निरंकुशतन्त्रलाई फालेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमाथी कालोबादल मडारिइरहेको छ : चित्र बहादुर केसी

  •   
  •  
  •  
  •  
  •  
  •  

1777 जनाले पढ्नु भयो ।

खिमराज चालिसे,

नयाँ दिल्ली, ४ जुलाई । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले निरंकुशतन्त्र तथा संवैधानिक राजतन्त्र फालेर ल्याएको लोकतान्त्रिक गणतन्त्र माथी कालोबादल मडारिइ रहेको बताउनु भएको छ । केसीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको प्रथम राष्ट्रिय भेलाको प्रमुख अतिथिको आसनबाट उद्घाटन मन्तव्य दिंदै सो धारण व्यक्त गर्नुभएको हो ।

केसीले कार्यगत एकताको विषयमा हिटलरको बिरुद्धमा स्तालीनको कार्यगत एकता र जापानी साम्राज्यवाद विरुद्ध माओको कार्यगत एकताको विषयलाई गम्भीर रुपमा बुझ्ने प्रयास नगर्ने अराजकहरुको भ्रमलाई चिर्दै पार्टी क्रान्ति र परिवर्तनका लागि निरन्तर क्रियाशिल भइरहनु पर्ने धारणा राख्नु भएको थियो ।

अध्यक्ष केसीले मूल प्रवाहको गौरवमय इतिहासलाई कोट्टाउँदै ४४ वर्ष पहिला भारतमा एकता समाज निर्माण गर्न पसेको बेला कैयन नेपालीहरुबाटै अज्ञानताका कारणले आफूलाई पनि दुव्र्यवहार गरेको स्मरण गर्दै– “निश्चित विधान, योजना, कार्यक्रम र अनुशासन व्यवस्थापन गरेर औपचारिक रुपमा एकता समाज गठन गरिएको थियो ।”

त्यसैगरि विशिष्ट अतिथीको आशनबाट भेला सफलताको शुभकामना मन्तव्य दिदै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले हजारौं हजार नेपालीहरु कै पसिनाले सृजीत तथा सहि बिचारको मार्ग निर्देशनमा मूल प्रवाह एकता समाजले लाखौं प्रवासी नेपालीहरुको सुरक्षा, सामाजिक, राजनैतिक, सैद्धांतिक ज्ञान दिदै आएको बताउनु भयो । “मूल प्रवाहले श्रमजिवीहरुको हकहितको संरक्षण गर्न सफल र स्वदेशको राष्ट्रियताको आन्दोलनमा महत्वपूर्ण योगदान दिइरहेको छ ।” पुरीले अगाडि भन्नु भयो– “समय–समयमा सबै खाले अबसरवादका विरुद्ध शसक्त संघर्ष र एकजुटताले यो संगठन अझै मजबुत हुनेछ ।”

अर्का बामपंथी युवा नेता आनन्द शर्माले सो भेलालाई सम्बोधन गर्दै विधी, पद्धति, ऐन, कानुन, कुल्चदै प्रतिगमनको बाटोमा तिव्र रुपमा हिडिरहेको ओली सरकारबाट गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता गम्भीर खतरामा रहेको बताउनु भयो । “सरकारको प्रतिगामी घातक कदमको विरुद्ध सडक, सदन, प्रवास, तेश्रो मूलक तथा देशभित्र एकल, तथा संयुक्त रुपमा जहाँ जुनरुपमा सम्भब छ, संघर्षको आँधिवेहरी सृजना गर्न पर्ने आवश्यक छ ।” आर्थिक पक्षलाई मजबुत पार्न आर्थिक अभियान बारे भेलामा प्रकाश पार्नुभएको थियो ।

त्यस्तै मोहराज चालिसे, फुलवीना पौड्याल, राम बहादुर बिक, भीम बहादुर थापा लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षतामा तथा महासचिव ठाकुर खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सातौं अखिल भारत सम्मेलन पछि ज्यान गुमाउनुभएका केन्द्रीय नेताहरु समेत ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात समाजका उपाध्यक्ष कपिल खनाल तथा रक्तिम कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *