जनसंघर्षको मोर्चामा पार्टीको भूमिका

  •   
  •  
  •  
  •  
  •  
  •  

714 जनाले पढ्नु भयो ।

रामप्रकाश पुरी
नेकपा (मसाल) को आठौँ महाधिवेशनले वर्तमानमा पार्टीले जनसङ्घर्ष अहिले सङ्घर्षको प्रधान रूप भएको उल्लेख गरेको छ । जनसङ्घर्ष पार्टीको तात्कालिक कार्यनीति भएको भएपनि यसले पार्टीका दीर्घकालिन वा रणनीतिक उद्देश्यहरूमा विजयका लागि पार्टीलाई योग्य बनाएँछ । ठोस स्थितिको ठोस विश्लेषणका आधारमा यो नीति पार्टीले अबलम्बन गरेको छ । अब यसलाई सफल तुल्याउनु हाम्रो कर्तव्य हो । यो नीतिलाई सफल पार्ने सिलसिलामा तलका केही विषयहरूप्रति ध्यान जानु आवश्यकता छ ।
१. जनसङ्घर्षका मोर्चाहरूबारे
पार्टीले अवलम्बन गरेको वैधानिक सङ्घर्षका शान्तिपूर्ण वर्षहरूमा जनसङ्घर्षका मोर्चाहरू अगाडि आउने गर्दछन् । जनसङ्घर्षहरूमा जनताको सहभागिता तथा जनसङ्घर्षको सञ्चालन गर्ने शक्तिको आकारलाई देख्न सकिन्छ । त्यस आकारका आधारमा सशस्त्र सङ्घर्षको कार्यभार सम्हाल्न सक्ने भविष्यको शक्तिबारे पनि आङ्कलन गर्न सकिन्छ । निर्णायक कुरा सिद्धान्त र विचार भएपनि पार्टीको शक्तिले सिद्धान्त र विचारको कार्यान्वयन गर्ने भएकोले त्यतातिर पनि ध्यान दिनुपर्दछ । पार्टीको शक्ति भनेको पार्टी सङ्गठनको स्थिति, जनताको समर्थन र आवद्धताको अवस्था, पार्टीले ग्रहण गरेको सिद्धान्त र विचार, पार्टीको उद्देश्य, नेतृत्व, निर्णय आदिको एकिकृत स्वरूप हो । पार्टीको त्यसप्रकारको शक्ति निर्माण भएको भएतापनि क्रान्ति र परिवर्तनका लागि भने वस्तुगत तथा आत्मगत परिस्थितिहरू निर्माण भएकै हुनुपर्छ । जस्तो कि अहिले विश्वमा समाजवादी क्रान्तिका वस्तुगत आधारहरू निर्माण भएका छन् । तर क्रान्ति सम्पन्न गर्ने क्रान्तिकारी शक्तिहरूको विकास नभएका कारणले समाजवादी क्रान्तिका वस्तुगत आधारहरू तयार भएको भएतापनि क्रान्ति हुन सक्ने अवस्था देखिँदैन । यसरी क्रान्तिका लागि आत्मगत तथा वस्तुगत परिस्थितिहरूको निर्माण हुनु जरुरी छ । क्रान्तिको यही अवस्था सृजना नभएको अवस्थामा नै जनसङ्घर्षका मोर्चाहरूलाई एउटा कम्युनिस्ट पार्टीले अगाडि सारेर क्रान्तिप्रतिका अभिभाराहरू पूरा गर्दै अगाडि बढ्नुपर्छ । जनसङ्घर्षका मोर्चाहरूमा पार्टीको तात्काालिक कार्यनीतिलाई सबैभन्दा बढी कार्यान्वयनमा ल्याउने गरिन्छ । कम्युनिस्ट पार्टीले आफ्ना रणनीतिक उद्देश्यहरू पूरा गर्नका लागि कार्यनीतिक विषयहरूलाई अगाडि सार्ने भएकोले जनसङ्घर्ष सम्बन्धी भएका पार्टीका निर्णयहरूलाई अधिकतर कार्यान्वयन गर्नुपर्दछ । यसका लागि बिभिन्न जनसङ्घर्षका मोर्चाहरू निर्माण भएका हुन्छन् । तिनै मोर्चाहरूले जनसङ्घर्षका उद्देश्यहरूलाई पुष्टि गर्दै पार्टीको शक्तिलाई स्थापित गर्दछन् ।
२. कार्यनीतिक विषयहरूबारे
तात्कालिन परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीति कार्यनीति हो । कम्युनिस्ट पार्टीले शान्तिपूर्ण अवधिमा वा सशस्त्र सङ्घर्षको अवधिमा बेग्लाबेग्लै कार्यनीति अपनाउने गर्दछ । अर्थात् बेग्लाबेग्लै परिस्थितिमा बेग्लाबेग्लै कार्यनीतिहरू अगाडि आउँछन् । यसरी तात्कालिन परिस्थितिको विश्लेषणका आधारमा कार्यनीति निर्माण हुने गर्दछ । कार्यनीति पार्टीको कामको माहत्वपूर्ण अङ्ग हो । कार्यनीति पार्टीको तात्कालिन कार्यदिशा पनि हो । पार्टी कता पुग्ने हो भन्ने कुरा कार्यनीतिले निर्धारण सङ्केत गरिरहेको हुन्छ ।
कार्यनीतिक प्रश्नहरूलाई गौण बनाउनु भनेको पार्टीको जीवनलाई समाप्त पार्दै लैजानु हो । कार्यनीति गलत वा सही जे भएपनि पार्टीले तय गर्नुपर्दछ । पार्टीलाई चलायामान बनाउने जीवन प्रश्वासको रूपमा कार्यनीति अभिव्यक्त हुने गर्दछ । जसरी प्रश्वास प्रक्रियामा गडबडी पैदा भयो भने जीवनको प्रश्न सङ्कटमा पर्दछ, त्यसैगरी कार्यनीतिको प्रक्रिया चल्न सकेन भने पार्टीको जीवनको प्रश्नमा पनि गडवडी पैदा हुने गर्दछ । प्रश्वास प्रणाली त सञ्चालित हुनै पर्दछ, तर जीवनको प्रक्रियामा त्यो सही ढङ्गले प्रसारित हुनुपर्दछ । ठिक त्यस्तै हो, पार्टीको कार्यनीति त अगाडि आउनैपर्दछ । तर त्यो सही निर्णयका साथ अथवा ठोस स्थितिको ठोस विश्लेषण सहित आउनुपर्दछ ।
३. जनसङ्घर्षको आधार र पार्टीले तय गर्ने नीतिबारे
जनसङ्घर्षहरूलाई पार्टीले निर्देशन गर्दछ । जनसङ्घर्षहरू देशको तात्कालिक राजनीतिबाट बढी भन्दा बढी प्रभावित भएका हुन्छन् । तत्कालको समयमा राज्यले अपनाएका बिभिन्न कानुनी प्रावधानहरू र तिनीहरूको आधारमा निर्माण भएका बिभिन्न राजनीतिक एवम् प्रशासनिक निकायहरूको निर्णय वा कुनै सरकारी कार्यक्रमको घोषणाले जनसमुदायलाई पार्ने नकारात्मक असर आन्दोलन र सङ्घर्षको वस्तुगत आधार तयार पार्दछन् । विद्यमान राज्यव्यवस्थामा रहेका बिभिन्न विसङ्गत पक्षहरूले जनताका असन्तोषहरूलाई सङ्गठित हुनाका लागि वातावरण निर्माण गर्दछन् । त्यसरी जनताको तहमा प्रत्यक्ष वा अप्रत्यक्ष साङ्गठनिक कार्यहरू हुन थाल्दछन् । तिनै कार्यहरूले पछि राजनीतिक सङ्गठनको आकार लिन्छन् र बिभिन्न आन्दोलन र सङ्घर्षहरूको नेतृत्व गर्न सक्षम हुन्छन् । देश र जनतालाई अहित हुने राज्यनीतिका विरुद्धमा जनपक्षीय दृष्टिकोणबाट कम्युनिस्ट पार्टीले कानुनी वा वैधानिक सङ्घर्षलाई अगाडि बढाउने सन्दर्भमा नै जनसङ्घर्षका नीतिहरू लागु हुन्छन् । त्यसरी देश र जनताको पक्षमा आफ्नो अभिमत प्रकट गर्दा पार्टीले परिपक्व विचार अगाडि सार्नुपर्दछ । ठोस स्थितिको ठोस विश्लेषण गरेर तात्कालिन अवस्थाबारे आफ्नो नीति स्पष्ट गर्नुपर्दछ । वस्तुपरक भएर गरिने विश्लेषण मात्र ठोस स्थितिको ठोस विश्लेषण हुन सक्दछ । यसप्रकारको विश्लेषण साँच्चिकै वस्तुपरक छ भने पार्टी नीतिहरू सही हुन्छन् र तिनीहरूले पार्टीको भविष्यलाई सुदृढ बनाउँदै लैजान्छन्  वा जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टीको परम्परा र अस्तित्वलाई कायम राख्न सक्दछन् । यदि विश्लेषणहरू सही भएनन् भने कम्युनिस्ट पार्टीको रूपमा पार्टी रहँदैन र तिनीहरूले पार्टीलाई कुनै भड्कावको शिकार बनाउ“दछन् । उक्त भड्कावहरूले पार्टीको भविष्यलाई ओरालो लगाउने काम मात्र गर्दैनन्, जनआन्दोलन, बिभिन्न सङ्घर्षहरू, क्रान्तिप्रति समेत अरूचि पैदा हुने गरी जनसमुदायमा नकारात्मक प्रभाव छोड्न पुग्दछन् । त्यसरी सुदूर भविष्यसम्म भड्कावहरूको नकारात्मक असर परेर क्रान्ति र परिवर्तनका विषयहरू ओझेलमा पर्ने सम्भावना प्रवल रहन्छ ।
४. जनसङ्घर्षका मोर्चाहरूको मुद्दा
पार्टीले जनसङ्घर्ष सम्बन्धी आफ्नो नीति तय गरिसकेपछि उक्त सङ्घर्षमा उठाउने मुद्दाहरू नै जनसङ्घर्षका मोर्चाहरूको मुद्दा बन्दछन् । बिभिन्न क्षेत्रबाट सङ्घर्षलाई अगाडि बढाउनका लागि पार्टीले जनवर्गीय मोर्चाहरूलाई पनि निर्माण गरेको हुन्छ । जस्तो कि, विद्यार्थी मोर्चा, युवक मोर्चा, किसान मोर्चा, मजदुर मोर्चा, महिला मोर्चा, विभिन्न पेसागत सङ्गठनहरू आदि । यति मात्र होइन, राष्ट्रिय महत्वका विषयहरूलाई लिएर एउटा कम्युनिस्ट पार्टीले पार्टी समर्थक भन्दा बाहिरका पक्षहरूसित समेत जनसङ्घर्षको मोर्चा निर्माण गरेर काम गर्दछ । उनीहरूले जनजीविका, कानुनी अधिकार, राजनीतिक स्वतन्त्रता, मौलिक अधिकार, रोजगार, सामाजिक न्याय र सुरक्षा, देशको सार्वभौमिकता, राष्ट्रियता, मानवअधिकार आदि विषयलाई सरकार र राज्य सामू राखेर आफ्ना सङ्गठित आन्दोलनलाई अगाडि बढाउँछन् । यसरी जनसङ्घर्षका मोर्चाहरूमा बेग्लाबेग्ला परिस्थितिमा बेग्लाबेग्लै मुद्दाहरू उठान गरिन्छन् र मोर्चाहरूमा ऐक्यवद्धता कायम गरी जनसङ्घर्षलाई शक्तिशाली बनाउने काम गरिन्छ । त्यसरी गरिने आन्दोलनहरू वैधानिक हुन्छन् र तिनीहरूले कम्युनिस्ट पार्टीको रणनीतिक उद्देश्यलाई परिपक्व बनाउँदै लैजान्छन् । त्यस्ता मोर्चाहरूमा कम्युनिस्ट पार्टीको रणनीतिक उद्देश्यसित सम्बन्धित नाराहरू लगाइन्छन् । त्यसो गर्नुको अर्थ तिनको प्रचार जनसमुदायको बीचमा पु¥याउनु हुन्छ । तर केही नारा कार्यनीतिक प्रकारका हुन्छन्, तिनीहरूले कार्यान्वयन गराउनका लागि सरकार वा राज्यसित माग गरेर तिनलाई मुद्दाको रूपमा उठाएर सङ्घर्षहरू सञ्चालन गरिन्छन् ।
५. जनवर्गीय मोर्चाहरूको जनसङ्घर्षमा योगदान
माथि नै भनियो कि जनवर्गीय मोर्चाहरू पार्टीको जनसङ्घर्षका मोर्चाका माहत्वपूर्ण अङ्ग हुन् । जनवर्गीय मोर्चाहरूले आफू सम्बन्धित विभिन्न विषयमा सङ्घर्षका कार्यक्रमहरू अगाडि सार्दछन् । सामान्यतया कम्युनिस्ट पार्टीको वैधानिक सङ्घर्षको औचित्यलाई पुष्टि गर्ने काम जनवर्गीय मोर्चाहरूबाट हुने गर्दछ । सामाजिक असङ्गति, विसङ्गति, अन्याय, शोषण, लैङ्गिक भेदभाव, विकासमा असमानता, रुढिवाद, जातिवाद लगायतका विषयहरूका विरुद्ध जनवर्गीय मोर्चाहरूले आफ्नो वर्गीय धरातलबाट सङ्घर्ष गर्नुपर्दछ । जनवर्गीय मोर्चाहरूले पार्टीले तय गरेका ठोस कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि पहलकदमी लिनुपर्दछ । जस्तो कि नेकपा(मसाल)को आठौँ महाधिवेशनले ठोस कार्यक्रमसम्बन्धी बनाएको नीति तात्कालिक राजनीतिक परिस्थितिमा गर्नुपर्ने कार्यभार हो । उक्त कार्यभार मध्ये गणतन्त्रको रक्षा हुनुपर्ने, देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डताको रक्षा हुनुपर्ने, सङ्घीयताको खारेज हुनुपर्ने, महङ्गी, भ्रष्टाचारमाथि नियन्त्रण गरिनुपर्ने, करवृद्धि रोकिनुपर्ने, स्थानीय स्वायत्त शासनलाई मौलिक अधिकारको मान्यता दिइनुपर्ने, मजदुरको हकहितका लागि अधिकार सम्पन्न मजदुर आयोग गठन गरी त्यसलाई सम्वैधानिक मान्यता दिइनुपर्ने लगायतका कैयौँ राजनीतिक, सामाजिक, जनजीविकासित सम्बन्धित विषयहरू निर्धारण गरिएको छ ।
उपर्युक्त विषयबाहेक देशको तात्कालिन राजनीतिक परिस्थितिमा देखा पर्ने वा उत्पन्न हुन सक्ने अन्य विषयहरूबारे पार्टीले आफ्नो नीति तय गर्दै लैजान्छ । यी सबै विषयहरू देश र जनताका लागि आवश्यक छन् । तिनीहरूबारे राज्य उदासिन रहेकोले तिनीहरूबारे सङ्घर्ष गर्नु पार्टीको कर्तव्य हुन्छ । त्यसकारण आफ्नो कर्तव्यलाई सम्पन्न गर्नका लागि संयन्त्रको रूपमा अगाडि सारिएका जनवर्गीय मोर्चाहरूले जनसङ्घर्षका मोर्चाहरूमा आफूलाई व्यक्त गर्नुपर्दछ । यसका साथसाथै मजदुरले मजदुर वर्गका मागका विषयलाई, विद्यार्थीले विद्यार्थीका हकहितका विषयलाई, किसानले किसानका समस्याका विषयलाई, महिलाहरूले महिला अधिकारसित सम्बन्धित विषयलाई र विभिन्न पेशागत तथा सामाजिक सङ्गठनले पनि आ—आफ्ना मुद्दाहरूलाई आफ्नो आन्दोलन र सङ्घर्षका विषय बनाएर जनसङ्घर्षका मोर्चामा योगदान दिनुपर्दछ । यसरी आफ्ना वर्गीय तथा राष्ट्रिय विषयहरूमा समेत ऐक्यवद्धता प्रकट गरी संयुक्त रूपमा एकीकृत आन्दोलनमा समेत जनवर्गीय मोर्चाले योगदान दिएर कम्युनिस्ट पार्टीलाई सहयोग गर्नुपर्दछ । उनीहरूले त्यसप्रकारको सहयोग गर्नुपूर्व नै कम्युनिस्ट पार्टीले आफ्नो उद्देश्यसहित ती जनवर्गीय मोर्चाहरूको औचित्य र उनीहरूको कार्यभार एवम् उत्तरदायित्व सम्बन्धी धारणा बनाउनमा योगदान दिने गर्दछ । उनीहरूलाई निर्देशन, मार्गदर्शन र आफ्नो उद्देश्य बमोजिम जनवर्गीय मोर्चाको कार्यदिशालाई निर्धारण गरेर कम्युनिस्ट पार्टीले महत्वपूर्ण भूमिका खेल्दछ । पार्टीको त्यो भूमिकाले जनवर्गीय मोर्चाहरूको अस्तित्व सतहमा आउँदछ र उनीहरूले बिभिन्न जनसङ्घर्षहरूमा योगदान दिन सुरु गर्दछन् । खासगरी जनवर्गीय मोर्चाहरू कम्युनिस्ट पार्टीका जनसङ्घर्षलाई अगाडि बढाउनका लागि स्थापित भएका स्थायी मोर्चा हुन् । यिनीहरूले आफ्नो शक्तिलाई जति बलियो बनाउँदै लैजान्छन् त्यति नै बढी उनीहरूले जनसङ्घर्षमा योगदान दिन सक्दछन् ।
६. पार्टीको तात्कालिक राजनीतिक परिस्थितिमा भूमिका
जनसङ्घर्षको मोर्चामा पार्टीको भूमिका हुने भनेको तात्कालिक राजनीतिक परिस्थितिमा अपनाउने नीति, गरिने निर्णय र खेलिने  भूमिका नै हो । जनसङ्घर्षहरूले जनसमुदायको हितको कुरा मात्र होइन, कम्युनिस्ट पार्टीलाई क्रान्तिको नेतृत्व गर्न योग्य बनाउनुको साथै क्रान्तिका आत्मगत तथा वस्तुगत स्थितिहरूलाई पनि निर्माण गर्ने काम गर्दछन् । तर त्यो कार्य त्यसबेला मात्र सम्भव हुन्छ, जतिबेला पार्टीले अपनाउने नीति सही हुन्छ वा वस्तुगत प्रकारले पनि युक्तिसङ्गत हुन्छ । त्यसर्थमा पार्टीले गर्ने निर्णय ठोस स्थितिको ठोस विश्लेषण सहित हुनुपर्छ भन्ने पनि हो । तात्कालिक परिस्थितिको विश्लेषण सही भएमा नीतिहरू पनि सही निर्माण हुन सक्दछन् । त्यसकारण जनसङ्घर्षमा पार्टीको भूमिका नीति र निर्णयबाट नै सुरु हुन्छ । गलत नीति र निर्णय भए भने त्यसले जनसमुदायको हित त गर्दैन नै, स्वयम् पार्टी र क्रान्तिका लागि पनि घातक बन्न जान्छ । यसैले सबै भन्दा पहिले तात्कालिक राजनीतिक परिस्थितिमा सही नीति र सही निर्णय दिएर पार्टीले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । त्यसो गर्दा पार्टीले तात्कालिक राजनीतिक परिस्थिति, सङ्घर्षको स्थिति, बिभिन्न राजनीतिक शक्तिहरूको विश्लेषण, बिभिन्न सामाजिक वर्गहरूको विश्लेषण गरेर जनसङ्घर्षलाई न्यायोचित र अर्थपूर्ण बनाउनुपर्दछ । जनसङ्घर्षका कारणहरूलाई औंल्याएर पार्टीको नीतिको रूपमा त्यसको मूल्यलाई जनसमुदायका बीचमा स्थापना गरेर योगदान दिनुपर्दछ । तात्कालिक राजनीतिक परिस्थितिबारे आवश्यक नीति तय भइसकेपछि बिभिन्न जनवर्गीय मोर्चाहरूको निर्माणका साथसाथै संयुक्त मोर्चाहरूको समेत निर्माण गरेर जनसङ्घर्षका मोर्चाहरूलाई सशक्त बनाउनुपर्दछ । यससम्बन्धी आठौँ महाधिवेशनले यसप्रकारको निर्णय गरेको छ ः ‘संयुक्त मोर्चाको क्षेत्रमा हाम्रो पार्टीको लामो अनुभव छ । बिभिन्न समयमा हामीले कतिपय वामपन्थी वा कतिपय अवस्थामा दुश्मन शक्तिहरूसित पनि कार्यगत एकता वा कोअर्डिनेसन गरेर संयुक्त आन्दोलन गर्दै आएका छौँ । ……संयुक्त आन्दोलन सम्बन्धी नीतिलाई अरू उच्च स्तरमा विकसित गर्ने र स्थायी रूप दिने हाम्रो प्रयत्न हुनुपर्दछ’ पार्टीले जनसङ्घर्षमा खेल्ने भूमिकालाई दस्तावेजको माथिको उदाहरणले प्रष्ट गरेको छ । राष्ट्रियता, सार्वभौमिकता, जनजीविका, बिभिन्न सामाजिक विषयहरू एवम् वर्गीय मुद्दाहरूलाई पार्टीले सकेसम्म संयुक्त मोर्चा निर्माण गरेर अगाडि बढाउने प्रयत्न गर्ने नीति पार्टीको रहेको देखिन्छ । सम्पूर्ण जनसमूहलाई साथसाथमा लिएर सामाजिक परिवर्तन वा सुधारका लागि पनि आवश्यक भूमिका खेल्न सकिने विश्वासका साथ पार्टीको त्यो नीति तय भएको हो । पार्टीले सकेसम्म र भएसम्म संयुुक्त मोर्चाको प्रश्नलाई प्राथमिकतामा राख्नुपर्दछ । तर त्यसो हुन सम्भव नभएपनि जनसङ्घर्षका मोर्चाहरूमा जनताको व्यापक सहभागिता वा समर्थन जुटाउनका लागि पनि भूमिका खेल्नुपर्दछ । यसको अर्थ हो, जनतासित रहेर सङ्घर्षलाई सञ्चालन गर्नु । जनताबाट टाढा गएर पार्टीले कुनै पनि जनसङ्घर्षहरू सञ्चालन गर्दैन । जनताको विरोध, समर्थन र बिभिन्न प्रतिक्रियाहरूका साथसाथमा नै पार्टीले जनसङ्घर्षका मोर्चाहरूलाई अगाडि बढाउनुपर्दछ । त्यसो गर्दा वस्तुगत र युक्तिसंगत पक्षको विजयका लागि पार्टीले ध्यान दिंदै महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्नुपर्दछ । तात्कालिक राजनीतिक परिस्थितिहरूबारे स्पष्ट भएर पार्टीले जनसमुदायको बीचमा आफ्नो कार्यनीतिको औचित्यलाई पुष्टि गर्दै जनपक्षीय भूमिकाको निर्वाह गर्नुपर्दछ ।
७. पार्टी  र क्रान्ति सम्बन्धी काम
प्रायःजसो पार्टी र क्रान्ति सम्बन्धीका कामहरूबारे भ्रमहरू उत्पन्न भइरहेका हुन्छन् । पार्टीका कामहरूलाई क्रान्तिका निमित्त योगदान नभएको ठान्ने कुलीन सोचाइ पनि रहेको पाइन्छ । पार्टीका प्रकाशन सम्बन्धी काम गर्ने, पार्टीका पर्चाहरू वितरण गर्ने, पार्टीका निम्ति सहयोग जुटाउने, पार्टीको कुनै सूचना टाँस गर्ने वा जानकारी गराउने, प्रशिक्षणहरू लिने र दिने, बिभिन्न आन्दोलनहरूमा भाग लिने, जुलुसहरूमा सामेल हुने, भाषणहरू सुन्ने र गर्ने, पार्टीका प्रचारका सामग्रीहरू ओसारपसार गर्ने जस्ता कार्यहरू पार्टीका देखिने कामहरू हुन् । यी कामहरूलाई विभेद गर्ने कुलिन सोचाइलाई कम्युनिस्ट पार्टीले स्थान दिंदैन । यी सबै कार्यहरू पार्टी र क्रान्तिका लागि धेरै नै महत्वपूर्ण छन् । भविष्यमा हुने रक्तपात सङ्घर्षको न्यायोचित अर्थ र सम्पूर्ण मानवजातिको सम्मानपूर्ण भविष्य यिनै कामहरूमा अन्तर्निहित छ । यी कामहरूबारे भ्रम सृजना गर्नु वा विभेद गर्नु पार्टी र क्रान्तिका विरुद्धमा नै छन् । विरोधीहरूले भ्रम सृजना गर्ने वा विभेद गर्ने वा यी कामहरूको अवमूल्यन गर्न सक्ने सम्भावना हुन्छ वा गर्दछन् । तर पार्टीभित्र नै ती कार्यहरू सम्बन्धी भ्रम वा अन्योलता सृजना गर्ने कतिपय दुश्मनका एजेण्टहरू पनि प्रवेश गरेका हुन्छन् । उनीहरूले पार्टीका जति कामहरू अगाडि बढ्छन्, त्यति बढी क्रान्तिसम्बन्धी कामहरू पनि भइरहेका छन् भन्ने कुरा त अवश्य पनि बुझ्दछन् । त्यसैले पार्टी र क्रान्ति अगाडि बढ्नुबाट रोक्न उनीहरूले पार्टीबाहिरदेखि पार्टीभित्रसम्म पूरा शक्ति लगाएका हुन्छन् । यी सबैमाथि विजय हासिल गरेर अगाडि बढ्ने सामथ्र्य राख्नु पनि पार्टी र क्रान्ति सम्बन्धीको काम नै हो । पार्टी र क्रान्ति सम्बन्धीका कामहरू बिभिन्न जनसङ्घर्षहरूमा अभिव्यक्त हुन्छन् । त्यसैले जनसङ्घर्षका मोर्चाहरू फगत तात्कालिन विषयहरूका लागि मात्र क्रियाशील हुने संयन्त्र मात्र होइनन्, तिनले पार्टी र क्रान्तिका कार्यहरूलाई वृहद् आयाममा रूपान्तरण गर्नका लागि पनि योगदान दिइरहेका हुन्छन् । पार्टीले भूमिका खेलेर जनसङ्घर्षका मोर्चाहरूमा हुने कार्यहरूलाई पार्टी र क्रान्तिसित जोड्दछ ।
८. पार्टीका निर्णयहरूको औचित्यता
पार्टी निर्णयहरू भन्नाले कम्युनिस्ट पार्टीका निर्णयहरूलाई बुझ्नुपर्दछ । पार्टीका निर्णयहरूको धेरै ठूलो असर हुन्छ । त्यसैले निर्णयहरू ठोस स्थितिको ठोस विश्लेषणको आधारमा गरिनुपर्दछ । पार्टीका निर्णयहरूले पार्टीका नीतिहरूका समेत नजीर स्थापना गर्ने भएकोले र पार्टीको कार्यदिशालाई निर्धारण गर्ने भएकोले तिनीहरूको वस्तुगत यथार्थता एवम् युक्तिसङ्गत मेल हुनुपर्ने  आवश्यकता हुन्छ । एकपटक पार्टी निर्णयहरू वेठिक भएको परिणाम धेरै समयपछि सतहमा आउ“छ र त्यसले पार्टीलाई धेरै ठूलो क्षति पुर्याउँछ । यसकारण पार्टी निर्णय पार्टीको सम्पूर्ण जीवनमा औचित्यपूर्ण हुन्छ । पार्टीले आफ्ना निर्णयहरूलाई जनसङ्घर्षका मोर्चाहरूमा पठाउनुपर्ने र कार्यान्वयनका लागि ती मोर्चाहरूले कार्यसम्पादन गर्नुपर्ने हुन्छ । यसरी पार्टी निर्णयहरूले पार्टीको सम्पूर्ण जीवनलाई त छुन्छन् नै, तर त्यसका साथै सङ्घर्षका मोर्चाहरू तथा जनसमुदायको बीचमा तिनीहरूका बिभिन्न परिणामहरू देखा पर्दछन् । यी सबै पक्षहरूमाथि ध्यान दिएर नै पार्टीले औचित्यपूर्ण निर्णय गर्नुपर्दछ ।
९. निष्कर्ष
पार्टीले जनसङ्घर्षलाई सङ्घर्षको प्रधान रूप बताएपछि जनसङ्घर्षले माग गर्ने स्थिति र पक्षहरूलाई सम्पन्न गर्ने वा जनसङ्घर्षका कार्यहरूलाई अगाडि बढाउनु हाम्रो कर्तव्य हुन्छ । जनसङ्घर्षलाई बढीभन्दा बढी शक्तिशाली बनाउन पार्टीको भूमिका आवश्वयक हुन्छ । त्यस भूमिका अनुसार नै जनवर्गीय मोर्चाहरूको निर्माण र बिभिन्न संयुक्त मोर्चाहरूको निर्माण गरेर जनसङ्घर्षका मोर्चाहरूलाई सुदृढ तुल्याउने प्रयास पार्टीले गर्दछ । सिद्धान्त र विचार प्रमुख कुरा भएपनि तिनको कार्यान्वयनको लागि शक्तिशाली सङ्गठनको पनि आवश्यकता पर्ने भएकोले त्यसतर्फ पनि पार्टीको ध्यान गएको हुनुपर्दछ । ठोस स्थितिको ठोस विश्लेषण नै पार्टीको निर्णय गर्ने क्षमता हो । यो क्षमतामा प्रश्नचिन्ह लाग्ने वित्तिकै पार्टी दिशाविहीन हुने वा कुनै भडकावमा जान सक्दछ । त्यसप्रकारको अवस्थामा क्रान्ति त हुँदैन नै, अझ क्रान्तिप्रति जनसमुदायको नकारात्मक धारणा बन्न जान्छ । त्यसरी पार्टीको गलत निर्णय अन्ततः क्रान्तिको विरोधी भएको पुष्टि हुन जान्छ । त्यसैले पार्टीले पार्टी र क्रान्तिका सम्बन्धीका कामहरू, तात्कालिक राजनीतिक भूमिका, जनवर्गीय मोर्चाहरूको उत्तरदायित्व, बिभिन्न कार्यनीतिक प्रश्नहरू आदिबारे औचित्यपूर्ण निर्णय दिएर, तिनलाई परिचालन गरेर तथा आफ्नो शक्तिलाई सुदृढ गरेर जनताको पक्षमा आफूलाई प्रस्तुत गर्दै जनसङ्घर्षहरूमा भूमिका खेल्दछ र खेल्नु पनि पर्दछ ।
२०७६ असोज ५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *