नफालौं भातका सिताहरू !

  • बाल राम तिमिलसिना

नफालौं भातका सिताहरू
नफालौं रोटीका टुक्राहरू
अन्नको श्राप लाग्छ -2
भात भन्दै रुदै रुदै
रोटी भन्दै रुदै रुदै
मर्नेको पाप लाग्छ -2
नफालौं भातका सिताहरू ….!
कोही सडकमा कुकुरसँग
रोटी खोसिरहेछन् !
कोही फोहोरका थुप्राभित्र
खाना खोस्रिरहेछन् !
कोही मरेको कुकुरको
काँचै मासु टोकिरहेछन्* !
भात पर्खेर रोटी पर्खेर
मान्छेले सास रोकिरहेछन् !
नफालौं भातका सिताहरू …….!
साना साना अन्नका दाना
मिलेर बन्दछ माना !
साना साना सिताहरू
जुटेर बन्दछ खाना !
थोपा थोपा पानी मिलेर
खोला नदी सागर बन्छ !
मूर्खले मात्रै सानो कुराको
महत्व छैन फालौं भन्छ !
नफालौं भातका सिताहरू ……!
हामीले खाने गाँसहरूमा
कसैको पसिना परेको छ
कसैको भान्सा मुस्कुराउँदा
कसैको आशु झरेको छ
भात फाल्दा गौरव गर्ने
मूर्खहरू हो सोच है सोच !
हामी जस्तै अर्को मान्छे
भात नपाएर मरेको छ !
नफालौं भातका सिताहरू….!
२०७७|०२|९
भक्तपुर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार