क्यान्सर विजेता बिनु केसीको अनुभूति (फिचर) फोटो र भिडियोसहित

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा 

क्यान्सरको उपचार
सायद २०६३ सालतिर होला, बिनु केसीलाई अत्यधिक रिँगटा लाग्ने, थकाइ महसुस हुने, राती निदाएको बेला केही गहु्रङ्गो वस्तुले छातीमा थिचेजस्तो हुने तथा सास फेर्न गाह्रो भएर ब्युँझदा शरीर पूरै पसिनाले निथ्रुक्क हुनेजस्ता समस्या देखा परे । त्यतिखेर बिनु–समीरका छोरा अविदर्शन मात्र २८ महिनाका थिए । त्यति बेला उनीहरू ठमेलमा साइबर पसल चलाउँथे ।

समस्या नियन्त्रणमा नआएपछि बिनु अस्पतालको स्त्रीरोग विभाग पुगिन् । महिला डक्टरले भनिन्– ‘कामको धपेडीले हो, चिन्ता गर्नुपर्दैन ।’ डाक्टरले औषधि लेखिन्, तर औषधिले बिसको उन्निस भएन ।

त्यसैगरी छ/सात महिना अरू बिते । यसमाझ शरीरभरि एलर्जी आयो । उनको दाहिने स्तनबाट लगातार दुध बग्न थालिरहेको थियो । ती डक्टरले ठट्टा गर्दै भनिन्– ‘महिला भनेको गाईभैँसीजस्तै हो, तपाईंले अलि बढी दुध दिन थाल्नुभयो ।’ तर समस्या त्यति हलुको थिएन ।

हरेक दिनजस्तै उनी आफ्नै काममा जानुपर्ने थियो । बिनु नुहाउन बाथरुम पसिन् । भित्री वस्त्र खोल्ना स्तननेर चार वटा रगतका छिटा देखियो र स्वयम्ले निचोरी हेर्दा पनि रगत नै आयो । उनी आत्तिँदै सँगै भएकी दिदीलाई देखाइन्; समीरलाई फोन गरिन् र परिवारका अन्य सदस्यलाई लिएर ह्याम्स अस्पताल पुगिन् । त्यहाँ डा. प्रकाश सायमीलाई देखाइयो ।

अस्पतालमा आवश्यक परीक्षण भयो । बिनु आफैले ‘मलाई क्यान्सर भएको हो र ?’ भनी सोध्दा डाक्टरले ‘रिपोर्ट नआउँदै भन्न नसकिने’ भने । तर पनि आफूलाई गम्भीर रोग शङ्का लागेर त्यहीँ भक्कानो परी रोइन् उनी । बाहिर आएर ‘मलाई केही हुँदैन, साथ देऊ’ भन्दै समीरलाई अँगालोमा हालिन् । उनले डाक्टरलाई भनिन्– ‘छोरा पाँच वर्षको हुँदासम्म मलाई बचाइदिनुस्, छोराको लागि !’ त्यो २०६४ माघ १० गतेको घटना थियो । अर्को दिन नै बायोप्सीपछि बिनुलाई क्यान्सर भएको पुष्टि भयो ।

पति समीर, दिदी निरू, छोरा अविदर्शन, भिनाजु रामनाथ ढकाल साथमै थिए । सासूआमा शान्तासिंह अझै कैलालीमा थिइन् । बिनुको माइती पनि सँगै थियो । परिवारका अन्य सदस्य बिनुका साथमा थिए । परिवारको उत्प्रेरणा, आत्मविश्वास र सहयोगमाझ उनको उपचार सुरु भयो ।

परिवारको अनुरोधमा डाक्टरले उपचारका लागि दिल्लीको राजीव गान्धी क्यान्सर अस्पताल रेफर गरेका थिए । दिल्लीमै रहेकी नन्द पूर्वासिंहसहित बिनु र समीर त्यहाँ पुगे । तर त्यो अस्पतालमा बिरामीको अव्यवस्थित अवस्था देखेर उनीहरू दिल्लीकै अर्को अस्पताल मूलचन्द पुगे । त्यहाँ २०६४ सालमा नै उनको दाहिने स्तनको पहिलो अप्रेसन भयो ।

फेरि त्यही स्तनमा समस्या देखिएपछि गुडगावको मेदान्त अस्पतालमा २०६८ सालमा दोस्रो अप्रेसन गरियो । उपचार त्यहीँ रोकिएन । २०७२ सालमा फेरि देब्रे स्तनमा समस्या देखियो । मेदान्त अस्पतालमा नै उहाँको तेस्रो अप्रेसन भयो । अब उनको दुवै स्तन रहेन ।

क्यान्सर उपचारको क्रममा बिनुले दुई चरणमा १२ पटक किमो चढाइन् । ४२ वटा रेडियोथेरापी उपचार गरियो ।

२०७६ सालमा फोक्सोमा समस्या देखिएपछि बायोप्सी टेस्ट गरिएको थियो । त्योसम्बन्धी अहिले नियमित औषधि लिइरहेकी छिन् उनी, जसले गर्दा उनी क्यान्सर रोगबाट मुक्त छिन् ।

अहिलेसम्म १३ पटक अप्रेसन
बिनुको सानै उमेरदेखि आत्मबल दह्रो थियो । सबैसित घुलमिल हुने गर्थिन् । उनी समाजसेवामा सानैदेखि रुचि राख्थिन् । बेसहारा बच्चा र वृद्धका लागि केही गर्ने उनको सानैदेखिको सपना थियो ।

किशोर उमेरमा पुग्दासम्म उनी सबैसित खेल्थिन्, केटा र केटीमा फरक नगरेर । एक पटक साथीहरूसित खेल्ने क्रममा फुटबल लागेर उनी ढलिन् । उपचारको क्रममा उनको कम्मरनेर समस्या देखियो । त्यतिखेर उनको उमेर १६ वर्ष थियो । उनलाई ‘ह्यमनजुमा’ नाम गरेको स्वास्थ्य समस्या सानैदेखि नै थियो; र, त्यसको दुई पटक अप्रेसन गरियो : पहिलो पटक माइनर र अर्को पटक मेजर ।

त्यसपछि उनले डिप्लोमा पढ्दै गर्दा एपेन्डिक्सको पनि अप्रेसन भयो । क्यान्सरको उपचार चलिरहेका बेला पाठेघरसहितका छ वटा अरू अप्रेसन भए । अब पाठेघर पनि फालियो । यसरी बिनुको विवाहभन्दा पहिला तीन पटक र विवाहपछि क्यान्सरबाहेकका छ वटा गरी अतिरिक्त नौ वटा अप्रेसन भएका थिए । जन्मिएदेखि उनको शरीरमा अहिलेसम्म १३ पटक अप्रेसन भइसकेको छ ।

पीडा लुकाउँदै खुसी हुने स्वभाव
बिनुले आफ्ना समस्या सकेसम्म लुकाउने प्रयास गर्छिन् । उनको मनोविज्ञान यस्तो छ, मेरा कारण अरूलाई कहिल्यै दुःख नहोस् । ७२ वर्षकी सासूआमा, पति समीर र छोरा अविदर्शनसामु उनले दुःखपीडाको कुरा कहिल्यै गरिनन् । उनी चाहन्छिन्, दुःखपीडा सहेरै भए पनि आफूलाई स्वाभाविक देखाउन सकियोस् । उनका लागि उनको परिवार नै सबैथोक हो ।

बिनुले प्रायःजसो डाक्टरसित आफै काउन्सिलिङ गर्छिन् । त्यसका पछाडि उनको मनसाय हुन्थ्यो, आफ्नो दुःखपीडाको कुरा आफूबाहेक अरूले सुन्नु नपरोस् । यही कारण हो– आफ्नो स्वास्थ्यको बारेमा उनीसित धेरै सूचना छन् । यता, परिवारले औषधिलगायतका अन्य व्यवस्थापन गर्छ, तर रोगबारेमा उनले डाक्टरसँग आफै कुरा गर्छिन् ।

परिवारलाई क्यान्सर भएको त थाह छ, तर बिनुले परिवारका सदस्यलाई आफूलाई लागेको क्यान्सरको यथार्थ के हो भन्ने कुरा गत एघार वर्षसम्म लुकाएर राखिन् । यहाँसम्म कि यो कुरा उनले पति समीरलाई समेत भनिनन् ।

परिवारमा बिरामीमैत्री वातावरण
बिनुलाई आफ्नो परिवारप्रति धेरै नै गर्व छ । उनी भन्छिन्– ‘सासूआमा, छोरा, ससुरालगायतको व्यवहार हेर्दा समीरजीसित विवाह गरेर एकदम ठिक गरेँ भन्ने लाग्छ ।’ तर बिनुको परिवार यत्ति मात्र होइन । दिदी निरू, भिनाजु रामनाथ ढकाल (उहाँको निधन भइसकेको छ), अर्की दिदी अनीता, माइतका बाबुआमा, दाइ, नन्द पूर्वासिंह तथा अन्य साथीहरू सबै उनको प्रेरणाको श्रोत हुन् ।

उनका अनुसार पति समीर असाध्यै सभ्य, सौम्य र अनुशासित छन् । धेरै नबोल्ने, तर आफ्नो समर्पित व्यवहारद्वारा बिनुप्रतिको प्रेम अभिव्यक्त गरिरहेका छन् समीरले । समीरले बिनुमा आत्मविश्वास, आत्मनिर्भरता र आत्मबल बढाउन आफ्नोतर्फबाट सबै प्रकारका सहयोग गरेका छन् । जब अस्पतालमा स्तन र पाठेघर फाल्दा पतिको रूपमा उनलाई सोधियो, समीरले भनेका थिए– ‘मलाई बिनु चाहिन्छ, उसको शरीरका अङ्ग नभएर केही हुन्न ।’

७२ वर्षे सासूआमा शान्तासिंह वास्तवमै शान्त छिन् । बिनु भन्छिन्– ‘आमाले एउटा मात्र छोराकी बुहारी यस्तो रोगले थलिँदा हाम्रो परिवारमाथि बिपत्ति आइलाग्यो, छोरा र नातिको भविष्य बर्बाद भयो भन्ने सोचिदिएको भए के हुन्थ्यो ? तर त्यस्तो कहिल्यै भएन । सासूआमाको सौम्य र संयम व्यवहारले मलाई उर्जा दिइरहन्छ ।’ यद्यपि आफ्नै नजिकका नातेदारबाट ‘बिनुका कारण समीर घर न घाटको भएको’ समेत आरोप लगाउने गरिन्छ । त्यसले गर्दा पनि उनी डिप्रेसनमा जाने गर्छिन् ।

एक मात्र छोरा अविदर्शनको किसोरमन पूरै आमाको सेवामा हाजिर छ । यद्यपि बिनुले छोरालाई मानसिक रूपमा चिन्ता नपरोस् भन्ने चाहन्थिन् । तर छोरा स्वयम्लाई १६ वर्षको उमेरमा पुग्दासम्म धेरै कुरा थाह भइसकेको रहेछ । एक महिनापहिले मात्र उनले आफ्नोबारेमा सबै कुरा भन्दा निकै भक्कानो छोडेर रोएका थिए, अविदर्शन । पछि सम्हालिएर ‘म हजुरलाई केही हुन दिँदैन, म छु’ भने । अहिले पनि उनी आमासित सुत्छन्; र, एक छिन पनि टाढा हुन सक्दैनन् ।

बिनु किमो चढाउँदाको समय सम्झन्छिन् । पहिलो किमो चढाएर नेपाल आउँदा छोरा अविदर्शन तीन वर्षका थिए । बिनुले काखमा बस्न बोलाउँदा बाबुले भने– ‘तिमीलाई दुःख हुन्छ मामू ।’ त्यसपछि छोरा विस्तारै आमाछेउ आए; अप्रेसन गरिएको स्तन हेरे; चुम्बन गरे; र, भने– ‘चिन्ता नगर्नुस् मामू, म छु ।’ उनले बिनुको टाउकोबाट कृत्रिम कपाल पनि फालिदिए । छोराले दिएको हिम्मतपछि बिनु मुडुलो कपाल लिएर नै समाजमा हिड्न थालिन् ।

ससुरा मोहनविक्रम सिंह बिनुका लागि उच्च प्रेरणाका श्रोत हुन् । भूमिगत भए पनि बिनुको मोहनविक्रम सिंहसित बारम्बार भेटघाट भइरहन्छ । बिनु भन्छिन्– ‘ससुराबुबासित पाँच मिनटसम्म भेटघाट भएँ भने मलाई पाँच महिनासम्म उर्जा प्राप्त भइरहन्छ । त्यो भेटले औषधिको काम गरिरहन्छ ।’

बिनु भन्छिन्– ससुराबुबा भूमिगत, तर मलाई आश्चर्य लाग्छ, मेरो जति बेला पनि अप्रेसन भयो, उहाँ मलाई भेट्न अस्पताल पुग्नुहुन्थ्यो । उहाँले मलाई बुहारीको रूपमा होइन, छोरीको रूपमा हेर्नुहन्छ ।

त्यति मात्र होइन, बिनु र मोहनविक्रममाझ भेट हुँदा ससुराबुहारीजस्तो होइन, बाबुछोरीको जस्तो गरी कुराकानी हुन्छ । बिनु भन्छिन्– ‘जब हामी सामाजिक सञ्जालमार्फत पारिवारिक ग्रुपमा बस्छौँ, मेरो र ससुराबुबामाझ धेरै लामा कुराकानी हुन्छन् ।’

‘दिदी निरू त भइहालिन्, उनको के कुरा गर्नु ? भिनाजु रामनाथ ढकाल त्यस्तै । माइतका आमाबुबा, दाजु, काकाका छोरी (बहिनीहरू), उनको हिम्मत र साहसका श्रोत हुन्’ बिनु भन्छिन्– ‘अर्कीे सासू दुर्गा पौडेलको पनि मप्रति धेरै नै सद्भाव छ । हामीमाझ घनिष्ट सम्बन्ध छ ।’

क्यान्सरजस्तो रोगको बिरामीका लागि परिवारको सहयोग धेरै महत्त्वपूर्ण रहने बिनुको निस्कर्ष छ । उनका अनुसार अस्पतालमा अप्रेसन गर्दा खासै पीडा हुँदैन । त्यसपछि खानुपर्ने औषधिको असर परिवारको व्यवहारसित जोडिन्छ । परिवारको सहयोग भएन भने औषधिले काम गर्दैन । बिनु आफूलाई धेरै नै कृतज्ञ ठान्छिन्, यस्तो परिवार पाएकोमा ।

डिप्रेसन र आत्महत्याको प्रयास
क्यान्सर उपचारको क्रममा बिनु पटक–पटक डिप्रेसनमा गएकी छिन्, यतिसम्म कि एक पटक त आत्महत्याको प्रयाससमेत गरेकी थिइन् । त्यसका पछाडिको कारण दुःखपीडा आफैमा लुकाउने प्रवृत्ति, पारिवारिक समस्या र किमो तथा औषधि रहेको उनको बुझाइ छ ।

आफ्नो कारण परिवारलाई पीडा नहोस् भनेर सोचिरहँदा उनी डिप्रेसनमा जान्थिन् । त्यस क्रममा एक पटक उनले आत्महत्या गर्न खोजेकी थिइन् । राती सबै सुतिरहेका बेला उनी आत्महत्या गर्न घरको छतमा पुगिन् । त्यति नै बेला उनलाई कता कता छोराले बोलाएजस्तो लाग्यो । उनी तल झर्दा श्रीमान र छोरा मस्त निद्रामा थिए । उनी रुन थालिन् । अनि, परिवारका सबै जागे । बिनुले यथार्थ कुरा कसैलाई बताइनन् र अहिलेसम्म पनि बताएकी छैनन् । त्यस घटनापछि सबैले उनलाई सम्झाए, ढाडस दिए ।

त्यतिबेला उनी डिप्रेसनको औषधि खाने गर्थिन् । त्यो घटनापछि उनले औषधि खान छोडिन्; र, आफ्नो जीवनलाई नयाँ प्रकारले जिउने तथा परिवारसँग रमाउने अठोट गरिन् । परिवारसित पनि डिप्रेसनबाट निस्कन सहयोग गर्न अनुरोध गरिन् ।

अर्को पटक छोराको कारणले डिप्रेसनमा गइन् उनी । त्यतिखेर छोरा अविदर्शनलाई भारतद्वारा सञ्चालित केन्द्रीय विद्यालय (लाजिम्पाट) मा कक्षा १ मा भर्ना गरियो । त्यहाँ नेपाली विद्यार्थीसित गरिने असमान व्यवहार एकातिर थियो, अर्कोतिर, छोराले हिन्दी भाषा बहिष्कार नै गर्न थाल्यो । त्यसपछि छोराको मनोचिकित्सा उपचार गर्ने ठेगान भयो । मनोचिकित्सकले छोरालाई ‘डिस्लेसिया’ नामक रोग लागेको, त्यसले गर्दा १२ वर्षको उमेरसम्म पुग्दा बिरामीको स्मरणशक्ति ९० प्रतिशत गुम्ने बताइयो । विषयको गम्भीरतामाथि ध्यान दिँदै छोरालाई चिकित्सककहाँ भर्ना गरियो ।

उपचाररत रहेकै बेला छोराले आफूलाई अरू विद्यार्थीभन्दा अलग किन राखेको भन्ने प्रश्न उठाएपछि बिनुले चिकित्सकलाई सोधिन्– वास्तवमा छोरालाई के भएको हो ? शिक्षकले आफ्नो नाम गोप्य राख्ने सर्तमा बच्चालाई केही पनि नभएको, अरूलाई जस्तै सामान्य रूपमा स्कुलमा भर्ना गर्न सकिने बताए । अहिले अविदर्शन सामान्य विद्यार्थीजस्तै अध्ययनमा व्यस्त छन् र काष्ठमण्डप विद्यालयमा कक्षा १० मा अध्ययन गरिरहेका छन् ।

त्यस्तै, किमोको पीडा र औषधिको असर तथा व्ययभारले गर्दा पनि उनी डिप्रेसनमा गइन् । यद्यपि परिवारले उनका सामु आर्थिक समस्या राख्दैनन् । तर पनि क्यान्सरको महङ्गो औषधि तथा सुगरलगायतको नियमित अस्पतालमा फलोअप गर्दा आर्थिक व्ययभारले गाह्रो भएको पीडा पोख्छिन्, बिनु । यी विभिन्न कारणले डिप्रेसनलगायतको अवस्था सिर्जना भए पनि परिवारको सहयोगमा अब उनले डिप्रेसनको औषधि पूरै त्यागेकी छिन् ।

बिनुको अनुभव छ, डाक्टर भगवान होइनन् । त्यसैले एउटै डाक्टरलाई सुरुमै भर पर्नुको सट्टा सम्बन्धित विभिन्न डाक्टरसँग सरसल्लाह गरेर मात्र डाक्टर छान्नुपर्दछ; र, त्यसमाथि भर गर्नुपर्दछ । उपचार सकिए पनि नियमित फलोअपमा जान बिर्सिनु हुँदैन ।

क्यान्सरको नेपालमै सफल उपचार
बिनुको अनुभवमा १०–१२ वर्षपहिले नेपालमा क्यान्सरको उपचार त्यति राम्रो थिएन । त्यही भएर उनी उपचारका लागि भारत पुगेकी थिइन । उनले दोस्रो अप्रेसन मेदान्त अस्पतालमा गर्दा भने त्यहाँका डाक्टरले भने– ‘नेपालमै क्यान्सरको राम्रो उपचार छ । यहाँ किन आउनुहुन्छ ?’ त्यसपछि उनले अहिले ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा कार्यरत डा. सुदीप श्रेष्ठलाई देखाउने गरेकी छिन् । डा. सुदीप श्रेष्ठलाई मेदान्तका डाक्टरहरूले नै ‘उत्कृष्ट डाक्टर’ भनेका थिए । सुरुको अवस्थादेखि नै उनी भारतलगायत नेपालमा डा. सुदीपसँग नियमित रूपमा फलोअपमा जाने गर्छिन् ।

उनी डाक्टरसित कुराकानीको आधारमा निस्कर्ष सुनाउँछिन्– क्यान्सरको उपचार संसारभरि एउटै प्रकारले हुन्छ, खालि अस्पतालको गुणस्तरको मात्र फरक हो । नेपालमा पनि अरू देशमा जस्तै राम्रा डाक्टर छन् । विदेशमा गएर दुःख पाउनुभन्दा आफ्नै परिवारसित बसेर नेपालमा उपचार गर्नु नै उत्तम तरिका भएको उनको अनुभव तथा सुझाव छ ।

नेपालमा डाक्टरसित उपचारमा सहजता हुने बिनुको अनुभव छ । उनी भन्छिन्– ‘नेपालका डाक्टरसित जति कुराकानी हुन्छ, त्यसको दुई प्रतिशत पनि कुराकानी विदेशका डाक्टरसित हुन सक्दैन ।’ उनको बुझाइ छ, जब दुई प्रतिशत पनि डाक्टरसित कुराकानी गर्न पाइन्न भने आफ्नो सही कसरी भइरहेको छ भन्ने कसरी जान्नु ?

नेपाल क्यान्सर सर्भाइबर सोसाइटी (निकास)
नेपालमा उनको उपचार सुरु भएपछि पहिले ओम अस्पतालमा सेवा दिइरहेका डा. सुदीपसँग छलफल गर्ने मौका मिल्यो । रोग क्रमशः निको हुँदै जान थालेपछि बिनुले तिनै डा. सुदीपसँग सामाजिक सेवा गर्ने मनसाय व्यक्त गरिन् । डा. सुदीपले क्यान्सर जितेर यसै क्षेत्रमा क्रियाशील प्रमिता खनाल र सिद्धि चन्दसित भेट गर्न सुझाव दिए (अहिले सिद्धि चन्द नेपाल क्यान्सर सर्भाइबर्स सोसाइटी–निकासको संस्थापकसमेत छिन्) । त्यसपछि प्रमिता खनालकै घरमा बसेर क्यान्सरपीडितको पक्षमा काम गर्ने योजना बन्यो । त्यस क्रममा महिनौँसम्म छलफल चलाएर कल्याणी ब्रेस्ट क्यान्सर क्लिनिकमा मनोपरामर्शको काम गर्दै नेपाल क्यान्सर सभाइबर्स सोसाइटी (निकास) को स्थापना भयो ।

निकास, क्यान्सर विजेताहरूको संस्था भएको दाबी गर्छिन् बिनु । यस संस्थाले क्यान्सरपीडितसित भेटेरै आवश्यक सरसल्लाह दिने, बिरामी र बिरामीको परिवारको मनोबल बढाउने, रकम सङ्कलन गरेर विपन्नवर्गका पीडितलाई सहयोग गर्ने गरेको उनी बताउँछिन् । अहिले प्रमिता खनाल अध्यक्ष तथा बिनु यस संस्थाको कोषाध्यक्षको जिम्मेवारीमा छिन् । अहिले कोरोना सङ्क्रमणका बेला फोनबाट तथा वेबिनारबाट विभिन्न डक्टरलाई समेत सहभागी गराई अन्तरक्रिया तथा सल्लाह–सुझाव दिने गरेको छ, संस्थाले । त्यसका साथै स्कुल, क्याम्पससम्म पुगेर सचेतना फैलाउने तथा विभिन्न क्याम्प चलाउने काम पनि चलिरहेको छ । विभिन्न डक्टरलाई सँगै राखेर आफ्नो स्तन आफै जाच्ने तरिका, खानपिनको तरिका, पाठेघरको मुखको जाँच गर्नेलगायतको कार्य गर्दछ, यो संस्थाले । यदि कुनैप्रति शङ्का लागेमा अस्पलातसम्म लगी आवश्यक उपचारका लागि सहजीकरणसमेत गरिन्छ ।

थुप्रै क्यान्सरपीडितको परिवार बिरामीमैत्री नभएको बिनुको अनुभव छ । पीडित परिवारलाई सहयोग गर्ने क्रममा रकमको दुरूपयोग हुने गरेको पनि उनले भेट्याएकी छिन् । सर्भाइबर्स सोसाइटीले पहिला नगद सहयोग गर्दथ्यो । पछि दुरूपयोगको सम्भावना देखिएपछि सम्बन्धित पीडितको नागरिकता, फोटाजस्ता प्रमाण सङ्कलन गरेर औषधि र स्वास्थ्य सामग्रीको बिल भुक्तानी गर्ने गरेको छ । एउटा क्यान्सरपीडितको परिवारलाई सहयोग गर्न जाँदा त्यही परिवारमा लागूऔषध प्रयोगकर्ता भेटिएपछि संस्थाले यस्तो तरिका अपनाएको उनको दावी छ ।

क्यान्सरप्रति मानिसको नकारात्मक धारणा
क्यान्सरको बारेमा नेपाली समाजमा प्रशस्त भ्रम रहेको बिनुको बुझाइ छ । ‘क्यान्सरका बिरामीलाई भेट्नासाथ “बिचरा” शब्द निकाल्छन् मानिसहरू । उनी भन्छिन्– ‘यस्तो शब्द प्रयोग नगर्नुहोला । यसबाट बिरामीको हौसला झनै कमजोर बन्छ ।’

क्यान्सर रोग लाग्दासाथ मानिसहरूको प्रतिक्रिया हुन्छ– ‘क्यान्सरले रोगीलाई त सिध्याउँछ नै, परिवारलाई पनि सडकमा ल्याउँछ ।’ बिनुको यसप्रति असहमति छ । उनको बुझाइमा समयमै रोग पत्ता लागेर उपचार गर्ने हो भने क्यान्सर त्यति भयावह रोग होइन, तर मानिसहरूले अनावश्यक रूपमा भयावह बनाइदिएका छन् । क्यान्सरप्रति यथार्थ र सकारात्मक सोचाइ हुनुपर्ने उनको धारणा छ । साथै परिवारको साथ र सहयोले नै अरू रोगजस्तै यो रोगको पीडित पनि सामान्य जीवनमा आउन सक्ने उनको ठम्याइ छ ।

‘मैले क्यान्सरका तीन वटासहित १३ वटा अप्रेसन गराउनुपर्यो’ बिनु भन्छिन्– ‘यो मेरो शरीरको विशिष्टता हो, सबैको शरीर एकैनासको हुँदैन ।’

योग, ध्यान र शारीरिक श्रमको ठुलो भूमिका
योग र ध्यानको महत्त्वपूर्ण भूमिका क्यान्सरको उपचारमा भएको उनको ठम्याइ छ । मनमा कुरा खेलाउने वा गुम्साएर राख्नुभन्दा ओशो ध्यानकेन्द्रमा जस्तै मनको भडास आवाजमार्फत पोख्ने तरिका उचित लागेको छ उनलाई । उपचारकै क्रममा ओशो ध्यानकेन्द्र, विपश्यना केन्द्रमा गएर मनपरि हाँसेकी, रोएकी, नाँचेकी छन् उनी । यसो गर्दा मन हलुङ्गो भएको पाएकी छिन् उनले ।

त्यति मात्रै होइन, उनी शारीरिक श्रममा पनि त्यत्तिकै व्यस्त हुन्छिन् । आफूले लगाउने कपडा आफै सिलाउँछिन उनी । उनले अहिले आफू बसिरहेको नारायणस्थानस्थित दिदीको घरको छतमा दिदीसितै मिलेर प्रशस्त रूपमा कौशीखेती गरेकी छिन् । त्यहाँ धेरै प्रकारका तरकारी, फलफूल, औषधिजन्य बोटविरुवा लगाइएको छ ।

जीवनका धोको
विवाह भएपछि बिनु सासूआमाले अध्यापन गरिरहेको कैलालीको टिकापुरमा चार वर्ष बसिन् । तर त्यहाँको बसाइँबाट उनी सन्तुष्ट हुन सकिनन् । उनको धोको थियो– पति समीरलाई पिएचडी गराउने । अन्ततः त्यही धोको पूरा गर्ने अठोटका साथ उनको परिवार काठमाडौँ आयो । त्यस क्रममा बिनुले सासूआमा शान्तासिंहलाई भनेकी थिइन्– ‘मैले पेसा–व्यवसाय गरेरै भए पनि समीरजीलाई पिएचडी गराउने छु ।’ उनको यो धोको अझै पूरा भएको छैन, साथै त्यो धोको पूरा गर्न समीरलाई घच्घच्याउन पनि छोडेकी छैनन् ।

उनलाई छोरी असाध्यै मन पर्ने । उनको इच्छा थियो, सकेसम्म उनको सन्तान छोरी नै जन्मियोस् । त्यसो त छोरा अविदर्शनले उनको छोरीप्रतिको तृष्णा धेरै हदसम्म पूरा गरिदिएका छन् । फेरि पनि एउटी छोरी हुर्काउने उनको इच्छा बाँकी नै छ । उनले त्यो इच्छा परिवारलाई बताएकी छिन् । पति समीर र छोरा अविदर्शनले आश्वासन पनि दिएका छन्, स्वास्थ्य अवस्था ठिक भएपछि बिनुका लागि अनाथालयबाट भए पनि छोरी काख ल्याउने व्यवस्था गरिने छ । डाक्टर र परिवारको सल्लाहअनुसार आगामी दिनमा कुनै अप्ठ्यारो नआओस् भनी पाठेघर फालेका कारण बिनु आफैले बच्चा जन्माउनु सम्भव छैन । त्यसैले छोरीका लागि अनाथालय एउटा विकल्प बनेको छ, यो परिवारका लागि ।

त्यसो त क्यान्सरको अप्रेसन भइसकेर पाठेघर नफाल्दै (डाक्टरका अनसार उनी त्यतिखेर बच्चा जन्माउन सक्षम थिइन्) बिनुले सन्तानोत्पतिको विकल्प पति समीरसामु राखेकी थिइन् । तर समीरले स्वास्थ्यमा अप्ठ्यारो अवस्था आउन सक्ने भन्दै बिनुको त्यो प्रस्तावलाई अस्वीकार गरेका थिए ।

बिनुको जीवनदृष्टि
सायद दार्शनिक परिवारसित सम्बन्धको संयोगसमेतले हो कि, बिनुको आफ्नै जीवनदृष्टि छ । यद्यपि उनी आफै राजनैतिक कार्यकर्ता भने होइनन्, बरु सामाजिक कार्यकर्ता हुन् ।

उनी जीवनमा कुनै काम बाँकी राख्न नहुने बताउँछिन् । ‘जो भोलिका लागि पर्खिन्छ, त्यो भोलि कहिल्यै आउँदैन, आज नै सबै काम पूरा गर्नुपर्छ’ उनको यो जीवनदृष्टिले नै उनलाई दरिलो आत्मबल दिएको छ; सक्रिय जीवनशैली दिएको छ । यही आत्मबलकै कारण उनले १३ वटा अप्रेसन र १२ वटा किमो झेलेकी छिन् । दुवै हातबाट रगत निकाल्न नमिल्ने हुदा खुट्टाबाट रगत निकाल्दा उनलाई निकै पीडा हुने गर्दछ । रगत निकाल्दा उनी निकै चिच्याउने गर्छिन् । त्यो पीडालाई उनी सहज रूपमा लिन थालिसकेकी छिन् । शरीर नदुख्ने, विभिन्न शारीरिक पीडा नहुने दिन त कमै हुन्छ उनको । तर पनि ती विभिन्न पीडालाई नियमित दिनचर्याको रूपमा लिने उनको स्वभाव नै भइसकेको छ । किमोको क्रममा दैनिकजसो ३०–३५ पटक पखाला, बान्ता, १०३ डिग्री फरेनहाइट ज्वरो उनले पचाएकी छिन् । त्यस क्रममा शरीरभरि आगाको भुङ्ग्रो खन्याइएजस्तै महसुस भए पनि त्यसको उनले पर्वाह गरेकी छैनन् ।

हामीसित कुराकानीको बिट मार्दै बिनु भन्छिन्– ‘आज’ मा रमाउने, ‘भोलि’ का लागि खुसी हुने—यही त हो जीवन !’ यस्तै देखिन्छ क्यान्सर विजेता बिनु केसीको जीवन ।

बिनु सहित्यमा पनि रुचि राख्छिन् । अन्तमा, बिनु केसी ‘खुसी’ को एउटा कविता;

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार