देउवाले सांसदहरुको किर्ते हस्ताक्षर गरेका कारण प्रधानमन्त्रीमा मेरो दाबी अस्वीकृत भयो : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने दाबी गर्नुभएको छ । आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारँंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उहाँले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताउनुभएको हो ।

राष्ट्रपतिले गरेको निर्णय विरुद्ध मोर्चावन्दी गरेर मुद्दा हाल्ने प्रयास भइरहेको खबर आफूले सुनेको भन्दै उहाँले जतिजनाले मुद्दा राखे पनि त्यसको अर्थ नरहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मोर्चा कसेर मुद्दा हाल्ने रे ? सच्चाइका लागि एक जनाले हालेपनि धेरैले मोर्चा कसेर हाले पनि त्यही हो । सच्चाई सच्चाई नै हो । न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुँदैन । राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने ठाउँ हो त्यसमा कुनै उजुरी लाग्दैन ।’

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न अरु दलका सांसदहरुको किर्ते हस्ताक्षर गरेर लगेको दाबी गर्नुभयो । उहाँले संसदीय गणितमा फोहरी खेल भएको र सांसदहरु किन्ने र विक्रि हुने प्रवृत्ति छताछुल्ल भएको हुँदा पनि आफू भने संसद विघटन नहोस् भनेर जसपाको र आफ्नो(नेकपा एमालेको) पत्र लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिकोमा पुगेको बताउनुभधयो ।

बैकल्पिक सरकारका लागि कहीँ कतै अवरोध नभएको र दुवै पक्षले तोकिएको समयमा आफ्नो दाबी गरेको भन्दै उहाँले समयलाई लिएर आलोचना गर्नु आलोचनाका लागि आलोचना मात्रै भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयासमा फर्जि हस्ताक्षर लिएर, दुषित अभ्यास गरि, दुषित कागज राष्ट्रपतिकार्यालयमा बुझाएको टिप्पणी गर्नुभयो । आफूले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले पनि लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबी प्रतिपनि विश्वास नगर्नुभएको उहाँले बताउनुभयो । उनीहरुले कन्फ्युजन सिर्जना गरेकाले आफ्नो दाबी लाई राष्ट्रपतिले विश्वास गर्न नसकेको उहाँको तर्क थियो ।

उहाँले लोकतान्त्रिक व्यवस्थामा दलिय अनुसासन हुनुपर्ने भन्दै दलिय अनुशासन भन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो । लोकतन्त्र अनुशासित, मर्यादित र सामुहिक व्यवस्था भएको भन्दै उहँले वुद्धि र प्रतिष्ठाको मिसयुज गरेर बुद्धिजीवीहरुले पुर्वाग्रहका साथ संविधानको अपव्याख्या गरि संविधान माथिको निष्ठामा आँच पुराउने काम गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘दलीय अनुशासन तोडेर व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन दलिय व्यवस्था । पर्सनल डान्सको कुनै अर्थ छैन।’

प्रधानमन्त्री ओलीले आफूलाई प्रजातन्त्रवादी भन्नेहरु पनि प्रचण्डपथ अंगिकार गरेर लोकतन्त्र विरोधी खेलमा लागेको टिप्पणी गर्नुभयो । लोकतान्त्रिक सिध्याउन र हिंसाको बाटोबाट सत्ता कब्जा गर्न हिडेकाहरु त्यो संभव नभएपछि शान्ति प्रक्रियामा आएको र अहिले तीनैको सत्ता कब्जा गर्ने रणनीतिलाई आफू प्रजातन्त्र र लोकतन्त्रवादी भन्नेहरुले पनि साथ दिएको टिप्पणी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार