नयाँ जनवादी क्रान्तिपछि नै जनताको आधारभूत समस्या समाधान हुने छ : केसी

काठमाडौँ/प्रकाश थापा मगर
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ जनवादी क्रान्तिपछि नै नेपाली जनताको आधारभूत समस्या समाधान हुने दावी गर्नुभएको छ । अखिल नेपाल जनजाति सम्मेलनको आयोजनामा २०७७ जेष्ठ १६ गते आयोजित “नेपालमा गणतन्त्रको स्थापनापछि जनजाति अधिकारको अवस्था” विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

‘यो गणतन्त्रले पनि जनताको खासै समस्या समाधान गरेको छैन’ राजमो अध्यक्ष केसीले भन्नुभयो– ‘यो वुर्जुवा गणतन्त्र हो, यो व्यवस्थाबाट त्यति बढी आशा गर्न सकिँदैन ।’ अध्यक्ष केसीले भन्नुभयो– ‘अन्ततः नयाँ जनवादी क्रान्तिपछि नै नेपाली जनताको आधारभूत समस्या समाधान हुने छ ।’ उहाँले नेपाल लामो समयसम्म निरङ्कुश राजतन्त्रको चपेटामा परिसकेको सन्दर्भमा यो वुर्जुवा गणतन्त्रको पनि प्रगतिशील महत्त्व रहेको बताउनुभयो ।

‘यो गणतन्त्र वुर्जुवा प्रकृतिको भए पनि एकथरिलाई यो व्यवस्था पचिरहेको छैन’ अध्यक्ष केसीले भन्नुभयो– ‘एकथरिले केन्द्रदेखि प्रदेश हुँदै स्थानीयस्तरमा धेरै राजाहरू राख्नुभन्दा केन्द्रमा एउटै राजा भए हुन्छ भन्दै राजतन्त्रको पुनस्र्थापना गर्न चाहिरहेका छन् ।’ उहाँले यस खालको पुनरुत्थानवादी प्रयासका विरुद्ध सजग हुँदै वुर्जुवा गणतन्त्र भए पनि यसको रक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।

गणतन्त्र आए पनि नेपालमा सामन्ती जग बलियै रहेको उल्लेख गर्दै उहाँले जनजाति आन्दोलनले पनि सामन्तवादको विरुद्धमा सङ्घर्ष गर्नुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो । नेपालको जनजाति आन्दोलनमा पश्चिमा साम्राज्यवादीहरूको घुसपैठ भएको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘पश्चिमा साम्राज्यवादीहरू नेपाललाई आफ्ना निहित स्वार्थको पक्षमा रणभूमि बनाउन खोजिरहेका छन् ।’ उहाँले ती सबै देशीविदेशी विकृति, विसङ्गतिको विरुद्ध सङ्घर्ष गर्नमा अखिल नेपाल जनजाति सम्मेलनले ध्यान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाको सञ्चालन तथा विषय प्रस्तुतिका साथ अघि बढेको सो कार्यक्रममा अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष टिकाराम पौडेल, राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामी र राजमो दाङका अध्यक्ष गणेश आचार्यले पनि मन्तव्य राख्नुभयो ।

फ्लोरबाट विमल श्रीस र सागर थापाले आफ्ना जिज्ञासा राख्नुभएपछि कार्यक्रममा उपस्थित सबैलाई जनजाति सम्मेनलकै केन्द्रीय सदस्य रामबहादुर जिएमले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विशाल दर्लामी र मीन रानाले कविता पनि वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार