नेपालको गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता धरापमा : खनाल

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको विभागीय संगठन अखिल भारत नेपाली विद्यार्थी संघ पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा अनलाईन अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न पारिएको छ । २३ मई २०२१ का दिन सम्पन्न उक्त कार्यक्रममा देशका विभिन्न विषयहरुमा वक्ताहरुले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

समाजका महासचिव ठाकुर खनालले– धर्मनिरपेक्षता, गणतन्त्र र संविधान रक्षाको विषयमा प्रकाश पार्नुभएको थियो । “२०६२–६३ को महान जनआन्दोलनद्वारा स्थापित गणतन्त्र संविधान, धर्मनिरपेक्षता यतिवेला खतरामा परेको छ ।” खनालले भन्नु भयो– “संविधान अनुसार सरकार सञ्चालन हुनुपर्नेमा अध्यादेशको आधारमा कैयौं नियम कानुनहरुलाई परिवर्तन गरि राष्ट्रहित विपरित कार्यहरु भएका छन् । जसको ताजा उदाहरण राष्ट्रघाती नागरिक संशोधन ऐनलाई अध्यादेशद्वारा पारित गरिनु हो ।”

“हिन्दूत्वको कार्ड खेलेर संविधानमा निहित धर्मनिरपेक्षतालाई खारेज गरि राजतन्त्रको पुनस्र्थापनाको षडयन्त्रमा लागेका हिन्दूत्ववादी भारतीय शाषकहरुलाई खुशी बनाउने कार्यमा स्वयं प्रधानमन्त्री ओली लागेकाले नेपालको गणतन्त्र धरापमा परेको छ ।” महासचिव खनालले भन्नु भयो– “प्रधानमन्त्री ओलीको यो कदमले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने कार्यलाई बल पुगेको छ ।”

“आफ्नो पदीय महत्वाकांक्षा पूरा गर्न ओलीले देशको राष्ट्रियता, सार्वभौम सत्ता, अखण्डता, गणतन्त्र तथा जनताको स्वास्थ्यका विरुद्ध जुनसुकै प्रकारको सौदाबाजी गर्न सक्छन् भन्ने कुराको यो ज्वलन्त उदाहरण हो ।” महासचिव खनालले भन्नु भयो– “ज्वलन्त उदाहरण विवादित नागरिकता संशोधन ऐनलाई अध्यादेशद्वारा पारित गरिनु हो । आगामी दिनहरुमा गैरनेपालीहरुले नेपाली नागरिकता लिई नेपाल मै नेपाली नागरिकहरु अल्पसंख्यक बन्ने र नेपाल फिजीकरण हुने खतरा बढेको छ ।”

आफ्नो पदीय महत्वाकांक्षा पूरा गर्न ओलीले देशको गणतन्त्र, संविधान, राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र धर्मनिरपेक्षताको रक्षालाई सम्पूर्ण शक्तिहरु एक जुन हुन समेत महासचिव खनालले आव्हान गर्नु भयो ।

कार्यक्रममा क्षेत्रीय समितिका सहसचिव शिव केसी, कोषाध्यक्ष तिलक पाण्डे, अमृता खरेल भुसालले धर्मनिरपेक्षता, निशा खनालले धर्मनिरपेक्षता, सागर खड्का धर्मनिरपेक्षता, सुदिप केसीले संघीयता, अस्मिता पाण्डेले संघीयता, तिलक पाण्डेले संघीयता र रामबहादुर जिएमले गणतन्त्रको बारेमा विचार राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता अमृता खरेल भुसालले र सञ्चालन निशा खनालले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई सागर खड्काले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार