नारा क्रान्तिकारी, विचार प्रतिगामी

  •   
  •  
  •  
  •  
  •  
  •  

559 जनाले पढ्नु भयो ।

बासुदेव पोखरेल ##

यही असार २४ गते मार्गदर्शन अनलाइनमा का. कृष्ण थापाको एउटा अन्तवार्ता प्रकाशित भएको छ । उहाँले प्रकट गरेका विचारबारे अहिले कुनै चर्चा नगरेर खालि मार्गदर्शन अनलाइनले उहाँलाई सोधेको निम्नलिखित प्रश्नको चर्चा गर्नेसम्म मात्र आफुलाई सीमित राख्ने छु ।

“राजनीतिबाट बाहिर वनमा बसेका राजालाई प्रमुख दुस्मन देखाएर काङ्ग्रेस, एमाले दलाल पुँजीपति वर्गसँगको साँठगाँठमा तपाईंको पार्टी लागेको देखियो । यसमा तपाई के भन्नुहुन्छ ?”

माथिको प्रश्नले देशको तात्कालिक राजनीतिक स्थितिमा विशेष महत्त्व राख्दछ । यो थाहा भएको कुरा हो कि उक्त अनलाइन पत्रिका नेकपा (मसाल) बाट निष्कासित भएर वा अलग भएर गएका तत्त्वद्वारा सञ्चालित छ, जसले आफूहरूलाई स्वघोषित क्रान्तिकारीको रूपमा प्रस्तुत गर्ने गरेका छन् । अन्तरवार्तामा सोधिएको उक्त प्रश्नले अहिले राजतन्त्र र प्रतिगमनबारे उनीहरूको कुन प्रकारको दृष्टिकोण गरहेको छ ? त्यसबारे प्रकाश हाल्दछ ।

उनीहरूको उक्त भनाइबाट यो कुरा प्रष्ट हुन्छ कि उनीहरूले देशको तात्कालिक अवस्थामा सत्ताबाट फ्याँकिएका राजा र प्रतिगमनको कुनै खतरा देख्दैनन् र त्यसका विरुद्ध सङ्घर्ष गर्नुपर्ने पनि कुनै आवश्यकता देख्दैनन् । अहिले नेकपा (मसाल) ले राजतन्त्रको पुनर्स्थापना वा प्रतिगमनको खतराका विरुद्धको सङ्घर्षमा विशेष जोड दिने गरेको छ । उनीहरूले त्यस प्रकारको सोचाइलाई गलत मान्दछन् । त्यसबाट यो कुरा प्रष्ट हुन्छ कि उनीहरूको त्यस प्रकारको सोचाइका पछाडि राजापरस्त सोचाइले नै काम गरेको छ ।

यो सार्वजनिक रूपमा नै थाहा भएको कुरा हो कि राजावादीहरूले राजतन्त्रको पुनर्स्थापनाका लागि लगातार अभियान चलाइरहेका छन् । अब उनीहरू यो अभियानमा एक्लै छैनन् । भारतीय साम्राज्यवादले नेपालमा हिन्दु राष्ट्रको स्थापना र राजतन्त्रको पुनर्स्थापनाका लागि मद्दत गर्ने नीति अपनाएको छ । ओलीले संसदको विघटन गर्नुभन्दा पहिले राजावादीहरूले हिन्दु राष्ट्र र राजतन्त्रको पुनर्स्थापनाका लागि देशव्यापी रूपमा नै आन्दोलन गर्दै आइरहेका थिए । तर ओलीले संसद विघटन गरेर प्रतिगमनको बाटो समातेपछि उनीहरू ओलीद्वारा नै आफ्नो काम पूरा हुन्छ भनेर आश्वस्त भएर बसेका छन् र उनीहरूले आन्दोलनका सबै गतिविधि बन्द गरेका छन् ।

अहिले राजावादीहरूले ओलीलाई नै समर्थन गरिरहेका छन् । त्यसबाट यो बुझ्न कुनै गाह्रो पर्दैन कि ओली स्पष्ट रूपले प्रतिगमनकै पक्षमा उभिएका छन् । तर मार्गदर्शन अनलाइनका पक्षपातीले ओलीले प्रतिगमनको बाटो समातेको कुरालाई पनि अस्वीकार गर्छन् ।

माथिका केही तथ्यबाट यो कुरा बुझ्न गाह्रो पर्दैन कि देशमा प्रतिगमनको गम्भीर खतरा छ । त्यो अवस्थामा प्रतिगमनको खतराका विरुद्ध सङ्घर्ष गर्नु आजको राष्ट्रिय आवश्यकता बनेको छ । तर प्रतिगमनका पक्षमा उभिएका सबै शक्ति वा तत्त्वले त्यस प्रकारका खतरालाई कम आँक्ने र त्यस (प्रतिगमन) का विरुद्धको सङ्घर्षलाई अवमूल्यन गर्ने गरेका छन् । मार्गदर्शनका पक्षपातीले पनि त्यही प्रकारको विचार अपनाएको कुरा उनीहरूले कृष्ण थापालाई सोधेको प्रश्नबाट प्रष्ट हुन्छ ।

केही दिनपहिले एमाले (ओली पक्ष) का एकजना केन्द्रीय सदस्यले आफ्नो पार्टीको बैठमा सङ्घीयता र धर्म निरपेक्षताबारे समीक्षा गर्नुपर्ने आवश्यकता भएको कुरा उठाएका थिए । जहाँसम्म सङ्घीयताको प्रश्न छ, कुनै पनि पक्षले त्यसको विरोध गर्दछ वा खारेज गर्नुुपर्ने आवश्यकतामा जोड दिन्छ भने त्यो स्वागतयोग्य कुरा नै हुने छ । तर एमालेको बैठकमा उठेको त्यो कुराले विशेष अर्थ राख्दछ । अहिले राजावादीहरूले पनि सङ्घीयताको विरोध गर्ने गरेका छन् । कहिँ सङ्घीयताबारे समीक्षा हुनुपर्छ भन्ने विचारका पछाडि राजावादीहरूको असरले काम गरेको त होइन ? त्यो कुरामाथि शङ्का गर्ने ठाउँ छ ।

खास गरेर सङ्घीयताको समीक्षा गर्नुपर्छ भन्ने सिलसिलामा धर्म निरपेक्षतासमेतबारे समीक्षा हुनुपर्दछ भन्ने कुरालाई जोडिएको हुनाले त्यसबारे गम्भीर रूपले विचार गर्नुपर्ने आवश्यकता छ । एमालेको केन्द्रीय समितिको बैठकमा सम्बन्धित केन्द्रीय सदस्यले सिधै गणतन्त्रबारे समीक्षा गर्नुपर्ने कुरा उठाएका छैनन् । तर धर्म निरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र कायम गर्ने कुराले गणतन्त्रलाई समाप्त गरेर हिन्दु राजा कायम गर्ने कुरातर्फ नै इसारा गर्दछ ।

यो बुझ्न अप्ठ्यारो पर्दैन कि एकै पल्ट धर्म निरपेक्षता र गणतन्त्रको समीक्षाको कुरा उठाउँदा देशमा राजनीतिक भूकम्प नै जाने छ र त्यसको सामना गर्न ओलीलाई मुस्किल पर्ने छ । त्यसैले ओलीले आफ्ना योजनानुसार आफ्ना विश्वासिला केन्द्रीय सदस्यद्वारा सुरुमा धर्म निरपेक्षताको मात्र समीक्षा गर्ने कुरा उठाएका ता होइनन् ?

अहिले देशमा प्रतिगमनको खतरा जसरी गम्भीर बन्दै गइरहेको छ, त्यो अवस्थामा त्यसका विरुद्ध आउने शक्तिको बिचमा बलियो कार्यगत एकताको आवश्यकता छ । त्यस प्रकारको कार्यगत एकताद्वारा नै २०४६ साल र २०६२–६३ मा निरङ्कुश राजतन्त्र र प्रतिगमनलाई पराजित गर्न सम्भव भएको थियो ।

अहिले देशमा प्रतिगमनका विरुद्ध आएका मुख्य शक्तिहरू नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, माओवादी–केन्द्र, एमाले (माधव–खनाल) पक्ष, नेका, जसपा (उपेन्द्र भट्टराई) नै हुन । यिनीहरूमध्ये कुन शक्ति प्रतिगनका विरुद्धको सङ्घर्षमा अन्तसम्म टिक्ने छ ? त्यो कुरा आउने दिनमा नै प्रष्ट हुने छ । तर प्रतिगमनका पक्षमा भएका शक्तिले प्रतिगमनका विरुद्धमा भएका शक्तिमाथि नै मुख्य हमला केन्द्रित गर्ने गरेका छन् । मार्गदर्शनले पनि त्यही नीति अपनाएको छ ।

प्रतिगामी शक्तिहरूको मुख्य हमला संसदीय प्रणाली, बहुदलीय व्यवस्था वा गणतन्त्रमाथि नै छ । राजावादीहरूले त घोषित रूपले नै त्यो नीति अपनाएका छन् । ओलीले आफ्ना एक जना केन्द्रीय सदस्यको माध्यमद्वारा त्यो दिशामा कदम चालेको प्रष्ट सङ्केत गरेका छन् ।

मार्गदर्शनका पक्षपातीले नै एकातिर, क्रान्तिकारी नारा दिएर, अर्कातिर, अहिलेको गणतन्त्र बुर्जुवा प्रकारको भएको हुनाले त्यसको महत्त्व र आवश्यकतालाई अवमूल्यन गरेर तथा प्रतिगमनका खतराको अवमूल्यन गरेर प्रतिगामी शक्तिसित तालमेल गरेको देखिन्छ । त्यही कारणले नै प्रतिगमनका विरुद्धको सङ्घर्षमा अग्रिम पङ्क्तिमा रहेको नेकपा (मसाल) र त्यसको नेतृत्वमाथि उनीहरूले सबैभन्दा बढी हमला केन्द्रित गर्ने गरेका छन् । उनीहरूले का. कृष्ण थापासित प्रश्न गर्दा राजा राजनीतिबाट बाहिर वनमा बसेको जुन व्याख्या गरेका छन् र राजालाई प्रमुख दुस्मन भनेकोप्रति जुन विरोध जनाएका छन्, त्यसबाट उनीहरू कति धेरै राजाको पक्ष लिन पुगेका छन् ? त्यो कुरामा कुनै दिनको उज्यालो झैँ छर्लङ्ग छ ।

यहाँ एउटा के कुरा स्पष्ट गर्नुपर्ने आवश्यकता छ भने नेकपा (मसाल) ले राजालाई प्रमुख दुस्मन बताएको छैन र सामन्तवाद र भारतीय साम्राज्यवादसितको अन्तरविरोधलाई नै प्रमुख अन्तरविरोध बताएको छ । जहाँसम्म राजतन्त्रको पुनस्र्थापना तथा प्रतिगमनको खतराको प्रश्न छ, त्यसलाई नेकपा (मसाल) ले गम्भीर रूपमा लिँदै त्यस (प्रतिगमन) का विरुद्धको सङ्घर्षमा प्रमुख जोड दिएको छ । त्यही प्रश्नमा मार्गदर्शनका पक्षपातीले राजतन्त्रको पुनर्स्थापना वा प्रतिगमनको कुनै खतरा नभएको भनेर जोड दिएका छन् ।

त्यहाँ राजतन्त्रको पूरै विजय हुने छ भनेर भन्न खोजिएको होइन, किनभने, नेपाली जनताको सङ्घर्ष र चेतनाद्वारा त्यसमाथि बारम्बार विजय प्राप्त हुने गरेको छ । अहिले पनि प्रतिगमन विरोधी शक्ति तथा जनताको सङ्घर्षद्वारा राजतन्त्रको पुनर्स्थापनाको खतरालाई अवश्य पनि पराजित गर्न सकिने छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ । तर प्रतिगामी शक्ति वा त्यसका पक्षमा उभिएका शक्तिहरूले देशमा राजतन्त्र वा प्रतिगमको कुनै खतरा छैन त्यसका विरुद्धको सङ्घर्षलाई कमजोर पार्ने प्रयत्न गरिरहेका छन् । प्रतिगमनको खतरालाई पराजित गर्नका लागि प्रतिगामी शक्तिका साथै त्यसका पक्षमा भ्रम फैलाउने र त्यसरी प्रतिगमनका विरुद्धको सङ्घर्षलाई कमजोर पार्ने प्रयत्नको विरुद्ध पनि सङ्घर्षमा जोड दिनुपर्ने आजको मुख्य आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *