तुइन काटेर नेपाली बेपत्ता पारिएको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । भारतीय अधैशैनिक बल (एसएसबी) ले महाकाली नदी तर्ने क्रममा तुइन काटेर नेपालीलाई बेपत्ता बनाएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्रालयले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको हो ।

आइतबार गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको मन्त्रालयले जनाएको छ ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।

समितिलाई घटनाको अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ । यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ माल बस्ने वर्ष ३३ का जयसिंह धामी एसएबबीले तुइन काटेका कारण तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका थिए । उनको खोजी जारी छ ।

सो कार्यमा संलग्न भारतीय एसएसबीमाथि कारबाहीका लागि पहल गर्न सरकारमाथि चौतर्फी दबाब बढेको छ । विभिन्न राजनीतिक दल तथा संघसंगठनहरूले सो घटनाको निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार