दुर्गा शर्माद्धारा बरेङ गाउँपालिकाको कोविड कोषमा ५० हजार

यतिवेला विश्वभरी फैलिएको कोरोना महामारीले हाम्रो देश पनि आक्रान्त बनिरहेको छ । कोरोनाको दोस्रो लहर फैलिएसंगैं देशैभरि थुप्रै नेपाली दाजुभाई दिदी बहिनीहरूले ज्यान गुमाउनु परेको छ, ठूलो संख्यामा कोरोना संक्रमित भई उपचारको क्रममा हुनुहुन्छ ।

यसै बीच २०७८ साल बैशाख २३ गते, ७९ वर्षको उमेरमा दिवंगत हुनुभएकी ममतामयी आमा टिकाकुमारी शर्माको सम्झनामा दुर्गा शर्माले बागलुङको बरेङ गाउँपालिकाको कोविड कोषमा ५० हजार रुपैयाँ सहयोग गर्ने हुनुभएको छ । शर्मा नेपाली एकता समाज स्पेनका अध्यक्ष एवं बरेङ गाउँपालिका हुग्दीसिर निवासी हुनुहुन्छ ।

वि.सं. १९९९ माघ १५ मा जन्मनुभएकी शर्माकी ममतामयी आमा टिकाकुमारी शर्मा, हालको बरेङ गाउँपालिका वडा नं २ तथा साविक हुग्दिशिर गाविस वडा नं ५ बाट विक्रम सम्वत २०५४ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट अत्यधिक मतले महिला वडा सदस्य निर्वाचित हुनुहुन्थ्यो । गाउँमा महिला स्वास्थ्य स्वयंसेविका नभएकाले त्यतिवेला गाउँघरमा महिला प्रसुति गराउन पुग्नुहुन्थ्यो । उहाँ गाउँकी डाक्टर भनेर पनि चिनिनुहुन्थ्यो । औपचारिक शिक्षा हासिल गर्न नपाउनु भएकी उहाँले नयाँ पुस्तालाई पढाइप्रति निकै उत्प्रेरित गर्नुहुन्थ्यो । त्यतिमात्र होइन उहाँकै पहलमा पहिलो पटक गाउँमा प्रौढ शिक्षा सञ्चालनमा ल्याएर बृद्ध बृद्धाले पनि पढ्नुपर्छ भन्ने जागरण ल्याएको स्थानीयले बताउछन् । गाउँमा प्रसुति विरामी भएका महिलाका घरमा टिकाकुमारीको पछिसम्म खोजी हुन्थ्यो । उहाँका २ छोरी, ४ छोरा, १० नाती, ६ नातिनी, ४ पनाति, ३ पनातिनी हुनुहुन्छ ।

दुर्गा शर्मा सपरिवार सहित हाल रोजगारीका शिलसिलामा स्पेनमा रहनुभएको छ । छोरा दुर्गा शर्मा, बुहारी प्रगति शर्माले बरेङ गाउँपालिकाको कोविड कोषमा उक्त रकम सहयोग गर्ने पहिलो सहयोगी समेत बन्नुभएको छ ।

शर्माले आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै, ‘यस्तो विषम परिस्थितिमा कोरोना संक्रमित भई उपचारको निम्ति छटपटिरहनु भएका जनतामा सानो भन्दा सानो भए पनि सहयोग पुगोस भनेर रू. ५०,००० (अक्षेरूपी पचास हजार रुपैयाँ) बरेङ गाउँपालिकाको कोविड कोषमा सहयोग गर्ने घोषणा गर्दछौं ।’ भन्नुभएको छ ।

उक्त रकम आमा टीका कुमारी शर्माको सम्झनामा परिवारको तर्फबाट स्पेन नेपाली एकता समाज मार्फत गाउँपालिकालाई हस्तान्तरण गर्ने शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार