कोरोना भाईरस मानव जातिको लागि ठूलो चुनौती बन्दैछ

जनक पौडेल (रेशम)

सन् २०१९ को डिसेम्बर महिनाको मध्य तीर चीनको हुवान शहरमा एकजना माछा बेच्ने मिनु जियान नाम गरेकी उमेर ५७ बर्षकी महिलालाई रुघा खोकी र जरो आउँछ, उनी नजिकैको हस्पिटल जान्छिन् । सामान्य मौषमी जरो रुघा भन्दै औषधी दिई डाक्टरहरुले घर पठाई दिन्छन् । केहि दिन पछि ति महिलालाई रिगटा लाग्छ र ढल्दछिन् । पुनः हस्पिटल लगिन्छ । त्यस समयसम्म त्यहि प्रकृतिका समस्याले तीस चालिस जना पिडित भैसकेका हुन्छन् । हस्पिटलले परिक्षण गर्दछन् तर कारण पत्ता लाग्न सक्दैन । त्यस पछि चीनले WHO विश्व स्वास्थ्य संगठनलाई उक्त समस्या बारे जानकारी गराउँछ र विश्व स्वास्थ्य संगठनले नै उक्त व्याधिलाई नोवेल कोरोना भाईरस (कोभिड १९) को नामाकरण गर्दछ ।

समय वित्दै जान्छ, हुवान प्रान्त लगायत सिङ्गै चीनमा कोरोना भाईरस फैलिरहेको हुन्छ । हजारौं मानिसहरु भाइरस्द्धारा संक्रमित हुन्छन् दिन प्रतिदिन मानिसहरुका भाईरस संक्रमितले ज्यान लिदै जान्छ । करौडौ आवादि रहेको हुवाङ प्रान्त बन्दाबन्दी हुन्छ । चिनिया डाक्टर, नर्स, प्रशासनहरु दिन रात जनताहरुको सुरक्षा र रोग नियन्त्रण गर्न खटिरहेका हुन्छन् । आम जनतालाई बाहिर नकिस्कन अनुरोध गर्दै सरकारले सचेत बनाउँछ । त्यस समयमा पश्चिमी मुलुकहरुमा कोरोना भाईरस प्रवेश गरि सकेको थिएन ।

पश्चिमी मुलुकहरु चीनमा फैलिएको कोरोना भाईरस युरोपसम्म आई नगुग्ने अनुमान गर्दै नजरअन्दाज गरेका थिए । अमेरिकी राष्ट्रम्पति डोनाल्ड ट्रम्पले पनि अहिले जसरी अमेरिका कोरोना भाईरसको एपि सेन्टेर बनेको छ, सायदै अनुमान गरेका थिए । बरु चीनमा कोरोना भाईरसले दिनहुँ मानिसहरु संक्रमित हुँदै जीवन गुमाएका थिए ।

चीनले अन्य विकशित देशहरु विषेश तः अमेरिकाको सहयोगको अपेक्षा गरेको थियो । सहयोगको सट्टा अमेरिकाले चीनको अपमान गर्दै चिनिया भाईरस हुवाङ भाईरस भन्दै घृणा गर्दै थियो । अन्य युरोपिन मूलुकहरुले पनि खासै गम्भिर रुपले सोचेनन्, तर जब कोरोना भाईरस युरोप, अमेरिका, बेलायत हुदै पुर्वि एशिया हुँदै दक्षिण एशियामा प्रवेश गर्यो, त्यति वेलासम्म इटलीमा लाखौं जनता संक्रमित भई हजारौंको संख्यामा मानिसहरुका दैनिक ज्यान गुमाउन थालेका थिए । सोही अवस्था स्पेनमा थियो, जो हालसम्म पनि यथावत नै छ । त्यसका साथै बेलायत फ्रान्स् र अमेरिकामा कोरोना भाईरस नियन्त्रण बाहिर गइसकेको थियो । त्यहाँ पनि हजारौं मानिसहरुको ज्यान गुमाइसके भने लाखौ संक्रमित छन् ।

एसियन मुलूक इरानमा पनि हजारौ संख्यामा मानिसहरुका ज्यान गुमाएका छन्, त्यहि मात्रामा संक्रमित भएका छन् । त्यस पछि क्रमसं दक्षिण एशियाली मुलूकहरुमा कोरोनाको रफ्तार अघि वढिरहेको छ । अहिलेसम्म कोरोना भाईरस विश्वका २१० मुलुकसम्म फैलिएको छ ।

यहाँ स्मरणिय पक्ष के छ भने, जब चीन कोरोना भाईरससँग लडिरहेको थियो, त्यति वेला भारत लगायत साम्राज्यबादी देशहरुले चीनसँग आर्थिक नाकाबन्दी गर्दै सीमा दुरी कायम गर्ने र चीनमा रहेका वहुराष्ट्रिय कम्पनीहरु भारत, कतार, ईण्डोनेशिया तिर सार्नु पर्ने धारणा ब्यक्त गरेका थिए । जब कोरोना भाईरस एक पछि अर्को देश हुँदै विश्वका महाशक्ति देशहरुसम्म फैलिंदै ताण्डव मच्चाउदै गयो, बल्ल अमेरिकी शासक डोनाल्ड ट्रम्प र अन्य युरोपिन देशका शासकहरुका घमण्डहरु छियाछिया हुँदै अलाप विलाप गर्दै सडकमा छरपष्ट भए ।

चिनियाँ वा वुहान भाईरस भन्दै चीनप्रति अपमान गर्दै खिस्सी टिउरी गर्ने डोनाल्ड ट्रम्प केहि हप्ता पहिले विश्व उद्योगीहरुको संगठन G-20 को भिडियो कन्फ्रेन्समा चिनियाँ राष्ट्रम्पति सि जिङपिङसँग चिनियाँ भाईरस त उच्चारण गर्ने हिम्मत राखेनन् नै बरु चीन कोरोना भाईरस नियन्त्रण गर्न सफल भएको भन्दै सि जिङपिङसँग मिलेर नै कोरोना भाईरससँग लड्ने भन्दै सि जिङपिङको मुक्त कण्ठले प्रशंसा गर्न समेत भ्याए ।

उता चीनले आफुप्रतिको अपमान र असहयोगको प्रवाह नगरी निरन्तर आफ्नो कार्यमा लाग्यो । अहिले चीनमा कोरोना संक्रमण नियन्त्रण उन्मूख छ । दुर्भाग्य मान्नु पर्दछ, अमेरिका, युरोप र दक्षिण एशिया मुलुकमा संक्रमण दिन प्रतिदिन वृद्धि हुँदै गइरहेको अबस्था छ । अमेरिकामा त कोरोना भाईरसको एपि सेन्टर बनिरहेको छ । दिनहु मृत्यू दर वढ्दै संक्रमित स्थिति भयावह हुँदै गइरहेको छ । भाईरस संक्रमित देशहरुमा परिक्षणका लागि यापिड किटस, भ्यान्टिलेटर्स, एपिपिइ लगायत स्वास्थ्य सामाग्री र उपकरणहरु चीनेले नै निर्यात गरिरहेको छ । इटाली लगायतका देशहरुमा चिनियाँ डाक्टरहरुको टिम प्रत्यक्ष सहभागी भई उपचारमा सहयोग गरिरहेका छन् ।

त्यसो त विश्व स्वास्थ्य संगठनलाई पनि चिनियाँ पक्ष लिएको भन्दै आरोप नलागेको होईन । अमेरिकी राष्ट्रम्पति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिंदै आएको सहयोग फण्ड पनि रोक्ने चेतावनी दिईसकेका थिए । विश्व स्वास्थ्य संगठनले जति बेला चीनमा कोरोना भाईरसको रप्तार तिब्र थियो, त्यो समयमा नै सचेत र सजग हुन अन्य देशलाई चेतावनी दिएको थियो । तर यहाँ स्मरण गर्नु पर्ने के छ भने, त्यति वेला डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको सुझावलाई हल्कारुप लिंदै अमेरिका कोरोना नियन्त्रण गर्न सक्षम रहेको भनेका थिए । तर अहिले ट्रम्पले विश्व स्वास्थ्य संगठनले समयमा नै कोरोना भाईरस सम्बन्धि सचेत नगराएको भनिरहेका छन् ।

ट्रम्पलाई जवाफ दिंदै विश्व स्वास्थ्य संगठनका प्रमुखले आफु कालो जाति भएको हुनाले अपहेलित गरेको तर आफु कालो हुनुमा गर्व छ भन्दै अहिलेको परिस्थितिमा राजनीति क्वारेन्टाइनमा राख्दै मानव जीवनको रक्षाका लागि शक्ति राष्ट्रहरु एक आपसमा समन्वय गर्दै कोरोना भाईरस विरुद्ध लड्न सुझाएका छन् ।

अहिले विश्व भरि फैलिरहेको कोरोना भाईरस मानव जगतको लागि ठुलो चुनौती सावित भएको छ । शक्ति राष्ट्र हुँदै विकसित अल्प विकसित र विकाश उन्मुख राष्ट्रहरुप्रति विभेद रहित हुँदै सिङ्गो मानव जाति एकातिर कोरोना भाईरस अर्को तर्फको महायुद्ध चलिरहेको छ । सुक्ष्म जिवाणुले विशाल राष्ट्र बम गोला वारुद, क्षेप्यास्त्र सबै शक्ति केन्द्रहरुको हुर्मत लिइरहेको छ । यसको नियन्त्रणको लागि मेडिकल वैज्ञानिकहरु दिन रात खटिरहेका छन् । यद्यपि अझै उपलब्धि हासिल भएको अबस्था छैन । हामीलाई पुर्ण विश्वास छ र सत्य पनि हो विज्ञान असफल हुने छैन । निश्चित रुपमा केहि क्षेती भित्रबाट नै विजय प्राप्त हुने छ ।

अर्को पक्ष पनि उत्तिकै सत्य हो की कोरोना भाईरस नियन्त्रण भए पनि विश्व शक्ति केन्द्रहरु पहिल्यैको अबस्थामा रहन सम्भव नहुन सक्दछ । उथलपुथलको प्रवल सम्भावना छ । यहिलेको खाडल पुर्न त्यो खाडल मुख्यतयाः आर्थिक मन्दी र अन्य पक्षहरु बर्षौं लाग्ने छ । कोरोना भाइरसको आतंक र संक्रमणले निश्चय पनि महाशक्ति साम्राज्यबादी राष्ट्रका शासकहरुका दम्भहरु निरुत्साहित गर्दै सिङ्गो मानव जातिलाई ठुलो शिक्षा छोडेर जाने छ ।

(लेखकः मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार