहनजीको देहावसानपछि म राजनीति वा संघर्षबाट पछाडि हट्ने छु । त्यसको कारण उनीहरुले यो बताएका छन्, मैले करोडौँ रुपैयाँको चलखेल गरेकी छु र त्यो ठूलो रकमका कारणले नै मैले मोहनजीको देहावसानपछि राजनीति छाडेर सुखी र सम्पन्न जीवन बिताउने छु । यो अत्यन्त तल्लो स्तरको र अराजनीतिक आरोप हो । अहिले एकजना व्यक्तिद्वारा ममाथि त्यस प्रकारको आक्षेप लगाउने काम गरिएको छ । तर जस्तो कि मैले माथि पनि लेखँे, यो खाली एउटा प्रतिनिधिमूलक आरोप हो । ममाथि त्यस प्रकारका सयकडौँ आरोप वा लाञ्छनाहरू लाग्दै आएका छन् ।

प्रथमतः यो कुरा स्पष्ट छ कि मोहनजी सधै बाँचिरहनु हुनेछैन । यो प्राकृतिक नियम हो र एकदिन उहाँको देहवासन हुनेछ । तर त्यो दिन कहिले आउनेछ ? ५ वर्षपछि, १० वर्षपछि वा १५-२० वर्षपछि ? हामीले कामना गर्दछौँ उहाँ १०० वर्ष वा त्यो भन्दा बढी समय जीवित रहिरहनु हुनेछ ।

उनीहरूले म अहिले नै राजनीतिबाट हट्ने कुरा ता लेखेका छैनन् र उहाँको देहावसानपछि नै राजनीतिबाट हट्ने कुरा लेखेका छन् । तर त्यो दिन कहिले आउनेछ ? उनीहरूले भन्न सकेका छैनन र भन्न सक्ने कुरा पनि होइन । उनीहरूले जुन करोडौँ रुपैयाको चलखेलको कुरा लेखेका छन्, त्यो पैसा पनि उहाँको देहावसानपछि नै खर्च गर्ने भनिएको छ । त्यो बेलासम्म त्यति ठुलो रकम मैले के गर्नेछु वा कहाँ राख्ने छु ? त्यो कुरा उनीहरूले बताउन सकेका छैनन र बताउन पनि सक्दैनन् किनभने त्यो झुट्टा र निराधार आरोप हो । तर झुुट्टा र निराधार आरोपहरूको कुनै सिमा हुन्न । नयाँनयाँ कुराहरूको कल्पना गर्दै त्यस प्रकारका झुुट्टा आरोपहरूलाई बढाउँदै लैजान सकिन्छ । त्यस्तो गत दशकहरूमा धेरै पल्ट हुँदै आएको छ र सायद भविष्यमा पनि त्यो सिलसिला चलिरहने छ । जस्तो कि गत कालमा बारम्बार हुने गरेको छ, झुुट्टा र निराधार आरोप वा चरित्र हत्याका प्रयत्नहरू सधै असफल हुँदै आएका छन् र सही राजनीतिको जीत हुँदै आएको छ । त्यही भविष्यमा पनि हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार