नेकपा (मसाल) का नेता दुर्गा महर्जनको निधन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का सदस्य दुर्गा महर्जनको निधन भएको छ । ललितपुरको हरिसिद्धि–८ का बासिन्दा महर्जनको ६३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

लामो समयसम्म अखिल नेपाल ट्रेड युनियम महासंघ (अन्टुक) को नेतृत्वदायी भूमिकामा रहनुभएका महर्जन मजदुर आन्दोलनका स्थापित नेता हुनुहुन्थ्यो । उहाँकै पहल र अगुवाईमा हरिसिद्धी इँटा उद्योगमा मजदुर आन्दोलन भएको थियो ।

आफ्नै निवास हरिसिद्धीमा निधन भएका स्वर्गीय महर्जनको पार्थिव शरीरमा नेकपा (मसाल) को झण्डा ओढाएर सम्मान व्यक्त गरिएको थियो । उहाँप्रति राष्ट्रिय जनमोर्चाका नेता आनन्द ढुंगाना, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, राजमो बागमती प्रदेश सदस्य निलगोविन्द महर्जन, ललितपुर जिल्ला अध्यक्ष दिपराम महर्जन लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

यसैबीच नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले महर्जनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै ‘पार्टीले एक अनुशासित र प्रतिवद्ध सदस्यलाई गुमाउनुपर्दा अपुरणीय क्षति बेहोर्नु परेको’ बताउनुभएको छ ।

आइतबार श्रद्धाञ्जली वक्तव्य प्रकाशित गर्दै महामन्त्री सिंहले दुर्गा महर्जन चार दशक भन्दा बढी पार्टी सदस्यको रुपमा निरन्तर सक्रिय रहँदै आउनुभएको र सही सिद्धान्त र दर्शनप्रति सधैँ प्रतिवद्ध रहनुभएको बताउनुभएको छ । वक्तव्यमा सिंहले नयाँ पुस्तामा पनि महर्जनकै जस्तो अनुशासन र प्रतिवद्धता भएमा नै सुदृढ कम्युनिष्ट पार्टी निर्माण हुनसक्ने पनि स्पष्ट पार्नुभएको छ ।

यस्तो छ, वक्तव्य

का. दुर्गा महर्जन(कामरेड राकेश)को ६३ वर्षको उमेरमा निधन भएको छ । उहाँ ललितपुर हरिसिद्धि–८ का स्थायी वासिन्दा हुनुहुन्थ्यो । का. दुर्गा महर्जन २०२८ सालदेखि नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय हुनुभएको थियो र २०३१ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । पार्टी सदस्यता प्राप्त गरेपछिका वर्षहरुमा उहाँ निरन्तर रुपमा हाम्रो पार्टीमा कार्यरत रहँदै आउनुभएको थियो ।

उहाँ अनुशासित र प्रतिवद्ध सदस्य हुनुहुन्थ्यो । पार्टी जीवनमा आएका आरोह–अवरोहले उहाँको सही सिद्धान्त र दर्शनप्रतिको प्रतिवद्धतालाई कहिल्यै हल्लाउन सकेनन् । जस्तोसुकै परिस्थितिमा पनि उहाँले आफ्नो क्षमताले भ्याएसम्म पार्टीमा योगदान पु-याउँदै आउनुभयो । त्यसरी उहाँ साढे चारदशक भन्दा बढी कम्युनिस्ट पार्टीको सदस्य रहनुभयो र पार्टी सदस्य रहेकै अवस्थामा मृत्युवरण गर्नुभयो ।

का. महर्जनको मृत्युबाट पार्टीले एक अनुशासित र प्रतिवद्ध सदस्यलाई गुमाउनुपर्दा अपुरणीय क्षति बेहोर्नु परेको छ । हामीले का. महर्जनको जस्तो अनुशासन र प्रतिवद्धताको मूल्यलाई नयाँ पुस्तामा समृद्ध पार्दै लिन सकेमा नै एउटा सुदृढ कम्युनिस्ट पार्टी निर्माण गर्न सक्दछौँ र उहाँका सपना पनि पूरा हुँदै जानेछन् । हामीले कम्युनिस्ट पार्टीका सदस्यका आर्दश र मूल्यलाई सदैब पार्टी जीवनको व्यवहारमा जीवन्त राख्ने प्रयत्न गर्नुपर्दछ । यही कुरा का. महर्जनको जीवनबाट प्राप्त हुने महत्वपूर्ण शिक्षा हो ।

अन्तमा का. महर्जनलाई गुमाउनुपर्दा प्रत्यक्ष पीडाको सामना गर्नुपरेका ललितपुरका सबै साथीहरु तथा का. महर्जनका परिवारजनप्रति हार्दिक सहानुभुति तथा समवेदना प्रकट गर्दै का. महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०७७ कार्तिक ०२ गते ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार