‘गाली गलौजको घोडामा चढेर धेरै टाढासम्मको यात्रा गर्न सम्भव हुँदैन’

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

779 जनाले पढ्नु भयो ।

मोहनविक्रम सिंह

१. पार्टीका कतिपय पुराना र जिम्मेवार साथीहरुलाई पार्टीबाट निस्काशित गर्नु परेकोमा हामीलाई धेरै नै दुःख छ र त्यसबाट पार्टीलाई नोक्सान पनि पुगेको छ । तर पार्टीका केही नियमहरु हुनछन् र तिनीहरुलाई पालना गर्नुपर्ने आवश्यकता हुन्छ । पार्टीका नियमहरुको अतिक्रमण हुँदै गयो भने पार्टीमा अराजकता र अनुशासनहिनताको स्थिति उत्पन्न हुन्छ । त्यो अवस्थामा पार्टीले राजनैतिक भूमिका खेल्न, संगठनात्मक जिम्मेवारी पूरा गर्न वा जन आनदोलनलाई पनि अगाडि बढाउन सक्दैन् त्यसैले पार्टीको संगठनात्मक नियम र अनुशासनलाई लगातार उलंघन गर्ने साथीहरुलाई पार्टीबाट निस्काशित गर्नु पर्ने बाध्यता हुन्छ । त्यो कार्य अप्रिय हुन्छ, तर पार्टी र आन्दोलनका वृहत्तर हीतका लागि कतिपय अवस्थामा त्यस प्रकारको कदम उठाउनु अनिवार्य हुन्छ ।

२. न्यायको क्षेत्रमा एउटा उखान प्रचलित छः अदालतले कुनै व्यक्तिलाई मुद्दा हराईदियो वा सजाय दियो भने उसलाई (सजाय पाएको व्यक्तीलाई) २४ घण्टासम्म न्यायधीशलाई गाली गर्ने पूरै अधिकार हुन्छ रे । हामीले २४ घण्टाको ता कुरा गर्दैनौ तर पार्टीबाट निस्काशित व्यक्तिहरुले पार्टी वा नेतृत्वलाई धुमधामसित गाली गर्ने गर्दछन् वा आरोपहरु लगाउने गर्दछन् भने हामीले त्यसलाई अस्वभाविक मान्नु हुँदैन । खास गरेर जसको सैद्धान्तिक, राजनीतिक वा साँस्कृतिक स्तर निम्न छ उनीहरुका आलोचनाहरु बढी सिद्धान्तहिन र अराजनीतिक प्रकारका आरोपहरु वा गाली गलौजको रुपमा नै प्रकट हुन्छन् । त्यसका पछाडि मुख्य रुपले तर्क वा विवेकले भन्दा बढी रिस वा वदलावको भावनाले नै काम गरेको हुन्छ तर सुस्त सुस्त रीस मर्दै जान्छ र उनीहरु सामान्य हुँदै जान्छन् ।

३. पहिले पार्टीबाट निश्कासित वा पार्टी छोडेर गएका व्यक्तिहरुले पनि केही समयसम्म तातो रिस देखाउने गरे तर समय बित्नुका साथै उनीहरु शान्त हुँदै गएर उनीहरुसितको सम्बन्ध सामान्य र कतिपय अवस्थामा मैत्रीपूर्ण हुँदै गयो । कतिपय त पछि पार्टीमा फर्केर आए र पार्टीका केन्द्रीय समितिका सदस्य पनि बने । जस्तै : का. लिलानाथ कुशुम, जो केन्द्रीय समितिको सदस्य पनि बन्नु भयो अहिलेका हाम्रा साथीहरुको पनि केही समय पछि रिस मर्दै जानेछ तर त्यसको लागि कति महिना वा वर्ष लाग्ने छ ? त्यो आउने दिनमा थाहा हुनेछ ।

४. अहिले हाम्रो पार्टीबाट निश्काशित वा पार्टी छाडेर गएका साथीहरुले कुन रुप ग्रहण गर्ने हुन ? त्यो स्पष्ट हुनको लागि १० वर्ष वा कमसेकम ५ वर्ष लाग्नेछ । हाम्रो पार्टीबाट निस्काशित वा हाम्रो पार्टीलाई छाडेर गएका सबै व्यक्तिहरुले सुरुमा हामीलाई दक्षिणपन्थी वा अवसरवादी बताउने गरेको इतिहास छ । रिस, बदलाका भावना वा गाली गलौचले केही समयसम्मको लागि गर्मी दिन सक्दछ । तर त्यस प्रकारका आरोप वा गाली गलौजको घोडामा चढेर धेरै टाढा सम्मको यात्रा गर्न सम्भव हुँदैन । आफूलाई क्रान्तिकारी देखाउनका लागि उनीहरुले सकारात्मक र ठोस रुपले केही गरेर देखाउन पर्दछ त्यो क्रममा नै उनीहरुको विकास हुँदै गएको छ वा पतन हँुदै गएको छ ? त्यो प्रष्ट हुँदै जानेछ । अहिले हाम्रो पार्टीबाट निस्काशित वा पार्टी छाडेर जाने व्यक्तिहरुले एकाध वर्ष त हाम्रा विरुद्धका आरोपहरु वा गाली गलौजका आधारमा आफूलाई क्रान्तिकारी देखाउने प्रयत्न गर्न सक्दछन् । केही दिनका लागि त्यो खेलोले उनीहरुलाई बचाएर राख्न सक्दछ । तर ५-१० वर्ष पछि उनीहरुको वास्तविक रुप वा हैशियत के हो ? त्यो प्रष्ट हुँदै जानेछ । त्यसपछि नै हाम्रो उनीहरुसितको सम्बन्ध कुन प्रकारको हुनेछ ? त्यो प्रष्ट हुँदै जानेछ ।

५. गत कालमा हाम्रो पार्टीबाट निस्काशित वा छोडेर गएका कैयौँ व्यक्ति वा पक्षहरुसित हाम्रो निकट सम्बन्ध भएका कैयौँ उदाहरणहरु छन्, डा. रायमाझी सित हाम्रो सम्बन्ध टुटेपनि पछि त्यो समूहबाट अलग बनेका कैयौँ समूहसित हाम्रो मैत्रीपूर्ण सम्बन्ध कायम भयो र कैयौँ प्रसँगमा उनीहरुसित कार्यगत एकता पनि हुँदै गयो र अहिले पनि हुने गरेको छ । पुष्पलालको छिटै निधन भएको हुनाले उहाँसितको हाम्रो सम्बन्धले पछि कुन रुपले विकास गर्दथ्यो ? त्यो स्पष्ट हुन सकेन । त्यो स्पष्ट हुनको लागि अवसर मिलेन तर उहाँले बनाएको समूहका साथीहरुसित हाम्रो सम्बन्ध राम्रो हुँदै गयो ।

६. हाम्रो पार्टीबाट अलग भएका साथीहरु मध्ये हामीलाई सबै भन्दा बढी सिद्धान्तहीन र अराजनैतिक प्रकारका गाली गलौज गर्ने वैद्य समूह नै थियो । त्यति धेरै गाली गलौज हाम्रो पार्टीको आठौँ महाधिवेशन पछि हाम्रो पार्टीबाट निश्काशित वा पार्टी छोडेर गएका साथीहरुले पनि गरेका छैनन् तर त्यही वैद्य समूहसित पनि आन्दोलनको क्रममा मैत्री सम्बन्ध बढेर गयो र अहिले पनि हामी कार्यगत एकता गरेर आन्दोलनमा अगाडि बढिरहका छौँ । पूर्व माले र पूर्व माओवादी समूहसित हाम्रो तीव्र संघर्षहरु चलेका कुराहरुको इतिहास साक्षी छ तर गत कालमा उनीहरुसित सँगै मिलेर हामीले देशका कैयौँ महत्वपूर्ण संघर्षहरुमा संयुक्त भएर भाग लिएका छौँ । कैयौँ पटक चुनावमा सहकार्य गरेका छौँ र अहिले उनीहरुको सरकारलाई हामीले समर्थन पनि गरेका छौँ, यद्यपी उनीहरुका गलत नीति र क्रियाकलापका विरुद्ध दृढतापूर्वक र सम्झौताहीन प्रकारले संघर्ष गर्दै ।

७. अहिले पार्टीबाट निस्काशित वा पार्टी छाडेर गएका साथीहरुसित ५, १० वर्ष पछि हाम्रो सम्बन्धले कस्तो रुपमा विकास गर्ने छ ? गत कालमा त्यसरी गएका साथीहरु मध्ये कतिपयले प्रतिक्रियावादी दिशा समात्ने वा सधैँका लागि हराएर जाने पनि गरेका छन् भने कतिपय एक वा अर्काे प्रकारले वामपन्थी आन्दोलनमा अडिरहेका छन् । त्यसरी वामपन्थी आन्दोलनमा रहेका व्यक्ति वा समूहहरुसित हाम्रो विभिन्न स्तर वा रुपमा सम्बन्ध पनि रहने गरेको छ तर अहिले हाम्रो पार्टीबाट अलग भएका साथीहरुसित भविष्यमा हाम्रो सम्बन्ध कस्तो हुनेछ ? त्यो दुइवटा कुराहरु माथि निर्भर रहनेछ । प्रथम, उनीहरु कुनै न कुनै प्रकारले वामपन्थी आन्दोलनमा सक्रिय भईरहने छन् वा त्यसबाट पतन भएर वा पलाएन भएर हराएर जानेछन । द्धितीय, हाम्रो पार्टीको उनीहरुले आरोप लगाए जस्तो दक्षिणपन्थी वा अवसरवादी भएर पतन भएर जानेछ वा क्रान्तिकारी र वामपन्थी दिशामा अगाडि बढिरहने छ । उक्त दुइवटा कुराहरुको परिणाम माथि नै भविष्यमा उनीहरुसितको हाम्रो सम्बन्धको स्वरुप निर्धारित हुनेछ ।

८. गत कालमा वा अहिलेसम्म हाम्रो पार्टी वा पार्टीको नेतृत्वलाई दक्षिणपन्थी, अवसरवादी र गद्दारसम्म भन्ने गरेका सबै आरोपहरुलाई इतिहासले भुट्टा सावित गरेको छ । त्यही प्रकारले अहिले हाम्रो पार्टीबाट निश्कासित वा अलग भएका नयाँ साथीहरुका आरोप वा गाली गलौच गलत सावित हुनेछन् भन्ने कुरामा हामीलाई कुनै शंका छैन । तर उनीहरुले आउने दिनहरुमा कुन रुप ग्रहण गर्दै जानेछन् त्यो कुरा प्रष्ट हुन अरु ५/१० वर्ष प्रतिक्षा गर्नुपर्नेछ । हामीसित करिब ६५ वर्ष क्रान्तिकारी सिद्धान्त, राजनीतिक लाईन र संघर्षमा निरन्तरताको लामो र गौरवपूर्ण इतिहास छ । तर उनीहरु आउने दिनहरुमा के कस्ता हुने हुन ? त्यो बुझ्न कमसेकम पनि ५/१० वर्षको समय लाग्नेछ । त्यो क्रममा नै हाम्रो उनीहरुसित कुन प्रकारको सम्बन्ध हुनेछ वा हामीहरुसित सम्बन्ध राख्नको लागि उनीहरुको कुन प्रकारको हैसियत हुनेछ ? त्यो कुरा प्रष्ट हुँदै जानेछ । हामीले कामना गर्दछौँ, उनीहरु लगातार क्रान्तिकारी वा एक वा अर्काे प्रकारले वामपन्थी दिशामा अगाडि बढिरहुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *