दुई देश विचको सम्बन्धको विषयमा

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

381 जनाले पढ्नु भयो ।

जनकराज पौडेल

एक देश र अर्को देश विचको सम्बन्ध घनिष्ट वा गहिरो हुनुमा सम्बन्धित देशको भौगोलिक निकटता, सामरिक संवेदनशिलता र साँस्कृतिक, धार्मिक, भाषिक तथा जनस्तरका भावानात्मक सम्बन्धले ठुलो महत्व राखेको हुन्छ । साँस्कृतिक र धार्मिक समनता भएका मुलूकहरु विच, सत्ता देखि सत्ता, पैदा हुने अन्य राजननीतिक स्वार्थ केन्द्रित टकरावले दुबै देशका जनताका भावनात्मक सम्बन्धलाई खासै प्रभाव पार्दैन, पार्नु पनि हुन्न ।

कहिले कहिं एक सरकार र अर्को सरकार विच राष्ट्रियता वा भौगोलिक अखण्डतामा आउने दरार र असमझदारीले जनताहरुको मनोविज्ञानमा केहि हदसम्म असर र प्रभाव पर्नु स्वभाविक पनि हो । देशको भौगोलिक अखण्डता अक्षुण राख्न वा कुनै अर्को देशले अतिक्रमण गर्यो भने, त्यहाँ सम्बन्धित देशका जनताका भावना र रगतको सम्बन्ध हुन्छ । साथै अस्तित्वको रक्षा गर्न पर्ने भएको हुँदा त्यो स्वीकार्न सक्ने विषय हुन्न । हरेक देशका जनताहरुको शिरमा आफ्नो भौगोलिक अखण्डता रक्षा गर्ने मुख्य जिम्मेदारी र दायित्व बन्दछ । त्यो सरकारहरुको विषय समाधान तीर ध्यान नजादा वा हठ हुँदा जनस्तरमा पनि सम्बन्ध बिग्रने सम्भावना रहन्छ ।

भौगोलिक रुपमा वा जनसंख्याको आधारमा या भुगोल क्षेत्रफल र जनताहरुको संख्याको आधारमा देशको भौगोलिक अखण्डता र स्वतन्त्र देशको सार्वभौमसत्ताप्रति कुनै अर्को देशले हेपाहा र बलमिच्चाई वा हस्तक्षेपकारी दृष्ट्रिकोण राख्दछ भने त्यो स्वतः पञ्चशिलताको सिद्धान्तको उल्लङ्घन हुन्छ नै । विस्तारबादी नीतिको विरुद्ध आवाज  बुलन्द गर्न परिस्थितिले बाध्य पार्दछ । त्यो आवाज देशभक्तिपुर्ण भावनाद्धारा प्रेरित भएको हुन्छ । हस्तक्षेपकारी प्रकारका गतिविधिले सम्बन्ध स्थिर रहन सक्दैन । उतार चढाव हुँदै जान्छ । समयमा संयमता अपनाउन नसके शत्रुताको रुपमा परिणत हुन सक्दछ ।

त्यसको लागि सम्बन्धित दुबै देश जिम्मेदारी हुन्छन् । नकि एउटाले शक्तिको आधारमा दवाउदै जाने अर्को झुक्नै पर्ने वा उसको शक्ति समक्ष नतमस्तक रहनु पर्ने त्यो सम्भव हुँदैन । त्यसप्रकारको दब्बु मनोवृत्तिले स्वतन्त्र देशको अस्तित्व कायम राख्न सम्भव हुँदैन । सम्बन्ध प्रगाढ गर्ने विषय दुबै देशको आवश्यकता र एकअर्का देशको स्वतन्त्र सार्वभौमसत्ता भौगोलिक अखण्डताको सम्मानमा आधारित हुनु पर्दछ । त्यसो भए मात्र सम्बन्ध सुदृढ र पारदर्शी हुन सक्दछ । त्यसो भएन भने नत जनताका मनोभावनाप्रतिको सम्मान हुन सक्दछ वा दिर्घकालिन मित्रवत् कायम रहिरहन सक्दछ । देशको भौगोलिक अखण्डता अतिक्रंमण जस्तो गम्भिर विषयमा भावनाले काम गर्दैन । त्यहाँ ठोस र दिर्घकालिन निर्णय आवश्यता पर्दछ । त्यसैले नै सम्बन्ध कस्तो रहने निर्धारण गर्दछ । ताकि एक अर्को देशले वास्तव मै सम्मान अनुभुत गर्न सकुन् ।

अन्य विषयमा जस्तो देशको भौगोलिक अखण्डता अतिक्रमण सन्दर्भमा स्वीकार्य हुन सक्दैन । हुनुहुँदैन । त्यहाँ सिङ्गो देश जनता एकजुट भई आफ्नो भुगोलको रक्षा गर्न अपरिहार्य हुन्छ । ति विषयहरुमा सम्बन्धित देशका सरकारका प्रमुखहरुबाट बुद्धिमता पुर्वक कुटनीतिक तवरबाट समस्या समाधान तर्फ आफ्ना सक्षमता पर्दशन गर्न गम्भिररुपले लाग्नु पर्दछ । कुटनीतिक तवरबाट समस्या समाधान गर्ने सबै सम्भव प्रकृयाहरुबाट परिणाम आउन यदि सकेन भने सत्य तथ्य प्रामाण सहित विषयलाई अन्तर्राष्ट्रियकरण गर्नु विकल्प हुन्न ।

जव समस्या आउँछ त्यसलाई चतुर्याईपुर्वक समाधान गर्दै सफल पार्ने भन्दा अरु उत्तेजित र उद्देलित पार्ने गतिविधि गर्नु निश्चितरुपमा देशको हितमा हुँदैन । देशको अतिक्रमित भुगोल नक्शामा गाभेर मात्र भुगोल फिर्ता हुँदैन । भुगोल फिर्ता गर्न सरकारले सफल क्षमता पर्दशन गर्न सक्नु पर्दछ । हाम्रो भुगोल अतिक्रमण भएको छ । त्यसमा कुनै  भ्रमको गुञ्जाईस छैन । यद्यपि त्यो भुगोललाई आफ्नो तर्फ कसरी अवतरण गराउने त्यो नै मुख्य कुरा हो । त्यसमा सरकार गम्भिर बन्नै पर्दछ ।

भारत सरकारको तर्फबाट अतिक्रमण भएको छ, तर जनताहरु त्यसमा दोषी छैनन् । जनताको भावना प्रति ठेस् लाग्ने अभिब्यक्ति दिंदा दुबै देशका जनता, जनता विचको सम्बन्धमा पनि दरार पैदा हुन्छ । त्यसले फाईदा गर्दैन । अरु जटिल बनाउन मद्धत गर्दछ । देशको कार्यकारी प्रमूखहरु प्रकट हुँदा ति विषयमा गम्भिर प्रकारले ध्यान दिनु पर्दछ ।

जस्तै भारतको राष्ट्रिय निशान सम्राट अशोककालिन चार मुखे बाघ चिन्ह सत्यमेव जयतेलाई सिंहमेव जयते भनि देशको प्रमूखले नेपालको संसदमा जसरी प्रस्तुत भए । त्यसले भारतीय जनताका भावनामा ठेस पुग्यो । त्यसरी ख्यालवाड गर्नु सायद आस्थाको प्रतिक चिन्हप्रति स्वभनिय हुन्थ्येन होला । निशानप्रति अपमान भएको भारतीय जनताले महशुष गरेका छन् । भारतका कतिपय वरिष्ठ पत्रकार विज्ञहरु पुर्व विदेश मामिलामा काम गरेका त्यस सम्बन्धि दखल राख्नेहरु सबै नेपालको विरुद्ध छैनन् । बरु भाजपाको सरकार विदेशी कुटनीतिमा असफल भएको र छिमेकीसँगको सम्बन्ध बिगारेको भनि आचोलना गर्दै आएका छन् । त्यो सन्दर्भमा राष्ट्रिय निशानप्रति अपमान भएको महशुष हुनु निश्चय पनि नेपालको लागि राम्रो पक्ष होइन ।

अर्को विषय भानु जयन्तीमा विना तथ्य प्रमाण राम नेपालका भएको र अयोध्या पनि नेपाल मै रहेको भन्ने अभिब्यक्तिले अरु सम्बन्ध बिगारेको छ । भारतीय जनता पार्टी हिन्दू कट्टरबादीहरुको पार्टी हो । त्यसको पृष्ठिभुमि आरएसएस हो । यूपिको अयोध्यामा राम मन्दिर निर्माण सन्दर्भमा बर्षौसम्म भारतको हाईकोर्टमा मुद्धा थियो । पछिल्लो समयमा पक्षमा फैसला गर्दै मन्दिर निर्माणको बाटो खुलेको छ र भारतका प्रधानमन्त्रीले ब्यापक साँधु सन्तु सहित धुमधाम रुपमा शिल्यन्यास गरिरहेका छन् । यदि राम वा अयोध्या बारे बोल्नै पर्ने अबस्था आएको हुन्थ्यो भने पनि  प्राचिनकालका सत्य तंथ्य प्रमाण अनुशन्धान गर्ने पुरातत्वविदहरु थिए । उनीहरु बाट नै बोलिनु पर्दथ्यो । अहिले देशका प्रधानमन्त्रीबाट त्यो बारे अभिब्यक्ति दिनु उपयुक्त समय सान्दर्भिक थिएन ।

सरकारको तर्फबाट आफ्नो भुगोल फिर्ता गराउनुमा ध्यान केन्द्रित हुनुपर्ने र भारतलाई नैतिक दवावको बातावरण सिर्जना गराउनुमा विज्ञहरुसँग छलफल गर्न पुरै लाग्नु पर्ने आवाश्यक थियो । नेपालका प्रधानमन्त्रीको त्यस सम्बन्धि अभिब्यक्तिले नेपाल सरकार हिन्दूहरुको विरुद्धमा रहेको भ्रम पार्न सहयोग पुगेको छ । धर्मको आधारमा राजनीति गर्ने पार्टीहरुलाई जनताको सहानुभुति वटुल्न टेवा पुग्ने खाले अभिब्यक्तिहरु आफैमा दुर्भाग्यपुर्ण हुन् ।

नेपालका प्रधानमन्त्री आफ्ना गलत कृयाकलाप विषायन्तर गर्न राष्ट्रियतालाई भजाँएर जनताका सहानुभुति बटुल्ने र भाजपा सरकार धार्मिक विषय उचाल्दै वा दुरुपयोग गर्दै, आफुले गरेको सिमा अतिक्रमण सम्बन्धित विषयबाट पञ्छिन खोज्ने खेल चलाई रहेको त छैन ?

भारतद्धारा अतिक्रमित नेपालका भु–भागहरु लिपूलेक, कालापानी, लिम्पियाधुरा, भारतले आफैले विवादित क्षेत्र भनेको थियो । यद्यपि ति नेपाल कै भु–भाग हुन् भन्ने विज्ञहरुका तथ्य प्रमाणहले पुष्टि गर्दछ तर विवादीत भु–भागहरुमा एकपक्षिय ढंगबाट नक्शामा राख्नु र सड्क उद्घाटन गर्नु भारतको हेपाहा प्रवृति हो । त्यो प्रष्ट छ ।

नेपाल सरकारले पनि ति क्षेत्र नक्शामा राखेको छ । त्यो सिङ्गो राष्ट्रिय सहमतिबाटै सम्भव भयो । तथापी  सरकारको इच्छा शक्ति नभएको भए भु–भाग समेटेर नक्शा प्रकाशित र संसदबाट एकमतले अनुमोदन हुन सम्भव थिएन । त्यसैले सरकारले सह्रानिय कार्य गरेको छ । आम नेपालीहरु खुसी छन् । तर त्यो नै अन्तिम होईन, बरु प्राराम्भिक कार्य हो । यसैमा सरकारको दायित्व पुरा भएको छैन । थप जटिलताहरु बाँकी नै छन् । भारतले यत्तिकै छोड्ने अबस्था देखिंदैन हर सम्भव कदमहरु चाल्ने छ । त्यसको डिफेन्स गर्न नेपाल सरकार अरु गम्भिर हुन आवाश्यकता छ । तर तत् सम्बन्धि विषयमा सरकारले जसरी कदमहरु चाल्नु पर्दथ्यो । त्यो रप्तार तिर सरकार गएको आभाष मिल्दैन ।

भारतले वास्ता गरेको छैन । वा नेपाललाई टेरेको छैन, त्यो सत्य हो, यद्यपि नेपाल सरकारले भारतलाई सबैले सुनिने र देखिने गरि नैतिक दवाव सिर्जना गर्न सक्नु पर्दछ । जस्तै अन्य अबस्थामा सत्ताको लुछाचुडीमा वा आफ्ना सत्ता स्वार्थ टिकाउने वा अपदस्त गराउने विषयमा दुत पठाउन सक्ने नेपाली नेताले अहिले वातावरण सहज बनाउने प्रत्येत्न किन गर्न सक्दैन ? कुटनीतिकका सबै संयन्त्रहरु परिचालित गर्न किन उदाशिन छ ? त्यहि नक्शा प्रकरण भजाँएर महत्वकांक्षा पुरा गर्ने खेल तिर सरकार उद्त त छैन ? शंका गर्ने प्रसस्त ठाउँ हरु सरकारले नै सिर्जना गरिरहेको छ ।

नेपालसँग यथेष्ट प्रमाण छन् । डगमगाउन पर्ने अबस्था छैन भन्दै सम्बन्धित विज्ञहरुले प्रष्ट पार्दै आएका छन् र सहयोग गर्न तत्पर पनि छन् । देश त्यस विषयमा एक ढिक्का पनि छ । तर सरकारले त्यस तर्फ ध्यान दिएको पाईएको छैन । ऐतिहासिक तथ्यहरु पनि प्रयाप्त रहेको सन्दर्भमा सरकारले ठोस कदम चाल्नु पर्दथ्यो । देशभक्ति आवाज, आफ्नो अभिष्ट पुरा गर्नेमा सिमीत रहनु हुँदैन । आम देशवासीले गर्ब अनुभुती गर्न सक्ने सरकारबाट कदम चाल्नु पर्दछ । ता कि देशको रक्षामा सरकारले जनतालाई विश्वास दिलाउदै प्रत्याभुति गराउन सकोस् ।

भौगोलिक अखण्डताको रक्षा सन्दर्भमा सिङ्गो देश एक ठिक्का हुन्छ र हुँदो रहेछ भन्ने नक्शा प्रकाशित प्रकरण र अनुमोदन मा जनताले सिद्ध गरिदिएका छन् । त्यस तर्फ चालिने कदममा नेपालीहरु राजनीति आस्था भन्दा माथी देशको भौगोलिक अखण्डता राख्दछन् । त्यसैले अहिलेको आवाश्यकता त्यस तर्फ केन्द्रित हुन जरुरी छ ।

भारतको हेपाह प्रवृतिलाई सदाको लागि अन्त्य गर्न सरकार प्रमुखले उट्पट्टयाङ र गैरजिम्मेदारी अभिब्यक्तिबाट सचेत हुनुपर्दछ । राजनीति दल विज्ञ सहित जनताहरुलाई सर्वसहमति गराउने तर्फ लाग्नु पर्दछ ।  सरकार, सम्बन्धित पार्टी नेकपाको आन्तारिक शक्ति वा पदिय खिंचातानीको जात्रा बन्द गर्दै विधि पद्धति संगत ढंगबाट निराकरण गर्दै, राष्ट्रिय ईशुमा केद्रित रहदाँ नेकपा, सरकार र अहिलेको सन्दर्भमा सबैको लागि हित हुनेछ । प्रतिगामी तत्वहका सबै षडयन्त्रका खेल असफल पार्दै गणतन्त्र धर्मनिपेक्षता र देशको भौगोलिक अखण्डता कायम राख्नु सबैको दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *