दर्शन सिकाउने ‘दर्शन पाठशाला’

  • मिनबहादुर राना

म अचेल हरेक वस्तुमा दर्शन खोज्न सिकेको छु । जे देख्यो त्यसमा दर्शन देख्न थालेको छु । हरेक वस्तु र घट्नालाई आफ्नो जीवनसित दाँज्ने गर्छु । हरेक मान्छेको व्यवहारमा उसको स्तर भेट्छु ।

म सर्पजस्तो त नबनूँ । गोही जस्तो नबनूँ । समातेर मजाले खान पनि नपाउने जीवन मेरो नहोस् । आहारा नभए मरिने भए पनि खानैको दुःख । चराकोजीवन पो जीवन त ! सबै चरालाई सम्मान गर्दै परभक्षी चराजस्तो नबनूँ ।

कुरो दर्शन पाठशालाको हो । प्रगतिशील लेखक संघ रुपन्देहीले हरेक महिनाको अन्तिम शनिबार दर्शन पाठशाला चलाएकोे पनि धेरै भएछ । अहिलेसम्म दुर्गानाथ खरेल, रामनारायण विडारी, अनिल पौडेलले प्रशिक्षण दिए । यो पाठशाला पढ्ने ठाउँ भएकाले मुख्य प्रशिक्षक बाहेक अरू कसैको मन्तव्य हुँदैन । उद्घोषक, अध्यक्षता ग्रहण, प्रशिक्षण अनि अन्तिममा अध्यक्षबाट छोटोमा धन्यवाद ज्ञापन गरेर दुई घण्टामा कार्यक्रम सकिन्छ ।

दुर्गानाथ खरेलले हामीलाई दर्शनको प्रारम्भिक ज्ञानदेखि आदर्शवाद र चेतनाको निर्माण बारे कक्षा दिनुभयो । सजीव उदारण दिँदै बुझाउने उनको तरिका मात्र सिक्न सके पनि धेरै हुन्छ । उहाँको अध्ययन र गहिरिएर सा¸च्ने बाध्य पार्ने बूँदाहरूले सहभागीलाई एकचित्त बनाउँछन् । उहाँ लामो समय दर्शन बारे पढाउँदै आएका सचेत शिक्षक हुनुहुन्छ । क्लासमा आएर उहाँले आफ्नो राम्ररी परिचयसमेत दिनुहुन्न । समयको पालनमा पनि उहाँ धेरै सचेत हुनुहुन्छ । हैन मेरो विषय आज धेरै छ । आज अलिकति समय बढि लिन्छु पनि कहिल्यै भन्नुहुन्न । विषय वस्तु छोटो छ, आज छिटो सकाउँछु पनि भन्नुहुन्न । बरु राम्ररी तयारी गरेर नोट सहित उपस्थित हुनुहुन्छ । प्रशिक्षर्थीले बुझ्ने भाषामा र रोचक पारामा प्रशिक्षण दिन धेरै तयारी गरेर कक्षामा हाजिर हुनुहुन्छ ।

हाम्रा दोस्रो शिक्षक माननीय रामनारायण विडारी हुनुभयो । सुरुमा केही साथीहरूले थाहा पनि दर्शन हो र ? पनि भने । जब रामनारायण विडारीले थाहा बारे थाहा दिए तब मान्छेहरूले थाहा पाए थाहा दर्शन हो कि होइन भनेर । थाहा दर्शन साँच्चिकै नेपाली भूमिमा जन्मेको एक उत्तम दर्शन रहेछ । यो दर्शन द्वन्द्वात्मक भौतिकवाद भित्रको एक दर्शन रहेछ । यस्तो अनुकरणीय जीनव दर्शन अहिलेसम्म हामीले सुन्नसम्म पाएका रहेनछ ।

यसका प्रणेता रूपनारायण विष्ट हुन् । उनी राष्ट्रिय पञ्चायतमा जनताको समस्या बोल्थे । मनले जे देख्छ त्यही बोल्थे। राष्ट्रिय पञ्चायतका सदस्यहरूलाई तँ भन्थे । टङ्कप्रसाद आचार्य, मदन भण्डारी र … … लाई मात्र उनले तपाईं भन्थे ।

बोल्न नसक्ने हुँदासम्म पनि उनले चुनावमा उम्मेद्वारी दिए । चुनावी सभामा उनको तर्फबाट बोल्न रामनारायण विडारी हिँड्नुहुन्थ्यो । रामनारायण विडारीलाई बोल्न रूपनारायण आफैले बोलाउँथे । ‘‘यसले वादी पहिले आए वादीलाई जिताउँछ । प्रतिवादी पहिले आए प्रतिवादीलाई जिताउँछ । वादीले धेरै पैसा दिए वादीलाई जिताउँछ । प्रतिवादीले धेरै पैसा दिए प्रतिवादीलाई जिताउँछ । यो पैसा नपासम्म नबोल्ने वकिल हो । तर आज यहाँ म बोल्न नसक्ने भएकोले मेरो तर्फबाट बोल्न पैसा नलिइकन आएको छ । यसले कतै कुरो बिगारेछ भने म सच्याउँला … …’’ भन्दै बोल्न दिन्थे रे ।

जनताको बीचबाट उम्मेद्वार खोज्ने र निर्वाचनमा उठाउँथे । पर्चा बेचेर चुनाव लड्थे । पैसा नतिरेसम्म कसैबाट केही लिन्थेनन् । साथीहरूकोमा केही खान दिए पनि सित्तैमा खान्नथे । केही सीप नलागे कुच्चिएको डेक्ची सोझाइदिएर भएपनि हिसाब मिलाएर हिँड्थे । रूपचन्द्र विष्टले धेरैलाई कुकुर भन्न भ्याउँथे । किन कुकुर भनेको भन्दा कुकुरले टाढा देख्दैन ।

कहिले राजनीतिक जीवनमा दर्शनको व्यवहारिक प्रयोग र दर्शनलाई सुत्रात्मक रुपमा नर्बिसने गरि दर्शन पढाउन माननीय दाजु तुलाराम घर्ती वसन्त आउनुहुन्छ । एक पिरियड पढाउँदा नै आफ्नो पूरै दार्शनिक ज्ञान हामीलाई पस्कन भ्याउनुहुन्छ । दर्शनलाई कसरी बुझ्ने, कसरी लिने र कसरी सम्झने भनेर सिकाउन भ्याउनुहुन्छ ।

युवराज ज्ञवालीले पार्टी कसरी निमार्ण गर्ने भन्ने विषयमा पढाउनुभयो । संगठन निर्माण बारे उहाँको क्लासले हामीलाई धेरै व्यवहारिक ज्ञान दियो । उहाँको क्लास अतिनै सन्देश मुलक र जानकारी मुलक रह्यो । उहाँको क्लासका नोटहरूको छुट्टै लेख बन्न सक्छ ।

त्यसो त दर्शन पाठशालामा माधव पौडेलले कम्युनिष्ट घोषणा पत्र बारे क्लास दिनु भयो । बलबहादुर आचार्य र डा. सागर न्यौपानेले पनि क्लास दिनुभयो । उहाँहरूको कक्षामा म सहभागी हुन सकिनँ ।

खासमा कुरोको चुरो यहाँ चराको दर्शन हो । जुरेली दर्शन हो ।
जुरेली दर्शनबारे पढ्न जुटेकाका हामीलाई पढाउन अनिल पौडेल आउनुभएको थियो । धेरैले प्रचारमा देखेर जुरेली दर्शन भनेको के हो ? भनेर सोधेको थिए । त्यही आउनुस् र बुझ्नुस् भनेका थियाैं ।

जुरेली चरालाई इरानतिर बुलबुल भन्छन् भन्ने थाहा थियो ।एउटा सामान्य चराको दर्शन कसरी होला ?जुरेली दर्शन के होला ?भन्ने त मलाई पनि भएको थियो ।

जुरेली दर्शन वास्तवमा एक जीवन दर्शन हो । शताब्दी पुरुष सत्यमोहन जोशीसितको छलफलपछि जुरेली दर्शनको सुरुवात भएको थियो । सत्यमोहनको व्यक्तित्व र कृतित्वमा आधारित पुस्तक तयार पार्ने क्रममा जुरेली दर्शनको नाम जुरेको थियो ।

जुरेली दर्शनलाई दर्शनको रूप दिन अनिल पौडेलले धेरै मिहिनेत गर्नुभएको रहेछ । सत्यमोहन जोशीले ‘‘म चराको दर्शन मान्ने मान्छे हुँ । चरा बारे कुन कुन ग्रन्थमा के के रहेछ ? कृपया मेरो लागि खोजिदिनुस् ।’’ भनेर सत्यमोहन जोशीले आग्रह गर्नुभएको रहेछ । अनिल पौडेलले प्राप्य अप्राप्य सबै ग्रन्थहरूमा खोजेर कहाँ कसरी चरालाई प्रस्तुत गरिएको छ ? खोजेर त्यसको बिस्कुन लगाउनु भएछ ।

चराको जीवन आज खायो भोलिको लागि साँच्नै नपर्ने । जुन चराले खाने कुरा बोकेर हिँड्छ त्यसमाथि अरु चराले आक्रमण गर्छन् । जसले बोकेको आहाराको लोभ नगरेर बोकेको आहारा छोड्छ त्यसको ज्यान बच्छ । त्यसैले हामीले पनि धेरै सम्पत्ति संग्रह गर्न थाले त्यही सम्पत्ति नै हाम्रो काल बन्छ । त्यही सम्पत्ति नै दुःखको कारण बन्छ । भनेर सत्यमोहन जोशीले चराको जीवन दर्शनलाई प्रष्ट पारेका रहेछन् ।

अनिल पौडेलले जुरेली दर्शन बारे बिस्तारपूर्वक मार्ग दर्शन गरेपछि जीवन बारे धारण बनाउने धेरै बाटाहरू भेटेको जस्तो लाग्यो । त्यही द्रव्यमोह नभएकोले नै सत्यमोहन सय वर्ष बाँच्न सके होलान् भन्ने पनि लाग्यो । उनको सादगी जीवन जस्तै उनको दर्शनले हामलाई काम गर्ने उत्साह बढेको महसुस भयो ।

दर्शन भन्ने वित्तिकै हाम्रो मानसपटलमा धेरै जटिल विषय होला भन्ने भान पर्छ तर होइन रहेछ । दर्शन त आफ्नो सुखकोलागि, मुक्तिको लागि, खुसीको लागि मान्छेले बनाउँदो रहेछ । आफ्नो अनुकुल मान्छेले धेरै कुराको परिकल्पना गर्दो रहेछ । हाम्रै जीवन पनि दर्शनको एक पाटो हो रहेछ । हामी पनि एक दार्शनिक रहेछाै ।

प्रलेस रुपन्देहीले अन्य विभिन्न विषयमा पनि भर्चुअल प्रशिक्षण चलाउँदै आएको छ । यसबाट नयाँ तथा पाका पुराना लेखक कलकार साथीहरूलाई पुर्नताजगी मिलिरहेको छ । दर्शन पाठशालाले यसरी हामीलाई दर्शन बारे प्रशिक्षण दिँदै गरे अझ धेरै दर्शन बारे जान्ने मौका मिल्ने छ । नियमित रूपमा कक्षा चलाउन सजिलो अवश्य छैन । प्रलेसका शुभचिन्तक तथा समाजमा प्रगति चाहाने महानुभावको सहयोग रहेर नै यो पाठशाला निरन्तर चलिरको छ । यस्तो राम्रो पाठशाला चलाएर प्रलेस रुपन्देहीले एक उदाहरणीय काम गरेको छ । यी प्रशिक्षणहरू भनेको पनि जुरेली कै शाखा रहेछन् जस्तो लागेको छ । दिएर र लिएर कहिल्यै नसकिने तर भारी बोक्नु पनि नपर्ने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार