नेकपा (मसाल) को नजरमा २०७७ साल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले नव वर्ष २०७८ सालको सबैमा शुभकामना दिएको छ । साथै गएको वर्ष २०७७ सालको समिक्षा पनि गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहले बुधबार प्रकाशित गर्नुभएको वक्तव्यमा गत सालले नेपाललाई सही, सुखमय र अग्रगमनको दिशामा अगाडि बढाउन नसकेको उल्लेख गर्दै नयाँ वर्षले सम्पूर्ण देशलाई अग्रगमनको दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ ।

महामन्त्री सिंहले अतिक्रमित भूमिसहितको नयाँ नक्सा सार्वजनिक हुनु सकारात्मक भए पनि राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षालगायतका दृष्टिकोणबाट गत वर्ष ‘कालो वर्ष’ जस्तै भएको उल्लेख गर्नुभएको छ ।

यस्तो छ वक्तव्य
“नयाँ वर्ष २०७८ को अवसरमा ने.क.पा.(मसाल)ले सम्पूर्ण देश र जनताप्रति हार्दिक शुभकामना प्रकट गर्न चाहान्छ । हामीले आशा र विश्वास गर्दछौँ, नयाँ वर्षले सम्पूर्ण देशलाई अग्रगमनको दिशामा अगाडि बढाउने छ ।

आज हाम्रो अगाडि २०७७ सालको इतिहास छ । तथ्यहरुले बताउँछन् कि गत सालले नेपाललाई सही, सुखमय र अग्रगमनको दिशामा अगाडि बढाउन सकेन । एकातिर, विश्वव्यापी रुपमा देखा परेको कोरोना भाइरसका कारणले हाम्रो सम्पूर्ण वर्ष नै अत्यन्त कष्टकर रह्यो । त्यसले गर्दा नेपाली जनताको स्वास्थ्य, जनजीवन र आर्थिक स्थितिमा पनि धरै नराम्रा असरहरु परे भने अर्कातिर, राजनीतिक दृष्टिकोणले पनि गत वर्ष सन्तोषप्रद रहेन ।

ओली सरकारका विभिन्न गलत नीति, कार्यशैली र नेकपाभित्रको बिग्रह र अन्तमा फुटले पनि देशको राजनीतिलाई अत्यन्त अस्थिर बनाइदियो । त्यो अवधिमा गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामी शक्तिहरूको सक्रियता धेरै नै बढेर गयो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा पारित हुनु, त्यसलाई संसदले पारित गर्नु र त्यसका पक्षमा व्यापक राष्ट्रिय ऐक्यवद्धता देखा पर्नु गतसालको महत्वपूर्ण उपलब्धि थियो । तर त्यो नक्सालाई पाठयक्रममा सामेल गर्न सरकारले रोक लगायो । भखरै विभिन्न व्यक्तिहरूलाई सम्मान गरेर दिइएका पदकहरूमा पनि कालापानी, लिम्पियाधुरा र लिपुलेकको त्यो नक्सालाई हटाइएको छ । त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका विरुद्ध ओली सरकारले भारतीय साम्राज्यवादसित कुनै गोप्य सौदावाजी गरेको त होइन ? त्यो गम्भीर आशंकालाई जन्म दिन्छ ।

गत सालमा एमसीसीलाई संसदमा पारित गराउने ओली सरकारको प्रयत्न असफल भयो । वास्तवमा त्यो ओली सरकारको मात्र होइन, अमेरिकी साम्राज्यवादको नै ठूलो हार थियो । तर अहिले पुनः त्यसलाई पारित गराउन नयाँ शिराबाट प्रयत्न हुन थालेको आभाष मिलेको छ । वास्तवमा एमसीसी नेपाललाई इन्डोप्यासिफिक रणनीतिअन्तर्गत लैजाने गम्भीर षड्यन्त्रको अङ्ग हो । त्यो पारित भएमा नेपाल चीनविरोधी मोर्चावन्दीमा सामेल हुनेछ र नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ । अमेरिकाले नेपाललाई तिब्बतका विरुद्ध उपयोग गर्ने प्रयत्न गरिरहेको छ । नेपालका सत्ता र प्रतिपक्षका प्रमुख राजनीतिक शक्तिहरुले एमसीसीलाई पारित गराउन सङ्गठित रुपले प्रयत्न गर्दैछन् । त्यो अवस्थामा यो वर्ष अमेरिकी साम्राज्यवाद र एमसीसीका विरुद्धको सङ्घर्षको पनि वर्ष हुनेछ ।

नेकपाभित्र विग्रह र फुटको स्थिति पैदा हुनुका साथै नेपालमा देशभित्रका प्रतिगामी र साम्राज्यवादी शक्तिहरूको गतिविधि धेरै नै बढेर गएको छ ।

गत साल जनसङ्घर्षका दृष्टिकोणले पनि धेरै महत्वपूर्ण रहेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय कब्जा, एमसीसी सहित विभिन्न राष्ट्रियता र जनजीविका सम्बन्धी प्रश्नहरू, संसदको विघटनको विरोध आदि समेत प्रश्नमा देशव्यापी रूपमा जनसङ्घर्षहरू चलेका छन् । ओली सरकारले असंवैधानिक प्रकारले संसदको विघटन ग¥यो । त्यसका विरुद्ध व्यापक जनआन्दोलन उठ्यो । अन्तमा सर्वाेच्चले ओली सरकारले गरेको संसदको विघटनलाई असंवैधानिक घोषित ग¥यो ।

तर सर्वोच्चको फैसलापछि पनि ओली सरकारले संसद मात्र होइन, संम्पूर्ण संसदीय प्रणालीलाई असफल बनाउन पूरा प्रयत्न गरिरहेको छ । त्यसले गर्दा सर्वाेच्चको फैसलापछि पनि संसद एक प्रकारले निष्कृय जस्तै बनेको छ । ओली सरकारको त्यस प्रकारको कार्यविधिबाट जनताको लामो सङ्घर्षद्वारा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियता समेतमाथि गम्भीर प्रकारको आँच पुगिरहेको छ । त्यसरी समग्र रुपमा के भन्न सकिन्छ भने गतवर्ष नेपालको लागि इतिहासको एउटा कालो वर्ष जस्तै रह्यो । त्यस प्रकारको पृष्ठभूमिमा नै हामीले नयाँ वर्षमा प्रवेश गर्दैछौँ । गत सालको गम्भीर असर नयाँ सालमा पनि पर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

ओली सरकारका असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कारबाहीहरू अनियन्त्रित प्रकारले अगाडि बढिरहेका छन् । ओली सरकारको त्यस प्रकारको कार्यविधिबाट देशभित्रका प्रतिगामी शक्ति तथा विदेशी साम्राज्यवादी शक्तिहरूलाई धेरै बल पुगिरहेको छ । ओली सरकार र राजावादीहरूको बीचमा अघोषित कार्यगत एकता जस्तो नै भएको छ । भारतका कट्टरपन्थी हिन्दु शासकवर्गहरू नेपाललाई हिन्दु राष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापनाको लागि सामान्य कुटनैतिक मर्यादा समेत तोडेर अगाडि आउन थालेको देखिन्छ । हरिद्वारमा कुम्भमेलाको बेलामा पूर्व राजाप्रति उनीहरुले प्रदर्शन गरेको सम्मानलाई हामीले अत्यन्त गम्भीर रुपमा लिनु पर्दछ । कुम्भमेलाको त्यो घटनाले नयाँ वर्षको उपलक्ष्यमा नेपालका लागि प्रतिगमनको खतराको गम्भीर सङ्केत दिन्छ ।

नयाँ सालको अवसरमा हाम्रो, एकातिर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता समेतका अगाडि गम्भीर खतराको सङ्केत दिएको छ भने, अर्कातिर, त्यो खतराका विरुद्ध लड्ने गम्भीर जिम्मेवारी पनि हाम्रा काँधमा आएको छ ।

त्यसरी समग्र रुपमा के भन्न सकिन्छ भने नयाँ बर्ष एकातिर गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताका अगाडि गम्भीर खतरा र अर्कातिर त्यसका विरुद्ध कडा सङ्घर्षको साल हुनेछ । तर हामीले आशा र विश्वास गर्दछौँ, सँधै झै नेपाली जनताले सबै प्रकारका खतराको सामना गरेर विजय प्राप्त गर्नेछन् र त्यसरी देश लगातार अग्रगमनको दिशामा नै अगाडि बढ्दै जानेछ ।”
२०७८ बैशाख ०१ गते ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार