क्वारेन्टिनबाट निकालिएको विरोधमा स्थानीय नेता धर्नामा

महेन्द्रनगर । भारतका विभिन्न स्थानमा नेपालीहरुलाई क्वारेन्टिनबाट निकालिएको भन्दै भारतीय कांग्रेस नेता कञ्चनपुरसँग सीमा जोडिएको खटिमामा धर्ना बसेका छन् ।

भारतीय कांग्रेस पार्टीका उत्तराखण्ड प्रदेश माहासचिव भुवन कापडी नेपालीहरुलाई खानपिनको व्यवस्थापन गर्न माग गर्दै धर्नामा बसेका हुन् । उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेन्टिनबाट डेढ सय बढी नेपालीहरु निकालिएपछि उनीहरुको विचल्ली भएको छ ।

रुद्रपुर र काशीपुरमा १४ दिन क्वारेनिन्टनमा बसेपछि निकालिएका नेपालीहरु झण्डै सय किमी पैदल हिँडेर नेपालको सीमाना कञ्चनपुरको महाकाली नगरपालिका –७ बाबाथान पुगेपनि त्यहाँबाट प्रवेश नपाएपछि फेरि हिँडेर १५ किलोमिटर परको खटिमा पुगेका छन् ।

हिँड्दाहिँड्दै थाकेर लखतरान परेका नेपालीहरु कैयौं दिनदेखि खान नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले आउन नदिने र भारत सरकारले बस्न नदिने दोसाँधमा नेपालीहरु मर्नु न बाँच्नुको अवस्थामा पुगेको पीडितहरुले बताएका छन् ।

खटिमा पुगेका झन्डै डेढ सय नेपालीहरुलाई हाल कापडीले नै खानपिनको ब्यवस्था मिलाएका छ्न् । भारतका विभिन्न स्थानमा रहेका क्वारेन्टिनबाट नेपालीलाई निकालिएको र खानपिन बन्द गरिएको समाचार आइरहेका छन् । हालै उत्तराखण्डस्थित हलद्वानीको क्वारेन्टिनबाट १७ जना नेपालीलाई निकालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

यस्तै, उत्तरप्रदेशस्थित पलियामा रहेको क्वारेन्टिनमा पनि नेपालीलाई एक छाक मात्रै खान दिने गरिएको समाचार छ । भारतमा समस्यामा परेका नेपालीहरु घर आउन अनुनय विनय गरिरहँदासमेत सरकारले वास्ता गरेको छैन ।

यसैबीच, भारतमा खाना नपाएर धनगढीका एक युवकको मृत्यु भएको छ । दिल्ली आजादपुरमा रहेको ट्रान्सपोर्ट सेन्टरमा सवारी चालकको काम गर्दै आएका धनगढीका युवकको मृत्यु भएको हो । दिल्लीमा रहेका नेपालीहरुका अनुसार उनको नाम रवि हो । थर भने खुलेको छैन ।

तस्बिर : लक्ष्मण तिवारीकाे फेसबुकबाट ।

सुदूरपश्चिम समाज भारतका पदाधिकारीहरुले पनि सामाजिक सञ्चाल मार्फत खाना नपाएर उनको मृत्यु भएको जानकारी दिएका छन् । दिल्लीस्थित नेपाली दूतावासले पनि एक नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । तर मृत्युको कारण भने खुल्न नसकेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार