कोरोना भाइरस समाजको दृष्टिकोण

जनक पौडेल

पृथ्वी वा ब्राह्मणमा उथल–पुथल हुन्छ, प्राकृतिक विपत्ती आउँछ । हरेक पक्षमा विनास भित्र नयाँ विकासका आयामहरु आएका हुन्छन् । त्यसै अनुसार आवश्यकतासँगै अस्वीकार हुँदै पनि जान्छन् । समाज विकास वा मानव जातिको विकास पनि यसरी नै हुँदै आएको छ । समय स्थिर र सबै कुरा निरपेक्ष हुँदैन । परिबर्तन परिस्थितिको सापेक्षता अनुसार हुँदै जान्छ ।

प्राकृतिक नदिहरुको बहार यो बर्ष एक ठाउँबाट बगेको हुन्छ, भने अर्को सालको अविरल बर्षाले त्यो ठाउँमा मात्र सिमित नरही अरु ठाउँ ओगेट्न पुग्दछ । पहाडका पाखा पखेराका छहराहरु वा हामीले देख्दै आएका खोलाहरु पहिला देख्दै आएका ठाउँ भन्दा बढि ओगेट्दै गएको देखेका छौं । खोला नदिहरुले ढाँडहरु पार्दै गइरहेका हुन्छन् । समुन्द्री सतह पनि स्थिर रहँदैन, भुकम्प आउँछ, पहिराहरु जान्छन् । यी प्राकृतिक रुपमा आएका उथल पुथल हुन् ।

मानव जाति प्राकृतिक प्रकोपदेखि अलग छैन । प्राकृतिक उथल पुथलबाट प्रभावित हुँदै आएको छ । मानव जाति नै प्रकृतिको उपहार हो । निरन्तर संघर्ष चलिरहन्छ । पौठेजोरी खेल्दै अघि वढेको पनि छ । मानव जातिले प्राकृतिकको आवश्यक भन्दा बढि दोहन गर्दै आउँदा त्यसको असर र आउने परिणाम पनि मानव जातिले नै बेहोर्न परिरहेको छ । जस्तै पर्यावरण, असर, केमिकल भट्टी आणाविक बम उत्पादन प्रतिस्पर्धा लगायतबाट प्राकृतिकमा पर्ने असर र मानव जातिमा पार्ने प्रभाव र परिणामहरुदेखि रहेका छन् ।

गत डिसेम्बर महिनाबाट विश्वमा (कोभिड१९) नामक कोरोना भाइरस् महामारीको रुपमा फैलिरहेको छ । यसको उत्पति चीनको हुवान प्रान्तबाट शुरु भई विश्वभरि फैलिएको छ । शुरुका दिनमा युरोप अमेरिका र मध्यपुर्वका देशहरुमा ताण्डव देखायो र करोडौं मानिसहरु संक्रमित हुँदै लाखौंको ज्यान लिईसकेको छ । अहिले दक्षिण एशियाका देशहरुमा संक्रमणको रफ्तार बढ्दो छ । लाखौं संख्यामा मानिसहरु संक्रमित छन् । हजारौं मानिसहरुको जीवन समाप्त पारेको छ । भने ठुलो संख्यामा संक्रमितहरु ठिक भएर पुन ः जीवनयापन गरिरहेका पनि छन् ।

त्यसो त यस भन्दा पहिला पनि विभिन्न नामधारी भाइरसहरु नदेखिएका होईनन् । जस्तै स्पेनिस फ्लू औलो मलेरिया आदि महामारी जस्ता रोगले लाखौं करोडौं संख्यामा मानिसहरुको ज्यान लिएका थिए । मानव जाति ति सबैसँग जुध्दै मेडिकल विज्ञहरुले महामारीको नियन्त्रण र निदानको खोप वा औषधी पत्ता लगाउँदै आएका छन् ।

अहिले (कोभिड– १९) को खोप पत्ता लगाउन मेडिकल विज्ञहरु शुरुका दिनबाट ठुलो मेहनत गरिरहेका छन् । यद्यपि अहिलेसम्म आधिकारिक रुपमा कोरोना भाइरसबाट पुर्ण मुक्त वा निर्धक्क हुन सक्ने खोपको अविष्कार हुन सकेको छैन । अन्य नियन्त्रण विधिहरु पनि ठ्याक्कै प्रभावकारी पत्ता लागेको छैन । हुन त मास्क, सेनिटाईजर, सामाजिक दुरी लगायतलाई कोरोनाबाट सुरक्षित रहन सकिने विधि बताइए पनि यी पक्षहरुमा पनि एकरुपता छैन । त्यसो त कोरोना भाइरस संक्रमणका लक्ष्णहरु पनि, शुरुका दिनमा भनिए झैं जस्तै अत्याधिक जरो आउने, घाँटी सुक्ने, सुख्खा काँशो भनिएको थियो ।

तर ति कुनै प्रकारका लक्ष्ण नदेखिंदा पनि मानिसहरु संक्रमित भएका छन् र उल्लेखित लक्ष्ण भएका कोरोना भाइरस संक्रमित नभएका रिपोर्ट पनि आएका छन् । यसमा पनि कुनै आधिकारिकता देखिंदैन । यद्यपि यो भाइरस सिधा फोक्सोमा प्रवेश गर्ने र स्वास प्रस्वासमा कठिन हुने हुँदा जरो रुघा खोंकी अहिलेको परिस्थितिमा गम्भिर रुपमा लिनु पर्ने बाध्यता छ । अरु होशियार हुनु पर्ने भएको छ । निर्जिव बस्तुमा पनि समय–समयमा उथल पुथल आउँछ भने सजिव भौतिक शरिरमा तलमाथी भइरहनु स्वभाविक हो ।

मानिसको शरिर हो, स्वास्थ्यमा गडवडी आइरहन्छ, तर भाइरस सरुवा रोग भएको हुँदा मानव जातिहरु संक्रमित हुने सम्भावना बढि र छिटो रहन्छ । अर्को पक्ष के पनि सत्य हो, भने भाइरसले मानव विभाजन गर्ने गर्दैन । सबैलाई बराबरी देख्दछ । उसले धनि गरिव ज्ञानी–अज्ञानी जान्दैन र बुझ्दैन । यदि त्यसरी विभाजन गथ्र्यो त, विज्ञ डाक्टरहरु नर्स, साम्राज्यबादी देशका शासक वा अन्य बादशाह विश्वका धनाढ्यहरु सुरक्षित रहन पर्दथ्यो, तर संक्रमित भईरहेका छन् ।

त्यसैले मानिसको शरिरमा हुने रोग प्रतिरोधात्मक शक्तिले भाइरससँग लड्ने क्षमता राख्दछ भने सुरक्षित हुन सक्ने मेडिकल विज्ञहरु बताउँछन् । अर्को पक्ष जुन देशहरुका राज्य संयन्त्रहरु जनताहरु प्रति गम्भिर र उत्तरदायी छन् । साथै जनता पनि अनुशासित र सजक छन् । बढि भन्दा बढि साबधानी अपनाउँन सक्दछन् । जनताका दैनिकी समस्याप्रति राज्य गम्भिर रहन्छ, परिपुर्ति गर्ने गर्दछ । ति देशहरुमा केहि नियन्त्रण भएको देखिन्छ ।

यो रोग मानवबाट मानवमा संक्रमित हुने सरुवा रोग भएको हुँदा, अहिलेको परिस्थितिमा सिमित राख्न वा नियन्त्रण गर्न धेरै गाह्रो विषय पनि हो । मानव जाति कुनै न कुनै कोणबाट दुनियासँग अन्तर्घुलित छ । कुनै पनि मानिस आफुलाई रोग संक्रमित होस् भन्ने चाहाना राख्दैन र सावधानी पनि अपनाएको हुन्छ । तथापी रोग संक्रमित भएको हुन्छ । त्यहाँ संक्रमित ब्यक्तिको दोष हो त ? निश्चिय पनि हुन सक्दैन । तर कोरोना भाइरस संक्रमित ब्यक्ति वा उसको परिवारलाई हेर्ने समाजको दृष्टिकोण अत्यन्तै निम्न प्रकारको देखिन्छ, धृणा गरिन्छ । ताकि उसको ईच्छाले कोरोना भाइरस शरिरमा बोकेर आएको छ ।

एका तिर यो भाइरस्बाट बच्न सजग र सावधानी अपनाउँदै चेतना फैलाउनु पर्ने भनिन्छ । संक्रमित ब्यक्तिहरुको मनोबल वढाउनु पर्दछ भनिन्छ । अर्को तर्फ संक्रमित ब्यक्ति मात्र होईन उसको सम्पुर्ण परिवारलाई हेयको दृष्टिकोणले समाजले हेर्दछ । पुरै अछुत सरह ब्यवहार गर्दछ । संक्रमित ब्यक्तिले टेकेको जमिन पनि संक्रमित भएको छ भन्ने मनोवृत्ति छ ।

यस प्रकारको ब्यवहारले संक्रमित ब्यक्ति त कमोजोर हुन्छ नै सिङ्गो परिवार पनि तनाव ग्रस्त हुँदै थप दुर्घट्ना निम्तिने सम्भावना हुन्छ । धेरै संक्रमित ब्यक्तिहरु समाजको घृणाको त्रासले ह्रदयघात भई ज्यान गुमाउन परेको खबर आएका छन् । अर्कोतर्फ जब कोरोना भाइरसको महामारी आयो अन्य दिर्घ रोगीहरु वा सामान्य रोग लागेका ब्यक्तिहरु पनि अकालमा उपचार नपाई ज्यान गुमाउन परेको छ । निजि अस्पतालका डाक्टरहरु विरामी जाँच्न अस्वीकार गर्ने गरेका छन् । उल्टै अपमानित हुनुपरेको छ । बिरामीको विना परिक्षण कोरोना गलामा झुण्डाई दिईन्छ ।

मानिस संक्रमित हुँदा कमसेकम मानविय ब्यवहार गर्दै सहानुभुति र मनोबल वढाउने सल्लाह दिनु पर्ने हो । तर त्यस्तो देखिदैन यसबाट पनि हाम्रो समाज कति संकिण स्वार्थी निम्न चिन्तनद्धारा ग्रसित छ भन्ने प्रष्ट हुन्न र ? त्यसैले कुनै पनि रोगी वा संक्रमित ब्यक्तिलाई नजिक वा टाढाबाट मनोबल वढाउने र सहानुभुति सहयोग गर्दा नै उसले ठुलो राहत प्राप्त भएको महशुष गर्दछ ।

रोगसँग संघर्ष गर्ने क्षमता वा उर्जा प्राप्त गर्ने छ । घृणा र अनावाश्यक भयले मानिसलाई कमजोर मात्र बनाउने छ । कोरोना भाइरस गरिव दुःखी अनपढ मात्रैलाई संक्रमण भएको छैन । तिनै संक्रमित ब्यक्तिहरुको उपचारमा दिन रात खटिएका डाक्टर नर्स सुरक्षाकर्मीहरु पनि संक्रमित भएका छन् । के उनीहरु सावधानी अपनाएका थिएनन् होला र ? त्यसैले सावधानी अपनाउँदा पनि विभिन्न कारणले संक्रमण हुन्छ । घृणा होइन, सद्भाव राखौं । सबै संक्रमितहरुको जीवन रक्षाको लागि कामना गरौं । मनोबल वढाउन प्रोत्साहन र सहयोग गरौं । निश्चय पनि कोरोना भाइरस निदान वा नियन्त्रण गर्ने खोप वा औषधी आउने छ । अन्ततः विगतमा झै मानव जातिले जित हासिल गर्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार