नेपालले जारी गरेको नक्सा अमान्य : भारत

काठमाडौं । नेपालले लिम्पियाधुरासहितका भूभाग समेटेर सार्वजनिक गरेको नयाँ नक्सालाई भारतले अस्वीकार गर्ने घोषणा गरेको छ । भारतको विदेश मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी नेपालले एकपक्षीय रुपमा नक्सा सार्वजनिक गरेको भन्दै विरोध गरेको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले सार्वजनिक गरेको नयाँ नक्सा भारतलाई मान्य नहुने बताए । नेपालले नयाँ नक्सामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने उनको दाबी छ ।
नेपालले बुधबार दिउँसो लिम्पियाधुरा समावेश गरेको नक्सा सार्वजनिक गरेपछि भारतको यस्तो प्रतिक्रिया आएको हो।

‘भौगोलिक दाबीमा कृत्रिम वृद्धि गर्ने यस्तो कदमलाई भारत अस्वीकार गर्छ,’ श्रीवास्तवले भनेका छन्, ‘हामी नेपाल सरकारलाई पुष्टि हुन नसक्ने दाबीहरुबाट टाढा रहन र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्छौं ।’

उनले नेपाली नेतृत्वले थाँती रहेका सीमासम्बन्धी विषय सल्टाउन कुटनीतिक संवादका लागि उचित वातावरण बनाउनेछ भन्ने आशा गरेको समेत बताएका छन् ।

भारतले गत कात्तिकमा एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक समेत समावेश गरी नयाँ नक्सा जारी गरेपछि नेपालमा पनि अतिक्रमित भूमिसहित नक्सा सार्वजनिक गर्न सरकारलाई दबाब परेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार