जालझेल र भ्रमको खेती नगर्न नेपाल समूहद्वारा ओलीलाई चेतावनी

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि भनेर राखेको ६ बुँदे प्रस्तावलाई वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जालझेल, अन्योल र भ्रमको आधारमा अल्मल्याउन आएको निष्कर्ष निकालेको छ ।

सोमबार नेपाल–खनाल समूहले एक वक्तव्य प्रकाशित गरी अध्यक्ष ओलीले पार्टी एकताका लागि भन्दै राखेको प्रस्ताव अल्मल्याउने र विभाजन गर्ने दुरासयबाट आएको जनाएको छ । ओलीले २०७५ जेठ ३ को पार्टी संगठनलाई सक्रिय बनाउने भनी गरेको प्रस्तावलाई नेपाल समूहले अस्वीकार गरेको छ।

‘२०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरिएको छ। यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापि देखिन्न। यो अस्वीकार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँ (ओली) को वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ ।’

आफूनिकट स्थायी कमिटीका सदस्यहरुको बैठकपछि जारी गरेको विज्ञप्तिमा ओलीमा विधानअनुसार अघि बढ्ने सोच नदेखिएको भन्दै आफू पक्षको संगठन निर्माणको कामलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेको छ । अध्यक्ष ओलीको प्रस्तावमाथि छलफल गर्नका लागि सोमबार नेपाल निकट स्थायी कमिटीका सदस्यहरुको भर्चुअल बैठक भएको थियो।

अध्यक्ष ओलीले आइतबार साँझ छ बुँदे प्रस्ताव गर्नुभएको थियो जसमा २०७५ जेठ ३ गते पूर्वको संगठन क्रियाशील बनाउने उल्लेख छ । प्रधानमन्त्री ओलीको प्रस्तावको पहिलो बुँदाले एकताका लागि भन्दा पनि अनेकता सिर्जना गर्नका लागि ल्याइएको नेपाल पक्षको दाबी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार