दिल्ली जानुअघि खनालद्वारा जारी वक्तव्यले एमालेमा तरंग

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले थप उपचारका लागि दिल्ली जानुअघि जारी गरेको वक्तव्यले एमालेमा तरंग उत्पन्न भएको छ । सो विज्ञप्तिलाई लिएर माधव नेपाल–झलनाथ खनाल समूहका नेताहरुले हस्ताक्षर दुरुपयोग भएको भनेपछि तरंग उत्पन्न भएको हो ।

बुधबार दिल्ली प्रस्थान गर्नुअघि खनालले जारी गरेको वक्तव्यमा ‘धैर्य र संयमका साथ पार्टी एकता जोगाउन’ आव्हान गरिएको छ । विज्ञप्तिमा खनालले विभाजनको विपक्षमा उभिन पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।

खनालको सो वक्तव्य उहाँको विचार विरुद्ध भएको र ओली पक्षले हस्ताक्षर दुरुपयोग गरेको नेपाल पक्षको आरोप छ । नेपाल पक्षीय नेताहरु जगन्नाथ खतिवडा, डा. विजय पौडेल लगायतले विरामी नेताको नाममा हस्ताक्षर दुरुपयोग गरेर वक्तव्य निकालिएको दाबी गरेका थिए । तर, विज्ञप्तिमा खनालकै हस्ताक्षर भएको पुष्टि भएपछि भने नेताहरुले सामाजिक सञ्जालबाट आफ्नो स्ट्याटस हटाएका छन् ।

खनालको हस्ताक्षरमा उहाँकै आधिकारिक फेसबुक पेजबाट जारी भएको विज्ञप्तिबारे कुनै आशंका नरहेको एमाले नेता तथा निकट सहयोगी होम बुढाथोकीको दाबी छ । खनाल नर्भिक अस्पतालबाट त्रिभुवन विमानस्थलतर्फ जानुअघिसम्म सँगै रहेका बुढाथोकीले विज्ञप्तिमा हस्ताक्षर गर्दा आफू सँगै रहेको बताउनुभयो ।

सो विज्ञप्ति आउनुअघि खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा र महासचिव ईश्वर पोखरेललाई अस्पतालमै पुगेका बेला पार्टी मिलाउन आग्रह गरेको समाचार आएको थियो ।

स्रोतका अनुसार विज्ञप्तिको ड्राफ्ट नेपाल पक्षीय नेता भीम आचार्यले तयार पार्नुभएको थियो । आचार्य पछिल्ला दिनमा पार्टी मिलाउन हिँडेको भन्दै नेपाल पक्षका नेताहरुले शंकाको दृष्टिले हेरिरहेका छन् ।

त्यसो त नेपाल पक्षकी योगेश भट्टराई र गोकर्ण विष्ट लगायत नेताहरु पनि शंकाको घेरामा छन् । उनीहरु कुनै पनि बेला क्याम्प छोडेर ओलीतिर जाने कतिपयले आकलन गर्ने गर्दछन् । बुधबार नेता खनालको विज्ञप्ति प्रकरणले एमालेको नेपाल पक्षका नेताहरुबीचको आपसी अविश्वास छताछुल्ल पारेको छ ।

यता, खनालको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको छ । उहाँको यस अघि पनि सोही अस्पतालमा उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार