नेपालमा भारतका लागि काम गर्ने संगठित शक्ति छन्ः केसी

  •   
  •  
  •  
  •  
  •  
  •  

176 जनाले पढ्नु भयो ।

लक्ष्मी चौधरी,

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा भारतका लागि काम गर्ने संगठित राजनीतिक शक्ति रहेको बताउनुभएको छ । केसीले मधेशवादी दलहरुप्रति लक्षित गर्दै नेपालमा ‘भारतका एजेण्डा लागू गर्न गठन भएको शक्ति’ को संज्ञा दिनुभएको छ ।

राजमो नेता मनोज भट्टद्वारा लिखित पुस्तक ‘नेपाल भारत सम्बन्ध’ विषयक पुस्तकको शनिबार राजधानीमा विमोचन गर्दै अध्यक्ष केसीले राजनीतिक दलका नेता र प्रशासकहरु आफ्नो छुद्र स्वार्थका लागि विदेशीको गोटी बन्ने गरेको बताउनुभयो ।

‘आफ्नो निजी स्वार्थका लागि नेपालका कैयौं राजनीतिक दलका नेता र प्रशासकहरु विदेशीको गोटी बन्ने गरेका छन् । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई तिलाञ्जली दिएर भएपनि उनीहरु आफ्नो स्वार्थ पुरा गर्न खोज्छन्’ उहाँले भन्नुभयो, ‘अहिले त नेपालमा भारतकै लागि काम गर्ने संगठित शक्ति तयार छ । भारतको सबै खेल नेपाललाई सिक्किम बनाउने हो ।’

केसीले नेपालको राजनीतिमा भारतले कसरी हस्तक्षेप गर्दोरहेछ भन्ने आफ्नो विभिन्न अनुभव पनि सुनाउनुभयो । त्यसक्रममा रामराजा प्रसाद सिंहलाई भारतले राष्ट्रपतिको उम्मेदवार बनाएको र त्यसको विरुद्धमा आफूहरुले डा. रामबरण यादवलाई प्रथम राष्ट्रपति बनाएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा मनोज भट्टको पुस्तक ‘नेपाल भारत सम्बन्ध’ माथि लेखकद्वय नरेन्द्रजंग पिटर र रतन भण्डारीले टिप्पणी गर्नुभएको थियो ।

यस्तै पुस्तकका भट्टले नेपालका अधिकांश नेताका छोराछोरी भारतीय वा अन्य देशको राजदूतावासको छात्रवृत्तिमा पढिरहेको उदाहरण पेश गर्दै नेपालका धेरै जसो नेताहरु कुनै न कुनै रुपमा विदेशीको स्वार्थका अगाडि झुक्ने गरेको बताउनुभयो । तर राष्ट्रिय जनमोर्चाका नेताहरु आफ्नो तुच्छ स्वार्थका लागि त्यसरी उपयोग नभएको उहाँले बताउनुभयो ।

उहाँले आफ्नो लामो राजनीतिक जीवनमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राजमो अध्यक्ष चित्रबहादुर केसी विदेशी दबाब सामु कहिल्यै नझुकेको स्पष्ट पार्दै आफूले यो पुस्तक पनि नेताद्वयप्रति समर्पण गरेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेल, अखिल नेपाल बुद्धिजीवी संघका अध्यक्ष प्राडा श्रीधर गौतम, पूर्व सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष ऋषिराज लुम्साली, पूर्व सचिव गोविन्दप्रसाद पाण्डे, अधिवक्ता मनोहर लमिछानेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन राजमो महासचिव जनकराज शर्माले गर्नुभएको थियो भने माथिल्लो कर्णाली बचाउ अभियानका संयोजक भरत शाहीले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *