नेकाको हौवा वा प्रतिगमनको सेवा ?

मोहनविक्रम सिंह

हाम्रो पार्टीले प्रतिगमनका विरुद्धको सङ्घर्षका सिलसिलामा केन्द्रमा वा कतिपय प्रदेशहरूमा नेकाका सरकारहरूलाई पनि समर्थन गर्ने नीति अपनाएको छ । त्यस सिलसिलामा अब गण्डकी प्रदेशमा नेकाको नेतृत्वमा सरकार समेत बनिसकेको छ । हाम्रो त्यो नीतिको कतिपय पक्षहरूद्वारा सैद्धान्तिक विचलन वा पूर्वघोषित नीतिहरूको समेत उलङ्घन भएको भनेर आलोचना गर्ने काम गरेका छन् ।

यहाँसम्म कि बी.बी.सी ले पनि गण्डकी प्रदेशमा दुई बेग्लाबेग्लै राजनीतिक स्थिति भएका राजनीतिक पार्टीहरू, राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसहरू एउटै स्थानमा उभिनुलाई अस्वभाविक भनेर टिप्पणी गरेको छ । तर वास्तविकता यो हो कि पार्टीले केन्द्रमा वा कतिपय प्रदेशहरुमा अपनाएको नेकाप्रतिको त्यस प्रकारको नीति, एकातिर, हाम्रो पार्टीले पहिलेदेखि अभ्यास गर्दै आएको संयुक्त मोर्चा वा कार्यगत एकताको नीतिको अनुरुप छ भने, अर्कातिर, त्यस प्रकारको नीति संयुक्त मोर्चा वा कार्यगत एकता सम्बन्धी विश्वभरका माक्र्सवादी–लेनिनवादीहरूले अपनाउँदै आएको संयुक्त मोर्चा वा कार्यगत एकताको नीति अनुरुप नै छ । तथ्यहरुबाट त्यो कुरा प्रष्ट हुनेछ । तथ्यहरू वा नेपालको मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास समेतले के बताउँछ भने, माक्र्सवादी लेनिनवादीहरूले यस प्रकारको नीति लामो समयदेखि अपनाउँदै वा अभ्यास गर्दै आएका छन् । प्रतिगामी तथा कतिपय वामपन्थी पङ्क्तिहरूद्वारा समेत त्यस प्रकारको नीतिको पनि बारम्बार विरोध हुँदै आएको छ ।

ऐङ्गेल्सले लेखेका छन्, जनताको आम प्रवृत्ति चिजहरूमाथि अधिभूतवादी प्रकारले नै सोच्ने हुन्छ । त्यसैले उनीहरूले कुनै चिजलाई समग्र रूपले नहेरेर त्यसको कुनै खास अंशबारे मात्र विचार गर्ने गर्दछन् । अहिले हाम्रो पार्टीको नेकासम्बन्धी नीतिमा पनि त्यही प्रकारको अधिभूतवादी सोचाइ एक वा अर्काे प्रकारले प्रकट हुने गरेको छ । एकातिर प्रतिगामी र अर्कातिर कतिपय आफूलाई वामपन्थी र क्रान्तिकारी बताउने पक्षहरूले पनि हाम्रो पार्टीको नेका सम्बन्धी केन्द्रीय वा प्रदेश स्तरमा नेकासित सहकार्य र कार्यगत एकता गर्ने तथा उनीहरुको नेतृत्वमा सरकारको गठनको सोचाइमाथि तिव्र प्रकारले हमला गर्ने गरेका छन् । तर व्यवहारमा त्यसको सारतत्व प्रतिगमनको सेवा नै हुन्छ ।

आजको देशको मुख्य राजनीतिक आवश्यकता प्रतिगमनका विरुद्धको सङ्घर्ष नै हो । त्यो सङ्घर्षको क्रममा प्रतिगमनका विरुद्ध आउने शक्तिहरूसित व्यापक एकताको आवश्यकता छ र त्यस प्रकारको एकताद्वारा नै प्रतिगमनलाई पराजित गर्नु सम्भव हुनेछ ।
ओली सरकारले देशलाई योजनावद्ध प्रकारले प्रतिगमनतिर लगिरहेको छ । त्यस प्रकारको खतराको गम्भीरतामाथि विचार गर्दै हाम्रो पार्टीले प्रतिगमनका विरुद्ध सङ्घर्षमा अगाडि आएका शक्तिहरू माओवादी, नेकपा(एमाले—माधव–खनालपक्ष), नेका वा मधेशवादीहरुका कतिपय पक्षहरुसित समेत कार्यगत एकता वा सहकार्य गर्ने नीति अपनाएको छ । आवश्यकता अनुसार केन्द्र वा प्रदेश स्तरमा हामीले त्यस प्रकारको नीति अपनाउने गरेका छौँ । त्यही नीति अनुसार हामीले केन्द्रमा ओली सरकारलाई अपदस्त गरेर नेकाको नेतृत्वको सरकारलाई र गण्डकी प्रदेशमा पनि नेकाको नेतृत्वको सरकारलाई समर्थन गर्ने नीति अपनाएका छौँ ।

‘‘कतिपय आफुलाई वामपन्थी वा क्रान्तिकारी बताउने तत्वहरुले पनि नेकाको नै कुरा उठाएर अहिले हामीले नेकाप्रति अपनाएको नीतिलाई गलत सावित गर्ने प्रयत्न गरिरहेका छन् । यहाँसम्म कि उनीहरूले हाम्रो त्यस प्रकारको नीति हाम्रो पार्टीको आठौँ महाधिवेशनको लाइनका विपरित भएको सम्म बताउने गरेका छन् ।

बताइरहनुपर्ने आवश्यकता छैन, ओली वा उनका पक्षधरहरूको लागि हाम्रो त्यस प्रकारको नीति असह्य भएको छ । त्यसैले उनीहरूले नेकाको हौवा उठाएर हाम्रो त्यस प्रकारको नीतिको विरोध गरिरहेका छन् र कतिपय आफुलाई वामपन्थी वा क्रान्तिकारी बताउने तत्वहरुले पनि नेकाको नै कुरा उठाएर अहिले हामीले नेकाप्रति अपनाएको नीतिलाई गलत सावित गर्ने प्रयत्न गरिरहेका छन् । यहाँसम्म कि उनीहरूले हाम्रो त्यस प्रकारको नीति हाम्रो पार्टीको आठौँ महाधिवेशनको लाइनका विपरित भएको सम्म बताउने गरेका छन् । तर उनीहरूको त्यस प्रकारको विरोधको पछाडिको मूल उद्देश्य ओलीको प्रतिगमनको सेवा नै हो । प्रतिगमनको सेवा गर्नका लागि उनीहरूले हाम्रो पार्टीका विभिन्न निर्णयहरूलाई टिपटाप गरेर वा तोडमोड गरेर प्रस्तुत गर्दछन् र त्यसरी ओलीको प्रतिगनका विरुद्धको हाम्रो सङ्घर्षलाई कमजोर पार्ने प्रयत्न गर्दछन् ।

यो सबैलाई थाहा भएको कुरा हो कि महाधिवेशनका कतिपय निर्णयहरू आधारभूत रणनीतिक प्रकारका हुन्छन् भने कतिपय तात्कालिक वा कार्यनीतिक प्रकारका । न्यूनतम कार्यक्रम वा विधानमा जुन निर्णयहरू गरिएका हुन्छन, ती आधारभूत वा रणनीतिक प्रकारका नै हुन्छन् । तिनीहरूमा कुनै परिवर्तन महाधिवेशनद्वारा नै गर्न सकिन्छ । तात्कालिक नीतिहरूबारे जुन निर्णयहरु गरिएका हुन्छन्, तिनीहरूमा परिवर्तनका लागि महाधिवेशनलाई पर्खनुपर्ने आवश्यकता हुँदैन। पार्टीका विभिन्न सम्मेलन, राष्ट्रिय भेला, केन्द्रीय समितिका बैठक आदिद्वारा पनि तिनीहरूमा आवश्यकता अनुसार परिवर्तन गर्न सकिन्छ । नेकाप्रतिका सङ्घर्ष वा एकताका नीतिहरूमा त्यसरी बारम्बार परिवर्तन पनि हुँदै आएको छ । त्यस अनुसार कुनै बेला हामीले नेकाका विरुद्ध सङ्घर्षमा जोड दिने गरेका छौँ भने कुनै बेला त्यसप्रति सहकार्य वा एकताको नीति पनि अपनाउने गरेका छौँ । पार्टीको राजनीतिक इतिहासमा त्यस प्रकारका थुप्रै उदाहरणहरू पाइन्छन् । त्यही प्रकारको पृष्ठभूमिमा नै अहिले प्रतिगमनका विरुद्धको सङ्घर्षको आवश्यकता अनुसार हामीले नेकासित सहकार्य वा कार्यगत एकताको नीति अपनाएका छौँ ।

महाधिवेशनद्वारा पारित दस्तावेजमा यो पनि स्पष्ट गरिएको छ कि नेकासितको हाम्रो सम्बन्धको प्रधानपक्ष सङ्घर्ष नै हो । तर आवश्यकता अनुसार त्योसित सहकार्य वा एकताको नीति पनि अपनाउने गरिन्छ ।

हाम्रो पार्टीको आठौँ महाधिवेशनले नेकालाई सामन्त, दलाल र नोकरशाही, पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी वा दुश्मनशक्तिको रुपमा विश्लेषण गरेको छ । तर त्यसको अर्थ के सम्पूर्ण रूपले सङ्घर्ष मात्र हो ? निश्चित रुपले होइन । त्यस सिलसिलामा महाधिवेशनद्वारा पारित दस्तावेजमा यो पनि स्पष्ट गरिएको छ कि नेकासितको हाम्रो सम्बन्धको प्रधानपक्ष सङ्घर्ष नै हो । तर आवश्यकता अनुसार त्योसित सहकार्य वा एकताको नीति पनि अपनाउने गरिन्छ । तर कतिपय पक्षहरूले नेकाको विश्लेषण सम्बन्धी महाधिवेशनको एउटा पक्ष, अर्थात त्यो प्रतिक्रियावादी वा दुश्मनशक्ति भएको कुरालाई टिपेर, त्योसित आवश्यकता अनुसार सहकार्य वा कार्यगत एकता पनि गर्न सकिन्छ भन्ने महाधिवेशनमा पारित नीतिलाई दबाउने प्रयत्न गरेका छन् । चिजलाई हेर्ने त्यस प्रकारको एकाङ्की वा अधिभूतवादी दृष्टिकोण अनुसार नै उनीहरूले अहिले हाम्रो पार्टीले केन्द्रमा वा गण्डकी प्रदेशमा नेकाको नेतृत्वको सरकारलाई समर्थन गर्ने नीतिलाई आठौँ महाधिवेशनको लाइनको विरुद्ध छ भन्ने भ्रम पनि दिने प्रयत्न गरेका छन् । त्यो तर्क कति तथ्यहीन, निराधार र हास्यास्पद छ स्वयम् प्रष्ट छ ।

हाम्रो पार्टीले जब २०४६ साल वा २०६२/०६३ सालमा नेकासित सहकार्य वा कार्यगत एकता गर्ने नीति अपनायो, राजावादीहरूले हाम्रो त्यो नीतिको व्यापक रुपले आलोचना गरेका थिए । निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाको समर्थन गर्ने वा त्यसप्रति झुकाव राख्ने कतिपय वामपन्थी तत्वहरूले पनि नेकाप्रतिको हाम्रो सहकार्य वा कार्यगत एकताको नीतिको आलोचना गरेका थिए । स्पष्ट छ कि त्यस प्रकारको आलोचनको उद्देश्य निरंकुश राजतन्त्र वा पञ्चायती व्यवस्थाको समर्थन नै थियो । अहिले पनि जसले नेकाको कुरा उठाएर हाम्रो विरोध गरिरहेका छन्, त्यसको उद्देश्य पनि वास्तवमा ओली सरकारको प्रतिगामी नीतिको समर्थन नै हो । उनीहरूको त्यस प्रकारको नीति यो हदसम्म नाङ्गो रूपमा देखा परेको छ कि गण्डकीमा हाम्रा जुन सांसदले पार्टीको निर्देशनको उलङ्घन गरेर त्यहाँको प्रदेश सरकारको समर्थन गरेका छन्, उनलाई पार्टीको आठौँ महाधिवेशनको लाइनलाई अनुकरण गरेको भनेर प्रशंसासम्म गर्ने गरेका छन् । उनीहरुले आफूहरुले ओलीको प्रतिगमनलाई समथर्न नगरेको कुरा बताउँदै छन् तर दुई वटा कुराले उनीहरु खुला रुपले नै ओलीको प्रतिगमनका पक्षमा उभिएको देखिन्छ । प्रथम, उनीहरुले ओलीले प्रतिगमनको बाटो समातेको कुरालाई सैद्धान्तिक रुपले नै खण्डन गर्ने प्रयत्न गरेका छन् । द्वितीय, उनीहरुले गण्डकी प्रदेशमा त्यहाँको प्रदेश सरकारको पक्ष लिएकाले अनुशासनको कारबाहीमा परेका सांसदको खुला रुपले पक्ष लिएका छन् ।

उनीहरूले ओली सरकार प्रतिगामी नभएको प्रमाणित गर्न सबै सम्भव तरिकाले प्रयत्न गरिरहेका छन् । त्यसको लागि उनीहरूले कैयौँ हास्यास्पद तर्क, विश्लेषण वा व्याख्याहरू समेत प्रस्तुत गर्ने प्रयत्न गरेका छन् । उनीहरूले यो भन्ने गरेका छन्, उनीहरुको जोड ओली सरकारलाई कायम राख्नुपर्छ भन्ने होइन तर त्यसको ठाउँमा नेपाली कांग्रेसको नेतृत्वमा सरकारको गठनप्रति नै उनीहरूको विरोध हो । तर केन्द्रीय वा प्रदेश स्तरमा ओली सरकारलाई हटाउनका लागि विपक्षको बहुमत पु¥याउनु पर्ने आवश्यकता हुन्छ । त्यस अनुसार जहाँ जुन पक्षको बलियो स्थिति वा आधार छ, त्यहाँ उनीहरूको नै नेतृत्वमा सरकार गठनका लागि प्रयत्नहरू गरिएका छन् । जस्तै कि लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा माओवादीको नेतृत्वमा नै प्रतिगमनका विरुद्धका सरकारहरुको गठन गरिएको छ वा (लुम्बिनीमा) गर्नका लागि प्रयत्न भइरहेको छ । त्यस अनुसार नै गण्डकीमा नेकाको नेतृत्वमा सरकारको गठनका लागि प्रस्ताव राखिएका ेथियो र अब त्यस प्रकारको सरकारको गठन पनि भइसकेको छ ।

यो सत्य हो कि गतकालमा नेकाका कैयौँ नीतिहरुसित हाम्रो तीव्र मतभेद रहेको छ वा उनीहरूसित हाम्रा कडा सङ्घर्षहरू चल्दै गरेका छन् । त्यस प्रकारको मतभेद वा संघर्षको स्थिति ता एमाले वा माओवादीसित पनि हुने गरेको छ । तर त्यो कारणले उनीहरूसित आवश्यकता अनुसार सहकार्य वा कार्यगत एकता गर्ने नीतिलाई हामीले पूरै निशेध गर्ने गरेका छैनौँ । यदि गतकालका तिव्र संघर्षहरुलाई आधार बनाएर नै सोच्ने गरेको भए स्तालिनले फासिज्मविरोधी संघर्षको क्रममा साम्राज्यवादी शक्तिहरु वा माओले जापानी आक्रमण विरोधी संघर्षको क्रममा च्याङ्काइसेकसित संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने थिएनन् । साम्राज्यवादी शक्तिहरूले बारम्बार सोभियत संघमाथि आक्रमण गरेका थिए वा च्याङ्काइसेकले लाखौँ कम्युनिस्टहरूको हत्या गरेको थियो । त्यो बेला पनि स्तालिन र माओको संयुक्त मोर्चा सम्बन्धी नीतिहरूको विरोध गर्ने ‘क्रान्तिकारी’ तत्वहरूको कमी थिएन, जस्तो कि रुसमा ट्राटस्की र चीनमा वाङ्मीन । अहिले जुन वामपन्थी वा क्रान्तिकारीहरूले जुन आधारमा हाम्रो पार्टीले गण्डकी वा केन्द्रीय स्तरमा नेकाको नेतृत्वको सरकारलाई समर्थन गर्ने वा उनीहरूसित सहकार्य गर्ने नीतिको विरोध गरेका छन्, यदि ०४६ सालमा वा ०६२/०६३ सालमा हाम्रो पार्टीमा त्यस प्रकारको नीति हावी भएको भए त्यो बेला पनि नेकासितको सहकार्य वा कार्यगत एकताको नीति लागू हुन सक्ने थिएन । त्यो अवस्थामा हामी त्यो बेलाका जनआन्दोलनका विरुद्धको क्याम्पमा र वास्तविक अर्थमा प्रतिगमनको पक्षमा उभिन पुगेका हुन्थ्यौँ । प्रकान्तरले अहिले आफूलाई वामपन्थी र क्रान्तिकारी बताउने केही तत्वहरूले पूर्वाग्रहयुक्त सोचाइको आधारमा त्यही प्रकारको नीति अपनाएको पाइन्छ, जसको उद्देश्य प्रकान्तरले वा वास्तविक अर्थमा प्रतिगनको सेवा नै हो ।

अहिले नेका वा कुनै पक्षसित हामीले सहकार्य वा कार्यगत एकताको जुन नीति अपनाउछौँ त्यो तात्कालिक सन्दर्भमा नै सही हुन्छ । भोलि परिस्थितिमा हुने परिवर्तन अनुसार अहिलेको सहकार्य वा एकताको नीतिमा परिवर्तन पनि हुन सक्दछ ।

अहिले नेका वा कुनै पक्षसित हामीले सहकार्य वा कार्यगत एकताको जुन नीति अपनाउछौँ त्यो तात्कालिक सन्दर्भमा नै सही हुन्छ । भोलि परिस्थितिमा हुने परिवर्तन अनुसार अहिलेको सहकार्य वा एकताको नीतिमा परिवर्तन पनि हुन सक्दछ । त्यसरी गतकालमा कुनै पक्षसित हाम्रो कुन प्रकारको नीति थियो वा भोलि कुन प्रकारको नीति अपनाइनेछ ? त्यसका आधारमा होइन, तात्कालिक स्थिति वा आवश्यकता अनुसार नै हामीले कुनै पक्षसित एकता वा सङ्घर्षको नीति अपनाउने गर्दछौँ ।

गण्डकीको सन्दर्भमा अगाडि आएको एउटा वास्तविकताप्रति हाम्रो विशेष ध्यान गएको छ । पार्टीको सामान्य राजनीति, संयुक्तमोर्चा वा कार्यगत एकताबारे हामीले अपनाउदै आएको अभ्यास, पार्टीको संगठनात्मक प्रणाली र अनुशासनबारे क,ख,ग को पनि ज्ञान भएको कुनै माक्र्सवादी–लेनिनवादीबाट यो लुकेको कुरा होइन कि गण्डकीमा पार्टीको लाइनको उलङ्घन गर्ने एकाध सांसदप्रति राष्ट्रिय जनमोर्चाले जुन कारबाही गरेको छ त्यसको औचित्यता दिनको उज्यालो झै छर्लङ्ग छ । तर त्यो कारबाहीको विरुद्ध पनि सामाजिक सञ्जालहरूमा थुप्रै विचारहरू देखा परेका छन् । त्यस प्रकारका विचारहरू बेग्लाबेग्लै कोणबाट आएका छन् । प्रथम, जो ओलीको प्रतिगमनका पक्षमा छन् उनीहरुले खुला र घोषित रूपले नै हाम्रो त्यस प्रकारको कारबाहीको विरोध गरेका छन् र कारबाहीमा परेका व्यक्तिहरुको ससक्त प्रकारले समर्थन गरेका छन् । उनीहरुले किन त्यसो गरेका छन् त्यो कुरा बुझ्न गाह्रो छैन । द्वितीय, कतिपय पक्षहरूको मसालले जुन पनि नीति अपनाउँछ त्यसको विरोध गर्नु नै उनीहरुको प्रधान र मुख्य कार्यदिशा बनेको छ । त्यस अनुसार नै गण्डकी प्रदेशमा पार्टीको निर्देशन र अनुशासनको उलङ्घन गरेपछि कारवाहीमा परेका व्यक्तिहरूलाई उनीहरुले पूरै नै काँधमा बोकेर दौड लगाउने अभियान नै चलाएका छन् । त्यसो गर्दा राजनैतिक र संगठनात्मक दृष्टिकोणले उनीहरूको स्तर कति तल पुगेको छ ? त्यसप्रति पनि उनीहरूको ध्यान पुगेको छैन र पुग्न नसक्ने कुरा पनि प्रष्ट छ, किनभने उनीहरुको उद्देश्य कुनै सिद्धान्त वा राजनीतिको लागि काम गर्नु नभएर मसालको विरोध नै हो ।

अहिले जुन विषयमा मसालको विरोध गर्न पाइन्छ, त्यसबाट नै उनीहरूले चरम प्रकारको मनोरञ्जन वा आनन्द प्राप्त गर्ने गर्दछन् । तृतीय, गण्डकीमा पार्टीले अनुशासनको कारवाहीमा परेका राष्ट्रिय जनमोर्चाका सांसदको समर्थनमा देखा परेका विचारहरूमा स्वतःस्फूर्त रुपले प्रकट भएका विचारहरू पनि थुपै्र छन् । पार्टी वा पार्टीको राजनीतिक, सिद्धान्त, लाइन वा अनुशासन सम्बन्धी नियमहरूबारे कुनै ज्ञान नभएका व्यक्तिहरूले स्वतःस्फूर्त प्रकारले गण्डकीमा गरिएको राष्ट्रिय जनमोर्चाका सांसदमाथिको कारबाहीको विभिन्न प्रकारले आलोचना गरेको पनि पाइन्छ । त्यस प्रकारका सोचाइहरुले वास्तविक अर्थ र महत्व राख्दैनन् । तिनीहरूले तात्कालिक र अस्थायी रुपमा केही भ्रम मात्र पैदा गर्दछन् । चतुर्थ, माथिका कुराहरू जे भएपनि पार्टीको सिद्धान्त, राजनीति, संगठन प्रणाली वा अनुशासनका नियमहरूबारे सामान्य प्रकारको पनि जानकारी भएका पार्टीका साथीहरुका अगाडि यो कुरा प्रष्ट छ कि पार्टीले नेकाबारे अपनाएको नीति वा पार्टीको नीति, निर्देशन र अनुशासनको उलङ्घन गरेका कारणले त्यहाँ राष्ट्रिय जनमोर्चाले आफ्नो सांसदमाथि गरेको कारबाही सही छ । अन्तमा त्यस प्रकारको सही विचारको नै विजय हुनेछ ।

ओलीले अपनाएका नीतिहरूबाट राष्ट्रघातको खतरा झन् पछि झन् बढ्दै गइरहेको छ । त्यो अवस्थामा ओलीले देशलाई एकातिर प्रतिगमन र अर्कातिर राष्ट्रघाततिर लैजाने कुरामा कुनै शङ्का छैन । त्यसैले ओलीको प्रतिमगनका विरुद्धको संघर्ष राष्ट्रिय आवश्यकता भएको छ ।

जसले अहिले पार्टीले नेकाबारे अपनाएको नीतिको विरोध गरिरहेका छन् वा पार्टीको नीति र निर्देशनको उलङ्घन गरेको हुनाले आफ्नै सांसदका विरुद्ध पनि गरेको कारबाहीको विरोध गरिरहेका छन् उनीहरुको पूरा जोड यो कुरामा छ कि अहिले ओलीले अपनाएको नीति वा कार्यप्रणाली प्रतिगामी होइन । तर यो स्पष्ट छ कि ओली सरकारले निश्चित रुपले प्रतिगमन र राष्ट्रघातको बाटो समातेको छ । प्रथमतः जनताले लामो संघर्ष र बलिदानद्वारा प्राप्त गरेर ल्याएको बहुदलीय व्यवस्था, संविधान र संसदलाई धराशायी बनाउने प्रयत्न गरिरहेको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस प्रकारको गतिविधिद्वारा गणतन्त्र, धर्मनिरपेक्षता समेत समाप्त हुने सम्भावना छ । त्यसैले देशभित्रका सबै प्रतिगामी शक्तिहरूले ओलीलाई स्वागत गरिरहेका छन् । त्यसै गरेर ओलीले अपनाएका नीतिहरूबाट राष्ट्रघातको खतरा झन् पछि झन् बढ्दै गइरहेको छ । त्यो अवस्थामा ओलीले देशलाई एकातिर प्रतिगमन र अर्कातिर राष्ट्रघाततिर लैजाने कुरामा कुनै शङ्का छैन । त्यसैले ओलीको प्रतिमगनका विरुद्धको संघर्ष राष्ट्रिय आवश्यकता भएको छ ।

आउने दिनहरुमा ओलीको प्रतिगमनका विरुद्ध जुन शक्तिहरूसित हामीले कार्यगत एकता वा सहकार्यको नीति अपनाएका छौँ, उनीहरुसित पनि नयाँ विकसित परिस्थितिमा नयाँ प्रकारका मतभेद वा संघर्ष बढेर जाने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न र आवश्यकता अनुसार त्यसका लागि हामी तयार हुनु पर्दछ र हुने पनि छौँ । तर भविष्यका त्यस प्रकारका मतभेद वा संघर्षको स्थिति उत्पन्न भएमा आवश्यकता अनुसार तिनीहरूलाई सञ्चालन गर्ने नीति वा अधिकारलाई सुरक्षित राख्दै त्यो कारणले तात्कालिक रुपमा ओलीको प्रतिगमनका विरुद्ध जुन पक्षहरूसित एकता वा सहकार्यको सम्भावना छ, तिनीहरूलाई उपेक्षा गर्नु वा अवमूल्यन गर्नु सही हुने छैन ।
हाम्रो पार्टीको यो उज्जवल र गौरवमय परम्परा रहेको छ कि हामीले जोसित पनि, चाहे त्यो मित्रशक्ति होस्, चाहे दुश्मनशक्ति, एकता वा सहकार्यको नीति अपनाउछौँ, त्यो नीतिलाई हामीले सधै इमान्दारिता र दृढतापूर्वक पालना गर्ने गर्दछौँ । अहिले हाम्रो त्यस प्रकारको नीति गण्डकीमा पनि स्पष्ट रूपमा प्रकट भएको छ । त्यहाँ हामीले प्रतिगमनका विरुद्धको संघर्षमा सामेल भएको नेकाको पक्षलाई समर्थन गर्ने र ओलीको प्रतिगमनको पक्षमा भएको त्यहाँको प्रदेश सरकारको विरोध गर्ने नीति अपनाएका थियौँ । जब हाम्रै पङ्क्तिबाट त्यो नीतिप्रति अनुशासनविहीनता वा पार्टी निर्देशनको उलङ्घनको प्रवृत्ति देखा प¥यो, हामीले पार्टीभित्र देखा परेको त्यस प्रकारको प्रवृत्तिका विरुद्ध समेत संघर्ष गरेर पार्टीको घोषित नीतिलाई कार्यन्वयन गर्न इमान्दारिता र दृढतापूर्वक प्रयत्न ग¥यौँ र अन्तमा त्यसमा हामी सफल पनि भयौँ । गण्डकीमा हामीले अपनाएको त्यस प्रकारको कार्यशैली पार्टीको आफ्ना कुनै पनि नीतिमा इमान्दार र दृढ रहने उज्जवल र गौरवमय परम्पराको एउटा अङ्ग हो ।

पार्टीभित्रका आफ्नै साथीहरूका विरुद्ध अनुशासनको कारवाही गर्दा हामीलाई संगठनात्मक रुपले केही क्षति अवश्य पुगेको र त्यसका लागि कतिपय पक्षहरूले हामीमाथि नेकाका लागि आफ्नो साथीलाई बलि चढाएको भन्ने पनि आक्षेप लगाइरहेका छन् । तर त्यसको त्यो भन्दा महत्वपूर्ण पक्ष र उपलब्धि यो हो कि हाम्रो त्यो व्यवहारले हामी आफ्नो नीतिमा इमान्दार र दृढ रहने पार्टीको उज्जवल र गौरवमय परम्पराको रक्षाका गरेको छ र त्यो नै हाम्रो पार्टीको स्थायी सम्पत्ति हो ।

पार्टीभित्रका आफ्नै साथीहरूका विरुद्ध अनुशासनको कारवाही गर्दा हामीलाई संगठनात्मक रुपले केही क्षति अवश्य पुगेको र त्यसका लागि कतिपय पक्षहरूले हामीमाथि नेकाका लागि आफ्नो साथीलाई बलि चढाएको भन्ने पनि आक्षेप लगाइरहेका छन् । तर त्यसको त्यो भन्दा महत्वपूर्ण पक्ष र उपलब्धि यो हो कि हाम्रो त्यो व्यवहारले हामी आफ्नो नीतिमा इमान्दार र दृढ रहने पार्टीको उज्जवल र गौरवमय परम्पराको रक्षाका गरेको छ र त्यो नै हाम्रो पार्टीको स्थायी सम्पत्ति हो । खाली कुनै पक्षसित अपनाएको एकता र सहकार्यको नीतिका सन्दर्भमा मात्र होइन, कुनै बेला कुनै पनि पक्षका विरुद्धको भण्डाफोर वा संघर्षलाई पनि हामीले त्यही प्रकारले इमान्दारिता र दृढतापूर्वक अगाडि बढाउने गरेका छौँ । गतकालमा पञ्चायती व्यवस्था वा विभिन्न राजनीतिक शक्तिहरू नेका, एमाले वा माओवादीहरूका विरुद्धको संघर्ष वा कतिपय बेला आफ्नै पार्टीभित्र देखा पर्ने विभिन्न अवसरवादी प्रवृत्ति वा भड्कावहरूका विरुद्धको संघर्षको क्रममा पनि हाम्रो त्यस प्रकारको इमान्दारिता वा दृढता स्पष्ट रुपले अगाडि प्रकट हुने गरेको छ । त्यस प्रकारको इमान्दारिता र दृढता पार्टीको ठूलो सम्पत्ति हो, जसका कारणले पार्टीबाहिरका वा पार्टीभित्रका ठूला ठूला हमलाहरूका बावजुद पनि पार्टीले आफ्नो अस्तित्व र क्रान्तिकारी आन्दोलनलाई बचाउन सफल हुँदै आएको छ । अहिले पार्टीले अपनाउने गरेका सबै नीतिहरुलाई त्यही ऐतिहासिक परिप्रेक्ष्यमा बुझ्ने प्रयत्न गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार