नेकपामा फुट भएमा त्यसको दुष्परिणाम देशको राजनीतिमा पर्न सक्ने मसालको दावी

  •   
  •  
  •  
  •  
  •  
  •  

1268 जनाले पढ्नु भयो ।

काठमाडौँ । नेकपा (मसाल) ले सत्तारूढ नेकपामा फुट भएमा त्यसको दुष्परिणाम गणतन्त्र, धर्म निरपेक्षता र राजनीतिक स्थिरतामा देखा पर्ने बताएको छ । त्यससँगै पार्टीले नेकपाको एकता सरकारको स्थायित्वमा जोड दिएको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ मङ्सिर २ गते जारी गरिएको प्रेसवक्तव्यमा यस्तो अवधारणा व्यक्त गरिएको हो ।

वक्तव्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य लाभको कामना, राजावादीहरूको सक्रियता, लिम्पियाधुरा–लिपुलेकमा सीमा अतिक्रमण, चीनसितको सम्बन्ध कमजोर पार्ने प्रयत्न, कोराना महामारीको दीर्घकालीन असर र अमेरिकी राष्ट्रपति निर्वाचनको चरित्र विषयमा पार्टीको धारणा प्रस्तुत गरिएको छ ।

प्रेसवक्तव्यको पूर्ण पाठ :

“१. आज हामीले सर्वप्रथम राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीको स्वास्थ्यलाभको कामना गर्दछौँ । उहाँको स्वास्थ्य सुधार हुँदै गइरहेको छ; र, उहाँ छिट्टै स्वस्थ भएर अस्पतालबाट आउनुहुने छ भन्ने हामीले विश्वास गरेका छौँ ।

२. नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखा परेको चरम प्रकारको अन्तरसङ्घर्षप्रति नेकपा (मसाल) ले गम्भीर चिन्ता प्रकट गर्दछ । हाम्रो चिन्ताको विषय त्यसद्वारा, अर्थात् नेकपाको अन्तरसङ्घर्ष वा त्यसको परिणामस्वरूप देशको राजनीतिमा पर्न सक्ने सम्भावित असरप्रति नै हो । यदि नेकपाभित्रको अन्तरसङ्घर्षको परिणामस्वरूप नेकपामा फुट हुन्छ वा त्यसको सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहने छ । त्यस्तो हुन नदिनका लागि हामीले लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिँदै आएका छौँ र अहिले पनि हाम्रो त्यो नीति कायम छ ।

३. जुन तत्त्वहरूले गणतन्त्र वा धर्म निरपेक्षतालाई खतम गर्न चाहन्छन्, उनीहरू नेकपाभित्र देखा परेको अन्तरसङ्घर्षबाट प्रसन्न नै भइरहेका छन्; र, उनीहरूले यो चाहन्छन् कि त्यो अन्तरसङ्घर्षको परिणामस्वरूप नेकपामा फुट होस् र त्यसको सरकारको विघटन होस् । त्यो अवस्थामा यदि देश एक वा अर्को प्रकारले प्रतिगमनतिर जान्छ भने त्यसलाई उनीहरूले स्वागत नै गर्ने छन्; र, नेकपाको सरकारलाई अपदस्थ गराउन जोड दिनुका पछाडिको उनीहरूको मुख्य उद्देश्य पनि त्यही हो ।

४. तत्कालीन एमाले र माओवादी केन्द्रका बिचमा भएको पार्टीएकतालाई हामीले स्वागत गरेका थियौँ । त्यो बेला हामीले यो पनि स्पष्ट गरेका थियौँ कि त्यो एकता कम्युनिस्ट एकता थिएन र त्यो एकताद्वारा एकीकृत कम्युनिस्ट पार्टीको निर्माण पनि भएको थिएन । तैपनि चुनावका बेलामा उनीहरूका बिचमा भएको सहकार्य तथा सङ्गठनात्मक एकताबाट प्रतिगमनमाथि विजय प्राप्त गर्न मद्दत पुगेको थियो । त्यसैले हामीले उनीहरूको बिचमा भएको चुनावी सहकार्य वा एकतालाई सकारात्मक रूपमा लिएका थियौँ; र, अहिले पनि त्यसलाई कायम राख्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

५. उनीहरूको एकताप्रति त्यस प्रकारको सकारात्मक दृष्टिकोण अपनाउनुको अर्थ हामीले उनीहरूलाई वा उनीहरूको सरकारलाई पुरै समर्थन गर्दछौँ भन्ने होइन । उनीहरूप्रतिको समर्थन विरोध र सङ्घर्षका बिचको समर्थन हो । उनीहरूका सबै गलत नीति र कार्यशैलीको हामीले दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध गर्दै आएका छौँ र विरोध गर्दै जाने छौँ । उनीहरूको त्यस प्रकारका नीतिका विरुद्ध हामीले आफ्नो स्वतन्त्र पहलकदमीमा सङ्घर्ष गर्नुका साथै अन्य पक्षसित पनि समान समझदारीका आधारमा विरोध गर्ने हाम्रो नीति रहँदै आएको छ; र, आउने दिनमा पनि त्यस प्रकारको नीतिलाई अगाडि बढाउने हाम्रो प्रयत्न हुने छ ।

६. नेकपाभित्र व्यक्तिगत रूपमा एकर्कालाई निम्नस्तरका गालीगलौजसम्म गर्ने जुन प्रवृत्ति देखा परेको छ, त्यसका लागि हामीलाई दुःख लागेको छ । त्यस प्रकारको प्रवृत्ति नेपालको राजनीति र स्वयम् कम्युनिस्ट आन्दोलनमा पनि देखा परेको निम्न सांस्कृतिक स्तरको परिणाम हो । हाम्रो पार्टी पनि त्यस प्रकारको गालीगलौज वा चरित्रहत्याकोे धेरै पल्ट सिकार भएको छ । गत कालमा स्वयम् अहिलेको नेकपाका विभिन्न घटकले अत्यन्त तल्लोस्तरमा उत्रेर गालीगलौजद्वारा हामीमाथि आक्रमण गर्ने गरेका छन् । त्यही प्रकारको संस्कृति अहिले नेकपाको शीर्षस्थ नेतृत्वतहमा पनि पुनरावृत्ति भएको छ । तर हामीले यो दाबी गर्दछौँ कि हाम्रो पार्टी कहिल्यै पनि त्यस प्रकारको निम्नस्तरको राजनीतिक–सांस्कृतिक धरातलमा उत्रने गरेको छैन । यस सन्दर्भमा यो कुुरा पनि स्पष्ट हुनुपर्दछ कि दक्षिणपन्थी, उग्र“वामपन्थी”, “मध्यपन्थी”, गद्दार, राजापरस्त, काङ्ग्रेसपरस्त, सोभियत संशोधनवादी, चिनियाँ संशोधनवादी, भारतपरस्त आदि राजनीतिक शब्द हुन्; र, तिनीहरूलाई व्यक्तिगत गालीगलौज वा चरित्रहत्याका आक्षेपको रूपमा लिनु सही हुने छ्र्रैन । हाम्रो पार्टीका करिब साढे ६ दशकका दस्तावेज, लेख वा वक्तव्यको अध्ययन गर्ने हो भने तिनीहरूमा कसैलाई पनि गालीगलौज गरेको, व्यक्तिगत आक्षेप लगाएको वा चरित्रहत्या गरेको एउटा पनि शब्द पाइने छैन, यद्यपि हाम्रा विरुद्ध त्यस प्रकारको गालीगलौज वा चरित्रहत्याको साहित्यको प्रचूरता छ । हाम्रो पार्टीका विरुद्ध अहिले पनि कतिपय पक्षले त्यसरी निम्नस्तरमा उत्रेर हमला गर्ने गरेका कैयौँ उदाहरण पाइन्छन् । हाम्रा अगाडि त्यस प्रकारका निम्नस्तरका आक्षेप लगाउनेका विरुद्धको जवाफमा पनि हामीले त्यस प्रकारको आरोप लगाउने गरेका छैनौँ । हाम्रो पार्टीको त्यस प्रकारको गौरवपूर्ण सांस्कृतिक धरातलबाट अन्य पक्षले पनि शिक्षा लिनुपर्दछ ।

७. नेकपाभित्र चलेको अन्तरसङ्घर्षको मुख्य कारण यो हो कि त्यसमा एउटा कम्युनिस्ट पार्टीको जस्तो कुरा परै छ—त्यो कम्युनिस्ट पार्टी नै नभएको कारणले त्यसले त्यस प्रकारको पद्धति अपनाउन नसक्ने कुरा प्रष्ट छ—एउटा बुर्जुवा प्रजातान्त्रिक पार्टीको जस्तो सङ्गठनात्मक पद्धति पनि अपनाउन सकेको छैन । अधिनायकवादी वा निरङ्कुश प्रणालीमा भन्दा बेग्लै एउटा प्रजातान्त्रिक पार्टीले सधैँ नै बहुमतको निर्णयलाई मानेर काम गर्नुपर्दछ । तर नेकपाभित्र त्यो पद्धतिले काम गर्न छाडेजस्तै देखिन्छ । कुनै पार्टीमा कैयौँ प्रकारका गम्भीर मतभेद उत्पन्न हुन सक्दछन् । तर तिनीहरूलाई समाधान गर्ने वा एकता कायम गर्ने आधारभूत नियम भनेको बहुमतको प्रणाली नै हो । त्यो कडी टुटेपछि कुनै पार्टी या त अधिनायकवादतिर जान्छ, या विशृङ्खलित हुन्छ । आज नेकपा त्यही प्रकारको स्थितिको सङ्घारमा उभिएको छ । त्यस प्रकारको पृष्ठभूमिमा उनीहरूको एकता बचाउनका लागि बहुमतीय प्रणालीभन्दा अरू कुनै विकल्प छैन । सम्भव भएसम्म आपसमा सहमति कायम गरेर काम गर्नु सबैभन्दा श्रेष्ठ विधि हो । सहमति नभएको अवस्थामा बहुमतीय प्रणालीद्वारा नै आÇना मतभेदका बिचमा एकता कायम गर्ने नीति अपनाउनुपर्दछ ।

८. नेकपाभित्रका हद नाघेर आपसमा सङ्घर्ष गरिरहेका पक्षले आपसका अन्तर्विरोधभन्दा बढी यो कुराप्रति ध्यान दिनुपर्दछ ः उनीहरूको बिचमा फुट भयो भने त्यसबाट देशको राजनीतिमा कुन प्रकारका दुष्परिणाम हुने छन् ? खालि देशको राजनीतिमा मात्र होइन, त्यो स्थितिमा स्वयम् उनीहरूका लागि पनि साङ्घातिक प्रकारले ठुलो क्षति पुग्ने छ, सायद पुनः कहिल्यै उठ्न नसक्ने गरेर । त्यसप्रति उनीहरूको ध्यान जानुपर्ने आवश्यकता छ । उनीहरूको बिचमा फुट भयो भने त्यसलाई उपयोग गर्न व्भििन्न देशीविदेशी प्रतिक्रियावादी वा साम्राज्यवादी शक्तिहरू पनि अगाडि आउन सक्ने छन् वा त्यस प्रकारका कतिपय शक्तिले फुट्नका लागि उनीहरूलाई प्रोत्साहित गरिरहेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । उनीहरूलाई एक वा अर्को प्रकारले दिने कुनै पनि मद्दतको पछाडि उनीहरूलाई आप्ः्ना प्रतिक्रियावादी वा साम्राज्यवादी स्वार्थका लागि उपयोग गर्नु नै हुन्छ । त्यसैले त्यस प्रकारको कुनै पनि मद्दत सम्पूर्ण देश र जनता वा स्वयम् उनीहरूका लागि पनि आत्मघाती नै सावित हुने छ । हामीले आशा गर्दछौँ, आपसमा त्यस प्रकारका मतभेदका कारणले उनीहरूले कुनै अदूरदर्शी नीति अपनाउने छैनन् ।

९. आज देशका अगाडि भएका गम्भीर र जटिल समस्याप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । प्रथम, देशमा राजावादीहरूको सक्रियता बढेर गएको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि उनीहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापना गर्न र नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहन्छन् । त्यसका पछाडि भारतीय साम्राज्यवादी वा त्यहाँका कट्टर हिन्दूवादीहरूको सरकारले पनि मद्दत गरिरहेको कुरा बुझ्न गाह्रो पर्दैन । द्वितीय, हाम्राअगाडि लिपुलेक, कालापानी र लिम्पियाधुराको समस्या गम्भीर रूपमा देखा परेको छ । भारतले त्यो भूमिलाई आफ्नो भएको दावी गरेको छ; र, त्यसको पक्षमा नेपाल सरकारलाई पनि झुकाउन पुरै दबाब दिने कुरा अनुमान गर्न गाह्रो पर्दैन । तृतीय, भारतीय साम्राज्यवादले चीनसितको नेपालको सम्बन्धलाई कमजोर पार्नका लागि पुरै दबाव दिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । चीन पनि साम्राज्यवादी देश हो । तैपनि भारतीय साम्राज्यवादका हस्तक्षेपका विरुद्ध सन्तुलन कायम गर्नका लागि त्यससितको मैत्री सम्बन्धले हाम्रा लागि रणनीतिक महत्त्व राख्दछ । चतुर्थ, देशमा कोरोना भाइरसले महामारीको रूप लिँदै गइरहेको छ । त्यसले तात्कालिक रूपमा मात्र होइन, दीर्घकालीन रूपमा पनि ठुलै नोक्सान पुर्याउने कुरा स्पष्ट छ । त्यो अवस्थामा नेकपा वा त्यसको सरकारले यी वास्तविकताप्रति ध्यान दिएर पनि आफ्नाबिचका अन्तरविरोधबारे वस्तुगत र सन्तुलित दृष्टिकोण अपनाउनुपर्ने आवश्यकतामा हामीले मैत्रीपूर्ण सल्लाह दिन चाहन्छौँ ।

१०. अन्तमा हामीले अमेरिकाको राष्ट्रपतिको चुनाव र त्यसपछिको स्थितिबारे पनि केही चर्चा गर्न चाहन्छौँ । त्यहाँ चुनावमा पराजयपछि पनि राष्ट्रपति ट्रम्पले आफ्नो हार स्वीकार गरेका छैनन्; र, सत्तामा अडिरहने वा दोस्रो काल प्रारम्भ गर्ने प्रकारका अभिव्यक्ति दिइरहेका छन् । त्यसबाट राजनीतिक महत्त्वका दुई वटा कुरा प्रष्ट हुन्छन् ः प्रथम, पाश्चात्य प्रजातान्त्रिक प्रणाली वास्तवमा कति खोक्रो रहेछ ? त्यो प्रष्ट भएको छ । एकातिर, त्यहाँ ट्रम्पले भनेजस्तो व्यापक रूपले धाँधली भएको भए पनि वा त्यहाँको मतदान सही प्रकारले भएर ट्रम्पले सत्ता छाड्न अस्वीकार गरेको भए पनि दुवै अवस्थामा त्यहाँको प्रजातन्त्रको दिवालियापनलाई नै बताउँछ । द्वितीय, ट्रम्पको आफ्नो शासनकाल र चुनावपछिको व्यवहारबाट पनि राष्ट्रपतीय प्रणाली गम्भीर प्रकारले त्रुटिपूर्ण भएको कुरा नै प्रष्ट हुन्छ । अमेरिकाजस्तो प्रजातान्त्रिक प्रणालीको लामो पृष्ठभूमि भएको देशमा त्यस प्रकारको स्थिति राष्ट्रपतीय प्रणालीअन्तर्गत उत्पन्न हुन सक्दछ भने नेपालजस्तो प्रजातान्त्रिक अभ्यास अत्यन्त कम भएको देशमा राष्ट्रपतीय प्रणाली कायम भएमा त्यसले स्वेच्छाचारी वा अधिनायकवादी रूप लिने कुुरामा कुनै शङ्का छैन । त्यसकारण हामी नेपालीले अमेरिकासमेतको अनुभवबाट शिक्षा लिएर देशमा राष्ट्रपतीय प्रणाली कायम गर्ने कुनै पनि प्रकारको सोचाइलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *