निष्पक्ष छानबिन माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  •   
  •  
  •  
  •  
  •  
  •  

248 जनाले पढ्नु भयो ।

नारायणगढ । मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्य तथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले प्रहरीले ल्याउँदै गरेको शवसमेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १०ः१५ बजेबाट सडक अवरुद्ध गरिएको हो ।

असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट करिब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।

स्थानीयवासीले पूर्वपश्चिम राजमार्गमा सवारी तेस्र्याएर विरोध प्रदर्शन गरेका छन् । फरेन्सिक चिकित्सकसहितको टोलीले सोमबार बिहान घटनास्थलको निरीक्षण गरेपछि शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउन लागेको एम्बुलेन्सलाई पनि स्थानीयवासीले अवरोध गरेका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीसहित सुरक्षाकर्मी रहेका छन् ।

घटनास्थलमा रहनुभएकी राप्ती नगरपालिका प्रमुख प्रभा बरालले आफूहरू छलफलमै रहेको बताउनुभयो । शव ल्याउन अवरोध गरेपछि सो स्थलमा नगर प्रमुख बराल पुगेर सहजीकरणमा जुटनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीयवासीसँग छलफल गरेर राजमार्ग खुलाउने प्रयास भइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *