कोरोना भाइरसदेखि हतोत्सायी नबनौँ

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

52 जनाले पढ्नु भयो ।

जनकराज पौडेल ।।
सन् २०२० को सुरुवातमा कोरोना भाइरस (कोभिड–१९) चीनको वुहान प्रान्तदेखि सुरु हुँदै युरोप, अमेरिका, मध्यपूर्वी एसिया फन्को मार्दै विश्वभरि फैलियो । यद्यपि सङ्क्रमित र मृत्युदर सम्बन्धित देशले कुन रूपमा विधि अपनाउँदै वा विश्व स्वास्थ्य सङ्गठनका विधि र सुझावलाई कति आत्मसात गर्न सके ? त्यहीअनुरूप नियन्त्रण भए; अन्यथा कतिपय सुविधासम्पन्न देशमा लाखौँकरोडौँ, मानव सङ्क्रमित हुँदै त्यसै अनुपातमा ज्यान पनि गए ।

यस क्रममा करोडौँ मजदुरका रोजगारी गुमे । त्यसमा पनि अरू बढी प्रवासी मजदुर बिचल्लीमा परे । बेरोजगारी जीवन अस्तव्यस्त भए । ठुल्लठुला पुँजीवादी–साम्राज्यवादी देशका अर्थतन्त्र टाट पल्टिए । बेरोजगारहरू आम रूपमा सडकमा नै आउन थाले । भोकमरी समस्याले एक प्रकारले सिभिलवार (नागरिक युद्ध) हुने सम्भावना उत्पन्न भयो । विश्वभरि नै कोरोना भाइरसभन्दा ठुलो भोकमरी समस्या सतहमा आउने अवस्था सिर्जना भयो ।

विज्ञान प्रविधि, दक्ष जनशक्ति र मेडिकल उपकरणसहितको सुविधायुक्त देशमा त्यही रूपमा मानिसलाई परीक्षण गर्दा सङ्क्रमित पनि ठुलो सङ्ख्यामा देखिन थाले । नियन्त्रण विधि अनुसान्धन वा आविष्कार गर्न दत्तचित्तका साथै लाखौँ कोसिस बाबजुद पनि मेडिकल विज्ञहरू समयमा भ्याक्सिन उपलब्ध गराउन असफल भए ।

दिन–प्रतिदिन सङ्क्रमणको रफ्तार तीव्र गतिमा बढ्दै गयो । एकपछि अर्को देश हुँदै कोरोना भाइरस सङ्क्रमणले विश्व नै हायलकायल भयो । देशहरू बन्दाबन्दीतर्फ गए । दैनिक श्रम गर्दै बिहान–बेलुकी छाक टार्दै आएका असङ्गठित मजदुरहरू न खाने गाँस, न बस्ने बास हुँदै अलपत्र परे ।

भारतको सन्दर्भमा प्रवासी नेपालीको पक्ष र हकहितमा स्थापित सङ्घसंस्थाहरू, त्यसमा पनि प्रवासी नेपाली मजदुरको अभिभावकत्व निर्वाह गर्दै आएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता–कार्यकर्ताले बिचल्लीमा परेका नेपाली मजदुरलाई विषम परिस्थितिमा जोखिम उठाउँदै रासनपानी त, कतिपय अवस्थामा आर्थिक नगद उपलब्ध गराउँदै आयो । त्यसका बाबजुद पनि हजारौँ सङ्ख्याका नेपाली र लामो बन्दाबन्दीले निरन्तर सहयोग सम्भव हुने कुरा पनि भएन ।

यद्यपि सङ्गठनका कार्यकर्ताद्वारा नै देश फर्किन बाध्य श्रमिक नेपालीलाई आर्थिक सहयोग, साधन व्यवस्थापनमा सहयोग निरन्तर चली नै रह्यो । त्यो पीडादायी परिस्थितिमा पनि बसमाफियाले श्रमिक नेपालीबाट महङ्गो भाडा लिने, बिच बाटोमा अलपत्र पार्ने, ब्लाकमेलिङ गर्दै तनाव दिने, सम्बन्धित स्थानमा नपुराउनेजस्ता समाचार आए । तनावद्वारा प्रताडित भएका नेपाली मजदुरहरू नै पीडामा परे ।

नेपाल सरकार र भारतका लागि राजदूतलगायतका अधिकारीसँग सङ्गठनका नेताहरूबाट श्रमिक नेपालीको कठिन अवस्थाबारे अद्यावधि गराउने कार्य भए । नेपाल सरकारलाई पनि भारतमा श्रमिक नेपाली बिचल्लीमा परेको अवस्थाबारे जानकारी गराउँदै राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सरकारद्वारा सुनुवाइ नभएकै कारण सकारात्मक र सहज वातावरणको पहल गरेको देखिएन ।

कतिपय देशले मजदुरी वा अन्य प्रयोजनका लागि विदेश गएका आफ्ना नागरिकलाई सम्भव साधन प्रयोगद्वारा देश भिœयाउने कार्य पनि भए । कतिपय सिमाना जोडिएका देश र राज्य (प्रान्त) का श्रमिक मजदुरहरू सयौँ माइल पैदलयात्रा गरी आफ्नो देश वा राज्यतर्फ जाँदा धेरैको बिच बाटोमा नै ज्यान गएका दुखद् घटना सुनिए ।

सिमानासम्म पुगेकालाई पनि अपमान गरियो । ठुलो सास्ती ब्यहोर्न बाध्य पारियो । अव्यवस्थित क्वारेन्टाइनका कारण क्वारेन्टाइन नै सङ्क्रमितका स्रोत बने ।

नेपालको सन्दर्भमा सिमानामा पुगेका आफ्ना नागरिक भित्राउयाउने र व्यवस्थापनमा नेपाल सरकार उदासिन भयो । जसरीतसरी देश फर्केका नेपालीहरू आफ्नै देशमा केही गर्ने, विदेश नजाने सङ्कल्पसहित फिरेका थिए । विडम्बना ! दुई महिना नहुँदै पुनः भोकमरी आइलाग्यो । राज्यद्वारा रोजगार व्यवस्थापनमा कुनै पहल भएन, फेरि उही नियति दोहोरियो । सिमानामा भारततर्फ आउन बेरोजगार नेपाली लामबद्ध भए । सिमाना वा चोरमार्ग हुँदै विभिन्न साधनबाट बिच बाटोमा अलपत्र र ठुलो पैमानामा खर्च गर्दै आउने क्रम तीव्र बन्यो।

सन् २०२० को अन्त्यतिर कोरोना सङ्क्रमणमा केही कमी आएका तथ्याङ्क आउन थाले । क्रमिक रूपमा केही कारखाना, साना मझौला उद्योग, छिटफुट रूपमा होटल, रेस्टुरेन्ट फास्टफुडलगायत खुल्ने क्रम सुरु भयो । सवारी साधन पनि चल्न थाले । कोरोना नियन्त्रणका लागि भ्याक्सिन पनि उपलब्ध भयो । तर भिडभाड सुरु हुन थाले । मानिसहरू कोरोना भाइरसको पीडा छिट्टै भुल्न थाले । सरल र सहज दैनिकीमा फर्किने क्रममा पुनः दोस्रो भेरियन्ट कोरोना भाइरस गत वर्षभन्दा पनि खतरनाक रूपका साथ तीव्र गति लिँदै आइरहेको छ ।

यसले दिन–प्रतिदिन लाखौँको सङ्ख्यामा मानिसहरू सङ्क्रमित हुँदै दैनिक हजारौँको ज्यान लिने क्रम जारी छ । परिस्थिति जटिल र कठिन सिर्जना भएको छ । भारतजस्तो सुविधासम्पन्न देशमा सङ्क्रमित मानिस अक्सिजन अभावले तड्पिएका छन् । विभिन्न देशबाट सहयोगको अनुरोध गर्दै प्रतिक्षारत हुनुपर्ने स्थिति सामान्य होइन ।

सङ्क्रमितलाई हस्पिटलले धान्न सकिरहेका छैनन् । सडकका पेटीमा मानिसहरू अक्सिजन लिँदै जीवन र मृत्युसँग कडा र अत्यन्तै कठिन सङ्घर्ष गरिरहेका छन् । स्थिति भयावह हुँदै आएको छ ।

गत वर्ष श्रमिक नेपालीहरू कोरोना सङ्क्रमितद्वारा केही अप्रिय घटना घटेका थिए । थुप्रै नेपाली ठिक भएका थिए । अहिले पनि नेपाली मजदुर धेरै सङ्क्रमित भएका खबर आएका छन् । यद्यपि अप्रिय घटना छिटफुट रूपमा घटेका छन् । जसरी भारतीय नागरिकको मृत्युसम्बन्धी तथ्याङ्क आएका छन्, त्यसको तुलनामा अहिलेसम्म नेपाली मजदुरबिच अप्रिय घटना घटेको जानकारीमा आएको छैन ।

सङ्क्रमित नेपालीहरू पनि ठिक हुँदै सरल र सहज वातावरणमा फर्किनुभएको छ, जुन खुसी र सुखद पक्ष हो । त्यसो भन्दै गर्दा सावधानी अपनाउन ध्यान दिने सन्दर्भलाई कमी राख्यौँ भने परिस्थिति गम्भीर छ । त्यसप्रति अत्यन्तै अनुशासित र सजग हुन अहिले अरू अपरिहार्य भएको छ । भ्याक्सिन लगाएका व्यक्तिहरू पनि सङ्क्रमित भएका रिपोर्ट आएका छन् । यद्यपि सङ्क्रमण हुने कम सम्भावना रहने विज्ञहरूले भन्दै आएका छन् । मूल रूपमा स्वास्थ्य सङ्गठनका नियम र सुझावप्रति सबैले ध्यान दिन जरुरी छ ।

ओली सरकारप्रति गत वर्ष नै हामी श्रमिक नेपाली भुक्तभोगी छौँ । ओली सरकार गत वर्ष पनि विषम परिस्थितिलाई नजरअन्दाज गर्दै सत्तास्वार्थमा केन्द्रित थियो । अहिले अरू सत्ता टिकाउने खेल र स्वार्थको नाङ्गो नाच प्रदर्शन गरिरहेको छ । त्यसैले आफै सुरक्षित हुने, मनोबलका साथै आत्मबल बढाऊँ । सङ्क्रमित भए पनि हतोत्सायी नबनौँ । धेरै मानिस ठिक भएर आउनुभएको छ । विभिन्न रोगका कारणले पनि मृत्युदर बढी देखिएका हुन सक्दछन् । मुख्य कुरा आफूलाई विश्वास गरौँ । हाम्रो सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हामी सबैको साथमा छ र छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *