चक्रवातका कारण भारत र बङ्गलादेशमा ठुलो क्षति

  •   
  •  
  •  
  •  
  •  
  •  

119 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । पूर्वी भारत र छिमेकी बङ्गलादेशमा भारी वर्षासहितको चक्रवातका कारण लाखौँ मानिस प्रभावित भएका छन् । यास नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरूले बताएका छन् ।

प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरू पश्चिम बङ्गाल र उडिसामा सुरुवाती प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षासहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ । समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको र बुधबार साँझसम्म उक्त आँधीको वेग कमजोर हुँदै जाने विभागले जनाएको छ ।

बङ्गलादेशमा तटवर्ती २०० गाउँका हजारौँ बासिन्दा आँधीको चपेटामा परेका छन् । समुद्रबाट आएका अग्ला अग्ला छालले स्थानीयबासीका घर, पसल र खेतीपाती पूरै जलमग्न बनाएको छ ।

दक्षिणस्थित पटुवाखाली जिल्लाको रङबाली गाउँका २० भन्दा बढी गाउँ पूरै डुबानमा परेको एक जना वरिष्ठ प्रशासक मस्फिकर रहमानले जानकारी दिनुभयो । उहाँले नदीका दुई वटा तटबन्ध भत्किएर गाउँ पूरै डुबेको बताउँदै कम्तीमा १५ हजार व्यक्तिलाई आपतकालीन केन्द्रहरूमा राखिएको जानकारी गराउनुभयो ।

भारतमा पनि टेलिभिजनले पश्चिम बङ्गालको डिघासमेतका तटीय क्षेत्रका सडकमा घुँडा घुँडा पानी आएको दृश्य देखाएका छन् । भारी वर्षाका कारण धेरै ठाउँमा नदीका तटबन्ध फुटेका छन् ।

पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले संवाददातासँग कुरा गर्दै तटीय क्षेत्रका बासिन्दाका २० हजारभन्दा बढी अस्थायी माटाले बनाएका घर क्षतिग्रस्त भएको जानकारी दिनुभयो ।

मङ्गलबारयता मात्र उडिसाका चन्दबाली र पारादीप क्षेत्रमा १७ सेन्टिमिटरभन्दा बढी वर्षा भएको थियो । यहाँको स्थानीय मौसम कार्यालयले १३ फिटसम्मका अग्ला समुद्री छाल आउन सक्ने प्रक्षेपण गरेको छ ।

कोलकाता र भूवनेश्वरका विमानस्थल बन्द गरिएका छन् भने रेलसेवा रद्द गरिएको छ । माछा मार्ने डुङ्गालाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

उडिसाका मुख्यमन्त्री नवीन पटनायकले आश्रयस्थलमा रहेका नागरिकलाई मास्क लगाउन र सामाजिक दुरी कायम राख्न आह्वान गर्नुभएको छ ।

गत साता भारतकै पश्चिमी तटीय क्षेत्रमा आएको ताउते नामको समुद्री आँधीका कारण १४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । (रासस–एपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *