तीजी गीत : देशको अबस्था

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

459 जनाले पढ्नु भयो ।

जमुना शर्मा (पाण्डेचरी)

घुमिफिरि तीज आयो माइती देश संझायो
जन्मभूमि संझिएर मुटु बिझायो ।
सुन्दर शान्त हाम्रो देशमा हत्या हिंसा चर्कियो
काट्मारका घटना सुन्दा मनै धर्कियो ।।

अत्याचार र शोषण दमन चेलिलाई बढि भो
उठौं दिदी बैनि अब कति सहनी हो ।
एकातिर कोरोनाले संसारलाई रूवायो
बाढि र पहिरोले देश डुबायो ।।

कोहि मरे बिदेशमा कमाउन गएका
क्वारेन्टाइन मै मरे भन्छन् फर्कि आएका ।
आफ्नासँग नभेटेर बस्नुपर्ने दिन आयो
पार्थिव शरिर नपाईने कस्तो पिडा हो ।।

शव गन्द छ सरकारले यति मरे भनेर
जोगिइ बसौं है आफैं जानेर ।।
बाढि र पहिरोले अस्तबयस्त घर हुँदा
कति पिडा भए होला आफ्ना गुमाउँदा ।।

नत बस्ने बास छ नत मुखमा गास छ
सरकारले हेर्ला भन्ने सुख्खा आशा छ ।
सिंहदरबारको अधिकार गाउँ गाउँमा लिएर
के मिल्यो त जनताले भोट दिएर ।।

धेरै पर्यो आपद र बिपत्ति हाम्रो प्यारो देशमा
अपराधी हिड्दैछन् फरक भेषमा ।
जीवन र मृत्युको दोसाँधमा परेर
सिकिस्तै छन् कलि चेलि तेजाब छरेर ।।

छिमेकीले सास्ति दिन्छ बेलामौका छोपेर
नेपालीको मुटुमा छुरा रोपेर ।
रातारातमा जंगे पिल्लर अझै वर सारेर
सिमानाका जनतालाई बोल्छ हेपेर ।।

सरकार अल्झिराछ सत्ताको भागबण्डामा
निमुखा जनता परेउँ फन्दामा ।
कम्युनिस्टको सरकार हुनुपर्ने शसक्त
घटनाक्रम बुझ्दै जादा लाग्यो अशक्त ।।

उठ्नुपर्छ देशप्रेमी न्यायप्रेमी दाजुभाइ
सबैभन्दा उच्च राखौं राष्ट्रियतालाई ।
राम्रो कामलाई स्याबासी नराम्रोलाई खबरदार
यत्तिकैमा रोक्छु कलम सबलाई नमस्कार ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *