चीन सुतिरहोस्, तर जब चीन निद्राबाट ब्युँझन्छ तब………

0Shares

155 जनाले पढ्नु भयो ।

  • दिर्घराज प्रसाई

दुई सय वर्षअगाडि नेपोलियनले भनेका थिए– ‘चीन सुतिरहोस्, तर जब चीन निद्राबाट ब्युँझन्छ तब उसले विश्वलाई हल्लाउँछ।’ यो भविष्यवाणीलाई चीनको चमत्कारिक विकासले झक्झक्याइरहेको छ। चीन भौगोलिक रूपमा संसारकै ठूलो देश हो। तर, गरिबीका कारण चीन संकटमा थियो। नेपालजस्तो चीन सुगमभूमि होइन। जाडोमा अत्यन्त जाडो, गर्मीमा अत्यन्त गर्मी रहने चिनिया जनताले सशक्त देशभक्त नेतृत्व पाएपछि उक्त देश अहिले बलेको छ। घरघरमा जाडोका लागि कोठाकोठामा तातो हिटरको व्यवस्था र गर्मीमा एयरकन्डिसनको व्यवस्था छ ।

सहर र गाउँमा केही फरक परे पनि जनताका लागि सबैलाई समान व्यवहार गर्ने चिनियाँ नीति देखियो । कम्युनिस्ट नेता माओत्सेतुङको नेतृत्वमा चीनमा साम्यवाद स्थापना भएको सन् १९४९ देखि अहिले सन् २०१७ सम्मको यो करिब ७० वर्षको अवधिमा चीन विश्वको शक्तिसम्पन्न राष्ट्रको सूचीमा उभिन पुगेको छ । समयको गतिलाई चिनेर माओत्सेतुङपछि चिनियाँ नेता तेङ सियायोपिङको नेतृत्वमा खुला नीति अवलम्बन गरेर साम्यवादको सफल कार्यान्वयन गरेर चीनले संसारमा चमत्कार देखाएको छ ।  दुई वर्षअगाडि चीनको भ्रमण गर्ने अवसर मिलेको थियो । चीन भन्ने देशमा जनताको विकास, समृद्धि र सच्चाइको लागि महान् कार्यहरू सम्पन्न भएका छन् । चीन सरकार संसारका राष्ट्रहरूमा धनी छ । चीन विश्वकै समृद्ध राष्ट्रको रूपमा देखिँदैछ ।

चीनले साम्राज्यवादीहरूको खोइरो खन्यो, सशंकित विदेशीलाई चीनबाट निष्कासित ग¥यो । चीन सरकार र चिनियाँ जनता आफ्नो मुलुकको सार्वभौमसत्ताको सुदृढीकरणमा सधैँ जागरुक छन् । चीनको सम्पूर्ण जमिन, उद्योग, भवन, जनता बस्ने घर, निवास सरकारको अधीनमा हुन्छन् । कुनै पनि चिनियाँले आफ्नो इच्छाअनुसार स्वतन्त्रपूर्वक काम गर्ने गर्छन् । तर, हरेक चिनियाँले आफू बसेको घर र आफूद्वारा उत्पादित सामग्रीको सरकारलाई कर बुझाउनुपर्छ । कर तिर्नमा कसैले धाँधली गर्न पाउँदैनन् । चीनमा राष्ट्रवादी नेता माओत्सेतुङले साम्राज्यवादको बिरुद्ध चिनियाँ जनता संगठित गरेर ठूलो संघर्षका साथ सन् १९४९ मा जनगणतन्त्र घोषणा गरेर त्यसैबाट चीनलाई आधुनिकीकरण गर्ने महायज्ञमा समाहित हुन पुगे ।

तेनमेन स्क्वाएरको सम्पूर्ण घर, झुप्रा भत्काएर आधुनिक मैदान बनाए ।  तेनमेन स्क्वाएरको अर्कोपट्टि ग्रेटहल अफ चीनको निर्माण गरेर राष्ट्रपति, मन्त्रिपरिषद्, अन्तराष्ट्रिय भेटघाट आदि सरकारी कामकाजको केन्द्र बनाए । ग्रेटहलले धेरै भूभाग ओगटेको छ । चीन साम्राज्यवादी शक्तिसँग डराएन । चीनमा ठूलो उथलपुथल आयो । चीनको नेतृत्व तहमा रहेकाहरू देशभक्त र राष्ट्र निर्माणमा सधैँ सरिक छन् । कुनै पनि भ्रष्ट र देशद्रोही भेटियो भने त्यस्तालाई अत्यन्तै कडा सजायँ हुन्छ । चीन अहिले भौगोलिक रूपमा मात्र होइन भौतिक उन्नतिको हिसाबले संसारकै उच्चकोटीको समृद्ध राष्ट्रको रूपमा देखापरेको छ । माओले करिब तीन दशक शासन गरे । उनको लासलाई सम्मानका साथ तेनमेन स्क्वाएरछेउको ऐतिहासिक घरअगाडि राखिएको छ । माओपछि तेङ सियाओपिङ सत्तामा आएपछि उनले समाजवादी अवधारणाबाट खुल्ला अर्थतन्त्र अवलम्बन गरेर चीनको विकासमा ठूलो फड्को मार्ने काम गरे ।

नेपालले चीन तथा भारतमा शान्ति-स्थिरता काम गर्नका लागि अाफ्नाे सार्वभाैमसत्तलाइ जाेगाउन सक्नुपर्छ। चीन, भारतबीचकाे सम्बन्धमा सन्तुलन कायम राखदै नेपालकाे राष्ट्रियता, प्रजातन्त्रलाइ जाेगाएर समृद्ध पार्दै अघि बढ्नु नेतृत्वकाे बुद्धिमानी हुनेछ।

चीनको सत्तामा हरेक नेतृत्वको समय अवधि ५ वर्ष र बढीमा १० वर्ष तोकिएकाले हरेक १०–१० वर्षमा सत्ता पविर्तन हुने परिपाटी बसेको छ । माओत्सेतुङको मार्गदर्शनलाई नबिगारी चिनियाँ जनताको इच्छा बुझेर तेङ सियाओपिङबाट जुन योगदान भए त्यही नै अहिलेको चीनको चमत्कारको मूल हो । तेङ सियाओपिङको समयदेखि विश्वमा चीनको अर्थतन्त्रलाई उजागर गर्ने कार्य भएको र यसले चीनले विश्वमा वाणिज्य तथा व्यापारमात्र प्रस्तुत नगरी विश्वमै विज्ञान र प्रविधिको विकासमा ठूल्ठूला कार्य गर्न अग्रसर भयो । गरिबी समाप्त गर्ने र समयअनुसार चल्ने चिनियाँ कम्युनिस्ट पार्टीले लक्ष बनायो । तेङ सियाओपिङको सन् १९७७ मा नेपालको भ्रमण गरेका थिए । त्यसबेला मैले पनि स्वागत गर्ने मौका पाएको थिएँ ।

त्यस भ्रमणको अवसरमा उनले भनेका थिए– ‘नेपाल आफ्नो संस्कृति र इतिहासमा धनी छ । नेपाली जनता सार्वभौमसत्ता र राष्ट्रिय स्वतन्त्रताका धनी छन् । नेपाल साम्राज्यवादको बिरुद्ध सधैँ सक्रिय रूपमा संघर्षरत छ ।’ तेङ सियाओपिङ सत्ताको १० वर्षपछि जिङ जेमिन सत्तामा आएपछि ब्रिटिस र पोर्तुगालसँग सुमधुर सम्बन्ध बनाएर सन् १९९९ मा मकाउ पोर्तुगलको उपनिवेश र बेलायतको उपनिवेशबाट हङकङलाई चीनमा गाभ्ने काम गरे । तर, चीनको तुलना कहिल्यै पनि नेपालका कम्युनिस्टसँग हुन सक्दैन । नेपालका कम्युनिस्ट भनेका भारतपरस्त ठहरिएका छन् । नेपालको राष्ट्रियता तथा यसका पहिचानलाई ध्वस्त बनाएर देशको सार्वभौमसत्तामाथि नै आक्रमण हुने, नेपाली जनताको अपहरण–हत्या, आतंक, लुट मच्चाएर जसरी हुन्छ पैसा कमाउनेजस्ता काम निरन्तर भइरहँदा पनि नेपालका कम्युनिस्टलाई कुनै मतलब छैन । जनता जतिसुकै गरिब भए पनि यिनलाई कुनै चासो छैन ।

चीनमा हु जिन ताओ राष्ट्रपति बनेर अर्थतन्त्रलाई विश्वसामु प्रपिस्पर्धी बनाउने काम गरे । अमेरिका हतियार लिएर बाहिरी विश्वमा हिँडेको छ भने चीन अमेरिकालाई आफ्नो बजार बनाउन सफल हुँदैछ । चीनले धर्म स्वतन्त्रताको नीति लिए पनि पश्चिमा राष्ट्रहरूको इसाईप्रचारप्रति जिन ताओ अनुदार थिए । जिन ताओको अवधि समाप्त भएपछि सि जिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेता र राष्ट्रपति बनेपछि उनले माओ र तेङ सियाओपिङको बाटो समातेर उदार नीतिका साथ विश्वभरि समझदारी बढाउन सफल बनेका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि जिनपिङले टेलिफोनबाट बधाई दिएर अमेरिकी आक्रोशलाई निस्तेज बनाइदिएका छन् । जिनपिङ चीनमा साम्यवाद स्थापना भएपछि सन् १९५२ मा जन्मेका युवा नेता हुन् ।

चीनमा जीवन पद्धति तीन किसिमको छ । नेतृत्व तह, व्यापारी र उद्योगपति–किसान । नेतृत्व तहमा बसेकाहरू आआफ्ना कर्तव्यसँग अत्यन्त सचेत र जिम्मेवार रहन्छन्। किसानले सरकारबाट जग्गा र बस्ने घर पाउँछन् । घर र जमिनको कर तिरेर जति उत्पादन गर्न सकिन्छ त्यो चिनियाँ किसानको सम्पत्ति हुन्छ । किसानहरू किसानीबाहेक अन्य काम गर्न र हिँडडुल गर्न व्यक्तिगतरूपमा स्वतन्त्र हुन्छन् । उद्योगपतिहरू नयाँनयाँ उद्योग निर्माण र उत्पादनमा सक्रिय छन् । चीनमा ठूल्ठूला भवन निर्माण भएका छन् । व्यापारीहरू जो जहाँ छन्, जसले उत्पादन गर्छन् ती सबैले तोकिएको सरकारी कर अनिवार्य रूपमा बुझाउनुपर्छ।

चीनमा पानीको अभाव भएको थाहा हुँदैन, लोडसेडिङ हुँदैन। पानीको कर महिना नाघेपछि बुझाउनुपर्छ।  तर, बिजुलीको महशुल भने पहिला नै बुझाउनुपर्छ, नत्र बत्ती निभ्छ । चीनको हरेक क्षेत्रमा हरियाली छ। सबै बाटामा बगैँचा, पार्क सधैँ सफा र सुन्दर रहन्छन्। आवश्यक ठाउँमा निःशुल्क ट्वाइलेटको व्यवस्था छ। चिनियाँ जनता जुनसुकै तहका हुन् साह्रै मिलनसार र मद्दत गर्नेखालका छन् । नेपालजस्तो सुगमभूमि चीन होइन ।

तर पनि चीनमा हरेक व्यक्ति निर्धक्क बनेर रातभरि हिँडिरहेका भेटिन्छन् । यो उक्त देशको बलियो सुरक्षाव्यवीथका कारण नै सम्भव भएको हो । नेपालको सार्वभौमसत्ता सुदृढ रहिरहोस् भन्ने चीनका नेता माओ र तेङ सियाओपिङको चाहना थियो । उनीहरू नेपालको राजसंस्थालाई साम्राज्यवादी शक्तिसँग भिड्न सक्ने मान्थे । अब नेपालले चीन तथा भारतमा शान्ति–स्थिरता कायम गर्नको लागि पनि आफ्नो सार्वभौमसत्तालाई जोगाउन सक्नुपर्छ । चीन, भारतबीचको सम्बन्धमा सन्तुलन राख्दै नेपालको राष्ट्रियता, प्रजातन्त्रलाई जोगाएर कसरी समृद्ध बनाउन सकिन्छ त्यही बाटो अवलम्बन गर्नु नै हाम्रो नेतृत्वको बुद्धिमानी हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *