‘नेकपा भित्रको कलहको मुख्य कारण ओलीको अराजक कार्यशैली’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पूर्वनेकपा भित्रको अन्तरविरोध र कलहको मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक र व्यक्तिवादी कार्यशैली भएको ठहर गरेको छ । राजमोले सोमबार वक्तव्य प्रकाशित गरी नेकपाको वैधानिकता समाप्त भएसँगै थप अन्योलको वातावरण सिर्जना भएको जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा अहिलेको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्यामा निकास दिन माग गर्नुभएको छ ।

त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटकबीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्न उपयुक्त हुने केसीको सुझाव छ ।

वक्तव्यमा भनिएको छ,
“नेकपाको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । सर्वोच्च अदालतको त्यो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संगठनात्मक एकता भई निर्माण भएको नेकपा (नेकपा) को वैधानिकता समाप्त भएको छ ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी तरिकाले संसदको विघटन गरेर देशमा एक प्रकारको राजनीतिक अस्थिरता, अन्यौल र प्रतिगामी खतरा उत्पन्न भएको थियो । त्यस विषयमा सर्वोच्च अदालतले दिएको निर्णयले संसदको पुनस्र्थापना भएको थियो । त्यो सकारात्मक कुरा थियो । अहिले नेकपाको वैधानिकता समाप्त भएको स्थितिमा संसदमा कुनै पनि पार्टीको बहुमत रहेन । त्यो स्थितिमा झन राजनीतिक र कानूनी जटिल समस्या, अस्थिरता र अन्यौलता बढेको छ ।

संसदको विघटन र नेकपा भित्रको अन्तरविरोध वा कलहको मुख्य कारण केपी ओलीको व्यक्तिवादी, अराजक कार्यशैली नै बढी जिम्मेवार थियो । अहिले पनि उनी नै बढी जिम्मेवार छन् । यसप्रकारको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर यो समस्यामा निकाश दिनु पर्दछ । त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटक बीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्नु नै उपयुक्त विकल्प हो । त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नु पर्छ ।

यसप्रकारको हाम्रो विचारको मुख्य उद्देश्य नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा पैदा हुन्छ भन्ने हो । त्यही कारणले हामीले केपी ओलीको सरकारलाई समर्थन गरेका थियौँ । ओलीको संसद विघटनको कदमले ती कुराहरुमा खतरा उत्पन्न भएपछि हामीले त्यो सरकारलाई दिएको समर्थन फिर्ता लियौँ । अहिलेको स्थितिमा पनि त्यो खतरा टरेको छैन । त्यो खतराका विरुद्ध राष्ट्रिय एकताको खाँचो छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार