दर्शन: धर्मको उत्पत्ति मानिसको अज्ञानताको उपज

  •   
  •  
  •  
  •  
  •  
  •  

350 जनाले पढ्नु भयो ।

– हस्तबहादुर केसी

“धर्म जनताको लागि ‘अफिम’ हो”– कार्ल मार्क्स
“ धर्म ‘फलहीन फूल’ हो” – भी. आई. लेनिन

धर्म के हो ? धर्मको कहिले र कसरी भयो ? धर्म केमा आधारित रहेको छ ? आदिबारे यस लेखमा धर्मकाबारेमा मार्क्सवादी विश्वदृष्टिकोणका आधारमा विश्लेषण गर्ने प्रयत्न गरिनेछ ।

(१) धर्म भनेको के हो ?

धर्म भनेको मानवीय चेतनाको त्यो एउटा रुप हो , जसको विशिष्ट लक्षण मनमा हावी भएको बाह्य शक्तिको भ्रमपूर्ण रुप हो, जसमा पार्थिव शरीरले अलौकिक रुप ग्रहण गर्दछ । धर्म मानिसको दिमागमा परेको भ्रमपूर्ण छाप हो ।

धर्म मानिसको समाज र प्रकृतिप्रतिको भ्रान्त धारणा हो । धर्म भनेको अलौकिक शक्तिमाथि विश्वास गर्नु हो । धर्मकोबारेमा फ्रेडरिक एंगेल्स भन्नू हुन्छ, –“ हरेक प्रकारको धर्म मानिसको दिमागमा ती बाह्य शक्तिशरुको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन , जसले तिनको दैनिक जीवनलाई शासित गर्दछन् । यो प्रतिबिम्बमा पार्थिव शरीरहरुले अलौकिक शक्तिहरुक रुप धारणा गरेका हुन्छन् ।“ (मार्क्स – एंगेल्स, धर्म के बारे में, राहुल फाउन्डेसन, लखनउ, पृष्ठ १५०, ई. २००८) । धर्मकाबारेमा एंगेल्सले भनेको कुरा साँचो हो ।

(२) धर्मको उत्पत्ति कहिले भएको हो ?

धर्मको उत्पत्ति आदिम समाजमा भएको हो । अर्थात् धर्मको उत्पत्ति आदिम साम्यवादी समाजमा भएको हो, जुन बेला मानिस जंगली अवस्थामा थियो , त्यतिबेला मानिसको चेतना स्तर कलिलो थियो । त्यस बेला प्रकृति तथा बाह्य संसारकाबारेमा जान्नका लागि उसको ज्ञानको स्तर छिपछिपे थियो । उसले प्रकृतिमा घट्ने घटनाहरुलाई जान्न बुझ्ने क्षमता राख्तैन्थ्यो । आदिम साम्यवादी समाजमा उत्पादक शक्तिको विकासको निम्नस्तरको कारण प्राकृतिक शक्तिका अगाडि मान्छे अबुझ भएको हुनाले धर्मको यत्पति हुने वातावरण बनेको थियो । त्यसै बखत मानव समाजमा मानिसहरुको चेतनामा व्याप्त अज्ञानताको उपजका कारण धर्मको उत्पति भएको हो ।

यहाँनीर एउटा के कुरा जान्न जरुरी हुन्छ भने धर्म एक्कासि आफै जन्मिएको वा उत्पत्ति भएको होइन , यो मानिसद्वारा जन्माइएको हो ।

(३) धर्मको विकास कसरी भयो ?

धर्मको विकासको इतिहास ज्यादै लामो छ । आदिम समाजमा उत्पन्न भएको धर्म प्रारम्भमा गणसमाजमा गणचिन्हवाद , जीवात्मवाद तथा देवताहरु मान्ने चलन चलाएपश्चात बहुलदेवतावाद ( ३३ कोटी देवता भनेर स्थापित गरिएको पाइन्छ ) का रुपमा र त्यसपछि एकेश्वरवादका रुपमा विकास भएको पाइन्छ ।

जब दाससमाज सामन्ती समाजमा विकासित भयो त्यसपछि धर्म धेरै विकसित हुदै गएको पाइन्छ । दास समाजको विकाससंगै वर्गीय समाजको विकास भयो । वर्गीय समाजमा धर्मले हुर्कने र विकसित हुने मौका कसरी पायो भने त्यहाँ वर्गीय उत्पीडन, अन्यायपूर्ण सामाजिक सम्बन्ध, गरीबी जनता अधिकारबाट बञ्चित भएको अवस्था सृजना भयो अवस्था थियोे, त्यसले गर्दा सर्वसाधारण जनतामा निराशा बढ्यो र उनीहरूका आशाहरु अलौकिक शक्ति, ईश्वरमा केन्द्रित हुन पुग्यो । विश्वमा र कुनै खास खास देशका सन्दर्भमा पनि स्थानीय रुपमा अनेकौं धर्महरु देखिने गरेको पाइन्छ ।

तर संसारमा धेरै किसिमका धर्महरु देखा पर्दै आएको भए पनि विश्व धर्मका रुपमा तीन किसिमका धर्म विकसित भएका छन् । ती हुन् :
(१) बौद्ध धर्म
(२) ईसाई धर्म
(३) इस्लाम धर्म ।
यी तीन धर्ममध्ये :

(१) बौद्ध धर्म : बौद्ध विश्वमा पहिलो धर्मका रुपमा विकसित भएको हो । बौद्ध धर्मको जननी नेपाल हो । नेपालका गौतम बुध्द बौद्ध धर्मका प्रवर्तक हुन् । बौद्ध धर्मको जन्म ई. पू. २६०० वर्षको आसपासमा भएको पाइन्छ । दर्शनशास्त्रको मौलिक प्रश्नमा बुध्द तटस्थतावादी थिए । बौद्ध धर्म अर्थात् बौद्ध दर्शन तटस्थतावादमा आधारित रहेको छ। बौद्ध धर्म आज अन्तर्राष्ट्रिय धर्मका रुपमा विकसित भइसकेको छ ।

(२) ईसाई धर्म : ईसाई धर्मको जन्म ईसा मसिहको नामबाट इसाई सम्वतको प्रारम्भमा भएको पाइन्छ । यो रोमन (हालको इटली) साम्राज्यको पूर्वी क्षेत्र मध्यपूर्व (हालको इजरायल) मा भएको थियोे ।
ईसाई धर्मका संस्थापक ईसामसिह हुन् । यस धर्मको मूल धर्म ग्रन्थ बाइबल हो ।

(३) इस्लाम धर्म : इस्लाम धर्मको जन्म सातौं शताब्दीमा मध्यपश्चिम एशियामा भएको थियो । इस्लाम धर्मका संस्थापक पैगम्बर मुहम्मद ( ई. ५७०) हुन् ।

इस्लाम धर्म एकेश्वरवादमा आधारित छ । यो धर्ममा अल्लाह अर्थात् ईश्वरलाई न्यायदाता , संरक्षक , सर्वशक्तिमान, ज्ञानमय र पूज्य मानिन्छ । इस्लामको अर्थ हो– अल्लाहप्रति आत्मसमर्पण । यश धर्ममा अनगिन्ती शाखा – उपशाखाहरु छन् । जसमा शुन्नी , शिया र सूफी संप्रदाय प्रमुख रहेका छन् । स्लामको पहिलो धर्म ग्रन्थ “ कुरान “ र त्यस पछिको “ शुन्ना “ हो । शुन्नीहरु यी दुबैलाई मान्दछन् ।

यस अतिरिक्त दक्षिणी एशिया क्षेत्र विशेष गरि भारत, नेपाल लगायतका देशहरूमा विभिन्न धर्मका मिलनका रुपमा हिन्दु धर्मको विकास भएको छ । वेद, पुराण , उपनिषद हिन्दु धर्मका मूल ग्रन्थ हुन् ।

लोक, प्रलोक, स्वर्ग, नर्क, जन्म, पुनर्जन्म, भाग्य, कर्म, काल्पनिक ईश्वर, देवी, देवता, मठ– मन्दिर, पूजापाठ, कोरा कल्पना, अलौकिक प्रति विश्वास, अन्धभक्तता, पूण्य, अन्धविश्वास आदि हिन्दु धर्मका आधार हुन् ।

दार्शनिक रुपले हिन्दु धर्म आदर्शवादी (अध्यात्मवादी) दर्शनमा आधारित छ । आदर्शवादी दर्शनले सामन्तवर्ग, शोषक र शासकवर्ग तथा प्रतिक्रियावादी वर्गको सेवा गर्दछ ।

हिन्दुधर्म :

यहाँनिर थोरै भए पनि हिन्दुधर्मका बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ :

हिन्दुधर्मलाई आर्य धर्म संस्कृतिबाट विकसित भएको पाइन्छ । यो विश्वका विभिन्न देशमा मानिने धर्ममध्ये एक हो । यो धर्म विभिन्न मत मतान्तरमा बाँडिएर रहेकोले हिन्दुधर्मलाई अन्य धर्म जस्तो प्रतिपादन गरेको धर्म नभएर संस्कृति, परम्परा र सनातनका आधारमा कर्मकाण्ड र संस्कृतिक रुपमा अपनाइएको धर्म हो ।

नेपाललाई लामो समयसम्म एक मात्र विश्वको हिन्दु राष्ट्र मानिन्थ्यो । हिन्दुधर्म बहुदेववादी धर्म हो र यसमा वैष्णव, बौद्ध, शैव, जैनलगायतका धर्म रहेको पाइन्छ । र यसको जरो वैदिक धर्ममा रहेको पाइन्छ । हिन्दुधर्मले परत्र, परब्रह्म, पूर्वजन्म, स्वर्ग, नर्क र कर्मवाद आदिमा विश्वास गर्ने र पूजापाठ, यज्ञ – याज्ञादी, व्रत र तीर्थलाई महत्व दिन्छ

वर्तमानमा पनि देवीदेवताहरु समेतलाई पूजा उपासना गर्ने प्रचलन बढ्दै गएको पाइन्छ । तर हिन्दुधर्मको कुनै खास सिध्दान्त नभएकोले के कुरा हिन्दुधर्ममा पर्छ वा पर्दैन भनी छुट्याउन नसकिने अवस्था यसमा रहेको पाइन्छ ।

हिन्दुधर्मको आधार वैदिक सभ्यतामा निर्मित मनुस्मृति आदिको वर्णाश्रम व्यवस्थालाई मानिन्छ । हिन्दुधर्मले समाजलाई खण्डिकृत गर्ने र ब्राह्मणलाई उच्च पद र विशेषाधिकार प्रदान गर्ने र क्षेत्रीलाई शासन, वैश्यलाई व्यवसाय र शुद्रलाई सेवा गर्ने तहमा राखी वर्ण विभाजन गरिएको छ । यश धर्मले अवतारवादलाई पनि मानेको छ र ईश्वरले अवतारको माध्यमबाट संसारको सृष्टि र व्यवस्थापन गर्दछ भन्ने मान्दछ ।

लामो समयदेखि नेपाल हिन्दु धर्मले जगडिएको देश हो । नेपाल बहुधार्मिक मुलुक रहदै आयो । नेपाल लामो समयसम्म हिन्दु धर्मलाई राज्यको धर्म मान्दै आएको स्थिति रहयो र नेपाललाई लामो समयसम्म हिन्दु अधिराज्य घोषित गर्दै आएको स्थिति हो । अहिले नेपाल धर्मनिरपेक्ष राज्य घोषित भएको छ । तर पुनरुत्थानवादीहरुले अहिलेसम्म पनि हिन्दु राज्यको आवाज उठाउने गरेको पाइन्छ ।

मार्क्सवादी (मालेमावादी) हरुले धर्मबारे कस्तो दृष्टिकोण र नीति अबलम्बन गर्ने भन्ने प्रश्न ज्यादै महत्वको प्रश्न हो । यस प्रश्नमा विशेष ध्यान दिन जरुरी हुन्छ । यस प्रश्नका बारेमा चर्चा गरिरहदा के कुरा भुल्नु हुदैन भने माक्र्सवादीहरु अर्थात् क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु विचारमा ठिक ठाउँमा रहेको बेला भौतिकवादी भएको र धर्मको विरोधी रहेको, तर विचारबाट गलिसकेपछि आध्यात्मवादी भएका थुप्रै उदाहरण छन् । जस्तो कि नेपाल मै झापा विद्रोहका मुख्य कमान्डर मोहनचन्द्र अधिकारीले “गेरु वस्त्र” पहिरिएर हिडेको र महान् दस वर्षे जनयुद्धको मुख्य नेतृत्व गरेका प्रचण्डले “भैंसी पूजा” गर्दै हिडेको नेपाली जनताले भुलेका छैनन् ।

यसो हुनुको मुख्य समस्या भनेको विश्वदृष्टिकोणका विषयमा स्पष्ट नहुनु नै हो । मार्क्सवादीहरु, क्रान्तिकारी कम्युनिस्टहरु विश्वदृष्टिकोणमा रुपान्तरण हुनै पर्छ । यदि विश्वदृष्टिकोणमा रुपान्तरण हुन जसकेकाहरु प्रचण्ड जस्तै “भैंसी पूजा” गर्न पुग्नुलाई नौलो मानिदैन । त्यसैले क्रान्तिकारी मार्क्सवादीहरुले मार्क्स – एंगेल्सबाट पाठ सिक्नुपर्ने हुन्छ । मार्क्सले हेगेलको आदर्शवादी द्वन्द्ववाद , फायरवाखको अधिभूतवादी भौतिकवाद, काण्टको अज्ञेयवादी आदर्शवाद र प्रुँधो – बाकुनिनको अराजकतावादी व्यक्तिवाद विरुद्ध भीषण संघर्षका बीचबाट द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको संश्लेषण गरेर मात्र सन १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गर्नु भएको थियोे । अर्थात् विश्वदृष्टिकोणमा स्पष्ट भए पछि मात्र मार्क्स – एंगेल्सले सन १८४७ मा कम्युनिस्ट लिगको तर्फबाट कम्युनिस्ट घोषणापत्र लेख्ने जिम्मा लिनुभएको थियो ।

यस भन्दा पहिले नै मार्क्सले आफ्नो विद्यावारिधि नै “एपिक्युरियन र डेमोक्रेटियन दर्शन बीच भिन्नता” लेखेर गर्नु भएको थियोे । त्यस पछि माक्र्सले धर्म र दर्शनबारे बहस चलाउनु भएको थियोे । साथै सन १८४४ मा मार्क्सले “हेगेलको कानुन दर्शनमा आलोचनाको योगदान” शीर्षकको प्रसिद्ध आलेखमा धर्मको आलोचना गर्दै संश्लेषण गर्नु भएको छ “धर्म जनताको लागि अफिम नै हो ।” उक्त आलेखमा माक्र्सले अगाडि लेख्नुभएको छ,– “ईश्वरले मानिसको सृष्टि गरेको होइन, बरु मानिसले ईश्वरको सृष्टि गरेको हो ।” साथै लेनिनले धर्मलाई “फलहीन फूल” भन्नुभएको छ ।

यसर्थ यहाँ यो भन्न खोजिएको छ कि “धर्मरुपी कालो बादल” आफ्नो मनभित्रबाट हटाउनका निम्ति क्रान्तिकारी कम्युनिस्टहरू (मार्क्सवादीहरु) पहिले विश्वदृष्टिकोणमा रुपान्तरण भएको हुनु पर्दछ ।

धार्मिक आस्थाको प्रश्न :

धार्मिक विचार, धार्मिक आस्था र पूजापाठ गरी हरेक धर्ममा मूख्यत: तीन तत्व हुन्छन् । यहाँनीर ध्यान दिनु पर्ने मुख्य कुरा के हो भने धार्मिक विचार सम्बन्धित धर्मको एक निश्चित प्रणाली हो, जुन कुनै अलौकिक शक्ति वा ईश्वरमा आधारित निश्चित विचार, आस्था , आचार र आदर्शमा आधारित हुन्छ ।

अत: धार्मिक आस्था भनेको कुनै अलौकिक शक्ति वा काल्पनिक ईश्वरमा विश्वास गर्नु हो । साथै धार्मिक पूजापाठ भन्नाले सम्बन्धित धर्मका कर्मकाण्ड , विधिवपधान आदिलाई लिने गरिन्छ ।

सामन्तवादी युगमा उक्त सबै धर्महरुले राजा – महाराजा, गुरु – पुरोहित , साहु – महाजन, जमिनदार, ठूला – ठालु, फटाहा, जाली – झेली, सिल्ली, ठग आदि सहितको सिंगो सामन्तवादको सेवा, चाकडी गरे र यी साँस्कृतिक उत्पीडनका समेत बलिया साधन बन्दै आएका छन् ।

राज्यहरुले विश्वका विभिन्न देशहरूमा यी मध्ये कुनै एक धर्मलाई आश्रय दिने गरेकोले धर्मसापेक्ष राज्यहरुको निर्माण हुन गएका हुन् । जस्तो कि नेपाललाई वर्षौंसम्म हिन्दु अधिराज्य घोषणा गर्दै आएका थिए सामन्तवादका मठाधिशहरु।

धर्म आदर्शवादमा आधारित भएकोले भौतिकवादी विश्वदृष्टिकोण र विज्ञानको हमेसा विरोधी रहिआएको छ । धर्मका पठ्ठा ठेकेदारहरुबाट तर्कको पक्षपोषण गर्ने, दार्शनिक तथा वैज्ञानिकहरुलाई दण्ड दिने, हत्या समेत गर्ने र उनीहरूका रचनाहरु जलाउने वा ध्वस्त पार्ने जस्ता घृणित तथा पाशविक कार्य हुदै आएका दृष्टान्तहरु छन् ।

तर समाज विकासका क्रममा मानव समाज आइपुग्दा पुँजीवादी समाजमा वर्गसंघर्ष, विज्ञान र भौतिकवादी विश्वदृष्टिकोणको , माक्र्सवादको प्रतिपादनका कारण धर्म कम्जोर बन्दै गएको छ ।
धर्म के हो भन्ने विषयमा कार्ल माक्र्स भन्नु हुन्छ , –

“धर्म जनताको लागि अफिम हो ।”
(मार्क्स– एंगेल्स धर्म के बारे में, राहुल फाउन्डेसन लखनउ, पृष्ठ १५०, सन २००८)
धर्म जनताका लागि वास्तविक अर्थमा अफिम नै हो । धर्म एक प्रकारको नसा मात्र हो । यसले मानिसलाई दु: ख वा उत्पीडनबाट मुक्ति प्रदान गर्न सक्तैन ।

धर्मका बारेमा विश्वदृष्टिकोणको प्रश्न:

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको विश्वदृष्टिकोण हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद धर्मको विरोधी रहेको छ । यसले कुनै काल्पनिक ईश्वर वा अलौकिक शक्तिमा विश्वास गर्दैन । तर यसले धर्मको विरोध यान्त्रिक रुपमा होइन द्वन्द्वात्मक भौतिकवादी तरिकाद्वारा गर्दछ ।

धर्मकाबारेमा माक्र्सवादी दृष्टिकोण:

धर्मबारे मार्क्सवादी दृष्टिकोण के हो ? भन्ने प्रश्न अत्यन्तै महत्वपूर्ण प्रश्न हो । मार्क्सवाद एक वैज्ञानिक सिध्दान्त हो र विश्व सर्वहाराको क्रान्तिको विज्ञान हो । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । मार्क्सवादको सिध्दान्त भौतिकवाद हो र यश दर्शनको पध्दति द्वन्द्ववाद हो ।

मार्क्सवाद धर्मसापेक्ष होइन, धर्मनिरपेक्षताको पक्षमा छ । धर्म निरपेक्षताको खासअर्थ सबै धर्मलाई समान हैसियत प्रदान गर्नु वा धर्महरुको बीचमा समन्वय कायम गर्नु भन्ने होइन । बरु धार्मिक उत्पीडन , अन्धविश्वास र हस्तक्षेपबाट मुक्त हुनु हो । मार्क्सवाद धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपको विरोधी मात्र होइन, अन्तत: धर्मकै विरोधी रहेको छ ।

मार्क्सवादले आज लेनिनवाद – माओवादमा विकास गरिसकेको छ । मार्क्सवाद – लेनिनवाद – माओवाद विश्वसर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक सिध्दान्त बनेको छ ।

आज मालेमावादको आलोकमा विश्व सर्वहारावर्गले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण अनुरुप ठोस परिस्थितिको ठोस विश्लेषण गरि वर्गसंघर्षलाई आधार बनाउदै धर्मको विरोध गर्नुपर्ने दायित्व विश्व सर्वहारावर्गको ऐतिहासिक दायित्व बन्न पुगेको छ । वर्गसंघर्ष र क्रान्तिकाबीचबाट जनसमुदायलाई शिक्षित तुल्याएर नै खास अर्थमा धर्मको विरोध गर्न आवश्यक छ ।

कम्युनिस्ट क्रान्तिकारीहरुले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणद्वारा जनसमुदायलाई वैचारिक रुपमा समृद्ध बनाउदै गएपछि नै धर्म जस्तो भ्रान्त कल्पनाको अन्त्य हुदै जानेछ ।

अन्त्यमा धर्म अज्ञानता, अन्धविश्वास र रुढिवादमा अडिएको छ । यसले तर्क, तथ्य, अनुसन्धान र विश्लेषणको कुनै आवश्यकता महसुल नगरी केवल अन्ध परम्परामा चलिरहने हठ गर्दछ आजको वैज्ञानिक युगमा पनि धर्मले तर्क, तथ्य र अनुसन्धानलाई महत्व दिदैन । धर्मको सारतत्व यही हो ।
( लेखक: अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *