ढोरपाटन नगरपालिकामा प्रशिक्षण

  •   
  •  
  •  
  •  
  •  
  •  

199 जनाले पढ्नु भयो ।

राष्ट्रिय जनमोर्चाको सङ्गठन विस्तार कार्यक्रमअन्तर्गत म ढोरपाटन नगरपालिकाको टोलीसँगै फागुन महिनाभर सङ्गठन विस्तार अभियानमा सामेल भएँ । त्यो नगरपालिका र त्यससँग जोडिएका गाउँपालिकासमेतको चुनाव क्षेत्र धेरै पटक राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू सङ्घीय (केन्द्रीय) सांसद र प्रादेशिक सांसदसमेतमा विजयी भएको क्षेत्र हो । त्यहाँको हाम्रो राजनीति जनस्तरमा जोडिएको छ । जनताले राष्ट्रिय जनमोर्चाको राजनीतिलाई सही ठह¥याएको क्षेत्र हो त्यो ।

म २६ वर्ष पहिला त्यहीँको वासिन्दा, त्यहीँको हाइस्कुलको शिक्षक र त्यहीँको राजनीतिक व्यक्तिको हैसियतमा स्थापित थिएँ । अहिले २६ वर्षपछि त्यही क्षेत्रमा राजनीतिक प्रशिक्षकको हैसियतमा जनतासम्म पुग्दा नयाँ, अनौठो र विजयी राजनीतिक व्यक्ति भएको महशुस भयो । कतिपय जनताले त बेग्लै भावना व्यक्त गरे । तपाई त अझै अरू पार्टीमा जानुभएको रहेनछ । धेरैले पार्टी छाडेर गएको सुन्दा र तपाई पुरानै पार्टीको भएर हाम्रासामु आउँदा हामी त आश्चर्यमा प¥यौँ । हामीलाई खुशी लाग्यो कि पुरानो हामीलाई राष्ट्रिय जनमोर्चामा सङ्गठित हुनुपर्छ भन्ने मान्छे हाम्रै पार्टीका बिउ पनि अझै सकिएका रहेनछन् । दुई दुई पटक चुनाव जिताएका परि थापाले पार्टी छाड्ने, गाउँ विकास समितिको अध्यक्षमा जिताएका तुल्सीराम अर्यालले पार्टी छाड्ने, जिल्लाका सभापति भएर भाषण गर्न आउने लीलाबहादुर थापाले पार्टी छाड्ने समाचार थाहा पाएका हामीले हामीहरूको बिचमा नभएका दुर्गा सरले पनि पार्टी छाड्नुभएको होला भन्ने सोचेका थियौँ । तर तपाईलाई हाम्रो सामुन्नेमा हाम्रै पार्टीको मान्छे भएर भेट्न पाउँदा धेरै खुशी लाग्यो भन्ने उनीहरूको भनाइ थियो ।

सिङ्गै एक पुस्तापछिसम्म प्रत्यक्ष फाइदा नभइकन पनि र आफ्नो पार्टी भनेर जनता अडिएको देख्दा म आफूलाई गौरवको महशुस भयो कि म सही पार्टीमा छु र मैले सही तरिकाले जनताको पक्षमा राजनीति गरिरहेको छु । जनताले राजा मान्छन्, नेता मान्छन्, धर्म मान्छन् । समग्रमा अरूलाई मान्छन् र आफूलाई हीन सम्झन्छन् । तर म राजा विरोधी, धर्म विरोधी, परम्परा विरोधी, व्यक्तिका पनि धेरै शुभचिन्तक जनता भएको पाउँदा मेरो खुशीको सीमा रहेन । मैले भन्दै गरेँ कि जनताको मुक्ति जनता आफैले गर्नुपर्छ । अरू ठुला ठुला मान्छेको काम त जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने मात्र हो । त्यसकारण फाइदा उठाइसकेपछि अथवा नेता भइसकेपछि अवसरवादीहरूले पार्टी छाडेका हुन् । मैले जनतालाई सचेत र सङ्गठित बनाउनु छ । त्यसैले यही पार्टीमा काम गरिरहेको छु । जनतालाई सचेत, सङ्गठित र अनुशासित बनाउन खोज्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्रै हो । यही नेकपा (मसाल) को वैधानिक मोर्चा मात्रै हो ।

राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान–२०७६ फागुन महिनाका लागि मैले प्रशिक्षण दिने काम बागलुङको दक्षिणी भेग बरेङको लिउवाबाट सुरु भयो । त्यहाँ जिल्लाभरका २१० जना प्रतिनिधि साथीहरू जुटेका थिए । एक घण्टाको एक पिरियड पढाउने मात्र मेरो भागमा परेकाले २०७६ फागुन ३ गते १ घण्टा मात्र पढाएर सुरु गर्न पाएको थिएँ ।

मेरो खास जिम्मा बुर्तिवाङ क्षेत्रको ढोरपाटन नगरपालिकाअन्तर्गतका गाउँ, टोल, वडामा सङ्गठन विस्तारको सिलसिलामा प्रशिक्षण गर्ने पनि थियो । मुख्य काम सङ्गठन विस्तार गर्ने भए पनि किन र केका लागि सङ्गठन बनाउने हो ? प्रशिक्षणकै आवश्यकता पर्दथ्यो । म ४ गते बुर्तिवाङ पुगेर ५ गतेबाट प्रशिक्षण गर्ने काम सुरु गरेको थिएँ । प्रशिक्षणका लागि सहभागीहरू जम्मा गर्नुपर्दथ्यो । त्यसका लागि पनि सङ्गठन आवश्यक पर्दथ्यो । सङ्गठित साथीहरूलाई परिचालन गरेर सहभागी जम्मा गर्ने, जम्मा भएका सहभागीलाई प्रशिक्षण दिने, सदस्यता रसिद कटाएर सदस्य बनाउने, तिनीहरूमध्येबाट समिति गठन गर्ने र समितिमा काम बाँडफाँट गरेर आफ्नो टोल, छिमेकमा थप सदस्यता रसिद कटाएर सदस्य बनाउने अभियानको मुख्य जिम्मा थियो ।

तिनै जिम्मेवारी पूरा गर्ने सिलसिलामा फागुन ५ गतेबाट काम सुरु भयो । ५ गतेबाट २६ गतेसम्म २२ दिनमा बाइस ठाउँमा नै साथीहरूलाई जम्मा गरियो । ढोरपाटन नगरपालिकाको वडा नं. १, २, ३, ५, ६, ७ र ८ का विभिन्न गाउँ र टोलसमेतमा २१ ठाउँ र निसीखोला गाउँपालिकाको केन्द्र झियाखोलामा एक ठाउँ गरी २२ ठाउँमा जम्मा ५७७ जना सहभागीको बिचमा हामीले हाम्रा काम सफलतापूर्वक सम्पन्न ग¥यौँ । ढोरपाटन नगरपालिकामा ४ नं. र ९ नं. वडा र तिनीअन्तर्गतका गाउँ, टोलमा जान सकेनौँ । त्यहाँ पुग्न नसक्नुका कारण पहिलो समयको अभाव र दोस्रो ती वडाका साथीलाई सक्रियतापूर्वक परिचालन गर्न नसकिएकाले पुग्न नसकिएको हो । निसीखोलाका विभिन्न वडा, टोल र गाउँमा पुग्नलाई पनि मुख्यतः समयको अभाव नै थियो । पूरै क्षेत्रको भेला गरेर योजना बनाउने र समय मिलाएर सबै ठाउँमा पुग्ने कार्यक्रम पनि बनाउन सकिएन ।

ढोरपाटन नगरपालिका र त्यसआसपासका गाउँपालिकासमेतको चुनाव क्षेत्र राष्ट्रिय जनमोर्चाको घना सङ्गठन र जनस्तरमा प्रभाव रहेको क्षेत्र हो । २०५१ सालको निर्वाचन र त्यसपछिको संसदीय निर्वाचनसमेतमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार परि थापाले दुई पटकसम्म जितेको क्षेत्र हो । त्यतिखेरदेखि नै नेपाली काङ्ग्रेस र एमालेजस्ता ठुला र सत्तासिन पार्टीले राष्ट्रिय जनमोर्चाको सङ्गठन कमजोर बनाउन र आफ्नो प्रभाव क्षेत्रका रूपमा विकास गर्न धेरै मिहिनेत गर्ने गरेका थिए । राष्ट्रिय जनमोर्चाका पक्षधर शिक्षकलाई विस्थापन गरेर आफ्ना पक्षका शिक्षकलाई राख्न अथवा राष्ट्रिय जनमोर्चाका शिक्षकलाई प्रलोभनमा पारेर आफ्ना कार्यकर्ता बनाउन पटक–पटक सत्ताको उपयोगसमेत गर्ने गरेका थिए । अस्थायी शिक्षकलाई हटाएर, स्थायी शिक्षक परिपूर्ति गर्ने अभियान चलाएर सत्ताको आडमा आफ्नो पार्टीको सदस्यता लिएको खण्डमा मात्र स्थायी नियुक्ति लिन पाइन्छ भनेर कि सदस्यता लिनुपर्ने कि जागिर छाड्नुपर्ने अवस्था पनि नबनाएका होइनन्, तर पनि जनताले राष्ट्रिय जनमोर्चाको साथ र सहयोग नछोडेको क्षेत्र हो ।

सदरमुकाम बागलुङ बजारबाट २०–२५ कोश टाढा पर्ने दुर्गम क्षेत्र र यातायातसमेतको व्यवस्था नभएको अवस्थाको ढोरपाटन क्षेत्रका जनताले पुरानो स्थायी नेतृत्वसमेतको विचार गरेर राष्ट्रिय जनमोर्चामा मत दिने गरेका हुन् । अहिले मोटरबाटोले सुगम बनाएको छ । पुराना पुस्ताका नेतृत्व बसाइँसराइ र अन्य विभिन्न कारणबाट ठाउँ छाडिसकेको भए पनि नयाँ पुस्ताले जनताको बिचमा काम गरिरहनुभएको छ । नयाँ पुस्तामा राजनीति हस्तान्तरण भए पनि पुराना पुस्ताको प्रेरणाले साथीहरू अविचलित रूपमा जनताको नेतृत्व गरिरहनुभएको छ ।

कम्युनिस्ट पार्टी श्रमजीवीको पार्टी हो । श्रमजीवी वर्गका आधारभूत पक्ष उत्पादन कार्यमा लागेका श्रमजीवी हुन् । ती भनेका मजदुर, किसान र बुद्धिजीवी नै खेतीकिसानीमा आफ्नो श्रम खर्च गरेर उत्पादन गरी आफ्नो खर्च टार्ने किसान हुन् । उद्योगमा उत्पादनको काम गरेर आफ्नो खर्च टार्ने मजदुर हुन् र ती दुवै क्षेत्रमा उच्च बौद्धिक क्षमता प्रयोग गरेर उत्पादन बढाउने र आफ्नो व्यक्तिगत खर्च टार्ने बुद्धिजीवी हुन् । श्रमजीवी वर्गका आधारभूत वर्ग भनेका तिनै किसान, मजदुर र बुद्धिजीवी हुन् । तिनीहरूबाहेकका निम्नमध्यम वर्ग, मध्यमवर्ग, उच्च मध्यमवर्ग र पुँजीपति वर्ग नै हुन् । सामन्ती स्वामित्व कायम रहेको अवस्थामा सामन्त पनि यही शोषकवर्गमा पर्दछन् । यिनीहरू निम्न पुँजीपति र पुँजीपतिहरू गरी कम आम्दानी गर्ने र बढी नाफा गर्ने गरी शोषकवर्गमा पर्दछन् । शोषकवर्ग भने पनि निम्न पुँजीपति वर्गले थोरै आम्दानी गर्छन् र श्रमजीवी वर्गमा जस्तै ठुला पुँजीपति वर्गको शोषणमा परेका हुन्छन् । ढोरपाटन नगरपालिका क्षेत्रमा सङ्गठनका साथीहरू श्रमजीवी वर्गका छन् र तिनीहरूकै नेतृत्व कायम छ । उनीहरू भरपर्दा कार्यकर्ता पनि हुन् । ठुला शहर, बजारका कार्यकर्ता निम्न पुँजीपति वर्गका भनिएपनि उनीहरूको आम्दानीमा श्रमको अंशभन्दा शोषणको अंश बढी हुन्छ । तर त्यहाँ ग्रामीण इलाका भएकाले निम्न पुँजीपतिमा शोषणको भन्दा श्रमकै अंश बढी हुन्छ । त्यहाँको सङ्गठनमा श्रम गरेर खर्च टार्ने कार्यकर्ता, जुन आधारभूत वर्गका कार्यकर्ता हुन्, उनीहरूकै बाहुल्यता छ । त्यसकारण त्यहाँ सरदर जनताको आर्थिकस्तरभन्दा कार्यकर्ताको आर्थिकस्तर माथि छैन, बरु अझै निम्न छ । त्यही भएकाले जनताका बिचमा इमान्दारितापूर्वक प्रस्तुत हुन्छन् र एकता बलियो हुनेगरी स्थापित कार्यकर्ता जनताको बिचमा छन् ।

त्यहाँ जनतासामु राजनीति पुग्नुको अर्को कारण नेतृत्वमा कार्यकुशलतासहित निरन्तर खटेका व्यक्ति भएको हुनाले पनि हो । आमूल परिवर्तनको राजनीतिक लाइन पक्रेर लगातार जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन खट्ने काम सजिलो छैन । दृढ सङ्कल्पसहित श्रम, श्रमिकमाथि विश्वास गरेर सहकार्य बढाउने र अवसरवादीको भण्डाफोर गर्ने कामलाई पेशा बनाउन जस्तोतस्तो व्यक्तिले सक्दैनन् । अवसरको उपयोग गरेर फाइदा उठाउने र जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउनकै लागि धेरै मान्छे राजनीतिप्रति आकर्षित हुन्छन् । केही समयसम्म क्रान्तिकारिता प्रदर्शन पनि गर्दछन् । तर उनीहरूको अवसरवादी उद्देश्य कुनै न कुनै रूपमा प्रदर्शन गरिहाल्छन् । सचेत राजनीतिक शक्तिले थाहा पाएर भण्डाफोर गर्न लाग्दासाथ ढाकछोप गर्ने र केही नलागे पलायन हुने धेरै जनाको काम हो । आफैले अध्ययन गर्ने, प्रमाणसाथ विश्वास गर्ने र क्रान्तिको कामलाई आफ्नो दैनिक जीवनमा मिसाएर निरन्तर लागिरहने र जीवन भएको सङ्कल्पसाथ खट्न सक्ने व्यक्तिले मात्र क्रान्तिकारी काममा आफ्नो योगदान थप्न सक्छ । निरन्तरताको कारणले जनताको नजिक रहिरहने गरेपछि मात्र जनता आकर्षित हुन्छन् । जनताको बिचमा राजनीति गर्ने व्यक्तिको १० वर्षअघिको कुरा र काम, ५ वर्षअघिको कुरा र काम, अहिलेको कुरा र काम एकैनासका र झन्पछि झन् परिपक्व किसिमका भए भने मात्र जनताले विगत र वर्तमानलाई प्रमाण बनाएर भविष्यको विश्वास व्यक्तm गर्दछन् । त्यस क्षेत्रमा जनताबिच काम गर्ने साथीहरूले त्यसरी नै जनताको विश्वास जित्न सफल भएका छन् ।

३५ वर्षभन्दा पहिलेदेखि यो पार्टीप्रति आस्था राखेर राजनीति गर्ने साथीहरू त्यहाँ भएको र बसाइँ सरेर गएका हामीहरूको समेत सम्पर्क निरन्तर जीवित रहनाको कारणले पनि त्यहाँ राजनीतिक विचलन आएन । धेरै पटकको चुनावमा प्रचार प्रसार गर्दा र अघिपछि निरन्तर जनताको बिचमा राजनीतिक प्रचार गरिरहन गएको अवस्थाले गर्दा पनि जनताको आस्था रहेको हो । अर्को कुरा, राजनैतिक व्यक्तिको हैसियतमा जनताबिच स्थापित हुने कुरा पनि सजिलो छैन । आफ्नो पेशा नै राजनीति अथवा एउटा पार्टीको कार्यकर्ता भई निरन्तर जनताको बिच काम गर्ने सजिलो काम होइन । वर्तमान, वुर्जुवा व्यवस्थामा अनेक प्रलोभनसहित विचलित पार्ने, धेरै पार्टी, शक्ति र व्यक्तिहरू समाजमा छन् । व्यक्तिलाई पथभ्रष्ट बनाएर जनताको पिछडिएको चेतनास्तरबाट फाइदा उठाउने धेरै अवसरवादीको योजना हुन्छ । ती सबै प्रयत्नलाई असफल पारेर आफ्नो निश्चित उद्देश्यमा दृढ भएर लागेको नेतृत्वका कारणले त्यहाँका जनतामा सकारात्मक प्रभाव परेको हो ।

जनताले राष्ट्रिय जनमोर्चाको सिद्धान्त गलत भएको भन्दैनन् । नेतृत्व खराब भएको भन्दैनन् । कार्यक्रम गलत भएको पनि भन्दैनन् । जम्माजम्मी दोष पार्टी सानो छ भन्ने मात्रै हो । आफूहरू अवसरवादीको भुलभुलैयामा लागेर खराब पार्टीलाई साथ र सहयोग गर्ने, अनि राष्ट्रिय जनेमोर्चा सानो पार्टी हो भन्ने ? तपाईहरू आएपछि मात्रै पार्टी ठुलो हुन्छ भन्ने प्रश्नको जवाफ दिन सक्दैनन् । जे भए पनि जनताको राजनैतिक चेननास्तर कम भएकाले हो भनेर ३०–३५ वर्षदेखि लगातार जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन लागिपरेका पार्टीका कार्यकर्ता त्यहाँ भएकाले जनतामा विश्वास बढेको र बढ्दै गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *