तुइन काटी हत्या गर्दा मौन छ सरकार !

(खिमराज चालिसे, चण्डीगढ)

संसारमा कहिल्यै गुलाम नभएको मेरो देश।
सयौँ शहिदहरूको रगतले सिचित मेरो देश।।
साम्राज्यवादसँग झुक्दै नझुकेको यो मेरो देश।
शासकको लाचारीले यहाँ झुक्दै छ मेरो देश।।

ऐतिहासिक वीरताको सान बोकेको मेरो देश।
संसार चकित पार्ने वीरता बोकेको मेरो देश।।
मुठ्ठीभर शाशकको खेलौना बन्दैछ मेरो देश।
शाशकको मनपरी चल्ने पो बन्दैछ मेरो देश।।

कहिले नालापानी त कहिले कालापानी लुट्यो।
कहिले टिष्टा लुट्यो त कहिले कांगडा लुट्यो।।
लिपुलेक र लिम्पिया जस्तै सीमा सीमा लुट्यो।
जिल्ला जिल्ला जहाँ पायो त्यहीँ वर्षैंदेखि लुट्यो।।

तुइन काटी हत्या गर्दा मौन रहन्छ सरकार।
श्रम बेचेर रेमेटेन्समा रमाउँछ सरकार ।।
युवा भरि छिमेकको रक्षामा पठाउँछ सरकार।
दलाली र चाप्लुसीको परकाष्ठा छ सरकार ।।

कहिले सिमामा गोली खाँदै मर्छ हाम्रो नागरिक।
कहिले तुइन काटेर हत्या गर्छ हाम्रो नागरिक।।
कहिले आफ्नै सीमा सुरक्षा मै मार्छ नागरिक।
साम्राज्यवादको सुरक्षामा मर्छ हाम्रो नागरिक।।

अन्याय र अत्याचारले सीमा नाघिसक्यो अब।
सबै नागरिक स्वाभिमानको लडाईं लडौँ अब।।
साम्राज्यवाद विरुद्ब सशक्त प्रतिवाद गरौँ अब।
स्वाभिमानी नेपालीहरू स्वाधिनता बचाऔँ अब।।

सरकार मौन छ राजनीति मौन छ हामी उठौँ।
व्यवस्था मात्र होइन साम्राज्यवाद विरुद्ध जुटौँ।।
रगतको बलिदानी दिनै परे पनि दिन्छौँ अब।
धृतको अहंकार तोडौँ है राष्ट्र बचाउन अब।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार