धर्मनिरपेक्षता(लेसिते)को आन्दोलनमा फ्रान्स

  •   
  •  
  •  
  •  
  •  
  •  

384 जनाले पढ्नु भयो ।

धर्मबाट संविधान प्रभावित हुने कि नहुने ? धर्म, आस्था र विश्वासको कुरा हो कि राजनीति गर्ने साधन ? राज्य, कुनै एउटा धर्मको समर्र्थनमा उभिने या तटस्थ बस्ने ? यस्ता थुप्रै अन्तरविरोधपूर्ण प्रश्नहरुका आधारमा अहिले विश्व, ध्रुवीकरण हुँदै गैरहेको अवस्था छ । यसप्रकारको धु्रवीकरणको प्रक्रियामा एकातर्फ धर्म निरपेक्षता तथा अर्कोतर्पm धर्म सापेक्षताले आ–आफ्नै प्रकारले भूमिका निर्वाह गरिरहेका छन् ।

धर्म निरपेक्षताले संविधान, धर्मभन्दा माथि हुने मान्यता राख्दछ । धर्मको नाममा राजनीति गर्न नहुने तथा राज्य, कुनै धर्मको पक्षमा उभिन नहुने तर्क गर्दछ । अर्कोतर्फ धर्म सापेक्षताले त्यसको विपरित धारणा राख्दछ । धर्म सापेक्षताको सिद्धान्तको आधारमा नै नेपालजस्तो मुलुकमा हिन्दू राज्यको कुरा गरिन्छ  । यही सिद्धान्तका आधारमा मूस्लिम देशहरुमा इस्लामिक कट्टरवाद तथा धार्मिक फासिवादले प्रश्रय पाईरहेको अवस्था छ । धर्म सापेक्षताकै आधारमा पोपको साम्राज्य बढ्दै गैरहेको अवस्था छ । धर्म सापेक्षताका कारण नै रोहिंग्या मुसलमानहरु लखेटिन्छन् । यी सबै घटनाहरुलाई हामीले धार्मिक आतंकको रुपमा परिभाषित गर्न सक्दछौं । धर्म सापेक्षताका कारण नै यसप्रकारका सामाजिक अराजकताको स्थिति उत्पन्न हुने गर्दछ ।

धर्म सापेक्षतालाई त्याग गर्दै धर्मनिरपेक्षतालाई अवलम्बन गरेको एउटा मुलुक हाम्रो देश हो । ०६२÷०६३को जनआन्दोलनबाट नै त्यसप्रकारको उपलब्धि प्राप्त भएको हो । विश्वस्तरमा पनि धर्मनिरपेक्षताको पक्षमा थुप्रै आन्दोलन हुँदै आएका छन् ।

सन् १५१७ तीर मार्टिन लुथरले क्याथोलिक चर्चको सुधारको पक्षमा बोल्दै धर्मनिरपेक्षताको मान्यताको बिजारोपण भएको पाइन्छ । १६औं शताब्दीतीर प्रोटेस्टेट र रोमन क्याथोलिकबीचको ३० बर्षे धार्मिक युद्धले पनि थुप्रै नकारात्मक अनुभवहरु प्राप्त भयो । यी सबै अनुभवहरुबाट उदारवादका पिता भनेर चिनिने दार्शनिक जान लाक, यो निष्कर्षमा पुगे कि राज्यसित धर्म जोडिदा युद्धहरु झनै चर्किने गर्दछ ।

धर्मनिरपेक्षताका मूल्य मान्यताहरुको विकास हुँदै जाँदा अमेरिकाका पूर्व राष्टपति थोमस जेफरसनले सन् १८०८मा धर्मनिरपेक्षतासम्बन्धि तीन वटा धारणाहरु प्रस्तुत गरे । ती धारणाहरुलाई अवलम्बन गर्दै अमेरिकी संविधानमा संसोधन गर्दै कार्यान्वयन तर्फ अगाडि बढे । उनले अगाडि सारेका तीन मान्यता थिए, १) राज्यबाट धर्म अलग हुनुपर्दछ । २) सबै नागरिक, आ–आफ्नो धर्म मान्न स्वतन्त्र हुनुपर्दछ । तर कसैले आफ्नो धर्मलाई अवलम्बन गर्दा अन्य धर्मलाई चोट पुर्याउछ भने राज्यले हस्तक्षेप गर्नुपर्दछ । ३) धर्मका आधारमा राज्यले भेदभाव गर्नुहुँदैन । यसरी राष्टपति जेफरसनले स्वतन्त्र समाजको लागि चर्च र राज्यबीचको पर्खाल हुनुपर्ने बताए ।

ब्रिटेनले भारतमा आफ्नो उपनिवेश बिस्तार गर्र्दै जाँदा विभिन्न धार्मिक सम्प्रदायबीच चर्को द्धन्दको अवस्था थियो । त्यसप्रकारको धार्मिक द्धन्दको उपयोग गर्दै ब्रिटीशहरुलाई आफ्नो साम्राज्य विस्तार गर्न सहज भैरहेको थियो । त्यसप्रकारको चुनौतिपूर्ण अवस्थामा महात्मा गाँधीले ‘सर्व धर्म समभाव’को नारा दिए । त्यस्तै जवाहरलाल नेहरुले ‘धर्म, राज्यसित जोडिने नभएर निजी बिषय भएको’ बताए । यसरी त्योबेलाको चुनौतिपूर्ण परिस्थिति तथा भारतमा स्वतन्त्रताको आन्दोलनलाई सशक्त रुप दिन पनि धर्मनिरपेक्षताको बिषय अपरिहार्य बिषय बन्न गयो ।

धर्मनिरपेक्षतको लागि विश्वस्तरमा चलेका विभिन्न आन्दोलनहरुका सन्दर्भमा गौरवमय इतिहास बोकेको एउटा मूलुक फ्रान्स पनि हो । धर्मनिरपेक्षतालाई अझ सशक्त बनाउदै जाँदा त्यहाँ केहि अराजक तत्वहरुले इस्लामको नाममा आतंक चर्काउदै गैरेहेको अवस्था छ ।

गत १६ अक्टोबरका दिन पैगम्बर मोहम्मदको व्यंग्य चित्र देखाएकै कारण १८ बर्षिय मुस्लिम युवकले एकजना शिक्षक शेमुयल पेटीको हत्या गरिदिए । ‘अभिव्यक्तिको स्वतन्त्रता’ को बारेमा पढाउदै गर्दा साप्ताहिक पत्रिका शाली एब्दोमा प्रकाशित मुस्लिम धर्मगुरुको कार्टुन देखाउदा उनी प्रति यसप्रकारको अमानवीय व्यवहार गरियो । त्यसको विरोधमा फ्रान्सभरि नै प्रदर्शन भैरहेको छ ।

फ्रान्सको एउटा स्कूलको इतिहास बिषयको शिक्षकको हत्याको घटना, व्यक्तिगत घटना मात्र होइन । धर्मनिरपेक्षता र धर्मसापेक्षताबीचको चर्कदो अन्तरविरोधको परिणाम हो । फ्रान्समा धर्मनिरपेक्षताले सशक्त रुप लिदै जाँदा त्यसको फरक मत राख्नेहरु आक्रोशित हुँदै गेरहेको अवस्था छ । त्यसको परिणामस्वरुप नै यो घटना भयो । अहिले यो घटना, राष्टियस्तरको बिषय मात्र नभएर अन्तरराष्टिय स्वरुप ग्रहण गर्दै गैरहेको अवस्था छ ।

फ्रान्सेली क्रान्तिको समयदेखि नै त्यहाँ धर्मनिरपेक्षताको मान्यता विकास हुँदै आएको हो । राजतन्त्रको अन्त र गणतन्त्रको स्थापनासंगै धर्मनिरपेक्षतालाई एउटा महत्वपूर्ण सिद्धान्तको रुपमा स्वीकार गरिदै आइएको छ । कुनै समयमा त्यहाँ रोम क्याथोलिक चर्च र पोपको हालीमुहाली हुने गर्दथ्यो । कसैले धर्मको विरोध गर्यो भने सिधै फासी तथा विभिन्न चरम यातनाहरु दिइने गरिन्थ्यो । कोपर्निकस जस्ता खगोलशास्त्रीले “पृथ्वीले सूर्यको परिक्रमा गर्दछ” भन्नु ठूलो दार्शनिक क्रान्ति थियो । न्यूटनले गुरुत्वाकर्षणको निमय पत्ता लगाउनु, चाल्र्स डार्विनले जीव विज्ञानको सिद्धान्त पत्ता लगाउनुले त्यहाँको परम्परागत  धार्मिक मूल्य मान्यतालाई ठूला चुनौति दियो । आर्थिक क्षेत्रमा भैरहेको परिवर्तन, राजनीतिक अन्तरविरोध लगायतका भौतिक परिस्थितिहरुले पनि मानिसहरुको दार्शनिक चिन्तनमा गुणात्मक परिवर्तन आउँदै गयो ।

सन् १९०५मा कानुन बनाएर नै धर्म निरपेक्षताको सिद्धान्तलाई अझ बलियो बनाइएको थियो । लेसिते(धर्मनिरपेक्षतालाई फ्रान्समा लेसिते भन्ने गरिन्छ)लाई स्वीकार गर्ने कि इस्लाम कट्टरवादलाई मान्ने ? त्यहाँअहिले बहसको बिषय बनेको छ । लेसितेले अन्तरआत्माको स्वतन्त्रताको ग्यारेन्टी गर्दछ । यो प्रणालीले “आफ्नो धर्मलाई आफ्नै प्रकारले पालन गर्ने” अनुमति दिन्छ । तर धर्म, संविधानको अन्तरगत हुनुपर्दछ । धर्मको सन्दर्भमा राज्य तटस्थ हुनुपर्दछ । आस्तिक तथा नास्तिक दुवैलाई लेसिते प्रणाली अन्तरगत आफ्नो अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । फ्रान्समा दक्षिणपन्थी तथा बामपन्थी दुवैले यो मान्यता स्वीकार गर्दै आएको बिषय हो । तर इसाई धर्माम्वलम्बि पछि दोश्रो ठूलो संख्यामा रहेका मुस्लिम समुदायका केहि कट्टरपन्थी सोचाई राख्नेहरु लेसितेलाई अझ सशक्त बनाउदै जाने सरकारको नीतिप्रति सशंकित हुँदै गएका छन् । लेसिते मार्फत इस्लाम धर्ममाथि आक्रमण गरिरहेको उनीहरुको आरोप छ ।

१६ अक्टोबरको आतंकवादी घटनाका सन्दर्भमा राष्टपति इमायुल म्याक्रो, मारिएका शिक्षकको पक्षमा आफ्नो धारणा राखीरहेका छन् । शिक्षकको हत्यापछि राष्टपति म्याक्रोले ‘इस्लाम संकटमा छ’, ‘शिक्षकको हत्या, इस्लामिक आतंकवादी हमला भएको’ बताएका थिए । म्याक्रोले स्पष्टरुपले घोषणा गरेका छन, ‘फ्रान्समा एउटा मात्र समुदाय छ, त्यो भनेको राष्टिय समुदाय हो’ ।

इस्लामिक मुलुकहरु लेसितेलाई अझ बलियो पार्दै जाने फ्रान्सेली सरकारको रुझानले फ्रान्स र त्यहाँका सामानहरु बहिष्कार गर्ने बताईरहेका छन् । थुप्रै मुस्लिम बाहुल्य देशहरुमा राष्टपति म्याक्रोको विरोधमा प्रदर्शनहरु भैरहेका छन् । मुस्लिम बाहुल्य मुलुकहरु कतार, जोर्डेन, कुवेत, पाकिस्तान, इरान, बंगलादेश, तुर्कि लगायतका देशहरुमा फ्रान्सको विरोधमा प्रदर्शन तथा त्यहाँको सरकारको सामान बहिष्कार गरिरेहका छन् । भारतका केहि राज्यहरु भोपाल, मुम्बई, अलीगढका मुस्लिम समुदायका मानिसहरु तथा बंगलादेशमा हजारौंको संख्यामा जनता, सडकमा उत्रेर फ्रान्सेली राष्टपतिको पुलता दहन गरिरहेका छन् । तुर्किका राष्टपति अर्दवानले त “फ्रान्सका राष्टपतिको दिमाग खुस्कीएको” बताइरहेका छन् । मलेशियाका पूर्व राष्टपतिले “मुस्लिम धर्मको विरोध गर्ने फ्रान्सेलीहरुको ठूलो संख्यामा हत्या गर्नुपर्ने” जस्तो अराजक विचारहरु समेत व्यक्त गरिरहेको अवस्था छ ।

फ्रान्सले विशेषगरेर हवाईजहाजका तथा परिवहनका पुर्जाहरु, कृषि तथा फेसनसम्बन्धि सामानहरु निर्यात गर्दछ । मुस्लिम देशहरुबाट सामानहरु बहिष्कार गरेपछि फ्रान्सको आर्थिक प्रणाली, केहि न केहि रुपमा प्रभावित त हुने नै छ । तर फ्रान्सेली राष्टपति भन्दैछन्, ‘हामी आतंकवादको अगाडि समर्पण गर्नेछैनौ’ । फ्रान्स तथा फ्रान्सेली राष्टपतिको पक्षमा विश्वका विभिन्न देशहरुले समर्थन गरिरहेको सन्दर्भमा पनि धर्म निरपेक्षताको मोर्चा तथा त्यसको पक्षमा आन्दोलन अझ सशक्त हुँदै जाने प्रष्ट नै छ ।

हिंसात्मक आतंकवादी क्रियाकलाप बढ्दै जाँदा २९ अक्टोबरका दिन निस शहरको एउटा चर्च नजिकै तीनजनाको हत्या गरिएको छ । हत्या गरिएकामध्ये एकजना ६० बर्षे महिलाको घाँटी रेटेर हत्या गरिएको थियो । हत्या गर्ने व्यक्तिले इस्लामको नारा लगाईरहेको थिए । त्यस्तै सोहि दिन फ्रान्सेली शहर एवीन्यूमा पनि एकजनाको हत्या गरिएको छ । सउदी अरबको वाणिज्यदूतावासको अगाडि एउटा सूरक्षा गार्डमाथि आक्रमण भएको छ । यसरी अझ केहि दिन यसप्रकारका हिंसात्मक गतिविधि अझ बढ्दै जाने संकेत देखिएको छ ।

धर्मनिरपेक्षताको नयाँसंरचना निर्माणको दिशामा अहिले फ्रान्स चुनौतिपूर्ण अवस्थाबाट अगाडि बढीरहेको छ । कानुनमा अझ परिवर्तन गर्दै इस्लाम धर्मलाई लेसितेको मान्यता अनुरुप परिवर्तन गर्ने वर्तमान राष्टपतिले उद्घोष गरिरहेका छन् । धर्मभन्दा माथि संविधान हुन्छ । लेसिते गणतन्त्रको धर्म हो, त्यसैले सबै फ्रान्सेली नागरिक संविधान अनुसार अगाडि बढ्नुपर्ने, वर्तमान फ्रान्स सरकारको मान्यता छ । अभिव्यक्तिको स्वतन्त्रताकै आधारमा आतंक फैलाउन नहुने बिषयमा फ्रान्स सरकार दृढ देखिन्छ । त्यसरी आतंक फैलाउनेहरुका विरुद्ध कडारुपमा प्रस्तुत हुने पनि प्रष्ट देखिन्छ ।

प्रजातन्त्रलाई बलियो बनाउने हो भने धर्मनिरपेक्षता एउटा अनिवार्य शर्त हो । धर्मनिरपेक्षता र प्रजातन्त्रबीच अभिन्न सम्बन्ध रहने गर्दछ । धर्मसापेक्षताले प्रजातन्त्रलाई कमजोर गराउने हुँदा न्यायपूर्ण समाजका लागि धर्मनिरपेक्षता नै उत्तम विकल्प हो । प्रजातन्त्र तथा गणतन्त्रलाई बलियो बनाउँदै जाँदा विश्वका विभिन्न मुलुकहरुमा धर्मनिरपेक्षतालाई अवलम्बन गर्दै गैरहेको प्रष्ट नै छ । प्रजातन्त्रले सबैलाई समान अधिकारको कुरा गर्दछ भने धर्मनिरपेक्षताले धार्मिक समानताको कुरा गर्दछ । त्यसैले न्यायमा आधारित स्वतन्त्र समाजको लागि प्रजातन्त्र र धर्मनिरपेक्षताबीच अभिन्न सम्बन्ध हुनुपर्दछ । न्याय र समानताको दिशामा राज्य तथा समाजलाई अगाडि बढाउने हो भने धर्मनिरपेक्षता पनि एउटा अनिवार्य शर्त हो ।

लेसितेलाई अझ सशक्त बनाउदै अगाडि बढीरहेको फ्रान्सेली जनताको भूमिकालाई उपलब्धिमूलक नै मान्नुपर्दछ । अभिव्यक्तिको स्वतन्त्रता, फ्रान्सेली समाजको संस्कृति हो । कसैले कुनै धर्मको विरुद्ध प्रकट गर्नु पनि अभिव्यक्तिको स्वतन्त्रता हो । शाली एब्दो पत्रिकाले मुस्लिम धर्मगुरुको मात्रै कार्टुन प्रकाशित गर्ने होइन, पोपको पनि त्यसरी नै व्यंग्य कार्टुन प्रकाशित गर्ने गर्दछ । यदि त्यो मन परेन भने पत्रिकाको  विरोधमा प्रर्दशन गर्न सकिन्छ । पत्रिकाको बहिष्कार गर्न सकिन्छ । तर कुनै विचार व्यक्त तथा तस्वीर प्रकाशित गरेकै आधारमा घाँटी रेटर मार्नु, विभिन्न आतंकको स्थिति सिर्जना गर्नु न्यायोचित कदम हुन सक्दैन । राष्ट्रपतिले मेक्रोले ‘इस्लाम धर्म संकटमा छ’ भनेका छन् ।

वास्तवमा इस्लाम मात्र होइन, हिन्दू धर्म पनि संकटमा छ तथा इसाई धर्म पनि संकटमा छ । कट्टर मुस्लिम धर्मको आधारमा बनेको आइएसआइएसले सीया मुसलमानहरुको नरसंसहार गरिरहेको छ । तालिवानी आतंक जारी छ । यसप्रकारका कट्टरवादीहरुको सन्दर्भमा नै ‘इस्लाम धर्म संकटमा छ’ भनिएको हो । मानिसहरुका आधारभुत समस्याहरु प्रति सचेत हुन नदिन हिन्दूत्वको आधारमा राजनीति गर्ने प्रयास गरिन्छ । विश्वव्यापीरुपमा इसाईकरणका आधारमा आफ्नो साम्राज्य कायम गर्ने प्रयास गरिदै छ । यी सन्दर्भहरुमा ‘हिन्दु धर्म तथा इसाई धर्म संकटमा छ’ भन्नुपर्ने नै हुन्छ । फेरि पनि धर्मनिरपेक्षताको आन्दोलन जारी छ । यो आन्दोलनको पक्षमा विश्वस्तरमा चलीरहेका विभिन्न आन्दोलनहरुका सन्दर्भमा फ्रान्सेली जनताको आन्दोलन तथा भूमिकालाई सलाम गर्नुपर्ने नै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *