कुन परिस्थितमा जन्मन्छन् तानाशाह शासक ?

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

132 जनाले पढ्नु भयो ।

कृष्ण अधिकारी 

दुईदुई वटा विश्वयुद्ध (प्रथम विश्वयुद्ध १९१४–१८) र (दोस्रो विश्वयुद्ध १९३९–४५) को केन्द्र बनेर थिल्थिलो परेको युरोप आज तङ्ग्रिएर हामीजस्ता तेस्रो मुलुकका जनताका लािग स्वर्गको टुक्रा झँै ठानेर त्यहाँ पुग्न पाए जीवनकै अहोभाग्य ठान्ने हामी नेपाली पनि कम छैनौँ । यी युद्धमा युरोपले मात्र डेढदेखि दुई करोड मािनसले ज्यान गुमाएका थिए । मित्रराष्ट्रहरूले जर्मनीलाई यी दुवै युद्धको दोषी ठहराएका थिए ।

जर्मनीले १९१८ नोभेम्बरमा प्रथम विश्वयुद्धमा हार बेहोरेपछि राजा काइजर विलियम द्वितीयले गद्दी छोडिदिए । त्यसै मौकामा जर्मनका संसदीय दललाई मुलुकलाई गणतान्त्रिक व्यवस्थामा ढाल्ने अवसर प्राप्त भयो र वाइमर गणराज्यको घोषणा भयो ।

१९१९ जुन २८ मा मित्रराष्ट्रको दबाबमा जर्मनीलाई अपमानजनक भर्साइल सन्धिमा हस्ताक्षर गर्न बाध्य पारियो, जसले गर्दा जर्मनले आर्जेका उपनिवेश क्षेत्र गुमे । १० प्रतिशत बसोबास क्षेत्र, १३ प्रतिशत जमिन र राइनल्यान्ड मित्रराष्ट्रको कब्जामा गयो । खनिज उत्पादनको ७५ प्रतिशत फलाम र २५ प्रतिशत कोइला फ्रान्स, पोल्यान्ड, डेनमार्क र लिथुआनियाको कब्जामा गयो । जर्मन सेना भङ्ग गरियो र जर्मनीलाई ६ अर्ब पाउन्ड जरिवाना तिर्न बाध्य पारियो ।

एकातिर, युद्धले थला पारेको वाइमर गणराज्यले अपमानजनक सन्धि गरेकाले जर्मन जनता निरास त थिए नै, अर्कातिर १३ वर्षको अविधमा २० पटकसम्म सरकार फेरबदलका घटनाले जर्मनीका जनताको गणतन्त्रप्रतिको विश्वास टुट्दै गयो । संविधानमा व्यवस्था गरिएको सङ्घीयता र समावेशिताका कारण पनि त्यहाँ कुनै पार्टीको एक्लै बहुमत आउन सकेन र सधैँ सरकार अस्थिर बन्यो । यसै परिवेशमा जर्मनमा हिटलरको उदय भयो ।

सुरुमा १९१९ मा जर्मन वर्कर्स पार्टीको सदस्यता लिएका हिटलरले १९२१ सम्म आइपुग्दा उक्त पार्टीलाई आफ्नो कब्जामा लिएर नेसनल सोसलिस्ट पार्टीको नयाँ नाम दिए । पछि गएर यही पार्टी नात्सी पार्टीको नाममा विकास भयो । यही पार्टीको बलमा १९२३ मा सत्ता कब्जाको असफल विद्रोहको नेतृत्व गरेको आरोपमा एक वर्ष जेल परे ।

१९२९ सम्म आइपुग्दा आर्थिक मन्दीले जर्मन तहसनहस भइसकेको थियो । प्रथम विश्वयुद्धले थोपरेको असमान सन्धि र युद्ध पराजयको कुण्ठा, राजनीतिक अस्थिरता, बेरोजगारी, महङ्गी, अनिश्चित भविष्य र भोकमारीले जनता त्रस्त थिए । नात्सी पार्टीको प्रचारबाजीले जनतामा एउटा उज्ज्वल भविष्यको सपना देखाइदिन्थ्यो । १९२९ मा संसदमा २.६ प्रतिशत मत ल्याएको पार्टीले १९३२ मा संसदमा सबभन्दा ठुलो पार्टीको रूपमा ३७ प्रतिशत मत प्राप्त गर्यो ।

हिटलरमा जर्मनी मनोभावनाको मनोविज्ञान बुझ्न सक्ने अद्भुत क्षमता र जननायकमा हुनुपर्ने सबै गुण थिए । उनी खारिएका राजनीतिज्ञ, प्रभावशाली कुशल वक्ता र वीर सैनिक थिए । उनमा परिस्थितिअनुसार राजनीतिक दाउपेचलाई आफ्नो अनुकूल ढाल्न सक्ने कौशलता थियो । उनले आफ्नो भाषणमा एक शक्तिशाली राष्ट्रको स्थापना, भर्साइल सन्धिमा भएको अन्यायको प्रतिरोध र जर्मन समाजले गुमाएको प्रतिष्ठा फिर्ता ल्याउने आश्वासन दिए । बेरोजगारलाई रोजगारी र युवालाई एउटा सुनिश्चित भविष्यको सपना देखाए । देशलाई विदेशी षड्यन्त्रलाई डटेर सामना गर्ने प्रतिज्ञा गरेँ । आफू अस्ट्रियन भइकन पनि जर्मन राष्ट्रवादको भरपूर उपयोग गरे । हिटलर जर्मनका अधिनायक बने । आज संसारले हिटलर र तानाशाहको पर्यायवाचीको रूपमा बुझे पनि उनलाई त्यो स्थानमा पु¥याउन जर्मन जनताको महत्त्वपूर्ण हात छ ।

१९३३ जनवरीमा जर्मनको शक्तिशाली पद चान्सलरमा नियुक्त भएसँगै हिटलरले लोकतान्त्रिक शासनका संरचनालाई भत्काउन सुरु गरे । ३ मार्च १९३३ मा विशेषाधिकार अधिनियम (इनेबलिङ एक्ट) पारित गरेर अर्थव्यवस्था, मिडिया, सेना र न्यायपालिकामा आफ्नो नियन्त्रण स्थापित गरे । पूरै समाजलाई नात्सीवादको नियन्त्रणमा राख्न विशेष निगरानीका लागि हरियो बर्दीधारी पुलिसबाहेक अपराध नियन्त्रण पुलिस, गुप्तचर राज्य, पुलिस र सुरक्षासेवाको थप गठन गरेर उनीहरूलाई असंवैधािनक प्रकारले असीमित अधिकार दिइयो । यिनैको बलमा नात्सी राज्यले खुङ्खार अपराधिक राज्यको छवि बनायो ।

सत्तामा पुग्नासाथ नात्सीहरूले शुद्ध जर्मनीको विशिष्ट नस्लीय समुदाय विकासको जर्मनको विशिष्ट नस्ली समुदाय विकासको सपना पूरा गर्नका लागि आफूले विस्तार गरेका साम्राज्यभित्रका ती समाज वा नस्ललाई खतम गर्न सुरु गरे, जसलाई उनीहरूले “अवान्छित” मान्दथे । नात्सीहरूले शुद्ध र स्वास्थ्य नर्डिक आर्यजातिको समाज विस्तार गर्न चाहान्थे । त्यसैले उनीहरूले ६० लाख यहुदी, २ लाख जिप्सी, १० लाख पोल्यान्ड र ७० हजार शारीरिक र मानसिक रूपले असक्षम जर्मनलाई क्रुरतापूर्वक कत्लेआम गरे ।

१९३३ मै संयुक्त राष्ट्र सङ्घको सदस्यता त्यागेर पनि विदेशनीति र कूटनीतिमा हिटलर सफल हुँदै गए । १९३६ मा राइनल्यान्ड पुनः जर्मनको कब्जामा आयो । १९३८ मा अस्ट्रियालाई जर्मनीमा मिलाइयो । त्यस्तै, चेकोस्लोभाकिया र १९४० सम्म आइपुग्दा जर्मनीले डेनमार्क, नर्वे, नेदरल्यान्ड, बेल्जियम, फ्रान्स र लक्जम्बर्गमा आफ्नो प्रभावक्षेत्र विस्तार गरिसकेको थियो ।

भर्साइल सन्धिमा जर्मनीले अन्याय ब्यहोरेकाले सुरुमा बेलायतले जर्मनीलाई मौन समर्थन गर्दै आए पनि जब १९३८ सेम्टेम्बरमा जर्मनीले पोल्यान्डमाथि हमला गर्यो, त्यसपछि बेलायत र फ्रान्स पुनः जर्मन विरुद्धको युद्धमा धकेलिए र दोस्रो विश्वयुद्धको सुरुवात भयो । १९४० सेप्टेम्बरमा जर्मन, इटली र जापानका बिचमा त्रिपक्षीय सम्झौता सम्पन्न भयो । यसले हिटलरलाई आफ्नो ताकतको शिखरमा पुर्यायो ।

जति बेला जुन १९४१ मा हिटलरले सोभियत सङ्घमाथि हमला गरे, त्यहाँबाट हिटलरको अधोगति सुरु भयो । सोभियत लालसेनाले स्तालिनग्रादबाट खेद्दै जर्मन सेनालाई बर्लिनको बिचभागमा ल्याइपुर्याए । सुरुमा अमेरिका दोस्रो विश्वयुद्धको झन्झटमा पर्न चाहदैनथ्यो ।

जब धुरीराष्ट्रको गुटमा जापान सामेल भयो र उसले प्रसान्त महासागरको पर्लहाबर्रमा रहेका अमेरिकी सैन्य अखडामा बमबारी गर्न सुरु गर्यो, अमेरिका पनि मित्रराष्ट्र (बेलायत, फ्रान्स, रुस) गुटमा सामेल भयो र दोस्रो विश्वश्वयु्द्धको निर्णायक लडाइँ सुरु भयो ।

अन्ततः ३० अगस्त १९४५ मा हिटलरले आत्महत्या गरे । ७ मे १९४५ मा जर्मनीले आत्मसमर्पण गर्यो । यसरी दोस्रो पटक पनि जर्मन र हिटलरको क्रुर शासनले गर्दा पूरै युरोपर विश्व समुदायले ठुलो मुल्य चुकाउनुप¥यो ।

फासिवाद र मुसोलिनी

फासिवादको विकास पनि प्रथम विश्वयुद्धको सेरोफेरोमै युरोपको इटलीबाट सुरु भएको थियो। लन्डन सन्धिमा प्रथम विश्वयुद्ध जितेपछि इटलीलाई पनि लुटको हिस्सा दिलाउने आश्वासन दिइएको थियो । अतः मित्रराष्ट्रका तर्फबाट लडाइँमा भाग लिँदा इटलीले ठुलो धनजनको क्षति ब्यहोर्नुपरेको थियो । विश्वयुद्धमा विजयी भएपछि इटलीलाई न लुटको हिस्सामा सामेल गराइयो, न कुनै उपनिवेश नै दिइयो । मित्रराष्ट्रबाट इटलीमाथि गरिएको विश्वासघातको चोटले एकातिर इटलीका जनतामा आक्रोस पैदा गरेको थियो भने अर्कोतर्फ इटलीमा विद्यमान राजनीतिक अस्थिरता, बेरोजगारी, आर्थिक मन्दी आदिबाट देशलाई माथि उठाउन जनता एउटा वीर शासकको खोजीमा थिए । यही परिस्थितिमा विनिटो मुसोलिनीलाई सत्ता हडप्ने अनुकूल परिस्थिति बन्यो ।

सुरुमा वामपन्थी प्रभावबाट राजनीतिमा प्रवेश गरेका मुसोलिनी पछि कट्टर वामपन्थी विरोधी बने । उनले १९१९ मा फासी नामको पार्टी गठन गरे, जसलाई पछि गएर फासिवादी पार्टीको नामले चिनियो, जसको उद्देश्य सामाजिक वर्गको बिचमा उत्पन्न भेदभावको अन्त्य गर्ने, राष्ट्रवादी भावना जागृत गराउने, सेना र राजतन्त्रको विश्वास हासिल गर्ने र इटलीको पुरानो आफ्नो महान् रोमन सभ्यताको विकास र पुरानो आफ्नो महान् रोमन सभ्यताको विकास र संरक्षण गर्ने बताइएको थियो । उनले विरोधी राजनीतिक शक्तिलाई आतङ्कित पार्न र आफूप्रति जनाकर्षण बढाउन कालो कमिजधारी सैन्य दस्ता खडा गरे र इटलीको सत्ता आफ्नो हातमा सुिम्पए । उत्पन्न अस्थिरतालाई नियन्त्रण गरी सुदृढ इटली निर्माण गर्ने बताए ।

अन्ततः सीमित सैन्यशक्तिको बलमा राजदरबारलाई घेराउ गरे र राजा इमानुयलले मुसोलिनीलाई अक्टोबर १९२२ मा प्रधानमन्त्रीमा नियुक्त गर्न बाध्य भए । प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनले क्रमशः सबै लोकतान्त्रिक संस्थालाई ध्वस्त पार्दै लगे र १९२५ मा उनी स्वयम तानाशाह बने ।

मुसोलिनीले यो बताए कि “फासिवाद वास्तविकतामा आधारित छ । मैले निश्चित तथा वास्तविक उद्देश्य प्रप्त गर्न चाहान्छु । मेरो कार्यक्रम काम गर्नलाई हो, केवल बात गर्नलाई होइन ।” उनले व्यापक सार्वजिक सुधारका कार्यक्रम सञ्चालन गरे । बेरोजगारी घटाए । अर्थतन्त्रलाई सुदृढ पारे र देशको राजनीतिक शासनलाई अधिनायकवादी रूपमा बदले।राष्ट्रिय सेनाको समर्थनमा फासिवादी परिषद् गठन गरे र संसदलाई भङ्ग गरे । न्यायपालिकामा फासिवादी प्रभाव, प्रेस स्वतन्त्रतामाथि कडा नियन्त्रण, विरोधी राजनीतिक व्यक्तिको गिरफ्तारी, विपक्षी दलमाथि प्रतिबन्ध र राजनीतिक अपराध गर्नेलाई मृत्युदण्डको घोषणा गरेर मुसोलिनी इटलीका शक्तिशाली तानाशाह बने ।

दोस्रो विश्वयुद्धमा हिटलरलाई साथ दिएपछि मुसोलिनीको पनि अधोगति सुरु भयो । हिटलरसँग मिलेर इटलीमा पनि हजारौँ यहुदीको हत्या गरियो । सुरुमा जर्मन र इटली मिलेर पोल्यान्ड, फ्रान्स, स्पेन, हङ्गेरी, अस्ट्रिया, युनान, पोर्चुगल, इथियोपिया आदि देशमा साम्राज्य विस्तार गर्न सफल रहे पनि ४ जुन १९४४ मा मित्रदेशका सेनाले रोममा कब्जा जमाए र इटलीलाई सम्पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिँदै फासिवादी सत्ताबाट मुक्त भएको घोषणा गरे ।

मुसोलिनीलाई २७ अप्रिल १९४५ मा गिरफ्तार गरिएको थियो । भोलि पल्ट नै उनको श्रीमती क्लारा पेटेकाससँगै उनलाई गोली हानी हत्या गरियो । उनको शवलाई मिलान सहरको एउटा चोकमा झुन्ड्याइयो र उनको लासमाथि ठुलो अपमान गरियो । फासी पार्टीको अन्त्यसँगै इटली फासिवादबाट मुक्त भयो ।

आज फासिवाद शब्द निरङ्कुश, सर्वाधिकारवाद र तानाशाही अर्थमा बुझिन्छ र यस खालको सत्तालाई घृणा गरिन्छ ।

नेपाल र राणाशासन

राजा राजेन्द्रविक्रम शाहले भीमसेन थापालाई मुख्तियारीबाट अपदस्थ गरेपछि नेपालमा अन्यौलको वातावरण सृजना भएको थियो ।

राजेन्द्र महत्त्वाकाङ्क्षी राजा भएर पनि आफ्ना दुई रानीको क्रियाकलापलाई नियन्त्रण गर्न सकेका थिएनन् । दुवै रानी महत्त्वकाङ्क्षी र आफ्नो स्वार्थ पूरा गर्नका लागि भारदारका दुई प्रमुख समूहलाई आफूतर्फ मिलाएका थिए । जेठी रानी साम्राज्यलक्ष्मीले पाण्डे र कान्छी रानी राज्यलक्ष्मीले थापाको समर्थन प्राप्त गरेका थिए । भीमसेन थापाको पतनपछि जेठी रानीको जोडले रणजङ्ग पाण्डेले मुख्तियारी पाए । उनको अङ्ग्रेज सरकारप्रतिको कडा नीतिले गर्दा राजेन्द्रले उनलाई अङ्ग्रेजको दबाबमा पदबाट हटाए ।

वि.सं. १९९८ मा रानी साम्राज्यलक्ष्मीको मृत्युपछि राजनीतिमा कान्छी रानी लक्ष्मीदेवीले हस्तक्षेप गर्न थालिन् । उनकै दबाबमा भारतमा बस्दै आएका भीमसेन थापाका भतिजा माथवरसिंह थापालाई नेपाल बोलाएर मुख्तियारी दिन राजालाई बाध्य बनाइन् । माथवरसिंहलाई मुख्तियारी दिलाउनुको उनको उद्देश्य रोलक्रममा रहेका युवराज सुरेन्द्रलाई हटाएर आफ्नापट्टिको छोरा रणेन्द्रलाई राजा घोषित गर्नु थियो ।

विद्रोह हुने डरले माथवरसिंह थापाले यो आँट गर्न सकेनन् । राजालाई गलत सुझाव दिएको र रानीको उद्देश्य पनि उनीबाट पूरा नभएपछि राजारानीकै सहमतिमा उनको हत्या गराइयो । यसमा रानीका विश्वासपात्र गगनसिंह र जङ्गबहादुरले भूमिका खेलेका थिए ।

माथवरको हत्यापछि रानीले गगनसिंहलाई मुख्तियार बनाउन चाहन्थिन्, तर राजा तयार थिएनन् । त्यसैले चार महिनापछि फत्यजङ्गलाई मुख्तियारी पद दिइयो । उनले मुख्तियारी पाए पनि गगनसिंह र जङ्गबहादुरलाई पनि राज्य परिषद्मा सामेल गराइयो ।

फत्यजङ्ग मुख्तियार भए पनि रानीको सहयोगमा गगनसिंह शक्तिशाली भए । सबै महत्त्वपूर्ण निर्णय लक्ष्मीदेवी र गगनसिंहले गर्थे ।

राजा र मुख्तियारले त्यसलाई औपचारिकता मात्र दिन्थे । गगनसिंहको उदय राजा, मुख्तियार, जङ्गबहादुर र अन्य भारदारका लागि एउटा चुनौती बनेको थियो ।

राजा, रानी, मुख्तियार र भारदारका यी सबै अन्तरविरोधलाई राम्रोसँग नियालिरहेका चलाख जङ्गबहादुरले आफू शक्तिमा आउने अवसर पर्खिरहका थिए । यसै मौकामा १९०३ भदौ ३१ गते राती गगनसिंहको हत्या गराइयो । महारानीका प्रिय पात्र गगनसिंहको हत्या भएलगत्तै रानीले गगनसिंहको हत्यारा पत्ता लगाउन उसै राती सबै भारदारलाई कोतको परिसरमा जम्मा हुने आदेश दिइन् । आदेशअनुसार सबै भारदार कोतमा भेला भए । अन्य भारदार निःशस्त्र उपस्थित भए भने जङ्गबहादुरले महारानीको रक्षार्थ भन्दै तीन पल्टन सिपाहीका साथ कोतमा पसेका थिए ।

आफ्नै भाइ र विश्वासिला फौज आफ्नो साथ भएकाले जङ्गबहादुर निश्चिन्त थिए । सुरुमा रानीको आदेश पालना नगरेको भन्दै अभिमानसिंह रानालाई सङ्गिनले घोचेर घाइते बनाइयो । आफू मर्ने बेलामा गगनसिंहलाई मार्ने जङ्गे हो भन्दै अभिमानसिंह कराए र प्राण त्याग गरे । यो कुरा सुनेपछि प्रधानमन्त्री फत्यजङ्गका छोरा खड्कविक्रम शाहले जङ्गबहादुरको बेइमानीलाई सजाय दिनैपर्छ भनी कराए । त्यसपछि जङ्ग खलक तथा चौतारिया, बस्न्यात, थापा र पाँडे खलकबिच मारामार प¥यो । अन्यसँग हतियार नभएकाले जङ्गबहादुरका भाइखलक र उनको फौजले प्रधानमन्त्री फत्यजङ्गसहित करिब ३२ जनाको लासको थुप्रो पारेर कोतपर्वको अन्त्य भयो ।

कोतपर्वपछि गन्यमान्य सबै भाइभारदार बाँकी नरहेकाले दरबारलाई पनि सन्त्रासको स्थिति उत्पन्न भयो । अब निर्विकल्प रूपमा मुख्तियारी पाउने व्यक्ति जङ्गबहादुर नै रहे । यसरी १९०३ असोज ३ गते राजा राजेन्द्रबाट जङ्गबहादुर कुँवरलाई नेपालको विधिवत मुख्तियार (प्रधानमन्त्री) बनाइयो । त्यसपछि १०४ वर्षसम्म नेपाल राणाको निरङ्कुश जहानियाँ शासनको अधिनस्त रहन गयो ।

उपर्युक्त केही तथ्यले के बताउँछ भने कुनै पनि देशको तानाशाहको बिउ त्यही देशमा विद्यमान राजनीतिक परिस्थितिको उपजबाट पैदा हुन्छ र कालान्तरमा तानाशाह शासकका रूपमा झ्याङ्गिन्छ । सुरुमा देशको अस्थिर राजनीतिक अवस्था, आपसी झैझगडा, व्यापक जनअसन्तुष्टि र कमजोर राष्ट्रिय आत्मबलको सहारा लिएर जनतामा आसा जगाइन्छ, आफू शक्तिशाली बन्दै गएपछि तीनै जनतालाई तर्साएर र आतङ्कित पारेर उनैमाथि शासन गरिन्छ । आज हाम्रो देशको परिस्थितिले पुनः तानाशाहको बिउ उत्पन्न हुन सक्ने मलिलो अवस्था सृजना गरिरहेको छ ।

२०६२–६३ को जनान्दोलन र राजतन्त्रको बहिर्गमनपछि अब त देशमा स्थिरता आउँछ र केही मात्रमा भए पनि विकासले गति लिन्छ भन्ने सबैमा आसा थियो । राजनीतिक पार्टीले पनि धेरै महत्त्वाकाङ्क्षी आश्वासन बाँडेका थिए । तर राजनीतिक तहका केही व्यक्तिको जीवनस्तरमा परिवर्तन देखिए पनि आम जनताको जीवनस्तर झन् खस्किँदै गयो । बेरोजगारी, आर्थिक अभाव, महङ्गी र आत्मस्वाभिमानमा गिरावट हुँदै जाँदा जनतालाई निरास बनायो । पटक पटकको राजनीतिक सत्ताको फेरबदल र जो आए पनि उनै आदर्श गुमाएका पुरानै चेहरा सरकारमा आउने हुँदा जनतामा राजनीतिप्रति नै वितृष्णा बढदै गएको छ ।

दुईतिहाइ बहुमत लिएर प्रधानमन्त्री बनेको व्यक्तिलाई पूरै कार्यकाल काम गर्न नदिएको, आफूले विकास गर्दै आएको देखाउन निरास जनतालाई छिट्छिटो रानीपोखरी र धरहरा ठडाएर विकासको मोडलको आसा जगाउन प्रधानमन्त्री केपी ओली लागिपरेका छन् । जनतामा पनि “नहुनु मामाभन्दा दृष्टिविहीन मामा भए पनि जाती” भन्नेजस्तै परेको छ । तर गम्भीर र खतनारक प्रवृति उनमा के देखियो भने आफैलाई दुईतिहाइ दिलाएको पार्टी र उनका नेताहरूको हुर्मत लिएर आफूले चाहेजस्तो नहुँदा पार्टीलाई समेत तहसनहस पार्न पछि परेनन् ।

पार्टीको विधिपद्धति र विधानलाई त चुनौती दिए नै राष्ट्रपतीय गरिमालाई आफ्नो नियन्त्रणभित्र उपयोग गर्ने, असंवैधानिक तरिकाले संवैधानिक आयोगमा नियुक्ति गरेर आफनो नियन्त्रण कायम गर्ने, न्यायपालिकामा हस्तक्षेप बढाउने, संसदको विघटन गरेर अध्यादेशमार्फत शासनसत्ता चलाउनेजस्ता कार्यले प्रधानमन्त्री केपी ओलीले तानाशाहको बाटो अपनाएका छन् ।

आज प्रधानमन्त्री ओली शक्तिकेन्द्रको आडमा जे पनि गर्न तयार छन् । अध्यादेशमार्फत आएको नागरिकता विधेयक पछिल्लो उदाहरण हो । उनको यो गतिलाई नरोक्ने हो भने मुलुकमा वैधानिक तवरले नयाँ प्रकारको तानाशाहको जन्म हुने छ । त्यो परिस्थिति निर्माण भयो भने प्रधानमन्त्री त डुब्छन् नै, राष्ट्र र जनताले ठुलो क्षति ब्यहोर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *