जनता हामीप्रति उत्साहित भएकाले चुनाव जितिन्छ नै

खिमविक्रम शाही, बागलुङ क्षेत्र नं. २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार

राजमोको बलियो सङ्गठनात्मक अवस्था रहेको क्षेत्रबाट वाम गठबन्धनको साझा उम्मेदवार बन्नुभएको छ । कस्तो महशुस भइरहेको छ ?

– खुशी छु र जिम्मेवारी थपिएको महशुस गरेको छ । हामीले गत चुनावमा पनि बागलुङमा समेत नेकपासित वाम गठबन्धन गरेका थियौँ । अहिले पनि मूलतः नेकपा र राजमोको माझमा चुनावी कार्यगत एकता भएको छ । यस क्षेत्रको प्रदेशसभाको चुनावलाई पनि जसरी राष्ट्रिय जनमोर्चा र नेकपाले राष्ट्रिय महत्व प्रदान गरेका छन्, त्यसबाट म उत्साहित पनि छु । वास्तवमा वाम गठबन्धनको औचित्य अहिले पनि छ । देशको तात्कालिक परिस्थितिमा वामपन्थीका माझको कार्यगत एकताबाट धेरै काम गर्न सकिने अवस्था म देख्दछु । त्यसकारण बागलुङको यस प्रदेशसभा चुनावको सवाललाई दुवै पार्टीहरूले जसरी महत्व दिएका छन्, त्यसको बेग्लै औचित्यता छ भन्ने मलाई लाग्छ ।

० चुनावी प्रचार प्रसार अभियान कसरी सञ्चालन भइरहेको छ ?

– यतिखेर जनभेटघाटकार्यक्रम सञ्चालन भइरहेको छ । जसरी चुनावी कार्यगत एकता भएको छ, त्यहीअनुसार यसपटकको जनभेटघाटमा पनि दुवै दलका नेता÷कार्यकर्ताहरूको सहभागिता रहेको छ । अझै यी दुई दलका अतिरिक्त मेरो उम्मेदवारीलाई अरूले सहयोग, समर्थन गर्ने निश्चित भएको यहाँहरूलाई थाहै छ । यसरी चुनावी प्रचार प्रसार अभियान उत्साहजनक रूपमा अगाडि बढिरहेको मैले पाएको छु । हामीले प्रदेशसभाका सबै वडाहरूसम्म पुग्ने योजना बनाएका छौँ । समयाभावका कारणले कति सम्भव हुन्छ ? त्यो त अहिले नै केही भन्न सकिन्न । फेरि पनि म आफै सबै वडामा, सम्भव भएसम्म त प्रत्येक गाउँका जनतामाझ पुगेर मेरो उम्मेदवारी, राष्ट्रिय जनमोर्चाको नीति, कार्यक्रम तथा सिङ्गो वामपन्थी कार्यगत एकताको बारेमा आफ्नो पक्ष राख्ने प्रयास गर्ने छु । कुनै कारणले धेरैभन्दा धेरै स्थानमा म पुग्न सकिनँ भने पनि हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा र नेकपाका नेता÷कार्यकर्ताहरू तलैसम्म पुग्नुहुने छ र हाम्रा नीति तथा कार्यक्रम जनतामा माझमा पु¥याउनेहुने छ भन्ने मैले आशा गरेको छु । यसरी हामीले अहिलेदेखि नै उत्साहजनक चुनावी प्रचारलाई निरन्तरता दिएका छौँ ।

० गठबन्धनको सहयोगी दल नेकपाका नेता÷कार्यकर्ताहरूबाट कत्तिको सहयोग मिलेको छ ?

– सहयोग मिलेकै छ र आगामी दिनमा पनि सहयोग मिल्नेमा पूर्ण आशावादी छु । अहिलेसम्मको अभियानले पनि त्यसखालको स्पष्ट सङ्केत गरिसकेको छ । वास्तवमा मेरो उम्मेदवारी संयुक्त भएकाले यो कुनै पार्टीविशेषसित मात्र सम्बन्धित विषय रहेन । हामीले बागलुङको प्रदेशसभा चुनावमा नेकपाको समर्थन पाएका छौँ भने हामीले पनि देशका अन्य स्थानको उपचुनावमा नेकपालाई सहयोग, समर्थन गरिरहेका छौँ । त्यसकारण यो कार्यगत एकतामा पारस्परिक सहयोग सामान्य विशेषता बन्न पुगेको छ । सामान्यतः अर्को पार्टीको उम्मेदवारी भएका कारणले चुनावी अभियानमा वा मतदान गर्दा केही अरुचि, असहयोग हुन्छ कि भन्ने पनि यहाँहरूलाई लाग्न सक्ला । तर बागलुङको हकमा त्यस्तो हुने छैनभन्ने मैले अपेक्षा गरेको छु । प्रत्येक पार्टीमा पक्कै पनि मभन्दा योग्य उम्मेदवारहरू हुनुहुन्छ । हाम्रै पार्टीमा पनि त्यस्तो अवस्था होला । तर पार्टीको निर्णय सर्वोपरि हुन्छ । अझै मलाई त हाम्रो पार्टीले मात्र होइन, नेकपासहितको वामपन्थी गठबन्धनले समर्थन गरेको हुनाले एकखालको साझा स्प्रिट कायम भएको देख्छु । यो स्प्रिटले मेरो विजयसम्म निरन्तरता पाउनेमा म ढुक्क छु ।

तपाईले चुनाव जित्ने आधार के हुन् ? कति मतअन्तरले जितिन्छ भन्ने लागेको छ ?

– प्रारम्भमा नै आधारभूत वा सामान्य विषय राखौँ । प्रथमतः यस क्षेत्रमा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको बलियो सङ्गठनात्मक आधार छ । त्यसमाथि वामपन्थी गठबन्धन पनि भएको छ । त्यसैले अत्यधिक मतले हामीले जित्ने निश्चितजस्तै छ । प्रथम– यस क्षेत्रमा राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक आधार बलियो भएकाले, द्वितीय– हाम्रो सहकार्य अर्को बलियो सङ्गठनात्मक आधार भएको पार्टी नेकपासित भएकाले, तृतीय– जनता अझै पनि वाम सहकार्यप्रति उत्साहित भएकाले—यी तीनवटा कारणहरूले गर्दा हामीले चुनाव जित्ने छौँ भन्ने लागेको छ । खासगरी जनता हामीप्रति उत्साहित भएकाले नै चुनाव जितिन्छ भन्ने लाग्न थालेको छ । जहाँसम्म कति मतअन्तर जितिन्छ भन्ने प्रश्न छ, त्यो त अहिले नै किटानी गरेर भन्न नसकिएला । फेरि पनि जनताको हामीप्रतिको सद्भाव एकातिर र अर्कातिर वाम गठबन्धनका कारणले गर्दा हामीले प्रष्ट बहुमत पाउनेमा कुनै शङ्का छैन जस्तो लाग्दछ ।

संसदीय व्यवस्थामा चुनाव प्रचार निकै खर्चिलो हुन्छ, खर्चको व्यवस्थापन कसरी गर्नुभएको छ ?

– यो सत्य हो– संसदीय व्यवस्थामा चुनाव प्रचार प्रसार निकै खर्चिलो हुन्छ, भडकिलो पनि हुन्छ । फेरि पनि जहाँ समस्या, त्यहाँ समाधानको उपाय पनि खोज्नैपर्दछ । खासगरी हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा चुनावी खर्च व्यवस्थापन गर्न लागिपरेको छ । त्यसका लागि कैयौँ आर्थिक योजनाहरू पनि बनेका छन् । त्यसैगरी साथीभाइ र आफन्तको पनि सहयोग उपलब्ध भएको छ ।मलाई लाग्छ, आर्थिक समस्या त्यति ठुलो समस्याको रूपमा नरहला । खासगरी जनताको समर्थन मुख्य कुरा हो । जहाँ जनताको सहयोग, समर्थन, सद्भाव प्राप्त हुन्छ, त्यहाँ खर्च व्यवस्थापनको समस्या ठुलो अप्ठेरो बन्ने छैन । एक हदसम्म जनताले नै मेरो चुनावको खर्चको एउटा हिस्सा व्यवस्थापन गर्ने छन् । त्यसका साथै हाम्रो पार्टीले संस्थागत रूपमा ठोस आर्थिक योजना बनाएको छ । त्यसैले चुनाव प्रसारसामु जुन आर्थिक समस्या रहन्छन्, त्यसलाई सामना गरेर नै जाने छौँ र यो चुनावमा खर्चका कारणले हाम्रो विजय अभियान प्रभावित नहुने ग्यारेन्टी हामी गरिरहेका छौँ ।

० प्रदेशसभामा निर्वाचित भएपछि तपाईले संसदमा कसरी भूमिका खेल्ने योजना बनाउनुभएको छ ?

– स्वाभाविक रूपमा नै चुनाव जितेर गएपछि जनताको अपेक्षा बढेर जान्छ । समस्याको चाङमा बसिरहेका कारण वास्तवमा जनताका धेरै अपेक्षा हुन्छन् । हाम्रो देश अहिले पनि अति कम विकसित मुलुकभित्र परेकाले हाम्रासामु समस्याका डङ्गुर छन् । त्यसमाथि हाम्रो चुनावी क्षेत्र भौगोलिक रूपमा विकट छ । हामीले भौतिक निर्माणकै क्षेत्रमा ठुलो मात्रामा बजेट खर्च गर्नुपर्ने आवश्यकता छ । त्यसका साथै अन्य विकास निर्माणका कामहरू पनि गर्नु छ । मानव वृत्ति विकासको क्षेत्रमा पनि काम गर्नु छ अथवा शिक्षा, तालिम वा सिप विकासको क्षेत्रमा काम गर्नुपर्ने छ । त्यसका अतिरिक्त स्वास्थ्यको क्षेत्र त्यत्तिकै जटिल छ । कृषिपेशाको अत्याधिक चाप रहेको यस क्षेत्रमा कृषिको यान्त्रीकरण, वैज्ञानिकीकरण र आधुनिकीकरणका लागि पनि काम गर्नुपर्ने छ, जसले गर्दा जनताले खालि गुजाराका लागि मात्र नभएर केही बचत हुनेगरी कृषिक्षेत्रमा काम गर्न सकुन् । एवम् प्रकारले यसै निर्वाचन क्षेत्रमा थोरै भए पनि रोजगारीको अवसर सृजना गर्न पाए उत्तम हुन्थ्यो । यसरी जनताका अपेक्षा जति धेरै छन्, मेरा व्यक्तिगत योजनाहरू पनि त्यत्तिकै छन् । तर ती सबै काम मैले एक्लैले आफूखुशी र आगमी दुई÷अढाइ वर्षमा गर्न सक्ने विषय पक्कै पनि होइन । त्यसैले अन्तिम वा निर्णायक रूपमा भन्नुपर्दा पार्टी–सङ्गठनको निर्देशन अनुसार प्रदेश संसदमा जनपक्षीय योजना बनाई भूमिका खेल्ने प्रयास गर्ने छु ।

०टेकबहादुर घर्तीको क्षेत्रबाट निर्वाचनमा सामेल हुनुहुन्छ । चुनाव जितेपछि उहाँका एजेन्डा र सपनालाई न्याय गर्न सक्छु भन्ने लाग्छ ?

– पक्कै पनि लाग्छ । हामी सहयोद्धा कामरेड थियौँ । सँगै यस क्षेत्रमा राष्ट्रिय जनमोर्चाको राजनीतिलाई निरन्तर अगाडि बढाइरहेका थियौँ । अकस्मात उहाँको निधन हुन पुग्दा राष्ट्रिय जनमोर्चालाई ठुलो क्षति पुगेको छ । त्यसका साथै उहाँले यस क्षेत्रका लागि जति पनि काम गर्ने योजनाहरू बनाउनुभएको थियो, ती सबै अधुरा हुन पुगेका छन् । अब चुनाव जितेपछिस्वाभाविक रूपमा नै मैले का. टेकबहादुर घर्तीको एजेन्डा र सपनालाई साकार पार्ने प्रयास गर्ने छु । अर्कातिर, यस क्षेत्रको विकास र समृद्धिको कुरा राष्ट्रिय जनमोर्चाको नीति र कार्यक्रम पनि हो । उहाँले जे जति काम गर्न सक्नुभयो, त्यसलाई अगाडि बढाउने स्वाभाविक जिम्मेवारी मेरो काँधमा आइपर्ने छ । मैले उहाँले सुरु गरेका कार्ययोजना र पार्टीले यस क्षेत्रको जनताका लागि निश्चित गर्ने सबै योजनालाई पूरा गर्न अधिकतम कोशिस गर्ने छु । यस कार्यमा मेरो पार्टी राष्ट्रिय जनमोर्चाको साथ त छँदै छ ।

० पार्टीले देशैभरि सङ्घीयता विरुद्ध अभियान चलाइरहेको छ । यही व्यवस्थाअन्तर्गत निर्वाचित भएर जाँदा सङ्घीयता विरुद्धको तपाईको आवाज कमजोर त बन्दैन ?

– बन्ने छैन र हामी बन्न दिने छैनौँ । हामीले पहिलेदेखि नै भन्दै आइरहेका छौँ, हाम्रोजस्तो भौगोलिक रूपमा सानो, विकास निर्माणमा पिछडिएको, आर्थिक रूपमा समेत पिछडिएको, जात÷जातिहरू छरिएर रहेको अवस्था रहेको र भारतीय साम्राज्यवादले नेपाली राष्ट्रियता, सार्वभौमिकता र अखण्डता समाप्त लगातार र योजनाबद्ध प्रकारले काम गरिरहेको देशमा सङ्घीयता अनावश्यक र अनुचित छ । सबैलाई थाहा छ, सङ्घीता सार्वभौमसत्ता विभाजन गर्ने शासन प्रणाली हो । यस्तो शासन प्रणाली हाम्रोजस्तो देशका लागि अनुपयुक्त छ भन्ने प्रष्टै छ । त्यसकारण हामीले जतिबेलादेखि देशलाई जबर्जस्ती सङ्घीयतामा हिँडाउन थालियो, तबदेखि नै हामीले यसको विरोधमा आवाज उठाइरहेका छौँ । हामीले त नारा नै लगाइरहेका छौँ– ‘सङ्घीयता चाहिँदैन, देश टुक्राउन पाइँदैन ।’ हाम्रो यो नाराको अन्तर्य हो– जबर्जस्ती हामी कहाँ लादिएको सङ्घीयताले हाम्रो देश नै टुक्रिने छ । त्यसकारण जतिसक्यो चाँडो सङ्घीय प्रणालीलाई खारेज गर्नुपर्दछ ।

जहाँसम्म प्रदेशसभामा चुनाव जितेर जाँदा सङ्घीयता विरुद्धको हाम्रो आवाज कमजोर पर्दछ कि भन्ने यहाँहरूको आशङ्का छ, त्यसमा ढुक्क हुनुस्, हामी त्यसो हुन दिनेछैनौँ । सबैलाई थाहा छ, हामीले लामो समयदेखि संसदीय निर्वाचनमा भाग लिइरहेका छौँ, तर त्यसकारणले हामी संसदवादी भएका छैनौँ नि । हामीले संसदीय व्यवस्थालाई रणनीतिक रूपमा स्वीकार गरेका छैनौँ । ठिक त्यही कुरा प्रदेशसभा चुनावको बारेमा पनि सत्य हो । प्रदेशसभाको चुनावमा भाग लिएका कारणले हाम्रो सङ्घीयताको विरोध वा सङ्घीयता विरोधी अभियान कमजोर पर्ने छैन । सङ्घीयता खारेज नभएसम्म हाम्रो अभियान निरन्तर अगाडि बढिरहने छ । अर्कातिर, देशलाई प्रशासकीय हिसाबले प्रदेशमा विभाजन गर्नेबारे राष्ट्रिय जनमोर्चाको विमति छैन, हामीले खालि सङ्घीय एकाइको रूपमा प्रदेशलाई बनाइनु हुन्न भनेका हौँ । प्रशासकीय एकाइ वा समन्वयकारी भूमिका खेल्नेगरी प्रदेश गठनको हामीले विरोध गरेका छैनौँ । त्यसकारण पनि प्रदेशसभाको चुनावलाई हामी पूरै उपेक्षा गर्ने दृष्टिकोण राख्दैनौँ ।

राजमोको तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरूको भूमिका कस्तो लागिरहेको छ । त्यसलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला ?

– राम्रो लागिरहेको छ । हामीले गण्डकी प्रदेशमा दुई र ५ नं. प्रदेशमा एक सिट सांसद जितेका थियौँ । उहाँहरूको भूमिका सकारात्मक छ । उहाँहरूले आफ्नो क्षमताले भ्याएसम्म राम्रै काम गरिरहनुभएको छ । अर्कातिर, हाम्रो आफ्नै साधनश्रोतको पनि सीमा छ । हामीले प्रभावकारी ढङ्गले काम गर्नमा नीतिगत रूपमा केही समस्या छैन । फेरि पनि कतिपय प्राविधिक समस्याहरू हामीसँग छन् । त्यस्तै, खालि संसदबाट निर्णय भएर वा कानुन बनाएर मात्र हुँदैन, त्यसलाई कार्यान्वयन गर्न त्यहीअनुसारको दृष्टिकोण, योजना, साधनश्रोत र जनशक्ति चाहिन्छ । ती सबै पक्षहरूको समुचित सन्तुलन नभएको खण्डमा संसदमा निर्णय भएर पनि काम हुन सक्दैन । त्यसैले हाम्रा सांसदहरूले जुन काम गरिरहनुभएको छ, त्यो स्वागतयोग्य छ, सकारात्मक छ र अरू पार्टीको भन्दा स्वच्छ र निष्कलङ्कपूर्ण छ । यो अवस्थालाई हामीले कायम राख्नुपर्दछ । त्यसका साथै विद्यमान संरचनाभित्र विकास, निर्माणका लागि जेजति गर्न सकिन्छ, त्यति गर्दै जानुपर्दछ । हामी वर्तमान संसदीय व्यवस्थाको प्रतिपक्षी भएकाले सरकारका गलत नीति तथा कार्यक्रमको विरोध गर्ने कुरा त छँदै छ ।

० देशको अहिलेको राजनीतिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

– मुख्यतःगणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षामा जोड दिनुपर्ने अवस्था अहिले छ । किनभने यसकाघोर विरोधी प्रतिगामी शक्तिहरू पुनः सलबलाइरहेको अवस्था अहिले छ । आवरणमा हेर्दा देशमा नयाँ संविधान जारी भएको पनि चार वर्ष पुगिसकेको छ । संविधानमा गणतन्त्र, धर्म निरपेक्षता र समावेशिताजस्ता जनआन्दोलनका माग समावेश भएका छन् । त्यसका बाबजुद देशको आर्थिक, सामाजिक, सांस्कृतिक र सांस्कृतिक संरचनामा आमूल परिवर्तन भएको छैन । देश अहिले पनि अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थामा छ । उत्पादन सम्बन्ध अझै पनि अर्धसामन्ती रहेको कारणले २०६२–६३ सालको जनआन्दोलनका उपलब्धिहरू संस्थागत भइसकेका छैनन् । त्यहीकारणले गर्दा देशमा दुईतिहाइ बहुमतको वामपन्थी नेतृत्वको सरकार हुँदा पनि प्रतिगामी शक्तिहरूले टाउको उठाउने प्रयास गरिरहेका छन् । धर्म निरपेक्षताको विरुद्धमा देशलाई हिन्दु राष्ट्र बनाउने प्रयास भइरहेको छ । त्यसका साथै राजावादीजस्ता निरङ्कुशतावादी, गणतन्त्र विरोधीहरू गणतन्त्रको विरुद्धमा चलखेल गरिरहेका छन् । भारतीय साम्राज्यवादको नेतृत्वमा भारतीय जनता पार्टीजस्तो हिन्दुवादी सङ्गठन सत्तारूढ भएका कारणले देशमा यसखालको प्रतिगामी चलखेलको पक्षमा सन्तुलन कायम हुन सक्ने सम्भावना त्यत्तिकै छ । अर्कातिर, दुईतिहाइ बहुमतमा हुनुका बाबजुद सरकारले गर्नसक्ने जनपक्षीय कामसमेत गर्न नसकेका कारणले त्यसबाट तिनै प्रतिक्रियावादीहरूलाई सहयोग पुगिरहेको छ । यस्तो अवस्थामा सरकारको गलत नीतिको विरोध तथा भण्डाफोर गर्दै २०६२–६३ सालको जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्न आन्दोलनरत सबै राजनीतिक शक्तिहरूको ध्यान जानुपर्ने आवश्यकता छ ।

तपाईको राजनीतिक जीवन कहिले र कसरी सुरु भयो ? सङ्क्षेपमा बताइदिनुहोस् न ।

– म २०२७ सालमा बागलुङ जिल्लाको बोहरागाउँमा जन्मेको थिएँ । हिराबहादुर शाहीको प्रेरणामा मैले निरङ्कुश पञ्चायती कालरात्रीभित्रैबाट राजनीतिक जीवनको सुरुवात भएको थियो । ठोस रूपमा भन्नुपर्दा २०४० सालदेखि मैले विद्यार्थी सङ्गठन अखिल (छैठौँं) बाट राजनीतिक यात्रा सुरु गरेको थिएँ । त्यसका साथै मैले अखिल नेपाल युवक सङ्घका विभिन्न जिम्मेवारी पनि बहन गरिसकेको छु । हाल राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला समितिको सचिवालय सदस्यको रूपमा कार्यरत छु ।

अन्तमा हामीले सोध्न छुटेका केही विषय छन् कि ?

– त्यस्ता केही विषयहरू छुटेका छन्जस्तो लाग्दैन । फेरि पनि बागलुङ उपचुनावको विषयलाई युगदर्शन साप्ताहिकले जसरी कभरेज गरिरहनुभएको छ, त्यसप्रति धन्यवाद दिन चाहन्छु । हाम्रोजस्तो ग्रामीण परिवेश भएको चुनाव क्षेत्रका गतिविधिलाई राजधानीबाट प्रकाशित हुने युगदर्शन साप्ताहिकले महत्व दिएर प्रकाशन गर्नु हाम्रा लागि खुशीको विषय हो भन्ने लाग्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार