कोरोना संक्रमितको निःशुल्क उपचारको माग गर्दै २१ दलद्वारा प्रदर्शन

1543 जनाले पढ्नु भयो ।

काठमाडौँ । कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण तथा उपचारको माग राख्दै नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी) सहितका २१ दलले विरोध कार्यक्रम सम्पन्न गरेका छन् । २०७७ कार्तिक ६ गते राजधानीको माइतीघर मण्डलामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रारम्भमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार गर्नुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारको तत्कालै छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने, स्वास्थ्य क्षेत्रमा भएको लुट अन्त गर्नुपर्नेजस्ता विषयमा सहभागीले चर्को स्वरमा नाराबाजी गरेका थिए । त्यसैगरी कार्यक्रममा एमसिसीको खारेजी, सीमा अतिक्रमणको विरोधलगायतका विषयमा पनि नाराबाजी गरिएको थियो ।

नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले कार्यक्रमको सम्बन्धमा युगदर्शनलाई प्रतिक्रिया दिँदै सरकार स्वास्थ्यक्षेत्रमा जनताप्रतिको दायित्वबाट पन्छिन नमिल्ने बताउनुभयो भयो । देश कोरोना महामारीमा तड्पिरहेका बेला सरकारको यस्तो निर्णय अनुत्तरदायीपूर्ण भएको बताउनुभयो । उहाँले सरकारले तत्कालै यो निर्णय सच्याउनुपर्ने, अन्यथा त्यसको विरुद्धमा आन्दोलन अझै चर्काउने पनि बताउनुभयो ।

कार्यक्रममा सहभागी राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपाने आजदेखि २१ राजनीतिक दल तथा सङ्घसंस्थामा अर्को दल समाजवादी दल थपिएको जानकारी दिनुभयो । ‘आजदेखि हामी २२ दल भएका छौँ’ उहाँले अगाडि भन्नुभयो– ‘अब समाजवादी दल आन्दोलनमा थपिएको छ ।’

कार्यक्रममा नेकपा (क्रान्तिकारी–माओवादी) का पिबिएम दिनेश शर्मा, देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापा, नेकपा (माले) का पिबिएम डम्बर श्रेष्ठ, जनसमाजवादी पार्टीका डम्मर कार्कीलगायत २१ दलका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

विरोध प्रदर्शनको आयोजना नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्सेभिक), राष्ट्रवादी केन्द्र, एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल), नेकपा (माओवादी) ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *