गजल

मुकुन्दराज रोका

अँध्यारोले पनि एक दिन उज्यालो बालेर आउँछ ।
कतैबाट अँध्यारो नछिर्ने गरी उसले टालेर आउँछ ।१।

अहो ! वर्गीय विसमताले कति जरो गाडेको रुख झै ।
जति गाडोस् के वर्गसंघर्षले सबै उखालेर आउँछ ।२।

आर्थिक क्रान्तियुगमा कसरी छौं भन्छौ हेर यहाँ ।
मान्छेले एक बोतल रक्सीमा भोट हालेर आउँछ ।३।

सुन र पितलका मात्रै किन चर्चा गरेका छौं तिमी ?
यहाँ माक्र्सवादमा पनि संशोधनवाद गालेर आउँछ ।४।

जुवाडेले मात्र हो र कहिले जित्ने कहिले हार्ने त्यो ।
क्रान्ति पनि जुवा हो कि जितेर कि फालेर आउँछ ।५।

गहिराइले स्वयम् गहिराइलाई डुबानमा पारेको छ ।
भन्देऊ न माझी डुङ्गा कहिले किनार चालेर आउँछ ।६।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार