जनअसन्तुष्टिबाट प्रतिगामीले फाइदा उठाउने सम्भावना छ

चित्रबहादुर केसी,अध्यक्ष, राष्ट्रिय जनमोर्चा

० दुईतिहाइ बहुमतयुक्त वामपन्थी नेतृत्वको सरकारको कामकार्वाहीलाई कसरी लिनुभएको छ ?
– पहिले उनीहरूले चुनावी घोषणापत्रमा धेरै महत्वाकाङ्क्षी कुरा ल्याएका थिए । यिनीहरूका कुरामाथि जनताले विश्वास पनि गरेका थिए । अघिल्ला सरकारबाट दिक्कवाक्क भएका जनताले अब यिनीहरूले पार्टी एकीकरण पनि गरे, नाकाबन्दी विरुद्धमा पनि अडान लिएका थिए, त्यसकारण यिनीहरूले गर्ने होलान् भनेर आशा गरेका थिए । तर जनतालाई बाँडेका जे जति आवश्वासन थिए, उनीहरूले पूरा गर्न सकेनन् । चुनावमा घोषणा गरेका यावत् कुराहरू पूरा हुने सम्भावना पनि थिएन । तर उनीहरूले गर्न सक्ने कामसमेत नगरेका हुनाले जनतामा अहिले पनि आक्रोश छ, विरोध छ ।

० यो सरकारले गर्न सक्ने काम के होला ?
– जुनसुकै सरकारको पनि पहिलो प्राथमिकता हुन्छ, सुशासन । सुशासनअन्तर्गत जनताले अहिलेसम्म यसभन्दा अघिका सबै सरकारको पालामा भन्दा राम्रो काम होस् भन्ने चाहेका थिए । तर भ्रष्टाचार, नातावाद, कृपावाद, अनि बाह्य शक्तिहरूको आडमा चुनाव जित्ने र सत्तामा जाने प्रवृत्ति उस्तै छ । जनताले सेवासुविधा लिन खोज्दा भनसुन गर्नुपर्ने, घुस खुवाउनुपर्ने जुन पद्धति थियो हामीकहाँ, त्यो अहिले पनि छ । अहिले पनि त्यसमा यिनीहरूले परिवर्तन गर्नै सकेनन् । महङ्गी नियन्त्रण गर्नै सकेनन् । ठुला ठुला भ्रष्टाचार भए । ती प्रकरणमा यिनीहरूले कार्वाही गरेर जनतालाई देखाउन सकेनन् । सिन्डिकेटवालालाई पक्रँदाखेरि जनता खुसी भएका थिए, अब कारबाही हुने भयो भनेर । तर सिन्डिकेट सञ्चालकसामु यिनीहरूको केही लागेन । नतमस्तक भए । वाइडबडी काण्डमा त्यस्तै भयो । आयल निगमको जग्गा खरिद गर्दा भएको भ्रष्टाचारले बताउँछ– सत्तामा बसेका ठुलाठुला मान्छे यस्ता गलत काममा सामेल हुँदा रहेछन् । आफू सत्तामा भएका बेला भ्रष्टाचारीलाई कारबाही गर्न नसक्दा रहेछन् । पहिले नै चुकिसकेपछि अप्ठयारो पर्दो रहेछ उनीहरूलाई ।

जनताले खोजेको कुरा हो– सुविधा लिँदा घुस खुवाउन नपरोस् । औषधिउपचार गर्दा राज्यबाट सहुलियत मिलोस् । शिक्षाक्षेत्रमा निजी क्याम्पस, बोर्डिङहरूले शोषण गरेका छन् । विद्यार्थीहरूले समेत त्यसको विरुद्ध आवाज उठाएका छन् । तर त्यसबारे सुनुवाइ हुँदैन । त्यसैले जनताले पाउनुपर्ने सेवासुविधा पाइयोस् महङ्गीमाथि नियन्त्रण होस्, शिक्षा, स्वास्थ्यमा सहुलियत मिलोस् राष्ट्रिय उद्योगधन्दा सञ्चालन गरेर रोजगगारीको व्यवस्था होस्—जनताले खोज्ने कुरा त यिनै हुन् । कसैको दलाली, चाकडी, भनसुन नगरिकन, घुस नखुवाइकन जनताले आफ्नो काम गराउन सक्यो भने जनतालाई चाहेका केही कुरा पूरा हुन्छन् ।

अर्काे कुरा माथिदेखि तलसम्मका जनप्रतिनिधि असाध्यै बिलासी भए । जनताबाट चुनिएर आइसकेपछि उनीहरूले पहिलो काम आफ्नो सेवासुविधा बढाए । चाहे सङ्घ होस्, चाहे प्रदेश वा स्थानीय तहमा, सुविधा बढाइएको छ । यसरी सत्तामा बस्नेहरूले मौका आउनेबित्तिकै आफ्ना सेवासुविधालाई पहिलो प्राथमिकता दिएर काम गर्न सुरु गरे । राज्यकोष यिनीहरूको सेवासुविधामा खर्च हुन थाल्यो । चाडवाड आउँदा पनि जनताको ढुकुटी बाँडचुँड गर्न थाले । आफैसँग पैसा भएकाहरूले पनि विभिन्न बहाना पारेर राज्यकोषबाट करोडौँ रुपियाँ बाँडफाँड गरे । जनताले यी सबै देखिराखेका छन् ।

कतिपय आयोग बने, तर त्यहाँ कर्मचारी छैनन । सरकारले गर्न सक्ने काम पनि यत्रो बलियो सरकार हुँदा गर्न नसकेकाले जनता बढी चिढिएका छन्, आक्रोशित छन् । जनताले भोगेको कुशासनको परिणाम २०६२–६३ सालको जनआन्दोलनको उपलब्धिसमेत उल्टिने हो कि भन्ने स्थिति आउन थालिसक्यो । त्यो उपलब्धी उल्टाउन देशी–विदेशी शक्तिले हेरिरहेका छन् । जनताको यस्तो असन्तुष्टिबाट फाइदा उठाउने सम्भावना बढेर गएको छ । त्यसकारण जनताले दीर्घकालीन ठुला योजना, पूर्वाधार यति छोटो अवधिमा बन्छ भन्ने ठान्दैनन् । तर सरकारबाट पूरा हुन सक्ने काम पनि भएका छैनन् ।

० सरकारका प्रधानमन्त्री, प्रवक्ताले त के भन्छन् भने राम्रो कामको प्रचार भएन, नराम्रो कामको मात्रै प्रचार भयो । के त्यो सत्य हो ?
– बिल्कुल गलत हो त्यो । उनीहरूले भन्नुपर्यो नि, उनीहरूकै मिडिया छ । यो यो राम्रो काम गर्यौं भन्नुपर्यो नि त । रोजगारीको क्षेत्रमा यी काम गरियो । स्वास्थ्यको क्षेत्रमा नेपाली जनताका लागि यी काम गरियो । शिक्षाको क्षेत्रमा निजीकरणलाई हटाएर यो काम गरियो । विश्वविद्यालयको हालत त नेपाली जनताले हेरिराखेका छन् । एउटा बौद्धिक क्षेत्रमा त्यस्तो लापर्बाही, त्यस्तो भ्रष्टाचार, बदमासी छ । त्यसो हुनाले काम राम्रो गरेको, प्रचार नभएको भन्ने कुरा त झन् कुरा हो । त्यो निरर्थक कुरा हो । त्यो सत्य होइन, गलत कुरा हो ।

० जस्तो समाजिक सुरक्षा कोषको सन्दर्भमा हामीले काम धेरै गर्यौं, तर मिडियाले प्रचारै गरिदिएन भनेर भनिएको छ त ।
– सामाजिक सुरक्षामा हुने राम्रो कामको त मजदुरले नै प्रचार गर्छन् नि, त्यसको नीति के हो ? सिद्धान्त के हो ? जसले फल पाउँछ, त्यो फल पाउनेवालाले प्रचार प्रसार गर्छ नि । त्यसो हुनाले उनीहरूले ‘मान्, नमान्, मे तेरा मेहमान’ भनेर हुन्छ ? जो त्यहाँ सामेल हुन्छ, जो त्यसको हिस्सेदार छ, उसैले त्यसको प्रचार गर्नुपर्ने हो नि । त्यसकारण यसमा पनि सत्यता छैन ।

० संविधान बनेपछिको पहिलो सरकार भएकाले नीतिगत काम धेरै गर्नुपर्यो। त्यसो भएको हुनाले हाम्रो त्यति बढी आलोचना गर्नु आवश्यक छैन भन्ने जवाफ पनि उनीहरूले फर्काउछन् नि !
– कतिपय ऐन–कानुन बनाउन लाग्नैपर्यो । त्यतातिर लाग्नु एउटा कुरा हो । सरकारको सम्पूर्ण अङ्ग ऐन–कानुन बनाउन मात्रै लाग्ने हो र ? त्यसो गर्ने हो भने त जनतालाई सुशासन दिन त्यसले छेक्छ नि । कतिपय देशमा आफै गृहयुद्धमा फसेको बेलामा पनि उद्योगधन्दाको विकास भएको छ । जनतालाई सुशासन दिइएको छ । महङ्गीमाथि नियन्त्रण गरिएको छ । राष्ट्रियताको संरक्षण भएको छ । त्यसकारण यो गलत कुरा हो । ऐन–कानुन बनाउनुपरेको हुनाले जनतालाई सुशासन दिन सकेनौँ भन्नु त झन् भन्नै नहुने कुरा हो । ऐन–कानुन बनाउने बहानामा हामीले केही गर्न सकेनौँ भन्ने कुरा गलत हो । ऐन–कानुन कहिलेसम्म बन्छ ? त्यतिञ्जेलसम्म जनताले भ्रष्टाचार, पीडा बोकिरहनुपर्ने, कुशासनको पीडा बोकिरहनुपर्ने, स्वास्थ्य, शिक्षाको क्षेत्रबाट बञ्चित भइरहनुपर्ने ? हिजोजस्तै विकास निर्माणको काममा ठेकेदारले मनपरी गर्ने, प्रशासनमा बस्नेलाई घुस खुवाएर विकास निर्माणका काम वर्षौवर्षसम्म स्थगित गरेर जात्रा गरेका छन् । हामी विधान, कानुन बनाउन लाग्यौँ, त्यतातिर ध्यान गएन भन्न पाउँछ सरकारले ? त्यसो भएको हुनाले त्यो गलत तर्क हो । त्यसको केही सत्यता छैन ।

पार्टीएकताका कारणले सरकारको कामकारबाहीमा केही शिथिलता आएको मान्न सकिन्छ ?
– पार्टीभित्र समस्या होलान् । यिनीहरूको पार्टीएकता अलिकति अप्ठ्यारोमा छ । समस्यामा छ । जनताले सबै किसिमको समस्या भोग्नुपर्छ, राज्यबाट मिल्नुपर्ने सेवासुविधाबाट जनता बञ्चित भएर बस्नुपर्छ । किनभने तत्कालीन एमाले र माओवादीको पार्टी एकीकरण भइसक्या छैन । त्यस्तो पनि तर्क हुन्छ ? पार्टी एकीकरणको क्रममा पार्टीभित्रका अन्तरविरोध, विवाद त उनीहरूले आफैले मिलाउने कुरा हो । पार्टीएकताले, उनीहरूमाझको सैद्धान्तिक, राजनीतिक, साङ्गठनिक समस्याले गर्दा जनताले दुःख पाउनुपर्छ भन्ने कुरा त भएन नि । उनीहरूका आफ्नो मामिला होलान् । आफ्ना समस्या होलान् । पार्टी एकीकरण टुङ्गो लागिसकेको छैन । तैपनि सिङ्गै स्थायी सरकार छ । प्रशासनमा सयौँ वर्षदेखि मानिसहरू बसिराखेका छन् । सत्तामा भोलि अर्काे पार्टी आएमा त्यसै भनेर उम्कन पाइन्छ ? त्यसकारण कुनै पनि बहानामा जनताले पाउनुपर्ने आधारभूत सेवासुविधाबाट जनता बञ्चित गर्न कुनै पनि बहानाबाजी गर्न पाइँदैन ।

उनीहरूकै लापरबाहीले, उनीहरूकै आपसी झगडाले, आपसी समस्याले गणतन्त्रमाथि जुन कालो बादल मडारिएको छ, भोलि गणतन्त्र दुर्घटनामा परिहाल्यो भने हाम्रो पार्टी एकीकरण भइसकेको थिएन, हामी ऐन–कानुन बनाउनतिर लागियो, त्यसो हुनाले गणतन्त्र समाप्त पारियो भनेर हुन्छ ? हाम्रो पार्टीएकता अप्ठ्यारो परेका हुनाले, हामी ऐन–कानुन बनाउन लागेको हुनाले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि विदेशीहरूले चलखेल गरे, हामीले भ्याइएन उतातिर ध्यान दिन भनेर जनताले मान्छन् ? पार्टीमा आफ्नै आन्तरिक समस्या हुन्छन् । त्यो एउटा पाटो हो । त्यो होला पार्टीमा । हुन्छ पनि । तर त्यसको बहानामा जनतालाई ‘माछो माछो भ्यागुतो’ गराउन भएन ।

अहिले पनि रोजगारीको अभावमा दैनिक हजारौँ लर्काे लाएर नेपाली युवायुवती विदेशतिर ओइरो लागेको लाग्यै छन् । देश खालि भएको छ । पहाडतिर खेतबारी बाझै छन् । यो साल मात्रै ३२ अरब १४ करोडको चामल आयात भयो । यो मुलुकबाट निर्यात हुने कुरा केही छैन । निर्यात मान्छे मात्रै गर्ने हो, त्यो पनि श्रम गर्ने मान्छे । विद्यार्थीजति नेपालको सबै पैसा लगेर विदेशतिर अध्ययनका लागि ओइरो लागेकै छन् । हामीलाई चाहिने खाद्यान्नदेखि सबै चिज बाहिरबाट आयात गर्ने हो भने देशको अस्तित्व कसरी रहन्छ ? हाम्रो नेपाली हौँ भनेर मात्र हुन्छ ? पहिले खुलेका उद्योगधन्दा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्कको निर्देशनमा काङ्ग्रेसले २०४६ सालपछि निजीकरण गरेर सिध्यायो । काङ्ग्रेसले जुन बाटोमा हिँडेर देशलाई ध्वस्त पार्यो, उदारीकरणको नाउँमा, बजारीकरणको नाउँमा अहिले आएका आफूलाई वामपन्थी भन्नेले पनि काङ्ग्रेसले अपनाएको त्यही बाटो अपनाउने ? काङ्ग्रेस नहिडेको बाटो हिडेर जनताको मुहारमा हाँसो ल्याउने कुरा गरेको हो नि त उनीहरूले । काङ्ग्रेस हिडेको बाटो, राजा हिडेको बाटो, पञ्च हिडेको बाटो हिडेर कसरी उनीहरूले नेपाली जनताका अगाडि छुट्टै परिचय दिन सक्छन् ? त्यसो भनेर सुख पाइँदैन । सबभन्दा पहिला पार्टीभित्रै हुने भ्रष्टाचार, पार्टीभित्रैकाले गर्ने भ्रष्टचार, पार्टीभित्रै हुने ठेक्कापट्टातिर ध्यान जानुप¥यो । आफनो पार्टी सरकारमा छ । कमाउने, खाने मौका यही हो भनेर जुन नातावाद, कृपावादको प्रचलन व्याप्त भएको छ, त्यसमा नियन्त्रण गर्न सक्नुपर्दछ । सत्ता मात्रै कब्जा गर्नु ठुलो कुरा होइन, त्यसलाई टिकाउन जनताको मन जित्नै पर्छ । यसको विकल्प छैन ।

० यो सरकार के भन्छ भने जमिन बाझो राख्नेलाई कारबाही कानुन ल्याउँदै छौँ । अनि वस्तु निर्यात गर्नेलाई प्रोत्साहनस्वरूप छुटको व्यवस्था गर्दै छौँ । यसरी हामी क्रमशः काम गरिराखेका छौँ, नगरेको त हैन । यो सत्य हो ?
– अलि अलि त राणाले पनि गरेका थिए । बिजुली पनि निकालेका हुन् । केही बाटाघाटा, संस्कृत स्कुल खोले, देखाउनका लागि पनि । पञ्चायतले पनि केही उद्योगधन्दा खोलेका थिए । राजाले पनि पूर्व–पश्चिम राजमार्ग खनेको थियो । नेपालको आवश्यकता के हो ? त्यो अलि अलि गरेको थिएँ भनेर भएन । त्यस्तो कामगराइले भएन नि । दुईतिहाइ बहुमतको सरकार छ । भ्रष्टाचार नियन्त्रण गर्दै छौँ भन्छन् । तर तलका सानालाई नियन्त्रण गरेर मात्र भएन, ठुला भ्रष्टाचारी सुरक्षित नै छन् अहिले पनि । सबै सरकारले भन्ने कुरा हो– हामीले गर्दै छौँ । उनीहरूले गर्दै होलान् । उनीहरू नजिकका मान्छेले ठेक्कापट्टा पाए होलान् । विभिन्न अवसर पाएका होलान् उनीहरू नजिकका आसेपासेले । तर आम जनता, बिरामी, बेरोजगार जनतालाई हामी गर्दै छौँ भनेर हुन्छ ? कहिलेसम्म हो उनीहरूले गर्ने ? कमसेकम जनताका साधारण र आधारभूत समस्या समाधान गर्न सक्नुपर्यो नि । भोको, नाङ्गो, बेरोजगार र बिरामी जनता हामी गर्दै छौँ, नआत्तिनुस् भनेर आश्वासन दिदैमा कति दिन कुशासन सहेर बस्ने ? त्यसो हुनाले भन्ने कुरा होइन ती कुरा, गरेर देखाउनुपर्छ भन्ने जनताको माग हो ।

० चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा धेरै बढेर गएको छ भनेर सञ्चारमन्त्री गोकुल बास्कोटाले भर्खरै भन्नुभयो । त्यस्तो हो र ?
– हामीकहाँ युरोपियन, अमेरिकन, भारतीयको अत्यन्तै ठुलो चलखेल छ । विशेष गरेर भारतीय साम्राज्यवाद राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा एकाधिकार कायम गरेर नेपाललाई औपनिवेशिक बनाइराखेको छ, अर्ध औपनिवेशिक बनाइराखेको छ । यस्तो स्थितिमा चीनसँग हाम्रो सम्बन्धको महत्व छ । यद्यपि चीनको कम्युनिस्ट पार्टीसित हाम्रो मतभेद छ कतिपय कुरामा । तैपनि चीनको राष्ट्रपति नेपालमा आउँदा कतिपय सम्झौता भएका छन्, त्यो काम राम्रो गरे भन्ठान्छु मैले । चिनियाँ राष्ट्रपतिले पनि भने– सत्ता मात्रै कब्जा गरेर हुँदैन, जनताको मन जित्नु पर्छ । मन जित्न जनताका दैनिक आवश्यकता, पीडाको समाधान गर्नुपर्छ । यसरी उनीहरूले अप्रत्यक्ष रूपले सुझावै दिए । त्यसकारण चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण उपयोगी छ । सकारात्मक रूपमा लिनुपर्छ । त्यसमा उनीहरूले अलिकता गौरव गर्ने ठाउँ रह्यो नै ।

० इन्डो–प्यासिफिक रणनीति के हो ?
– इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत अमेरिकी साम्राज्यवादले एसियन मुलुकलाई आफ्नो सैनिक क्यापमा सामेल गर्ने योजना छ । बिम्स्टेकको नाममा सैनिक क्याम्पमा सामेल गरेर सार्कलाई ओझेल पार्ने खेल भारतीय साम्राज्यवादले खेलिरहेको छ । अहिलेसम्म भारतीय आँखाबाट दक्षिण–पूर्वी एसियालाई हेर्ने अमेरिकी सिलसिला थियो, पृष्ठभूमि थियो । नयाँ सन्दर्भमा चीनसँग अमेरिकाको जुन व्यापारिक द्वन्द्व चलिराखेको छ, त्यसमा चीनलाई ठेगान लगाउन पनि एसियन मुलुकमा अमेरिकी साम्राज्यवादले आफ्नो सैनिक गठबन्धन वा उपस्थिति दह्रो गराउन चाहन्छ । चीन विरोधी अभियानमा नेपाललाई अमेरिकी मोहरा बनाउने योजना छ । हाम्रो सरकारले त्यसको विरोध गर्नुपर्छ । त्यस खेलमा हामी फस्नु हुँदैन । यद्यपि त्यो सैन्य रणनीति होइन भनेर प्रधानमन्त्रीको भनाइ आएको छ । तर हामीलाई महशुस छ– अमेरिकी साम्राज्यवादले एसियन मुलुकलाई आफ्नो पकडभित्र राख्न चाहान्छ ।

० सरकार समाजवाद र समृद्धिको पक्षमा काम गरिरहेका छौँ भन्ने दावी गरिरहेको छ । यो सत्य हो कि होइन ?
– दावी गर्नु एउटा कुरा हो । त्यसको परिणाम दिनु अर्काे कुरा हो । पञ्चायती शासकले शोषणविहीन समाज सिर्जना गर्दै छौँ भन्थे । आखिर राष्ट्रको समृद्धि, विकासलाई काम गर्ने भनेरै हो नि जनताले दुईतिहाइ बहुमत दिएको । त्यही गरोस् भनेर जनताले भरोसा गरेका हुन् । त्यो नगरेको हुनाले नै हामीले आलोचना गर्नुपरेको हो; विरोध गर्नुपरेको छ, दबाब दिनुपरेको छ, भण्डाफोर गर्नुपरेको छ । अपेक्षाअनुसार गर्न नसकेरै हो, नत्र जनतामा यति धेरै विरोध, असन्तोष आउने थिएन ।

० स्थिति कस्तो छ भने सरकारको विरोध गर्दा प्रतिगामीलाई मद्दत पुग्ने, सरकारले गरेका गलत कुरा चुपचाप सहन पनि नसक्ने । यस्तो अवस्थामा तपाईहरूको भूमिका कस्तो हुन्छ ?
– अहिले एकथरिमा यो व्यवस्थालाई भताभुङ्ग पार्नुपर्छ भन्ने विचार छ । त्यो विचार मूलतः साम्राज्यवादीसित र दरबारियासित मिल्छ । यो सरकार भत्काएर हामीले नयाँ जनवादी सरकार स्थापना गर्न सक्नुपर्छ । त्यसकारण यसको विरोध गर्नु, भण्डाफोर गर्नु र यसलाई भत्काएर यो भन्दा पनि खराब सरकार, सैनिक सरकार, साम्राज्यवादीको सरकार, कठपुतली सरकार—घुमाउरो तरिकाले खोजेको त्यही हो । क्रान्तिकारी विचारको नाउँमा यसलाई ध्वस्त पार्नुुपर्छ, यसलाई सिध्याइहाल्नु पर्छ भन्ने कुरा—त्यो भाषा साम्राज्यवादीसँग मिल्छ । जानअञ्जानमा क्रान्तिकारिताको प्रदर्शन गरेर जुन कुरा आएको छ, त्यसले परिपक्व राजनीतिको प्रतिनिधित्व गर्दैन ।

अहिले पनि सरकार चलाएकाहरू निम्न पुँजीपति वर्गका मान्छे हुन् । अहिले पनि यिनीहरू ढुलमूल छन्, साम्राज्यवादी, विस्तारवादप्रति । निर्भिकतासाथ उभिन सकिराखेका छैनन् । तैपनि यिनीहरू गणतन्त्रको पक्षमा छन् । धर्म निरपेक्षताको पक्षमा छन् । भारतीय साम्राज्यवाद, युरोपीयनले संविधान संशोधन गराएर उनीहरूमाथि आफ्नो आकाङ्क्षा पूरा गर्न दबाब दिइराखेका छन् । अहिले यिनीहरू जुनसुकै कारणले भए पनि केही धेरैथोरै अडिएकै छन् । यस्तो स्थितिमा कार्यनैतिक रूपले यिनीहरूलाई अहिले भत्काइहाल्ने कुरा परिपक्व छैन । रिसको झोकमा यसलाई ढाल्नुपर्छ भन्नु साम्राज्यवादी सोच हो । यो पुनरुत्थानवादी, दरबारिया सोच हो । त्यो क्रान्तिकारीको नाउँमा आएको गलत नीति हो । जब यिनीहरू गणतन्त्र सिध्याउन थाल्छन्, धर्म निरपेक्षता सिध्याउन थाल्छन्, राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका बारेमा भारतीय साम्राज्यवादको प्रस्ताव स्वीकार गर्दै जान्छन्, युरोपियन–अमेरिकन साम्राज्यवादले ल्याएका प्रस्ताव स्वीकार गर्दै जान्छन्, त्यति बेला यस्तो सरकार राख्नुको औचित्य हुने थिएन ।

अहिले पनि यिनीहरू ढुलमूल छन्, अवसरवादी छन् र राष्ट्रको जुन यथार्थको प्रतिनिधित्व गर्न सक्नुपथ्र्याे, त्यो गर्न सकिराखेका छैनन् । त्यसकारण हामी यिनीहरूको आलोचना गर्छाै, भण्डाफोर गर्छौं । अहिले पनि यिनीहरूलाई हामीले प्रतिकृयावादी दुश्मनको क्याम्पमा हामीले राखेका छैनौँ । एकथरिले यिनीहरू दुश्मन भइसके, साम्राज्यवादका एजेन्ट भइसके, साम्राज्यवादले जे जे भन्छ, त्यही त्यही गर्छन् भनेर त्यसखालको चर्चा गर्छन् । यो एउटा हावाजस्तो कुरा हो । त्यस्तो कच्चा काम गर्नु हुँदैन । यिनीहरूका जुन गल्ती–कमजोरी छन्, त्यसलाई सुधार्न हामीले दबाब दिनुपर्छ, भण्डाफोर गर्नुपर्छ । त्यसमा हामी डराउने कुरा हुन्न ।

हामीले उनीहरूलाई अहिले मित्रशक्ति भनेका छौँ । निम्न पुँजीवादी वर्गका मान्छेहरूको यस्तै ढुलमूल चरित्र हुन्छ । अवसरवादी चरित्र हुन्छ । निम्न पुँजीपति वर्गबाट आएका मान्छेको जुन चरित्र हुन्छ, आम रूपमा नेकपाको चरित्र त्यही हो । दबाब पर्यो भने उनीहरू जनताको पक्षमा धेरैथोरै काम गर्छन् । साम्राज्यवादी र प्रतिकृयावादीको दबाब परिराख्यो भने त्यता पनि काम गर्छन् । यसरी यिनीहरू ढुलमूल हुन्छन् । त्यसैले गर्दा जनतामा उनीहरूप्रति अविश्वास बढिराखेको छ । यो असन्तुष्टिमाथि टेकेर यिनीहरूलाई सकेसम्म छिट्टै सिध्याउन प्रतिगामी, साम्राज्यवादी लागिराखेका छन् । हामी त्यसमा प्रष्ट हुनुपर्दछ । यसलाई सिध्याएर अर्काे यो भन्दा उत्कृष्ट सरकार स्थापना गर्न सकिने भए यस्तो गर्न हामी डराउनु हुँदैनथ्यो । तर अहिले त्यस्तो स्थिति छैन । जस्तो पञ्चायती व्यवस्थाको विरोध गर्दा राजनीतिक पार्टी आए घुस, भ्रष्टाचार, बदमासी हुन्छ, बरु अहिले ठिकै छ, पार्टीहरू छैनन् भन्ने पनि थिए । तर हामीले लगातार शिक्षा दिएपछि जनताको चेतनामा विकास भयो ।बहुदलीय व्यवस्था आयो । मात्रात्मक परिवर्तन भयो । त्यसो भएको हुनाले विशुद्ध यान्त्रिक तरिकाले उनीहरूलाई खतम पार्नुपर्छ भन्नु साम्राज्यवादी सोच, पुनरुत्थानवादी सोच हो । त्योसँग हाम्रो पार्टी सहमत छैन ।

० अहिले बाबुराम भट्टराई, उपेन्द्र यादव त एक भइसके । उनीहरूले मधेशवादीसँग पनि एकता गर्ने कुरा छ । हाम्रो माग पूरा भएन भने सरकार छोड्छाँै भन्ने कुरा पनि गरिरहेका छन् । अब त्यो दबाबमा परेर सरकारले संविधान संशोधन गर्ने सम्भावना कत्तिको देख्नु हुन्छ ?
– त्यो दबाब आजदेखि हैन, डेढ वर्षदेखि परिराखेको छ । भारतको प्रतिनिधित्व गर्ने, उसको स्वार्थमा काम गर्ने केही औलामा गन्ने व्यक्ति हुन्थे पहिले पहिले । अहिले त सङ्गठित पार्टी राजपाजस्तो पार्टी छ । त्यस्तै अरू पनि मिसिन आइराखेका छन् । त्यसैले भारतीय साम्राज्यवादलाई नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई विखण्डन गरेर कालान्तरमा नेपाललाई सिक्किम बनाउने अभियानमा छ । त्यो अभियान चलाउने शक्ति उनीहरूसँग छैन् । त्यसकारण त्यसमा धेरैथोरै थपथाप यो समाजवादी पार्टी र अरू त्यहाँ मिसिएकाले पनि गर्ने भए । राजपासँग पार्टीएकता गरेर उनीहरूले भारतीय साम्राज्यवादको चाहना पूरा गरिदिनै नै हो । नेपाली जनता त्यसमा स्पष्ट भए हुन्छ ।

० अन्तमा छुटेका कुराहरू छन् कि ?
– कतिपय मान्छेहरूले गणतन्त्रमाथि खतराको हल्ला फिजिएको मात्रै हो, केही हुन्न भनेर जनतालाई भ्रम पारिराखेका छन् । वास्तवमा गणतन्त्रमाथि खतरा नभइकन हामीले कृत्रिम रूपले यस्तो कुरा गरेका छैनौँ । म नेपाली जनतालाई अहिले पनि भन्छु– गणतन्त्रको दुरूपयोग गर्ने कुरा बेग्लै हो । तर गणतन्त्र हामीले सयौँ वर्षसम्म लडेर लिएको हो । यसको रक्षाको लागि हामीले अहिले पनि सङ्घर्ष गर्नुपर्छ । धर्म निरपेक्षताको त्यस्तै हो । सङ्घीयताको आवरणमा देशीविदेशी शक्तिहरू नेपालमा चलखेल गरिराखेका छन् । त्यसैले सङ्घीयताको खारेजीको विकल्प नेपाली जनतासामु अर्काे छैन । प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा एकात्मक नेपालको विकल्प सङ्घीयता हुँदै हैन ।

छोटै समयमा सङ्घीय प्रणालीले जनताको आर्थिक शोषण गर्न थालेको छ । यी सबै कारणले जनतामा सङ्घीयताप्रति वितृष्णा पैदा भइराखेको छ । त्यसैले सङ्घीयताको खारेजी, महङ्गी, भ्रष्टाचारको विरुद्धमा हाम्रो पार्टीले कार्यक्रम बनाएर जनतामाझ आइराखेको छ । त्यसमा सबै देशभक्त जनताले साथ दिनुस् । नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता रक्षाका लागि सत्तामा बस्नेलाई दबाब दिइराखौँ । महङ्गी, भ्रष्टाचार नियन्त्रण गर्न सरकारमाथि दबाब दिऊँ । सङ्घीयता जति लामो समयसम्म टिकाएर राख्छौँ, उति देशका लागि खतरा छ । राष्ट्रियता, सार्वभौमिकता र अखण्डतासामु खतरा छ । त्यसकारण सङ्घीयता विरोधी आन्दोलनमा हाम्रो पार्टीलाई जनताले साथ दिनुपर्छ । प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा एकात्मक प्रणाली हाम्रो आवश्यकता हो, सङ्घीयता हुँदै हुन्न । यसमा नेपाली जनता स्पष्टतः उभिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार