जनताले राजमोलाई वैकल्पिक शक्तिका रुपमा हेरेका छन्ः उपाध्यक्ष खनाल

अर्घाखाँची । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनालले राष्ट्रिय जनमोर्चाप्रति आम नागरिकले ठुलो भरोसा गरेको बताउनुभएको छ । राजमोले सञ्चालन गरेको संगठनात्मक अभियानका क्रममा अर्घाखाँचीमा रहनुभएका खनालले जनताले राजमोलाई अवको विकल्पका रुपमा हेरिरहेको बताउनुभयो ।

आइतबार युगदर्शनसँग कुरा गर्दै खनालले भन्नुभयो, ‘हामी जहाँ जहाँ पुगेका छौं, सबै ठाउँमा जनताले राष्ट्रिय जनमोर्चा प्रति ठुलो भरोसा राखेको पायौं । जनताले राजमोलाई वैकल्पिक शक्तिका रुपमा हेरेका छन् ।’

उहाँले सत्ता सञ्चालन गरिरहेको नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेससँग जनता दिक्क भएको बताउनुभयो । ‘नेकपा र कांग्रेस भित्रको किचलोकाका कारण जनता मात्रंै होइन, तिनै पार्टीका तल्लो तहका कार्यकर्ता समेत दिक्क छन्’ उहाँले भन्नुभयो, ‘नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले जनताका पक्षमा लगातार गर्दै आएको संघर्ष र उच्च छवीका कारण जनताले राजमोप्रति नै आडभरोसा देखाएका छन् ।’

नेता खनालले आफू जनताले चाहेअनुसार राजमोका नेता कार्यकर्ताहरु फिल्डमा अझै खटिन नसकेको स्वीकार गर्नुभयो । स्थानीय जनतासँग भेटघाट गर्ने क्रममा जहाँ गएपनि राजमोका कार्यकर्ताले स्वागत पाउने गरेको र जनता आकर्षित भइरहेको भन्दै उहाँले अझै धेरै फिल्डमा खटिनुपर्ने र जनतालाई अझै गोलबन्द पार्न प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाले फागुन महिनाभर देशव्यापी रुपमा संगठनात्मक अभियान सञ्चालन गरिरहेको छ । सो अभियानलाई सफल पार्न प्रवासबाट उपाध्यक्ष खनालसहित थुप्रै नेता कार्यकर्ताहरु अहिले विभिन्न जिल्लामा खटिएका छन् ।

अभियानका क्रममा अर्घाखाँचीमा तिब्ररुपमा सदस्यता वितरण र संगठन निर्माण भइरहेको छ । जिल्लाका ६ वटा स्थानीय तहमा १० वटा टोली निर्माण गरेर संगठन निर्माण अभियानलाई तिब्रता दिइएको छ ।

जिल्लाको भूमिकास्थान, सन्धिखर्क र सितगंगा नगरपालिका तथा, छत्रदेव, पाणिनी र मालारानी गाउँपालिकाका हरेक वडामा राजमो पुगेको छ । जिल्लास्तरमा अखिल नेपाल किसान संघका अध्यक्ष भैरव रेग्मी, राजमोका पूर्व केन्द्रीय सदस्य शेरबहादुर बिसी, मूलप्रवाहका उपाध्यक्ष कपिल खनाल लगायतका नेताहरुले अभियानको नेतृत्व गरिरहनुभएको छ ।

त्यस क्रममा सितगंगा नगरपालिकाको वडा नं २, ७ र ९ मा वडा समितिहरु गठन भएका छन् । वडा नं २ मा आयोजित भेलाले कमला विसीको अध्यक्षतामा वडा समिति गठन गरेको छ । समितिको उपाध्ययक्षमा उमाकला बञ्जाडे, सचिव हुमकला विसी र कोषाध्यक्ष लालबहादुर क्षेत्री, शारदा अधिकारी, राधा क्षेत्री, शान्ता क्षेत्री र सरस्वती विसी रहनुभएको छ ।

यस्तै, वडा नं ७ मा गठन भएको वडा समितिमा अध्यक्ष पारुसिंह गुरुङ, सचिवमा चित्रबहादुर गाह र कोषाध्यक्षमा ओमबहादुर गाह रहनुभएको छ । यस्तै, सदस्यहरुमा तेजबहादुर घर्ती, हिमबहादुर भुसाल, कुलबहादुर दुर्कटा र नुमबहादुर रावल रहनुभएको छ ।

यसैगरी, वडा नं ७ मा विनोद वेल्वासेको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा भिमबहादुर विक, सचिव प्रेमबहादुर विक, सहसचिव माया रायमाझी र कोषाध्यक्षमा सचिता कामी तथा सदस्यहरुमा नेग बहादुर घर्ती र कमला कुँवर रहनुभएको छ । सितगंगामा आयोजित वडा तथा टोलका भेलाहरुमा मूलप्रवाहका उपाध्यक्ष कपिल खनाल, राजमो नेता यामलाल पोखरेल र गोविन्द थापाले प्रशिक्षण दिनुभएको थियो ।

यता, भूमिकास्थान नगरपालिकाको वडा नं ५ र ६ मा प्रशिक्षण भेला सम्पन्न भएको  छ । ति भेलालाई किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, राजमो नेताहरु शेरबहादुर विसी र गौपाल पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । शनिबार भूमिकास्थानको वडा नं ५ मा आयोजित भेलाको अध्यक्षता राजमो वडा समितिका अध्यक्ष मित्रलाल पोखरेल, सञ्चालन सचिव प्रकाश पौडेल र स्वागत सदस्य कृष्णप्रसाद वेलवासेले गर्नुभएको थियो ।

अर्घाखाँचीमा अहिलेसम्म राजमोले हजारौं सदस्यता वितरण गरिसकेको छ । अभियानकै क्रममा कैयौं व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गरिरहेको राजमो अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार