खोलामा राहत बगाउने तीनजना राजमोबाट निष्काशित

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रवासी नेपालीले विपन्न वर्गका लागि विदेशबाट पठाएको राहत खोलामा बगाउने निर्वाचित वडाअध्यक्षसहित तीन जनालाई पार्टीबाट निष्काशन गरेको छ ।

बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ४ का वडअध्यक्ष तिलक पुन र सदस्य तिलबहादुर फगामी र पार्टी सदस्य गनबहादुर फगामीलाई राजमोले कारबाही गरेको हो ।

घटनामा संलग्न देखिएकोले उनीहरु तीनै जनालाई राष्ट्रिय जनमोर्चाको सदस्यताबाट समेत निष्काशन गरिएको अध्यक्ष चित्रबहादुर केसीले बताउनु भएको छ ।

राजमोका अनुसार उनीहरु गत कात्तिकमा भएको कुटपीटको घटनामा पनि संलग्न भएकाले अनुशासनको कारवाहीमा थिए ।

यस्तो छ वक्तव्यः

‘बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. ४ खुँगामा कोरना भाइरसको कारण समस्यामा परेका सर्वसाधारण जनतालाई राहत दिन विदेशमा रहेका प्रवासी, प्रवासी युवा संघ दूरलेकले पठाएको सहयोग रकमबाट खाद्यन्न खरिद गरी असार १३ गते ट्रयाक्टरबाट लैजाँदै गर्दा केही व्यक्तिहरुले बिच बाटोमा आक्रमण गरी उक्त सबै खाद्यन्न खोलामा फ्याकिदिएको र विरामीलाई उपचार गर्न पठाएको नगद समेत खोसेर लगेका थिए ।

उक्त आक्रमणमा परी सोही ट्रयाक्टरमा राहत वितरण गर्न गएका डिलबहादुर सेरबुजा र ट्रयाक्टर ड्राइभर घाइते समेत भएका छन् । उक्त घटना अपराधपूर्ण र निन्दनीय घटना हो । त्यो घटनाको राष्ट्रिय जनमोर्चा बाग्लुङले छानवीन गरी रिपोर्ट पठाएको छ ।

उक्त रिपोर्ट अनुसार राष्ट्रिय जनमोर्चाको तर्फबाट बडा नं. ४ का अध्यक्ष तिलक पुनको निर्देशन र निर्वाचित सदस्यहरु तिलबहादुर फगामी र गनबहादुर फगामी उक्त घटनामा संलग्न देखिएकोले उनीहरु तीनै जनालाई राष्ट्रिय जनमोर्चाको सदस्यताबाट समेत निष्काशन गरिएको छ । उनीहरु गत कात्तिकमा भएको कुटपीटको घटनामा पनि संलग्न भएकाले अनुशासनको कारवाहीमा थिए ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार