कोरोनाबाट भन्दा भोकमरीबाट त्रसित छन् नेपालीहरु

  •   
  •  
  •  
  •  
  •  
  •  

473 जनाले पढ्नु भयो ।

जनक पौडेल, रेशम

आफन्तको माया मनमा साँची आफ्नो र परिवारको छाक टार्ने र झुपडीमा ओत लाग्ने सपना बोकी अरबका खाडी, मलयाका झाडी, भारतका गल्ली गल्लीमा पुगेका लाखौं उर्जाशिल नेपाली युवाहरु आफैमा दयनीय र अपहेलित हुँदै कष्ट्रकर जीवन बिताउँदै आएको अबस्था छ ।

देशमा चल्ने पटक पटकका परिबर्तनहरुमा प्रत्यक्ष वा परोपक्ष भौतिक, नैतिक र आर्थिक रुपमा योगदान पुराउँदै आएका तमाम् विदेशस्थित नेपाली युवाहरुका समस्या समाधान हुने भन्दा एक पछि अर्को हुँदै समस्याको भुमरिमा बल्झिरहेका छन् र विदेश बहिर्गमनको दशा कहिल्यै रोकिन सकिरहेको छैन । ब्यबस्थामा परिबर्तन आए पनि न देशका आम शोषित उत्पीडित बर्गले न्युनतम् सुखानुभुति महशुस गर्न पाएका छन्, न विदेशमा श्रम गर्ने युवाहरुको अबस्थामा परिबर्तन आउन सकेको छ र देश भित्रै रहन सक्ने अबस्था छ । बरु दिन प्रतिदिन युवाहरुको भविष्य अनिश्चित हुँदै बिकाराल परिस्थितिबाट गुज्रिरहेको छ ।

देशमा शासकहरु शासन सत्तामा परिबर्तन हुँदै गए तर नेपाली उर्जाशिल युवाहरुलाई राज्यले आफ्नै देशमा रोजगारको व्यवस्था गर्न सक्ने वातावरण सिर्जना गर्न पट्टी कहिल्यै ध्यान दिएन । देशका उद्योग धन्दा कलकारखाना सबै निजिकरण हुँदै गए । दलाल माफियाहरुको चंगुलबाट शासकहरु मुक्त हुन सकेनन् । बरु शासकहरु नै मतियार हुँदै, दलाल, माफियाहरु र भष्ट्रचारीहरुको कावुमा पर्दै गए । राष्ट्रियता जनजिविका, तमाम् सवालहरु र मजदुर किसान महिला उत्पिडित बर्गहरुका समस्याहरु अरु बिकाराल हुँदै गए । शासकहरु जनताका समस्या सम्बोधन गर्ने विषयमा चुक्दै आए वा ति विषयमा नजरअन्दाज गर्दै आए । देशमा रोजगारको बाताबरण सिर्जाना गर्नेपट्टी भन्दा नेपाली युवाहरुलाई विदेशी कम्पनीहरुसँग श्रम सम्झौता गर्दै आफुलाई गर्बानुभुति गर्दै आए ।

देश आज उर्जाशिल जनशक्ति विहिन भएको छ । पासपोर्ट बोकेर नेपाली युवाहरु दैनिक दुई हजार भन्दा माथीको दरले देशबाट बहिर्गमन हुँदै आएका छन् । त्यो बाहेक दलालहरुको फन्दामा परेर अवैधानिक रुपमा नेपालीहरु अमेरिका युरोप लगायत देशहरुमा पुग्ने र सफल जीवन बनाउने सपना बोकी ठुलो पैमानामा धन राशी खर्च गर्दै जोखिम यात्रा गरिरहेका छन् । धेरै मात्रामा दलालको परिपन्दामा परि न सम्बन्धित स्थानमा पुग्न सकेका छन्, नत पुगिहाले पनि समझदारी अनुसार श्रम र वेतन पाएका छन् । बरु बिचल्ली हुँदै घर न घाटको अबस्थाका दृष्टान्तहरु प्रसस्त छन् ।

नेपाल भारतको खुला सीमा भएको हुँदा नेपालीहरु भारतमा लाखौंको संख्यामा जिविकाउपार्जन गरिरहेका छन् । त्यस बारे सबैलाई सर्वविधित नै छ, तर दुर्भाग्य भन्नु पर्छ, नेपाल सरकारले आफ्ना देशका नागरिकहरु भारतमा कतिको संख्यामा छन् भन्ने यकिन तथ्यांक अहिलेसम्म बताउन सकेको छैन । यसको मतलब नेपाल सरकारसँग भारतस्थित नेपाली मजदुरहरु कति संख्यामा भारतमा कार्यरत् छन्प्रति अनविज्ञ छ । स्वभाविकरुपमा बुझ्न सकिन्छ की नेपाल सरकार भारतमा श्रम गर्ने मजदुरहरुप्रति कति गैरजिम्मेदारी छ । भारतमा रहेका श्रमिकहरुको अबस्था बारे बुझ्ने कुरा नेपाल सरकारको लागि दोस्रो पक्ष भयो ।

अहिले विश्वभरी नवोल कोरोना भाइरस् संक्रमणले दुनियाँ आक्रान्त छ । विश्वका २०९ भन्दा धेरै देशहरु कोरोना भाइरस्बाट प्रभावित भएका छन् । कोरोना आतंकले धेरै देशहरु लकडाउनबाट गुज्रिरहेका छन् । कोरोनाको आक्रमणले मानिसहरुको मृत्यूदर र संक्रमित संख्यामा दिन प्रतिदिन वृदि हुँदै आएको छ । प्रायः देशहरु करिब ठप्प छन् । उद्योग धन्दा कलकारखाना सुपर मार्केट होटल रेष्टुरेन्ट बजार यातायात बन्द छन् । त्यसकारण दैनिकी मजदुरी गरि जीवन यापन गर्नेहरु विचल्लीमा परेका छन् ।

एका तिर कोरोनाको आंतक र अर्को तिर भोकमोरी समस्या दिन प्रतिदिन, स्थिति भयाभह हुने संकेत देखिएको छ । कोरोना भाइरस् विश्व मानव जातिलाई चुनौति बनेको छ । त्यससंगै निम्तिएको भोकमरी समस्याबाट प्रभावित मजदुर बर्ग र गरिव किसानहरु नै परेका छन् । जो दैनिक ज्यालादारी गरेर जीवन उपार्जन गर्दै आएका थिए । नेपालीहरु विश्वको कुना कन्दरामा रोजगारीको लागि पुगेका छन् । ति श्रमिकहरु अहिलेको अबस्थामा कोरोनाको आतंकसंगै विदेशी भुमि त्यसमा पनि कतिपय अत्याधिक संक्रमित देशहरु छन् । ति देशहरुले नेपाली श्रमिकहरुलाई विश्व स्वास्थ्य संगठनको पोर्टोकलको ब्यबस्था अनुसार सुनिश्चित गरेका मापदण्ड अनुसार ब्यावारिक कार्यान्यवन कति गरेका छन् र सुरक्षाको प्रत्याभुति दिएका छन् वा नेपाली श्रमिकहरु अरु प्रताडित भएका छन् । विभिन्न विदेशस्थित नेपाली राजदुतहरु अहिलेको अबस्था बारे कति गम्भिर छन् र कस्तो पहल गरिरहेका छन् । त्यो एउटा गम्भिर पक्ष हो ।

भारतमा होटल रेष्टुरेन्ट र अन्य जुन दैनिक ज्यालादारी गर्ने र जीवन यापन गर्दै आउने सेक्टरमा कार्यरत् थिए, ति नेपालीहरुको अबस्था बढो गम्भिर हुँदैछ । उनीहरु जहाँ कार्यरत् थिए, त्यहि बसेको अबस्था थियो । जब होटलहरु बन्द भए, त्यहि वासस्थानबाट पनि बाहिरिनु बाध्यता भयो । देश लकडाउन भए पछि काम गर्ने अबस्था पनि छैन । काम नभए पछि वेतन पाउने अबस्था पनि रहेन । अर्को तर्फ सधै मालिकहरुले ति मजदुरहरुलाई न्युनतम् दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराई दिने अबस्था पनि छैन । बरु बस्न दिएको ठाउँबाट कसरी नेपालीहरुलाई बहिर्गमन गराउन सकिन्छ भन्नेमा उद्त देखिन्छन् ।

भारतमा कोेरोना भाइरस्को संक्रमण दिन प्रतिदिन वढ्दो अबस्थामा रहेको हुँदा लकडाउनको सुनिश्चितता अन्यौलमा छ । नेपालीहरु विदेशी भुमिमा विचल्लीमा पर्ने अबस्था प्रवल देखिन्छ । अर्को तर्फ ठुलो संख्यामा भारतबाट नेपाल जाने क्रममा सयौं नेपालीहरु सीमानामा बन्धक भएका छन् । कोरोना भाइरस् मानिसबाट नै संक्रमण हुने ब्यादि भएको हुँदा सहज रुपमा विना चेक जाँच सीमाना खुला गरि गाउँगाउँमा जान दिने अबस्था छैन । परिस्थितिको ज्ञान वा अनविज्ञता वा भयक्रान्तले देशमा पुग्ने हुट्हुटीका कारण मानिसहरु सीमानामा पुगेका छन् र नेपाल सरकारले ति नेपाली मजदुरहरुलाई भारत तर्फ नै क्वारेन्टाइनमा राख्ने समजदारी भएको बताएको छ । त्यसो त नेपालमा रहेका भारतीय मजदुरहरु पनि सीमानामासम्म पुगेकाहरुलाई नेपाल तर्फ नै क्वारेन्टाइन राखेको बताइएको छ । यद्यपि नेपालीहरु जसरी दुःख कष्ट झेल्दै सीमानासम्म पुगेका छन्, ति नेपाली मजदुरहरुलाई देशमा प्रवेश गराउँदै क्वारेन्टाइनमा राख्नु पर्दछ र नेपाली मजदुरहरुलाई पुर्ण स्वास्थ्य परिक्षण गरेर मात्र उनीहरुको गाउँ बासस्थान तिर पठाउनु पर्दछ ।

सीमानामा पुगेका नेपालीहरु भारत तर्फको क्वारेन्टाइनमा कति सुरक्षित छन् ? उनीहरुका समस्याप्रति नेपाल सरकारको ध्यान गएको पाइंदैन । उनीहरुलाई भेडा बाख्रा झैं राखिएको खबरहरु आएका छन् । कोरोना संक्रमणबाट अपनाएका सीमा दुरीप्रति कुनै ध्यान छैन । त्यस कारण ति नेपालीहरुलाई देश प्रवेश गराई सुरक्षाको सुनिश्चितता नेपाल सरकारले गर्नु पर्दछ, अन्यथा ति नेपालीहरुमा नै संक्रमणको उच्च जोखिम आउन सक्दछ ।

अतः अहिलेको विषम परिस्थितिमा नेपाली मजदुरहरुका समस्याहरुप्रति भारतस्थित नेपालीहरुका संगठनहरुले प्रत्यक्ष रुपमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्नु पर्दछ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेलिरहेको पनि छ । भारतस्थित नेपाली राजदूत, वाणिज्यहरुसँग समन्वय गर्दै, संगठनले नेपालीहरुका समस्या र अबस्था बारे अद्दावधि गर्ने र नेपाली राजदुतले भारतको सरकारसँग नेपालीहरुका समस्याहरु समाधानप्रति गम्भिर हुँदै कुटनैतिक तवरबाट लाग्नु पर्ने आवश्यकता छ । अन्यथा अहिलेको अबस्थामा यदि भारतस्थित नेपाली राजदूतावास आफ्ना नागरिकहरुको रक्षा र सुरक्षाको प्रत्याभूति गराउन पट्टी ध्यान दिएन भने, भारत स्थित नेपाली राजदूतावासको औचित्यतामा माथि नै प्रश्न खडा हुनेछ ।

(लेखक मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *