जनताले रगतसँग साटेर ल्याएको गणतन्त्र समाप्त हुने खतरा : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गणतन्त्र स्थापना भएको १३ वर्षपछि पनि यसको संस्थागत विकास नभएको भन्दै चिन्ता व्यक्त गरेको छ । जनताले लामो समयदेखि गरेको संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र समाप्त हुने खतरा पैदा भएको राजमोले जनाएको छ ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र स्थापना पछिपनि देशमा भइरहेको अस्थिरता र स्वेच्छाचारिताका कारण प्रतिगामी तथा साम्राज्यवादी शक्तिहरु उत्साहित बनेको र लोकतान्त्रिक गणतन्त्र समाप्त हुने खतरा पैदा भएको बताउनुभएको छ ।

सर्वोच्च अदालतले गरेको निर्णयलाई उपेक्षा गर्दै प्रधानमन्त्री ओलीको पुनः संसद विघटन गर्ने असंवैधानिक, अप्रजातान्त्रिक, स्वेच्छाचारी कार्यशैली र कार्यविधिले देशमा प्रतिगमनको स्थितिलाई झन् बलियो बनाउँदै लगेको राजमोको ठहर छ ।

यस्तो छ अध्यक्ष केसीद्वारा जारी वक्तव्य
‘नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षको परिणामस्वरुप नेपालमा गणतन्त्रान्त्रिक युगको सुरुवात भएको थियो । विभिन्न जनसंघर्ष र जनआन्दोलनको ठोस उपलब्धिको रुपमा नेपालमा गणतन्त्रले स्थान लिएको थियो । गणतन्त्र दिवसको अवसरमा हामीले यसको संस्थागत विकासमाथि जोड दिँदै शुभकामना व्यक्त गर्दछौँ ।

नेपालमा गणतन्त्र युगका १३ वर्ष बितेका छन् । बितेका ती वर्षहरू नेपाली राजनीतिका अस्थिरताका वर्ष बन्न पुगेका छन् । विभिन्न उतारचढावको परिस्थिति बीचबाट नेपालमा संविधान जारी भएर विभिन्न तहका चुनाव भई नयाँ राजनीतिक प्रक्रियाको थालनी भएको भएपनि नेपाली जनताको चाहना बमोजिम मुलुकले गति लिन सकेन । संसदमा भण्डै दुई तिहाई बहुमत भएको नेकपा विभाजित भएको छ र त्यसको असर देशको सम्पूर्ण राजनीतिमाथि परेको छ । त्यसको असर सर्वप्रथम प्रधानमन्त्री ओली र उनको सरकारको स्वेच्छाचारी, अधिनायकवादी, अप्रजातान्त्रिक र असंवैधानिक कार्यशैली र कार्यविधिको रुपमा अगाडि आएको थियो ।

त्यस प्रकारको कार्यशैली र कार्यविधिका कारण प्रधानमन्त्री ओलीले संसदको विघटन गर्ने कार्य गरी प्रतिगमनलाई अगाडि बढाउन पुगेका थिए। संसद पुनस्र्थापना सम्बन्धी सर्वोच्च अदालतले गरेको निर्णयलाई उपेक्षा गर्दै प्रधानमन्त्री ओलीको पुनः संसद विघटन गर्ने असंवैधानिक, अप्रजातान्त्रिक, स्वेच्छाचारी कार्यशैली र कार्यविधिले देशमा प्रतिगमनको स्थितिलाई झन् बलियो बनाउँदै लगेको छ । यसरी आज एकातिर, ओली सरकारको त्यो कार्यबाट प्रतिगमनकारी तथा साम्राज्यवादी शक्तिहरु उत्साहित भएका छन् भने अर्कातिर जनताले रगतसँग साटेर हासिल गरेको गणतन्त्र र जनआन्दोलनका अन्य उपलब्धि समाप्त हुने खतरा पैदा भएको छ ।

यो अवस्थामा नेपाली जनताले अग्रगमनकारी भूमिका खेल्दै स्वेच्छाचारी, असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादका विरुद्ध संघर्ष गर्दै प्रतिगमनविरोधी आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नहुने कुरा स्पष्ट छ । जनशक्तिले नै अग्रमनका विरुद्धमा भएको प्रतिगमनलाई परास्त गर्न सक्ने छ भन्ने कुरामा हामीले पूरा विश्वास गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार