तारा जिसी : बाल कलाकारदेखि नीति निर्माणको तहसम्म

324 जनाले पढ्नु भयो ।

  • लक्ष्मी चौधरी

काठमाडौ । प्रदेश ५ को राजधानी बुटवलबाट भालुबाङ सार्ने विषयमा भएको विवादले गत असोज १९ गते लुम्बिनी प्रदेश सभामा तोडफोड भयो । विपक्षी काङ्ग्रेसका सांसदले आफू बस्ने कुर्सी मात्रै भाँचेनन्, प्रदेशसभामा अमर्यादित व्यवहार प्रदर्शन गरे । त्यसो त प्रदेशको नामकरण र राजधानीको विषयमा लुम्बिनी प्रदेशमा मात्रै होइन, सबै प्रदेशमा आन्दोलन र असन्तुष्टि प्रकट भइरहेका छन् । प्रदेश १ र २ ले त अहिलेसम्म न नामको टुङ्गो लगाउन सकेको छ, न राजधानीको नै ।

लुम्बिनी प्रदेशसभामा भएको तोडफोड र सांसदहरूको अमर्यादित व्यवहारले पुरै देशबासीलाई खिन्न बनायो, सङ्घीयताप्रति थप वितृष्णा उत्पन्न भयो । त्यो अवस्थामा प्रदेशसभामा उभिएर सांसद तारा जिसीले दिएको अभिव्यक्तिले देश र जनताको ध्यान खिच्न सफल भयो । राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित सांसद जिसीले देश र जनताको ध्यान आफूतिर खिच्न सफल मात्रै हुनुभएन, जनताको वास्तविक आवाज बोलेर वाहवाही कमाउनुभयो ।

जिसीले भन्नुभएको थियो– ‘स्थायी राजधानी दाङको भालुवाङमा तोकिएपछि रूपन्देहीमा विरोध हुने ट्रेलर मात्रै हो । वास्तविक तस्बिर आउनै बाँकी छ । नेपालको राजनीतिक परिवर्तनमा कसैले सङ्घीयता चाहेका थिएनन् । आवाज पनि उठाएका थिएनन् । २०६२ को जनआन्दोलनमा पनि उठेको थिएन । अन्तरिम संविधानपछि चोर बाटोबाट छिराइयो ।’

यो एउटा उदाहरण मात्रै हो, तारा जिसीले संसदमा दिएको अभिव्यक्ति कसरी देश र जनताको आवाज बन्न सफल हुने गरेको छ भन्ने । उहाँका प्रष्ट र निर्भिक अभिव्यक्तिलाई जनताले मन पराउँछन् र आफ्नो अभिव्यक्ति ठान्छन् ।

तारा जिसी लुम्बिनी प्रदेशसभामा राजमोको तर्फबाट एक जना मात्रै प्रतिनिधि हुनुहुन्छ । तर, जनताको पक्षमा उहाँले दिने गरेका अभिव्यक्ति तथा आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका लागि गरेको पहलका साँच्चै उहाँप्रति पार्टी र मतदाताका लागि भरोसायोग्य नेत्री बन्न सफल हुनुभएको छ ।

सांसद जिसी सुरुमा बाल कलाकारको रूपमा नेकपा (मसाल) को राजनीतिमा आबद्ध हुनुभएको थियो । १२–१३ वर्षको कलिलै उमेरमा उहाँ रक्तिम सांस्कृतिक अभियानको कलाकार भएर विभिन्न ठाउँमा गीत तथा नृत्य प्रस्तुत गर्दै हिँड्नुभयो । रहरमै हिँडेको कलाकारिताको बाटोले उहाँलाई राजनीतितर्फ अग्रसर गरायो । रक्तिमको गीतसङ्गीतप्रति रुचि राख्ने जिसी भन्नुहुन्छ– ‘अहिले पनि मलाई नाच्न र गाउन रहर लाग्छ । अलि उमेर भएर मात्र हो, यो क्षेत्रमा मलाई पहिल्यैदेखि अत्यधिक रुचि हुने गर्दथ्यो ।’

प्युठान जिल्लाको साविक नारीकोट गाउँपालिका वडा नम्बर ९ हाल गौमुखी गाउँपालिका–७ मा २०३४ जेठ २९ गते बुबा मेहरसिंह बुढाथोकी र आमा लीलादेबी बुढाथोकीको कोखबाट जन्मनुभएकी जिसी अहिले राष्ट्रिय जनमोर्चाको तर्फबाट लुम्बिनी प्रदेश सांसद हुनुहुन्छ । त्यस्तै, अखिल नेपाल महिला सङ्घको केन्द्रीय सदस्य तथा राजमोको पनि केन्द्रीय सदस्यको भूमिकामा रहेर पार्टिको काममा सक्रिय हुनुहुन्छ ।

उहाँ आफू राजनीतिमा सक्रिय र यो स्थानसम्म आइपुग्नुमा परिवारको सहयोग र साथ महत्वपूर्ण रहेको बताउनुहुन्छ । आफू जन्मेको माइतीघरमा अभिभावकहरू राष्ट्रिय जनमोर्चामा आबद्ध भएर काम गरेको सानैबाट देखेकी जिसीलाई राजमोको राजनीतिले आकर्षित गर्दै लग्यो । अझ उहाँको सानो काका सर्वजीत बुढाथोकी राजमोको तर्फबाट १० वर्षसम्म गाविस अध्यक्ष भएर काम गरेको हुनाले थप प्रेरणा मिलेको जिसी बताउनुहुन्छ । कलाकारबाट राजनीति सुरु गर्नुभएकी जिसीले जिल्लामा बिदार्थी, जनजाति, महिला सङ्घलगायत विभिन्न जनवर्गीय सङ्गठनमा आबद्ध रहेर पनि काम गर्नुभएको छ ।

२०५४ सालमा नेकपा (मसाल) का हाल रूपन्देही जिल्ला प्रवक्ता नारायण जिसीसँग उहाँको विवाह भयो । त्यसपछि उहाँ पनि श्रीमानसँगै भारतमा मजदुरी गर्न जानुभयो । भारतका विभिन्न सहरमा बसेर मजदुरी गर्दा पनि उहाँ राजनीतिबाट अलग हुनुभएन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

भारतमा सङ्गठित भएर काम गर्न नेपालजस्तो सहज नभएको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ– ‘नेपालमा भन्दा भारतमा त्यतिबेला राजनीति गर्न अलि कठिन थियो । एकातिर अरू देशको नागरिक, त्यसमा पनि महिला । मजदुरी गरेर परिवार धान्नुपर्ने बाध्यतामा रहेका नेपालीका लागि राजनीतिमा सक्रिय हुन सजिलो त पक्कै छैन, तैपनि सङ्गठनले दिएको जिम्मेवारी पूरा गर्न कहिल्यै पछि परिएन ।’

लामो समयसम्म प्रवासको सङ्गठनमा आबद्व भएर काम गरेपछि २०७४ सालमा जिसी दम्पति प्रवासबाट बिदा लिई नेपाल फर्कनुभयो । त्यसपछि उहाँहरू दुवै जना नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चामा आबद्ध रहेर विभिन्न जिम्मेवारीमा सक्रिय रहनुभएको छ । आफू पार्टीले दिएको जिम्मेवारीअनुसार सङ्गठनकै काममा लागिरहेको जिसी बताउनुहुन्छ ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट अहिले प्रतिनिधि सभामा एक जना मात्रै सांसद हुनुहुन्छ भने गण्डकी प्रदेशमा तीन र लुम्बिनीमा जिसी एक जना मात्रै सांसद हुनुहुन्छ । बाँकी प्रदेशमा राजमोको प्रत्यक्ष उपस्थिति छैन । जनप्रतिनिधिमूलक संस्थामा प्रतिनिधित्व गर्ने राजमोका थोरै सदस्यले आम जनताका लागि धेरै बोल्नु र गर्नुपर्ने छ, जुन काम लुम्बिनी प्रदेशबाट तारा जिसीले कुशलतापूर्वक गरिरहेको राजमोका नेता कार्यकर्ताको बुझाइ छ ।

सत्तामा रहेको राजनीतिक दलको अन्तरिक किचलोका कारण प्रदेश संसदको बैठक हाल लामो समयदेखि बसिरहेको छैन । यतिबेला सांसद जिसी सङ्गठनका अन्य काममा ब्यस्त रहनुभएको छ । संसदभित्र वा बाहिर जहाँबाट भए पनि आफ्नो जिम्मेवारी जनताको आवाज बोल्ने र जनताको पक्षमा काम गर्नु रहेको भन्दै आफूले सकेसम्म त्यो जिम्मेवारी पूरा गर्न प्रयत्न गरेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय सङ्घीयताका कारण देशमा कैयौँ विकृति भित्रिएकाले सङ्घीयता खारेजी गर्नुपर्ने जिसीको माग रहेको छ । ‘यसले एकातिर कर बढेको छ । जनताको विकास निर्माणमा खर्च हुनुपर्ने बजेटको ठुलो हिस्सा सङ्घीयता धान्नका लागि भइरहेको छ’ जिसी भन्नुहुन्छ– ‘अर्कोतिर तराई र पहाड–हिमाल अलग गर्ने, विभिन्न जाति र भाषाका जनताबिच फुट पैदा गर्ने र देशको सार्वभौकिता र अखण्डतालाई खण्डित पार्ने प्रयास भइरहेको छ । त्यसप्रति सचेत हुनुपर्ने आवश्यकता छ ।’

अहिलेको अवस्थामा जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिहरू लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशी–समानुपातिक प्रणालीलाई जोगाउँदै जनताको वास्तविक व्यवस्था ल्याउन निरन्तर सङ्घर्ष गरिरहनुपर्ने जिसी बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *