जनवादी केन्द्रीयता र अनुशासन

मोहनविक्रम सिंह

लेनिनले लेखेका छन्, एउटा कम्युनिस्ट पार्टीका लागि तीन वटा कुराहरूले सबैभन्दा बढी महत्व राख्दछन्ः प्रथम, सिद्धान्त, द्वितीय, राजनीतिक लाइन र तृतीय, सङ्गठनात्मक प्रणाली । यी तीन वटै तत्वहरूको महत्व क्रमिक रूपले प्रथम, द्वितीय र तृतीय रहेको छ । कम्युनिस्ट पार्टीको लागि सबैभन्दा प्राथमिक महत्वको विषय सिद्धान्त नै हो । त्यसपछि दोस्रो नम्बरमा राजनीतिक लाइन आउँछ । पहिलो र दोस्रो कुरा निश्चित भइसकेपछि तेस्रो प्राथमिक महत्वको कुरा सङ्गठनात्मक प्रणाली नै हो । सिद्धान्त र राजनीतिक लाइन सही भएपनि सङ्गठनात्मक प्रणाली सही र सुदृढ भएन भने तिनीहरूलाई (सिद्धान्त र राजनीतिलाई) ठोस र व्यवहारिक रूप दिनु सम्भव हुँदैन।

माक्र्सवादी–लेनिनवादी दर्शनको इतिहासमा सङ्गठनात्मक प्रणालीको विकासमा लेनिनको विशेष योगदान रहेको छ । सङ्गठनात्मक प्रणालीको विकासको क्रममा लेनिनले जनवादी केन्द्रीयताको सिद्धान्तलाई प्रतिपादन गरे र त्यसको आधारमा कम्युनिस्ट पार्टीलाई नयाँ प्रकारले सङ्गठित गर्नुपर्ने आवश्यकतामा जोड दिए । लेनिनवादी सङ्गठनात्मक विकासको क्रममा हामीले दुई वटा कुराहरू बुझ्नुपर्ने आवश्यकता छ । प्रथम, माक्र्स–एङ्गेल्सको समयमा सङ्गठन प्रणाली अन्य बुर्जुवा पार्टीहरूको जस्तो खुकुलो प्रकारको थियो । द्वितीय, पहिलेको त्यसप्रकारको सङ्गठन प्रणालीलाई बदलेर लेनिनवादी ढाँचामा लैजानको लागि लेनिनले आफ्नो जीवनभरि नै कडा सैद्धान्तिक र सङ्गठनात्मक सङ्घर्ष गर्नु परेको थियो । त्यो सङ्घर्ष मुख्य रूपले अराजकतावादी चिन्तनको विरुद्ध गर्नु परेको थियो । त्यसप्रकारको सङ्घर्षद्वारा नै लेनिनवादी सङ्गठनात्मक प्रणालीको सिद्धान्तको प्रतिपादन गरिएको थियो ।

लेनिनको समयमा नै र त्यसपछि पनि संसारभरका माक्र्सवादी लेनिनवादी पार्टीहरूले लेनिनवादी सङ्गठन प्रणाली वा जनवादी केन्द्रीयताका आधारमा पार्टीहरूलाई सङ्गठित गर्ने प्रणाली अपनाउँदै गए । तर लेनिनको कडा सङ्घर्षका कारणले लेनिनवादी सङ्गठनात्मक प्रणाली स्थापित भएको भएपनि त्यसपछि पनि संसारका कम्युनिस्ट पार्टीहरूले लगातार अराजकतावाद वा अनुशासनविहीनताका विरुद्ध सङ्घर्ष गरिरहनु पर्यो । सङ्घर्षको त्यसप्रकारको इतिहासबाट हाम्रो पार्टी पनि अपवाद रहेको छैन र गत ६ दशकको बिचमा हामीले लगातार त्यसप्रकारका प्रवृत्तिहरूका विरुद्ध सङ्घर्ष गर्दै आउनु परेको छ ।

लेनिनद्वारा प्रतिपादित सङ्गठनात्मक प्रणालीलाई स्तालिन र माओले अरू उच्च स्तरमा अगाडि बढाएका थिए । तर त्यो क्रममा पनि उनीहरूले अराजकतावादी र अनुशासनविहीन तत्वहरूका विरुद्ध कडा सङ्घर्ष गर्नु परेको थियो । त्यस सन्दर्भमा स्तालिनले अराजकतावाद वा समाजवाद भन्ने एउटा पुस्तक नै लेखेका छन् । त्यो पुस्तकमा उनले यो स्पष्ट गरेका छन् कि अराजकतावाद, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणसित मेल नखाने एउटा अधिभूतवादी चिन्तन हो ।

अराजकतावादबारे विचार गर्दा हामीले त्यसका दुई वटा स्रोतमाथि विचार गर्नुपर्ने आवश्यकता छ । प्रथम, सैद्धान्तिक स्रोत । द्वितीय, सामाजिक स्रोत । अराजकतावादको सैद्धान्तिक स्रोत वाकुनिनवाद हो । वाकुनिन नै अराजकतावादका संस्थापक थिएनन् र त्यो सिद्धान्तलाई प्रतिपादन गर्ने अरू पनि कैयौँ दार्शनिकहरू थिए । तिनीहरूमध्ये कैयौँ सुधारवादी प्रकारका थिए । तर वाकुनिनको अराजकतावाद क्रान्तिकारी प्रकारको थियो । त्यसैले अराजकतावादको इतिहासमा वाकुनिनले विशेष र महत्वपूर्ण स्थान राख्दछन् ।

अराजकतावादको सबैभन्दा बढी जोड स्वतन्त्रतामा छ । व्यक्तिको स्वतन्त्रतामा कुनैपनि प्रकारले आँच पु-याउने वा नियन्त्रण गर्ने कुराहरूलाई उनीहरूले विरोध गर्दछन् । त्यस सिलसिलामा उनीहरूले मुख्य रूपले राज्य, पुँजीवाद र धर्मले गर्ने नियन्त्रणको विरोधमा जोड दिन्छन् । उनीहरूको सोचाइ यो छ कि मानिस स्वभावले नै विवेकशील र सद्गुणहरूले सम्पन्न छ । त्यसकारण ऊ स्वयम् आफ्नोे वा सामुहिक रूपले समाजको व्यवस्था गर्न सफल हुन्छ । त्यसकारण उसमाथि बाहिरबाट कुनैपनि शक्तिद्धारा नियन्त्रण, सही र आवश्यक दुवै हुन्न । आफ्नोे त्यो मान्यताअनुसार उनीहरूले सबै प्रकारको केन्द्रीयताको विरोध गर्दछन् र स्वायत्ततामा बढी जोड दिन्छन् । त्यही क्रममा उनीहरूले समाजवादी क्रान्तिपछि मजदुर वर्गको सत्ता कायम गर्ने वा सर्वहाराको अधिनायकत्व कायम गर्ने माक्र्सवादी सिद्धान्तलाई पनि पुरै गलत बताएर त्यसको कडा विरोध गरे । त्यस सन्दर्भमा उनले (वाकुनिनले) योसम्म भनेका थिएः “हामीले माक्र्सवादको सिद्धान्तप्रति आफ्नोे गम्भीर बेरुचि …….. प्रकट गरिसकेका छौँ ।”

बास्तवमा प्रथम अन्तर्राष्ट्रियको समयमा माक्र्स र वाकुनिनको बिचमा तिव्र सङ्घर्ष चलेको थियो । उनको (वाकुनिनको) त्यसप्रकारको अराजकतावादी चिन्तनको स्वभाविक परिणाम यो पनि हुन्थ्यो कि उनले पार्टीमा केन्द्रीयता वा अनुशासन जस्तो कुनै कुरालाई स्वीकार गर्दैनथे, किनभने त्यसद्वारा व्यक्तिको स्वतन्त्रता वा स्वायत्ततामा नियन्त्रण हुन्थ्यो । त्यसप्रकारको सोचाइको असर विश्वको कम्युनिस्ट आन्दोलनमा बारम्बार पर्ने गरेको छ ।

अराजकतावादको अर्को स्रोत स्वयम् समाजमा नै विद्यमान छ । मानिस जन्मजात रूपमा नै अराजकतावादी प्रकारको हुन्छ । अराजकतावादी भन्नुको अर्थ हो, कुनै नियममा नबस्ने, कुनै अनुशासन पालना नगर्ने । भर्खर जन्मेको बच्चालाई हेर्ने हो भने त्यो कुरा प्रष्ट हुन्छ । उसले कुनै नियम पालना गर्दैन र उ अनुशासनमा पनि बस्दैन । उमेर छिप्पिदै गएपछि वा बुद्धि बढ्दै गएपछि नै उसले नियमहरू वा अनुशासनको पालन गर्ने गर्दछ । कुनै समाज जति अविकसित हुन्छ, उसमा उति नै बढी नियम र अनुशासनमा बस्ने स्वभाव वा क्षमताको कमी हुन्छ । समाजको विकास हुँदै गएपछि वा उसमा परिपक्वता आउँदै गएपछि उनीहरूमा नियम र अनुशासनमा बस्ने गुणको विकास हुँदै जान्छ ।

उक्त कुरा पार्टीका सदस्यहरू वा पुरै पार्टीमा पनि लागू हुन्छ । लेनिनवादी प्रणालीले पार्टीमा जनवादी केन्द्रीयतामाथि आधारित कडा अनुशासन प्रणालीमा जोड दिन्छ । त्यसप्रकारको प्रणालीका दुई वटा पक्षहरू हुन्छन् : एउटा जनवाद र अर्को केन्द्रीयता । जनवाद आम मानिसहरूको स्वभावसित मेल खाने कुरा हुन्छ । जनवादको अर्थ हुन्छ, आफ्नो विचार वा मतभेदहरूलाई प्रकट गर्नु र त्यसअनुसार नै काम गर्नु । तर केन्द्रीयता त्यसको विपरित हुन्छ । त्यसको अर्थ आफ्नोे सहमति नभएका विचार, निर्णय वा निर्देशनहरूलाई पनि मान्नु हुन्छ । त्यो केही अप्रिय र कठिन कार्य हो । त्यसैले पार्टीमा जनवादको पक्षमा आम झुकाव हुन्छ भने केन्द्रीयतालाई लागू गर्ने कार्यमा सामान्यतः विरोध हुन्छ । त्यसप्रकारको प्रवृत्तिबाट पार्टीमा अनुशासनविहीनता र अराजकता पैदा हुने सम्भावना हुन्छ । त्यसप्रकारको प्रवृत्तिलाई रोक्न आवश्यकताअनुसार प्रशिक्षण र अनुशासनको कारवाहीमा जोड दिनुपर्ने आवश्यकता हुन्छ । त्यही प्रकारको स्थितिमा पार्टीमा प्रायः अन्तर्विरोध, अन्तरसङ्घर्ष वा फुटका स्थितिहरू पनि उत्पन्न हुने गर्दछन् । हामीले विश्व कम्युनिस्ट आन्दोलनको मात्र होइन, नेपालबारे पनि सरसरी प्रकारले विचार गर्यौं भने, पार्टीको इतिहास त्यसप्रकारका अन्तर्विरोध वा सङ्घर्षहरूले भरिएको छ । तर त्यसको अर्को पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । पार्टीमा जनवादलाई दवाउने प्रयत्न गरियो र एकतर्फी रूपमा केन्द्रीयता लाद्ने प्रयत्न गरियो भने त्यो अवस्थामा पार्टी नोकरशाही बन्ने खतरा हुन्छ ।

सैद्धान्तिक रूपमा माथिका दुवै कुरा सत्य हुन् । तर हामीले आजको पार्टीको खास अवस्थामा उपरोक्त दुवै कुरा मध्ये कुन कुरा प्रधान भएको छ ? त्यसबारे केही विचार गर्नुपर्ने आवश्यकता छ । जहाँसम्म ने.क.पा.(मसाल)को सम्बन्ध छ, पार्टीमा जनवादलाई पुरै खेल्ने अवसर प्राप्त छ । तर हाम्रो पार्टीको विधानमा प्रथम जनवादको प्रयोग अराजकतावादी प्रकारले होइन, पार्टीको विधान र अनुशासनमा रहेर प्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । द्वितीय, जनवादका साथै केन्द्रीयताका सिद्धान्तहरूलाई पनि पालन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । त्यसका साथै पार्टीको विधान, नियम वा अनुशासनलाई उलङ्घन गरेको अवस्थामा कार्वाही गर्ने प्रणाली वा व्यवस्था पनि विधानमा गरिएको छ र त्यसअनुसार कतिपय अनुशासनका कारवाहीहरू पनि हुने गरेका छन् । तर त्यसप्रकारका कारवाहीहरूलाई तानाशाही बताउने पनि गरिएको छ ।

हाम्रो पार्टीको गत श्रावणमा बसेको बैठकमा अहिलेको पार्टीको अनुशासनको अवस्थाबारे गम्भिरतापूर्वक विचार गरिएको थियो । त्यस सिलसिलामा बैठकपछि महामन्त्रीद्वारा जारी गरिएको श्रावण २८ गतेको वक्तव्यमा पार्टीको सङ्गठनात्मक अवस्था र अनुशासन “असामान्य” भएको कुरा बताइएको छ । महाधिवेशनपछि हामीले कैयौँ पार्टी सदस्यहरूलाई पार्टीबाट नै निस्कासित गर्नुपरेको छ । पार्टीमा त्यसप्रकारको असामान्य सङ्गठनात्मक वा अनुशासनको अवस्था अराजकतावादी प्रकारले जनवादको प्रयोग गरेकोले वा महाधिवेशन, केन्द्रीय समिति वा बहुमतका निर्णयहरूलाई उलङ्घन गरेको हुनाले नै उत्पन्न भएको हो । यो कुरा सत्य हो कि महाधिवेशनको समयमा कतिपय विषयहरूमा पार्टीभित्र र एकाध विषयहरूमा जस्तो कि चीन र भारत साम्राज्यवादी देश हुन् वा होइनन् भन्ने विषयमा सार्वजनिक रूपमा नै मतभेदहरू देखा परेका थिए । तर महाधिवेशनपछि आफ्नो मतभेदहरूलाई सुरक्षित राख्दै वा पार्टीको विधान र अनुशासनअन्तर्गत रहँदै चलाउने अधिकार सबै पार्टी सदस्यहरूलाई छ । तर पार्टीका कतिपय सदस्यहरूद्वारा त्यो अनुशासनलाई उलङ्घन गर्ने काम गरियो । त्यस सिलसिलामा पार्टीभित्रका मतभेदहरूलाई सार्वजनिक रूपमा पनि लैजाने काम गरियो । कतिपय छद्म नामहरूद्वारा महाधिवेशनको निर्णय वा महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय नेतृत्वमाथि सार्वजनिक रूपले नै आक्रमण गर्ने काम भइरहेको छ । यो असामान्य प्रकारको अवस्था हो ।

पार्टीभित्रका सङ्गठनात्मक समस्या वा अनुशासनसम्बन्धी कमजोरिहरूलाई हामीले पार्टीभित्र नै समाधान गर्ने प्रयत्न गर्दै आएका छौँ र त्यसरी नै समाधान गर्दै जाने हाम्रो नीति हुनेछ । तर जसले सार्वजनिक रूपले नै वा गम्भिर प्रकारले अनुशासनको उलङ्घन गर्ने गरेका छन्, उनीहरूप्रति हामीले कडा नीति अपनाउदै आएका छौँ र अपनाउने पनि छौँ । कडा नीति भन्नुको अर्थ हुन्छ : पार्टीबाट नै निस्कासन । गत महाधिवेशनपछि हामीले कतिपय पार्टी सदस्यहरूलाई त्यसरी निस्कासन पनि गरेका छौँ । त्यसप्रकारका कारवाहीहरू मुख्यतः दुई कारणले गरेका छौँ । प्रथम, पार्टीभित्रका मतभेदहरू सार्वजनिक गरेका कारणले र द्वितीय, पार्टीको सम्पत्तिमाथि कब्जा गरेका कारणले ।

बताइरहनुपर्ने आवश्यकता छैन कि उक्त दुवै प्रकारको अवस्थामा मतभेदहरूलाई सार्वजनिक गरेको वा पार्टीको सम्पत्तिमाथि कब्जा गरेको अवस्थामा अनुशासनको कारवाही गर्नु सामान्य प्रक्रिया हो । तर त्यसप्रकारको अनुशासनविहीनतालाई पनि सही ठहर्याउने वा त्यसप्रकारका कार्यहरूका विरुद्ध गरिएको अनुशासनको कारवाहीलाई गलत ठहर्याउने प्रयत्न पनि निकै गरेको पाईन्छ । त्यसले हाम्रो पार्टीमा अराजकता र अनुशासनहीनताको संस्कृति निकै फैलिएको कुरामा कुनै शङ्का रहन्न ।

कतिपय पत्रपत्रिका र छद्म नामधारीहरूले पार्टीभित्र भिन्न मत भएका कारणले कैयौँ पार्टी सदस्यहरूमाथि कारवाही गरिएको भन्ने प्रचार पनि गरेका छन् । तर पार्टीमा भिन्न मत भएको कारणले एक जनामाथि पनि कुनै कारवाही गरिएको छैन र पार्टीमा भिन्न मत भएपनि वा नभएपनि सबै पार्टी सदस्यहरूले पार्टीको अनुशासन मानेर काम गर्नुपर्दछ । त्यससम्बन्धी नियम वा अनुशासनको उलङ्घन गरेको अवस्थामा नै कसैमाथि आवश्यकताअनुसार कारवाही गर्ने गरिएको छ । पार्टीबाट निस्कासित व्यक्तिहरू वा कतिपय पत्र–पत्रिकाहरूले पार्टीको विधानअनुसार गरिएका त्यसप्रकारका कारवाहीहरूलाई गलत रूपमा प्रस्तुत गरेर भिन्न मत भएका कारणले नै पार्टीमा कारवाही गर्ने गरिएको वा ती उद्देश्यहरू पुरा गर्न शुद्धीकरण कार्यक्रम पनि सञ्चालन गर्न थालिएको हल्ला गरेका छन् । निश्चय नै, त्यो तथ्यहरूको तोडमोड नै हो ।

त्यसप्रकारको गलत प्रचारले पार्टीका इमान्दार र अनुशासित सदस्यहरूमा कुनै असर नपर्ने कुरा प्रष्ट छ । तर त्यसप्रकारको गलत र भ्रामक प्रचारलाई पनि पार्टी विरोधीहरूले तिलको पहाड बनाएर प्रचार गर्ने गर्दछन् । त्यस्तो प्रायशः हुने गरेको छ । तर बाहिरका पार्टी विरोधी तत्वहरूले पार्टीमाथि सधैँ त्यसरी हमला गर्दै आएका छन् । त्यसकारण त्यो हाम्रो खास समस्या होइन ।

अन्तर्राष्ट्रिय र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि पार्टीले बिच–बिचमा शुद्धीकरण कार्यक्रमहरू चलाउने गर्दछ । सामान्यतः पार्टीमा व्यक्तिगत रूपमा देखा पर्ने अनुशासनसम्बन्धी गल्ती वा कमजोरीहरूलाई व्यक्तिगत प्रकारले नै समाधान गर्ने प्रयत्न गरिन्छ । त्यसका लागि पार्टीले कैयौँ तरिकाहरू अपनाउँछ, जस्तो कि प्रशिक्षण, आलोचना, कुनै पार्टी कमिटीबाट निलम्बन र निस्कासन, संस्थाबाट निलम्बन र निस्कासन वा पार्टी सदस्यताबाट नै निस्कासन आदि । तर कुनै खास बेलामा पार्टीमा अनुशासनसम्बन्धी कमजोरीहरू धेरै व्यापक भएमा सामूहिक रूपले नै त्यसप्रकारका कमजोरी वा गल्तीहरूलाई निवारण गर्ने प्रयत्न गरिन्छ । त्यही शुद्धीकरण कार्यक्रम हो ।

शुद्धीकरण कार्यक्रम अन्तर्राष्ट्रिय रूपमा नै कम्युनिस्ट आन्दोलनमा अभ्यास हुँदै आएको प्रचलन हो । रूसमा लेनिन र स्तालिनको नेतृत्वमा तथा चीनमा माओको नेतृत्वमा कतिपय पल्ट शुद्धीकरण कार्यक्रमहरू सञ्चालन गरिएका थिए । शुद्धीकरण कार्यक्रम पार्टीको आवश्यकताअनुसार गरिन्छ । तर पार्टीका विरोधीहरूले त्यसलाई सधैँ तानाशाही तरिका बताउने गर्दछन् । स्तालिनका कतिपय शुद्धीकरण कार्यक्रमलाई त उनीहरूले ‘महान आतङ्क’सम्म बताएका थिए । हाम्रो पार्टीले पनि पहिले दुईपटक शुद्धीकरण कार्यक्रमहरूको सञ्चालन गरिसकेको छ । हाम्रो पार्टीको विधानमा पनि त्यसको व्यवस्था गरिएको छ । शुद्धीकरणका कार्यक्रमहरू बेग्लाबेग्लै समयका राजनीतिक वा सङ्गठनात्मक आवश्यकताअनुसार बनेका हुन्छन् । कुनैबेला पार्टीमा गलत प्रकारका राजनीतिक विचार वा भडकावहरूले गहिरो घर जमाए भने त्यसलाई निवारण गर्नको लागि शुद्धीकरण कार्यक्रमहरू सञ्चालन गरिन्छ भने कुनैबेला सङ्गठनात्मक आवश्यकताहरू पुरा गर्न नै त्यसप्रकारका कार्यक्रमलाई सञ्चालन गरिन्छ । जहाँसम्म हाम्रो पार्टीको सम्बन्ध छ, पहिले हामीले सञ्चालन गरेका दुवै शुद्धीकरण कार्यक्रमहरू कुनै राजनीतिक उद्देश्यका लागि होइन, सङ्गठनात्मक आवश्यकताअनुसार नै सञ्चालन गरिएका थिए । अहिले हामीले सञ्चालन गर्न थालेको शुद्धीकरण कार्यक्रमको स्वरूप पनि सङ्गठनात्मक प्रकारको नै छ ।

हाम्रो पार्टीको विधानमा यो स्पष्ट गरिएको छ, पार्टीको कुनै सदस्यको पार्टीमाथिको आस्था वा इमान्दारितामा शङ्का नभएपनि यदि ऊ सक्रिय हुन सक्दैन, कमिटीमा बसेर जिम्मेवारी पुरा गर्न सक्दैन, अनुशासनमा बस्न सक्दैन वा नियमित रूपले लेभी तिर्न सक्दैन भने ऊ पार्टी सदस्य नभएर समर्थक भएर पार्टीमा बस्नुपर्दछ । लेनिनका पालादेखि नै संसारका सबै कम्युनिस्ट पार्टीहरूले त्यो प्रणालीलाई अपनाउँदै आएका छन् । शुद्धीकरण कार्यक्रम अन्तरर्गत हामीले कुनै पार्टी सदस्यको त्यससम्बन्धी कमजोरीहरूको मुल्याङ्कन गरेर उसलाई विभिन्न माथिल्लो कमिटी वा आवश्यकताअनुसार सदस्यताबाट पनि हटाएर समर्थकमा राख्ने गर्दछौँ । त्यो सामान्य सङ्गठनात्मक प्रक्रिया हो । तर अहिले पार्टीको सङ्गठनात्मक वा अनुशासनको अवस्था असामान्य भएको हुनाले शुद्धीकरणको कार्यक्रमलाई सामान्यभन्दा केही बढी, अर्थात् असामान्य प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतालाई पनि अस्वीकार गर्न सकिन्न ।

किनभने जस्तो कि माथि उल्लेख गरियो, कुनै खास बेलाको शुद्धीकरण कार्यक्रम कुनै खास बेलाको राजनीतिक वा सङ्गठनात्मक आवश्यकताअनुसार नै सञ्चालन हुने गर्दछ र गर्नु पनि पर्दछ । त्यसैले अहिले पार्टीको सङ्गठनात्मक वा अनुशासनको अवस्था असामान्य भएको हुनाले त्यसप्रकारको असामान्य अवस्थामाथि पनि नियन्त्रण गर्नको लागि शुद्धीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता भएको कुरा स्वतः प्रष्ट छ । तर त्यसका साथै सामान्य सङ्गठनात्मक आवश्यकताहरूको पूर्तिका लागि शुद्धीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतालाई पनि हामीले पुरा गर्नुपर्दछ । सर्वप्रथम अहिलेको असामान्य सङ्गठनात्मक वा अनुशासनको अवस्थामा सुधार भएपछि नै दोस्रो प्रकारको शुद्धीकरण कार्यक्रमलाई सञ्चालन गर्ने प्रयत्न गरिनेछ । बताइरहनुपर्ने आवश्यकता छैन कि ती दुवै प्रकारका शुद्धीकरण कार्यक्रमहरूका कार्यविधिहरू बेग्लाबेग्लै पनि हुन सक्दछन् ।

पार्टीमा बेग्ला – बेग्लै समयमा विभिन्न प्रकारका मतभेद, अनुशासनविहीनता, अन्तर्विरोध वा कुनै खास अवस्थामा फुटहरू पनि देखा पर्ने गर्दछन् । हाम्रो पार्टी पनि त्यसप्रकारका कुराहरूबाट अछुत छैन । तर त्यसप्रकारका कुराहरूका पछाडिका कारणहरू बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै हुन्छन् वा हुन सक्दछन् । रायमाझीहरूसँग फुटको कारण उनीहरूको राजावादी लाइनसित हाम्रो मत भिन्नता नै थियो । पूर्व माले वा माओवादीसितको हाम्रो विरोधको कारण उनीहरूले अपनाएको उग्र “वामपन्थी” लाइन नै थियो । का. पुष्पलाल र का. निर्मल लामासितको फुटको कारण कुनै सैद्धान्तिक वा राजनीतिक थिएन । नेकाको विश्लेषणबारे उहाँ (पीएल)सित हाम्रो मतभेद भएपनि महाधिवेशनमा त्यसलाई टुङ्ग्याउन सकिन्थ्यो । तर त्यसका लागि उहाँ सहमत नभएकाले उहाँसित फुट हुन गयो । चौथो केन्द्रीय समितिबाट राजीनामा दिएर त्यसलाई सार्वजनिक गर्ने केन्द्रीय सदस्यहरूका विरुद्ध कारबाहीको प्रश्नमा लामाजीसित भएको मतभेदका कारणले नै उहाँसित हाम्रो फुट हुन गएको थियो ।

बाबुराम, दिनानाथ, गिरिधारीलाल, डिलाराम आदिसितको फुट उनीहरूको माओवादीमा जाने योजनाका कारणले नै भएको थियो । कतिपय व्यक्तिहरूले आफ्नो स्वार्थ वा महत्वाकाङ्क्षा पुरा गर्नका लागि पार्टीलाई छाडेर अन्य पार्टी वा सङ्गठनहरूमा पनि जाने गरेका छन् । कतिपय व्यक्तिहरूले सिद्धान्तहीन, अराजनीतिक, व्यक्तिगत विरोध, असन्तोष, रिसीइवी आदिका कारणले पनि पार्टीमा असन्तुष्ट हुन्छन् वा पार्टी छाडेर जाने गर्दछन् । कतिपय व्यक्तिहरूले कुनै कमिटी वा पदमा बस्न नपाएकोले, अनुशासनसम्बन्धी कुनै कारवाहीमा परेकाले, रिस वा बदलाको भावनाले पनि पार्टीको विरोध गर्ने वा पार्टी छाडेर जाने गर्दछन् ।

माथि जुन कारणहरूको उल्लेख गरिएको छ, ती कुराहरू पार्टी छाडेर जाने व्यक्तिहरूसित नै सम्बन्धित छ । तर कतिपय अवस्थामा पार्टीका विभिन्न सदस्यहरूमा पनि त्यसप्रकारका कारणहरूले कम वा वेशी रूपमा काम गरेका हुन्छन् । त्यसरी पार्टीमा अनुशासनको समस्या एउटा जटिल र गम्भीर समस्या हो । सामान्य अवस्थामा त्यसप्रकारका कार्यमाथि प्रशिक्षण वा सामान्य प्रकारका मैत्रीपूर्ण वा आन्तरिक कारवाहीहरूद्वारा नियन्त्रण गर्न सकिन्छ । तर कतिपय अवस्थामा तिनीहरूले विस्फोटक रूप पनि लिने गर्दछन् । हामीले सम्भव भएसम्म अन्तसम्म उक्त कारणहरूले पार्टीमा देखा पर्ने असन्तोष, अन्तर्विरोध वा अनुशासनविहीनतालाई आन्तरिक र मैत्रीपूर्ण प्रकारले नै हल गर्ने प्रयत्न गर्नुपर्दछ । तर सबै कुरा सधँ हाम्रो वशभित्र हुँदैनन् र कतिपय अवस्थामा तिनीहरू हाम्रो नियन्त्रणभन्दा बाहिर पनि जान्छन् । पार्टीको इतिहासले त्यो कुरा बारम्बार बताउँदै आएको छ । त्यो कुरा खालि हाम्रो पार्टीको लागि मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सन्दर्भमा पनि सत्य हो ।

कतिपय अवस्थामा पार्टी वा पार्टीको नेतृत्वको कार्यशैलीमा भएका कतिपय कमजोरीहरूका कारणले पनि पार्टीभित्र विभिन्न प्रकारका असन्तोष, अन्तर्विरोध वा मतभेदहरू पैदा हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यसप्रकारका कमजोरीहरूलाई हामीले इमान्दारितापूर्वक मुल्याङ्कन वा आत्मालोचना गरेर सुधार्ने प्रयत्न गर्नुपर्दछ । पार्टीभित्र विभिन्न तहमा चल्ने आलोचना, छलफल वा जनवादको सही प्रयोगद्वारा त्यसप्रकारका कमजोरीहरूलाई सच्याउन सकिन्छ र सच्याउने प्रयत्न पनि गर्नुपर्दछ । हामीले खालि ध्वंसात्मक प्रकारले पार्टीमाथि हुने आक्रमणका विरुद्ध नै कठोर र निर्ममतापूर्वक सङ्घर्ष गर्दछौँ तर पार्टीभित्रका सबै मतभेद, अन्तर्विरोध वा अन्तरसङ्घर्षप्रति हामीले मैत्रीपूर्ण दृष्टिकोण अपनाउँदै आएका छौँ र अपनाउनु पनि पर्दछ ।

हामीले आज पार्टीको जनवादी केन्द्रीयतामाथि आधारित लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई कायम राख्न कडा सङ्घर्ष गरिरहेका छौँ । आज एकातिर विश्वव्यापी रूपमा नै कम्युनिस्ट पार्टीको लेनिनवादी सङ्गठनात्मक प्रणालीमा देखा परेको विचलन र, अर्कातिर नेपालको कम्युनिस्ट आन्दोलनमा पनि त्यसको अत्यन्त धेरै असर परेको पृष्ठभूमिमा त्यसरी लेनिनवादी सङ्गठनात्मक प्रणालीको रक्षा गर्ने कार्य सैद्धान्तिक र सङ्गठनात्मक दुवै प्रकारले अत्यन्तै कठिन बनेको छ । तर संसारमा माक्र्सवादी–लेनिनवादी पार्टीहरूले अत्यन्त प्रतिकूल र कठिन परिस्थितिमा पनि, एकातिर, पार्टीको क्रान्तिकारी सिद्धान्त र चरित्रको रक्षाका लागि र, अर्कातिर लेनिनवादी सङ्गठन प्रणालीको रक्षाका लागि सङ्घर्ष गर्दैै आएका छन् । हाम्रो पार्टीको पनि त्यसप्रकारको सङ्घर्षको लामो र गौरवपूर्ण इतिहास रहेको छ । त्यो अवस्थामा अहिले हामीले गरिरहेको सङ्घर्षलाई पनि सफलतापूर्वक सम्पन्न गर्न सक्नेछौँ भन्ने कुरामा हामीलाई दृढ विश्वास छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार