गण्डकी सरकारमा राजमो सहभागी नहुने

  •   
  •  
  •  
  •  
  •  
  •  

355 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ । प्रदेश सरकारलाई समर्थन दिएको राजमोले आगामी दिनमा सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक वक्तव्य प्रकाशित गरी प्रतिगमनको मतियार बनेको गण्डकी सरकारलाई अपदस्थ गर्न सफलता मिलेकोमा प्रशन्नता व्यक्त गर्नुभएको छ ।

लामो संघर्षपछि प्रतिगमनकारी षडयन्त्र परास्त गर्दै नयाँ सरकार गठन गर्न सफल भएकोमा सबैलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरे झैँ गण्डकीमा पनि गर्न खोजिएको षडयन्त्र असफल भएको उहाँले बताउनुभएको छ ।

यस्तो छ, वक्तव्य
‘गण्डकी प्रदेशमा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको छ । गण्डकी प्रदेशको सरकारलाई हटाउनका लागि विपक्षी गठबन्धनले झण्डै दुई महिनादेखि लगातार सदनभित्र, अदालतमा र सडकमा संघर्ष गरिरहेको थियो ।

केन्द्रमा संविधानको धारा ७६ को उपधारा (५) अन्तर्गत सरकार गठनका लागि जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो । त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर्ण राजनीतिक दल, प्रेस जगतले असफल पारेका छन् । जुन स्वागतयोग्य कुरा हो ।

प्रतिगामी सरकारलाई हटाई गठन भएको प्रतिगमन विरोधी शक्तिहरुको नयाँ सरकारलाई हामीले बधाइ दिन चाहन्छौँ तथा कार्यकाल सफलताको शुभकामना पनि दिन चाहन्छौँ । यसका साथै उक्त सरकारमा हाम्रो पार्टी सहभागी नहुने र सरकारले आगामी दिनमा अपनाउने नीतिको दोष र गुणको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति हुनेछ ।

चित्रबहादुर केसी 
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *