कोरोना : अहिलेको विश्व र नयाँ विश्वबीचको महाद्वार

  •   
  •  
  •  
  •  
  •  
  •  

456 जनाले पढ्नु भयो ।

  • अरून्धती रोय

आज नकाँपीकन कसले ‘भाइरल भयो’ भन्‍नसक्छ ? ढोकाको ह्यान्डल, सामानको पोको, तरकारीको झोला हेर्दा सलबलाइरहेका अदृश्य, अमुर्त थोप्लाहरू कसको दिमागमा आउँदैन ? अनि ती थोप्लाहरूले हाम्रो फोक्सो अँट्ठ्याएर समातेको कल्पना कसको दिमागले गर्दैन? कसले सोच्‍न सक्छ- अपरिचितलाई चुम्बन गर्नु, दौडँदै बसभित्र पस्नु अथवा आफ्ना प्यारा सन्तानालाई निर्धक्क स्कुल पठाउनु ? बिना डर कसले अरूबेलाका मोजमस्तीबारे सोच्‍न सक्छ?

आज हामीमध्ये को कामचलाउ सरूवारोग विशेषज्ञ, भाइरोलोजिस्ट, तथ्याङ्कशास्त्री वा भविष्यद्रष्टा भएका छैनौ? के कुनै वैज्ञानिक वा डाक्टरले मनमनै कुनै चमत्कारको लागि प्रार्थना गरिरहेको छैन? कुनै पुरोहितले गोप्यरूमै भएपनि विज्ञानको सफलता पर्खिरहेको छैन? अनि, जताततै भाइरस फैलिरहेको बेला मध्य सहरमा चराहरूको गीत, जेब्राक्रसमा मयुरको नाच र शान्त आकाश देखेर तरङ्गित नहुने कति छौं ?

संसारभरि संक्रमितको संख्या दश लाख कटिसकेको छ। ५० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या लाखौं वा त्योभन्दा पनि धेरै पुग्नसक्ने अनुमान भइरहेको छ। अन्तर्राष्ट्रिय व्यापार र पूँजीको बाटो भएर भाइरस सर्वत्र फैलिसकेको छ । त्यसपछि मानिसहरू आफ्नो देशमा, आफ्नो शहरमा अनि आफ्नै घरभित्र लक डाउन भएका छन् । तर,भाइरसले संसारभरि फैलिनलाई पूँजीले जस्तो नाफा खोजेन । अझ यो त पूँजीको उल्टो बाटो हिड्यो । यसले अध्यागमन, बायोमेट्रिक, डिजिटल सर्भिलेन्स, र सबै प्रकारका तथ्यांक विश्लेषणलाई जिस्काइरहेको छ । आँखाले नदेखिने यो भाइरसले संसारको सबैभन्दा धनी, सबैभन्दा शक्तिशाली देशहरूलाई शक्तिशाली धक्का दिइरहेको छ। यो धक्काले पूँजीवादको इन्जिन एकाएक ठप्प पारिदिएको छ। अहिले हामीले पूँजीवादको इन्जिनलाई नियाल्ने र यसको मूल्यांकन गर्ने समय पाएको छौं। यसपछि यही इन्जिनलाई पाटपूर्जा फेरफार गरेर चलाउने कि यो भन्दा राम्रो अर्को इन्जिनको व्यवस्था गर्ने भन्‍ने निर्णय गर्ने सक्छौं।

यो महाव्याधी व्यवस्थान गरिरहेका चिनियाँहरू युद्धलाई गर्वका रूपमा लिन्छन्, बिम्बका रूपमा मात्र होइन, साँच्चै नै उनीहरूका लागि युद्ध प्रिय शब्द हो। के यो महाव्याधी साँच्चिकै युद्ध हो त ? यदी साँच्चिकै युद्ध हुन्थ्यो भने अमेरिकाजति तयारी अवस्थामा को हुन्थ्यो होला र? फ्रन्टलाइनका सिपाहीलाई मास्क र पन्जा नभएर बम, बन्दुक, ‘बंकर बस्टर’, पनडुब्बी, युद्धक विमान र आणविक बम चाहिने भएको भए यस्तै अभाव हुन्थ्यो र?

हामी हरेक रात अनौठो व्यग्रताका साथ न्युयोर्क राज्यका गभर्नरको प्रेस ब्रिफिङ हेर्छौं। तथ्यांक पढ्छौं । अनि अमेरिकी अस्पतालमा न्युन तलबमा अधिक काम गर्ने नर्सले आफ्नो ज्यानको बाजी थाप्दै फोहोर उठाउन बनाइएको प्लास्टिकको झोला र रेनकोट प्रयोग गरेर बिरामीको उपचार गरेको समाचार पढेर द्रविभूत हुन्छौं । आज अमेरिका भित्रै राज्यहरू भेन्टिलेटर किन्‍न तँछाडमछाड गरेर प्रतिस्पर्धामा उत्रिएका छन्। डाक्टरहरू कुन बिरामीलाई उपचार गर्ने र कुन बिरामीलाई मृत्युको जिम्मा लगाउने भन्‍ने द्वीविधामा छन् । यो सबै देखेर हामी आफैैसँग भनिरहेका छौं, ‘ओ माइ गड! अमेरिकामा पनि यस्तो!’

०००

यो दुखान्त नाटक हाम्रो वर्तमान हो, वास्तविकता हो, जुन हाम्रै आँखाअघि मञ्चन भइरहेको छ।तर नयाँ भने होइन । अहिले दुर्घटना भएको रेलले ट्र्याक छोडेर गलत बाटोमा घस्रिएको वर्षौं भइसकेको थियो।

बिरामीवस्त्र पहिरिएका बिरामीको लास गुपचुप सडक किनारमा थुपारिएको दृश्यले भरिएका भिडियोहरू कसले सम्झिएको छैन ? कतिपय अभागी अमेरिकी नागरिकका लागि त अस्पतालका ढोका नै बन्द भएका थिए। उनीहरू कति बिरामी भए र कति पीडा भोगे भन्‍ने कुराले कुनै अर्थ राखेन। तर अहिले परिस्थिति बदलिएको छ। यो भाइरसको समयमा कुनै गरिब बिरामी भयो भने यसले धनी समाजको स्वास्थ्यलाई असर गर्छ। आज बर्नी स्यान्डर्स ‘हेल्थकेयर फर अल’ अभियान चलाइरहेका छन्, जसलाई उनकै पार्टीले समेत ह्वाइट हाउसका लागि अयोग्य ठान्छ।

यस्तोबेला मेरो देश भारत, धनी तर गरीब भारतमा के भइरहेको छ? सामन्तवाद र पूँजीवादबीच, जातिवाद र धार्मिक कट्टरताबीच रूमल्लिरहेको अनि अति-दक्षिणपन्थी हिन्दू-राष्ट्रवादीको शासन भएको यो देशमा के भइरहेको छ ?

गएको डिसेम्बरमा जब चीन बुहानमा कोरोना भाइरस नियन्त्रणका लागि संघर्ष गरिरहेको थियो, भारतका सडक मुस्लिम विरोधी नागरिकता कानुनको विरूद्धमा भइरहेको प्रदर्शनले भरिएका थिए। भर्खरै संसदबाट पारित विभेदकारी कानुनको विरूद्ध हजारौं भारतीय सडकमा ओर्लिएका थिए।

कोभिड-१९को पहिलो पटक गणतन्त्र दिवसको केही दिन पछि, जनवरी ३०मा भेटिएको थियो । अमेजनको वनभक्षक तथा कोभिडको वास्तविकतालाई अस्वीकार गर्ने ब्राजिल राष्ट्रपतिले दिल्ली छोडेको धेरै दिन भएकै थिएन। भाइरस फैलिन नदिने र फैलिएमा नियन्त्रण र उपचारको तयारी गर्न फेब्रुअरिभरि गर्नुपर्ने काम धेरै थियो। यही महिनाको अन्तितम साता अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक भ्रमणमा आउँदै थिए। गुजरातमा दश लाख मान्छे उतार्ने भनेर उनलाई लोभ्याइएको थियो। यो भ्रमणले अत्यन्तै महत्वपूर्ण समय र धेरै पैसा खपत गरिदियो। यसैबेला दिल्ली विधानसभाको चुनाव पनि थियो। पासा नपल्टाए यहाँ भारतीय जनता पार्टीको हार निश्चित भइसकेको थियो। उसले आफूले सकेजति शक्ति लगायो,हिन्दू राष्ट्रवादको अभियानलाई तिब्रता दियो, भौतिक आक्रमणको धम्की धियो, ‘गद्धार’ लाई गोली मार्ने नारा लगायो र अन्तत: हिंसामा उत्रियो । तर पनि उसले पराजय भोग्यो। त्यसैले उसले दिल्लीका मुस्लिमलाई अपमानको आरोपमा दण्डित गर्न सुरू गर्‍यो। हतियारधारी हिन्दू भिजिलान्ते परिचालन गर्‍यो, जसलाई प्रहरीले सुरक्षा दिएका थिए। यो भिजिलान्ते दलले उत्तर-पूर्व दिल्लीका ज्यालादारीमा परिवार पाल्ने मुस्लिमहरूमाथि आक्रमण गर्‍यो। घर, पसल, मस्जिद र स्कुल जलायो। मुस्लिमहरूलाई यस्तो आक्रमणको अनुमान थियो, उनीहरूले प्रतिरोध गरे। केही हिन्दू र अधिकांश मुस्लिम गरेर ५० जना जति मारिए। हजारौं मानिस स्थानीय चिहानघारीमा शरणार्थी भएर बसे। कोभिड-१९को बारेमा सरकारी अधिकारीको पहिलो औपचारिक बैठक बस्दा र धेरै भारतीयले ‘ह्याण्ड स्यानिटाइजर’ भन्‍ने चीजको पनि यो दुनियाँमा अस्तित्व छ भन्‍ने थाहा पाउँदै गर्दा हिंसामा मारिएका शवहरू दिल्लिका गन्हाउने ढलबाट निकालिँदै थियो।

मार्च महिना अत्यन्तै व्यस्त भयो । पहिलो दुई हप्ता मध्य प्रदेशको काँग्रेस सरकार गिराउने र भाजपा सरकार बनाउने खेलमै सकियो। ११ मार्चामा विश्वस्वास्थ्य संगठनले कोभिड-१९ लाई महाव्याधी(पाण्डेमिक) घोषणा गर्‍यो। दुई दिनपछि, १३ मार्चमा स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण मुलुकमा स्वास्थ्य संकटकाल नरहेको घोषणा गर्‍यो।

अन्तत: १९ मार्चमा बल्ल प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गरे । उनले फ्रान्स र इटालीको रणनीति अनुकरण गरे । उनले “सामाजिक दूरी” कायम गर्नुपर्छ भन्‍ने सल्लाह दिए। जातिय विभेदमा अभ्यस्त समाजमा यो बुझ्न कठीन भएन। उनले २२ मार्चमा जनता कर्फ्यु आव्हान गरे । उनले संकटको सामना गर्न सरकारले के गरिरहेको छ भन्‍ने विषयमा केही भनेनन् तर उनले मानिसहरूलाई बारदलीमा निस्किएर घण्टी बजाउन, थाल ठटाउन र स्वास्थ्यकर्मीप्रति आभार प्रकट गर्न आग्रह गरे । तर, त्यतिबेलासम्म भारतमा उत्पादन भइरहेका स्वास्थ्यकर्मीमा सुरक्षा उपकरण अस्पताल र सुरक्षाकर्मीलाई उपलब्ध गराउनुको साटो विदेश निर्यात भइरहेकोबारे उनले मुख खोलेनन्।

नरेन्द्र मोदीको आग्रहमा जनताले उत्साहका साथ रूपमा समर्थन जनाए। थाल ठटाउने जुलुस निकालियो। विभिन्‍न झाँकी प्रदर्शन गरियो। यसबेला सामाजिक दूरी कायम गरिएन। त्यसको भोलिपल्ट गहुँत पार्टी आयोजना गरियो । भाजपा समर्थक गहुँत खान पार्टीमा भेला भए। मुस्लिमहरू के कम, भाइरसको जवाफ ‘ईश्वर’मात्रै हो भन्दै धर्मावलम्बीलाई ठूलो संख्यामा मस्जिदमा जम्मा पार्न थाले ।

०००

२४ मार्च, राती ८ बजे, मोदी फेरि टेलिभिजनमा देखिएर मध्यरातदेखि लागुहुने गरि ‘लक-डाउन’ घोषणा गरे ।

बजार बन्द हुने भयो । नीजि-सार्वजनिक सबै यातायात बन्द हुने भयो। उनले प्रधानमन्त्रीका रूपमा नभएर घरमूलीको रूपमा आफूले यो निर्णय लिएको बताए। एक अर्ब ३८ करोड जनसंख्या भएको देशमा राज्य सरकारसँग छलफलै नगरी अरू कसले यस्तो निर्णय लिन सक्थ्यो ? बिना तयारी मुलुक केही घण्टा भित्रै मुलुक ठप्प पार्ने घोषणा गर्नसक्थ्यो? उनको तरिकाले भारतीय प्रधानमन्त्रीका लागि उनका जनता दुश्मन हुन् र उनीहरूलाई कुनै पनि बेला झुक्याएर एम्बुसमा पार्नुपर्ने हुन्छ भन्‍ने भान पर्छ। उनी जनतालाई ‘सरप्राइज’ दिन्छन्, तर कहिल्यै विश्वास गर्दैनन्।

अहिले यहाँ लकडाउन छ। धेरै स्वास्थ्यकर्मी र सरूवारोग विषेशज्ञहरूले यसलाई स्वागत गरेका छन्। सिद्धान्तत: उनीहरू ठिकै हुनसक्छन्। तर, पक्कै पनि उनीहरूले योजना र तयारीको भयावह कमीलाई समर्थन गर्नसक्दैनन्। जसले गर्दा आज संसारकै सबैभन्दा ठूलो र पीडादायी लकडाउन भारतीय जनताले भोगिरहेका छन् । जुन उद्धेश्यका साथ यो लकडाउन गरिएको थियो वास्तविकता ठिक उल्टो छ।

जसले तमासा मन पराउँछ, उसले आज तमासाको खानी नै सिर्जना गरेको छ।

अहिले त्रस्त भएर संसारले भारततिर हेरिरहेको छ, भारले भने आफ्नो लाज उदाङ्गो बनाइरहेको छ । यतिबेला यहाँको संरचनात्मक, सामाजिक र आर्थिक असमानताको क्रुर वास्तविकता उदाङ्गो भइरहेको छ। फरक विचारप्रतिको असहिष्णुता उजागर भइरहेको छ। लकडाउनले लुकाइएका चीजहरू देखाउने रसायनले झैं काम गर्‍यो। जब पसल तथा रेष्टुरेन्ट, फ्याक्ट्री तथा निर्माण उद्योग बन्द भए, जब धनाढ्य र मध्यम वर्ग गेटमा ताल्चा लाएर कोलोनीमा बन्द भए, हाम्रा शहर तथा महानगरले मजदुर वर्गलाई गलहत्याउन थाले। ती प्रवासी मजदुरप्रति जबरजस्ती आएका परचक्रीलाई झैं व्यहार गरे । कतिलाई उनीहरूका घरबेटी तथा मालिकले गलहत्याए, दशौं लाख खानै नपाउने अवस्थामा पुगे । भोकाएका, तिर्खाएका, युवा, पाका, पुरूष, महिला, बालबालिका, बिरामी, अपाङ्गता भएका मानिसहरू जानेठाउँ कहिँ नपाएर घरसम्मको ‘लङ मार्च’ का लागि सडकमा ओर्लिए। उनीहरू दिल्लीबाट बदायूँ, आग्रा, अजमगड, अलिगड, लखनउ, गोरखपुर लगायतका ठाउँसम्मको सयौं किलोमिटर दुरी पैदल पार गरे। कतिपय बाटैमा मरे ।

उनीहरूलाई थाहा थियो, उनीहरू भोकमरीबाट बच्‍न गाउँ फर्किँदैछन्। र, उनीहरूलाई यो पनि थाहा थियो कि उनीहरूले भाइरस बोकिरहेका हुनसक्छन्। यसले उनीहरूको परिवार, बाबुआमा, हजुरबुवा-हजुरआमालाई पनि संक्रमित गर्न सक्छ। तर, सबैभन्दा पहिले त उनीहरूलाई ओत लाग्ने छानोको आवश्यकता थियो। प्रेम नभएपनि छाक टार्ने खानाको आवश्यकता थियो । यसका लागि घर फर्कनुबाहेक विकल्प थिएन।

पैदल यात्रामा उनीहरूमध्ये कतिपयले पुलिसको क्रुर र अपमानजन लाठी खाए। प्रहरीलाई कडाइका साथ कर्फ्यु कार्यान्वयन गराउने आदेश थियो। वयस्क मान्छेलाई उनीहरूले भ्यागुत्तो बनाएर सडकमै उठबस गराए। बरेलीमा एक समूहमाथि रसायनिक औषधी स्प्रे गरियो। यसको केही दिन पछि शहरबाट निस्किएको जनसंख्याले गाउँमा भाइरस फैलाउन सक्ने भन्दै सरकारले प्रादेशिक सिमानामा पैदल आवतजावतसमेत बन्द गर्ने निर्णय गर्‍यो। सयौं किलोमिटर पैदल हिडेर आएका मानिसलाई घर पुग्न नपाई रोकियो र फेरि शहरका शिविरमा फर्कन बाध्य पारियो, जहाँबाट उनीहरू लखेटिएका थिए। कतिपय बुढापाकाले १९४७को जनसंख्या स्थानान्तरण सम्झिए, जतिबेला भारत विभाजित भएको थियो र पाकिस्तानको जन्म भएको थियो ।फरक यतिमात्रै थियो, त्यसबेलाको विभाजन धर्मको नाममा थियो, अहिलेको विभाजन वर्गको नाममा।

जे भए पनि उनीहरू भारतका सबैभन्दा गरिब मानिसहरू होइनन्। उनीहरू कम्तीमा अहिलेसम्म भारतका शहरहरूमा रोजगारी गरका मानिसहरू थिए। उनीहरूसँग कम्तिमा फर्कनलाई गाउँमा घर छ। बेरोजगार, बेघर, निराश मानिसहरू जहाँ थिए, त्यहीँ छन्। जो शहरमा थिए शहरमै छन्, जो गाउँमा थिए, गाउँमै छन् । उनीहरूको यो अवस्था अहिलेको दुखान्त सुरूहुनुभन्दा धेरै अघि देखिको हो। यो सन्त्रासबीच गृहमन्त्री अमित शाह भने कतै पनि सार्वजनिक रूपमा देखापरेनन्।

मजदुरहरू शहर छोडेर गाउँ फर्किन थालेपछि म मैले प्राय लेखिरहने म्यागेजिनको प्रेसपास लिएर दिल्ली र उत्तरप्रदेशको सीमामा रहेको गाजीपुर पुगेँ। त्यहाँको अवस्था अत्याशलाग्दो थियो। लकडाउन आव्हान गर्दा भौतिक दूरी कायम राख्न भनिएको थियो भने यहाँको अवस्था ठीक उल्टो थियो। कल्पनै गर्न नसकिने संख्यामा मानिसहरूको भीड जम्मा भएको थियो।

यो भारतभित्रैका शहर र महानगरभित्रको सत्यता हो। मुलसडक खालि हुनसक्छ तर गरिब जनतालाई सुकुम्बासी वस्तीका साँघुरा छाप्रामा कोचिएको छ। मैले कुरा गरेका मानिसहरू भाइरसलाई लिएर चिन्तित थिए। तर, प्रहरी ज्यादती, बेरोजगारी र भोकमरी जति वास्तविक र प्रत्यक्ष भाइरस थिएन।

मैले कुरा गरेका मानिसहरूमध्ये मुसलमान सूचीकारहरूको एक समूह पनि थियो, जो अघिल्लो हप्ता मुस्लिम-विरोधी आक्रमणमा बाँच्न सफल थियो। अर्का एक पुरूषको भनाइले मलाई निकै अप्ठ्यारोमा पार्‍यो। रामजित नामका ती कारपेन्टर हिडेरै नेपालको सीमानामा रहेको गोरखपुर पुग्ने सुरमा थिए।

‘यस्तो निर्णय लिने बेला मोदीजीलाई हाम्रो बारेमा कसैले भनेन होला, सायद उनलाई हाम्रो बारेमा थाहा छैन होला,’ उनले भने । उनले भनेको ‘हामी’मा चार करोड ६० लाख मानिस पर्छन्।

०००

भारतका (अमेरिकाका पनि) राज्य सरकारहरूले उनीहरूप्रति धेरै उदारता देखाएका छन्, उनीहरूको समस्यालाई बुझेका छन्। ट्रेड युनियन, स्वतन्त्र नागरिक र अरू केही समूहले खाना र अत्यावस्यक सामान दिइरहेका छन् । यस्तो दर्दनाक अवस्थामा सहायताका लागि उनीहरूले गरेको अपील सम्बोधन गर्न केन्द्र सरकार असाध्यै सुस्त भयो। प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा तत्काल रकम जम्मा नभएको जवाफ दिइयो। यता नयाँ खडा गरिएको ‘पीएम-केयर्स’ कोषमा समर्थकहरूले रहस्यमय रूपमा रकम जम्मा गरिरहेका छन्। मोदीको तस्बिर राखिएको तयारी खानेकुराका प्याकेट देखा पर्न थाले ।

यसका अति‍रिक्त, प्रधानमन्त्रीले योग-निद्राको भिडियो शेयर गरे। त्यो एनिमेटेड भिडियोमा उनी सेल्फ-आइसोलेसनमा बसेका मानिसहरूको तनाव कम गर्नका लागि योग आसन सिकाउँछन्।

आत्मप्रदर्शन यतिबेला समस्यामा छ। सायद यतिबेला उपयुक्त आसन अनुरोध-आसन हुनसक्थ्यो। यसमा मोदीले आफ्ना फ्रेन्च समकक्षीलाई विवादास्पद राफेल लडाकु विमान खरिद सबन्धि सम्झौता उल्टाउने र त्यसका लागि छुट्याइएको सात अर्ब ८० करोड युरो अहिलेको आपत्कालीन अवस्थामा खर्च गर्ने आग्रह गर्नसक्थे। पक्कै पनि फ्रान्सले उनलाई बुझ्ने थियो।

लकडाउन दोस्रो हप्तामा प्रवेश गर्दा आपूर्ती व्यवस्था पूर्णरूपमा प्रभावित भएको छ। औषधी र अरू अत्यावश्यक वस्तुको अभाव हुन थालेको छ। ट्रक ड्राइभरहरू खाना र पानीको अभाव झेल्दै राजमर्गमा कतै अड्किएका छन् । भित्र्याउने बेला भएको बाली खेर जाँदै छ।

आर्थिक संकट यहाँ देखापर्छ भने राजनीतिक संकट पहिले देखिकै निरन्तर छ। मूलधारका सञ्चारमाध्यमले कोभिड-१९का समाचारलाई मुस्लिम विरोधी अभियानको अंग बनाएका छन्। लकडाउन सुरू हुनुभन्दा पहिले दिल्लीमा भेला आयोजना गरेको ताब्लिगि जमात नामक संगठनलाई ‘सुपर-स्प्रेडर’को बिल्ला भिराइएको छ । यही घटनालाई मुस्लिम समुदायलाई नकारात्मक देखाउन प्रयोग गरिएको छ। मिडियाको प्रस्तुतिको सार भने मुस्लिम समुदायले भाइरस बनाएर जिहादको रूपमा प्रयोग गरिरहहेका छन् भन्‍ने अर्थ दिने खालको छ।

कोभिडको संकट अझै बढ्छ वा यत्तिमै सकिन्छ, हामीलाई थाहा छैन। यदी यो बढ्यो भने, धर्म, जात र वर्गका सबै पुर्वाग्रहसहित यसको सामना हुने निश्चित छ। मैले यो लेख लेखिरहँदा (अप्रिल २ सम्म) भारतमा २ हजार संक्रमित भएको पुष्टि भएको छ भने ५८ जनाले ज्यान गुमाइसकेका छन्। थोरै मात्र परीक्षण भएकाले यो विश्वास गर्न सकिने संख्या होइन।

विशेषज्ञका राय फरक-फरक छन् । कोही संक्रमितको संख्या दश लाख कट्ने अनुमान गर्छन् भने कोही त्यो भन्दा कम। हामी आफैं प्रभावित हुँदा पनि संकटको सघनता कति हो भन्‍ने हामीलाई थाहा हुन्‍न। हामीलाई यति थाहा छ कि अस्तालहरू अझै पनि उपचारका लागि तयार छैनन्।

भारतमा वर्षेनी दश लाख बालबालिका पखला, कुपोषण र अरू रोगका कारण मर्छन् । लाखौं मानिस क्यान्सरले मर्छन् (क्यानसरले मर्नेमध्ये संसारको एक चौथाई मानिस भारतका हुन्छन्)। रक्तअल्पता र कुपोषण झेलिरहेको ठूलो संख्याका मानिसलाई जुनसुकै रोगले पनि मृत्युको मुखमा पुर्‍याउँछ। भारतका सरकारी अस्पताल र क्लिनिक यी रोगबाट जनतालाई बचाउन सक्षम छैनन्। यी अस्पताल र क्लिनिक युरोप र अमेरिकाले अहिले झेलिरहेकोजस्तो संकट झेल्न सक्ने छैनन्।

भारतको स्वास्थ्य सेवा बिस्तारै सम्पूर्ण रूपमा कोभिडतर्फ फर्कँदै छ। भारतकै ठूलो अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सको दिल्लीमा रहेको ट्रमा सेन्टर बन्द गरिएको छ। क्यान्सर शरणार्थी भनिने सयौं क्यान्सर रोगीहरूलाई गाईवस्तु झैं सडकमा धपाइएको छ।

मानिसहरू घरमै बिरामी पर्नेछन् र मर्नेछन्। हामीलाई उनीहरूको कथा कहिल्यै थाहा हुने छैन। उनीहरू तथ्यांकमा समावेश पनि हुनेछैनन्। हामी आशा मात्रै गर्न सक्छौं, साँच्चिकै केही अध्ययनले भनेजस्तै यो भाइरस चिसो मौसममा मात्रै रमाउँछ (केही अध्ययनहरू यस्तो निष्कर्षसँग सहमत छैनन्)। मानिसहरूले यति आधारहिन भएर तालु पोल्ने गर्मीको प्रतिक्षा कहिल्यै गरेका थिएनन्।

यो सबै केले गरिरहेको छ ? हो, भाइरसले । तर वास्तविकता यो भन्दा फरक छ। भाइरसले गर्दा मात्रै यस्तो स्थिति आएको होइन। कतिपय भन्छन्, यो हाम्रो चेत फिराउने भगवानको तरिका हो। अरू भन्छन्, यो संसारमा प्रभूत्व जमाउन चिनियाँ षडयन्त्र हो। जे भए पनि कोरोना भाइरसले शक्तिशालीहरूको घूँडा टेकाएको छ । संसारलाई यसरी टक्क रोकिदिएको छ, जुन काम अरू कसैले गर्न सक्दैन।

हाम्रो दिमाग अझै घडबडाइरहेको छ, र व्यग्रताका साथ सामान्य अवस्थाको प्रतिक्षा गरिरहेको छ। हाम्रो विगत र भविष्यलाई यसरी जोड्न खोजिरहेको छ कि यसमा कोभिडको अवरोध नदेखियोस्। तर, यो अवरोध नर्कान नसकिने वास्तविकता हो। चरम निराशाका बीच यो संकटले हामीलाई आफ्नै अस्तित्वको अन्त्य गर्न हामीले बनाएको मेसिनबारे पुर्नविचार गर्न आग्रह गरेको छ।

यत्तिकै सामान्य अवस्थामा फर्किनु भन्दा खराब केही हुनेछैन। इतिहासमा महाव्याधीहरूले आफ्नो विगतलाई भत्काएर नयाँ भविष्यको कल्पना गर्न बाध्य तुल्याएका छन्। यो संकट पनि तिनीहरूभन्दा पृथक छैन । यो अहिलेको विश्व र नयाँ विश्वबीचको महाद्वार हो। हाम्रा पूर्वाग्रह र घृणा, लालच, हाम्रा डेटा ब्यांक र मृत विचार, सुख्खा खोला र प्रदुषित आकाशको लास बोकेर यो महाद्वारबाट घस्रिने अथवा थोरै सामान बोकरे नयाँ भविष्यको कल्पना गर्दै खुला भएर हिड्ने र यो संकटसँग जुध्‍ने, हामी आफैंले रोज्‍न सक्छौं।

स्राेत: नेपाल म्यागजिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *