तिजको व्रत नवसे हुदैन र ?

0Shares

56219 जनाले पढ्नु भयो ।

निरु सारु

महिलाहरुको महान चाड हरितालिका तिजको अघिल्लो दिन अर्थात आजको दिन दर खाने चलन चल्दै आएको छ । भाद्र शुल्क द्धितिया अर्थात हरितालिका तिजको अघिल्लो दिन तिजको निराहार व्रत बस्ने शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा हो ।

विबाह भएको छोरीहरुको घरमा गएर विशेष निमन्त्रणा सहित छोरीहरुलाई साथमा माईत ल्याउने र विभिन्न प्रकारका परिकार पकाएर परिवार साथमा बसि रमाइलो गर्दै खाने र आफ्ना बाल्यकालमा बिताएका दिनहरु भाई बहिनिहरु साथमा बसि साझा गर्ने परम्परा पनि रहेको छ, पारिवारिक सामाजिक रुपमा यसको सकारात्मक पक्ष हो र यसलाई म पनि आत्मसात सम्मान गर्दछु ।

यसैलाई सनातन हिन्दु धर्मलम्बिहरुको मान्यता अनुसार परापुर्वकालमा देवि पार्वतीले शिवजीलाई मेरो पतिको रुपमा पाउँ भनि राखिएको व्रत द्धारा श्रीमानको रुपमा शिवजी मिलेको हुँदा सोही मान्यता अनुसार वैवाहित नारीले श्रीमानको लम्बी आयुको लागि र अविवाहित नारीहरुले राम्रो श्रीमान पाउ भनि निराहार व्रत राख्ने परम्परा पनि छ ।

म कुनै धर्मको खिलाफ भन्दा पनि नारिहरुको व्रत र समाजमा नारीहरुप्रति देखिएका केही समस्याहरुको बिषयमा मात्र लेख्ने प्रयास गर्ने छु । यस पृथ्वी भित्र संसारका विभिन्न देशहरुमा विभिन्न जातजाति र आफ्नै संस्कृति र धर्मलाई अंगिकार गर्दै बसोबास गर्ने नारीहरु हुनुहुन्छ । वास्तविक मानव संसार मात्र दुई जात महिला र पुरुष मात्र हुन ।

यस्तै हाम्रो देश नेपालमा पनि विभिन्न जातजाति, धर्म, आ– आफ्ना पुर्खौदेखि संस्कृतिलाई अंगिकार गर्दै आएका धेरै मानिसहरू बसोबास गर्दछन ।

सालभरीमा आउने विभिन्न चाडपर्वहरु जस्तै महिलाहरुको महान चाड हरितालीका तिजको पनि बिशेष महत्व छ,जसलाई अत्यन्तै रमाईलोसँग मनाउने गरिन्छ । विश्व सामु आफ्नो संस्कृतिको पहिचान गराउँनुको साथै देशको पहिचानको अत्यन्तै सकारात्मक पक्ष हो ।

मेरो मतभेद काहाँनिर छ भने महिला दिदिबहिनीहरुले निराहार व्रत बसेर समाजमा नारिहरु प्रत्ती पुरुषहरुको, श्रीमतीप्रति श्रीमानको र युवतिहरुप्रति युवकहरुको सोंच वास्तविक रुपमा बदलिएको छत ? यहि मेरो प्रश्न शिक्षित व्रत बस्ने नारीहलाई पनि गर्दछु ।

मेरो व्याक्तिगत रुपमा बिचार राख्दा यो मात्र एउटा धर्मले पुरुषहरु प्रतिको सम्मानलाई अंगिकार गरेको कु–संस्कार, नारीहरुप्रतिको अत्याचार र धर्मको नाममा दुकान खोली बस्नेहरुको मुनाफाको व्यापार हो जसलाई केही शिक्षित महिला दिदिबहिनीहरुले पनि साथ दिदै आउनु भएको छ र व्रत बसेर लामो आयु वा श्रीमान मिल्छ भन्ने परम्परालाई सबै मिलि बिरोध गर्नु पर्छ ।

व्रतको सकारात्मक पक्ष भनेको केहो भने अहिलेको खानपिन, भागदौडमा आफुलाई स्वास्थ राख्नको लागि तिज कुरेर हैन सप्ताहमा एक दिन व्रत बस्न सक्नु हुन्छ भने यसले हजुरहरुलाई तन्दुरुस्त रहन मद्दत पुर्याउछ ।

नारीहरुले, मानव प्राणीलाई जिविन्त राख्नको लागि जति संघर्ष गर्दै आएका छौं, हामीहरु प्रति हुने जघन्य अपराधहरु मध्ये आंशिक रुपमा केहि परिवर्तन भए पनि पुर्णतः हामीहरुले मुक्ती पाउनको लागि व्रतलाई अंगिकार गरेर हैंन पुरुषहरूको मानसिकतालाई बदल्नु पर्दछ । यो कार्य सजिलोसँग कुनै मुर्तिको पुजामा समय बिताएर पाउने अभिलाषा गर्ने हैन, शिक्षाको महत्वलाई अगाडी बढाउँदै नारीहरुलाई जागरुक गर्दै समृद्धि समाज निर्माण कार्यमा आफ्नो पहिचान बनाउने सबै मिलि आत्मसात संकल्प लिनु पर्दछ ।

अन्त्यमा : २०७७ को महान चाड हरितालिका तिजि कार्यक्रम कोरोना महामारीले गर्दा बिगतका सालहरुमा जस्तै सबै मिलि खुशिसाथ मनाउन परिस्थिति अनुकुल नभएको हुँदा सिमित रुपमा आफ्नो घर, टोलमा सामाजिक दूरी कायम गरि तिजलाई मनाउँ । संसार भरी छरिएर बस्नु भएका सम्पूर्ण महिला दिदि–बहिनीहरुको सु–स्वास्थ, दृघायुको कामना गर्दै, २०७७ सालको हरितालिका तिजको शुभकामना व्यक्त गर्दछु ।

(लेखिका : महिला नगर विभाग हिसारकी संयोजक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *