चीनले अनुदानमा दिएका अक्सिजन सिलिण्डरमा मन्त्रीको फोटो !

  •   
  •  
  •  
  •  
  •  
  •  

47 जनाले पढ्नु भयो ।

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएका नीलो रंगका सिलिण्डरमा वनमन्त्री प्रेमबहादुर आलेको फोटो टाँसेर वितरण गरिएको छ । मन्त्री आलेको गृहजिल्ला डोटी र धनगढीमा उहाँको पोष्टर टाँसेर सिलिण्डर वितरण गरिएको हो ।

अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिएको छ । ति सामग्री सोमबार हेलिकप्टर मार्फत गृह जिल्ला डोटी पुगेर मन्त्री आलेले जिल्ला अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।

ति सामग्री व्यक्तिगत रुपमा आफूले खरिद गरेको मन्त्री आलेको दाबी छ । मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विद म्यानेजमेन्ट प्रालिबाट अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री किनेर डोटी र धनगढी पठाइएको बताए ।

‘अग्रिम १५ लाख रुपैयाँ सिलिण्डरको लागि र ३ लाख रुपैयाँ मास्कको लागि विद भन्ने कम्पनीलाई दिएर प्राप्त भएको सामग्री हो,’ मन्त्री आलेका प्रमुख स्वकीय सचिव रेग्मीले भने ।

जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटका अनुसार मन्त्री आलेले ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा जनरल बेड, ३० हजार सर्जिकल मास्क र एन्टिजेन किट उपलब्ध गराउनुभएको छ ।

विपतको बेलामा पनि स्वास्थ्य सामग्रीलाई प्रचार सामग्री जसरी प्रयोग गरेको भन्दै मन्त्री आलेको आलोचना भइरहेको छ । कतिपयले चिनियाँ अनुदानका अक्सिजन सिलिण्डरमा व्यक्तिगत सहयोग भनेर प्रचार गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *